रामप्रसाद पन्थीभुँडी पुराण कि जय !
यसरी हेरी ल्याउँदा पाेथी भुँडी कहिले साैभाग्यकाे त कहिले दुर्भाग्यकाे प्रतीक बनेर देखा पर्दछ । आवधिक प्रकारकाे यस्ताे भुँडीले भालेलाई बाउ तथा पाेथीलाई चल्लाकाे माउ बनाउँछ ।

रामप्रसाद पन्थी :
धार्मिक विषयवस्तुमा आधारित विस्तृत ग्रन्थलाई महापुराण भनिन्छ । पूर्वीय वैदिक जगतमा अठार महापुराणकाे चर्चा गरिएकाे छ । महापुराणपछि रचिएका सहायक वा साना धार्मिक ग्रन्थ उपपुराण हुन् । उपपुराणकाे संख्या पनि अठार नै विवेचना गरिएकाे छ । महापुराण र उपपुराण लेख्ने परम्परा प्राचीन ऋषिमुनिहरूबाट सुरू भएकाे हाे । त्यसै जगमा उभिएर अर्वाचीन स्रष्टाहरूद्वारा नयाँ नयाँ पुराणहरू थपिँदै गएका छन् । जसमा व्यङ्ग्य महापुराणले सर्वाधिक उचाइ प्राप्त गरेकाे छ ।
हास्यव्यङ्ग्य महापुराणकाे उत्थान र विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न संघसंस्थाहरू क्रियाशील भएका छन् । साहित्यिक संघसंस्था र छापा प्रकाशन गृहमा सीमित हास्यव्यङ्ग्य महापुराण आज आधुनिक मिडिया, डिजिटल माध्यम र अनलाइनका क्षेत्रमा व्याप्त छ । टेलिभिजन, चलचित्र र थियटरहरूमा व्यङ्ग्य महापुराण प्रदर्शित छ । हास्यव्यङ्ग्य महापुराणले कमेडी क्लवहरूमा च्वास्स चुस्स पारेकै छ । युटुव, टिकटक, फेसबुक आदिले सामाजिक सञ्जालहरूमा आफ्नो जञ्जाल फिँजाएकै छन् । आँखा मिच्ने गरी र पाद छुट्ने गरी हँसाएका छन् ।
नेपालका सन्दर्भमा हास्यव्यङ्ग्य महापुराण अन्तर्गतको अर्याल बाजेकाे `जय भुँडी´ प्रकाशन रत्न पुस्तक भण्डारले गरिदिएकाे हाे । भुँडी पुराण प्रकाशनले हास्यव्यङ्ग्य महापुराणका खुराक छरिदिएकाे हाे । साझा प्रकाशनले साहित्यकाे भण्डार भरिदिएकाे हाे । साहित्यपाेष्टले व्यङ्ग्य विनाेद संसारभर सार्वजनिक गरिदिएकाे हाे । `फित्काैली डटकम´ ले अनेक मट्याङ्ग्राहरूले हिर्काउँदै लित्ती कसेर व्यङ्ग्य वाण हानेकै छ । सिस्नुपानी नेपालले वर्षेनी झ्याम् कि झ्याम् सिस्नुपानीले हिर्काउने परम्परा धानेकै छ । गाईजात्रे प्रस्तुतिहरूले गाईजात्रा पर्व मानेकै छन् । भैरव पुरस्कार गुठीले पुरस्कारका माध्यमबाट व्यङ्ग्यकारहरूमा ऊर्जा भरेकै छ । वासुदेव – विद्यादेव लुँइटेल गुठीले पुरस्कार र सम्मानद्वारा हास्यव्यङ्ग्य जगतमा आलाेक छरेकै छ ।
हास्यव्यङ्ग्य महापुराणले साहित्यका गद्य र पद्य दुवै विधामा आफ्नो प्रभुत्व कायम गरेकाे छ । विशेषत : गद्य विधाअन्तर्गतकाे निबन्ध जगतमा हास्यव्यङ्ग्य महापुराण अझ सशक्त देखिन्छ ।
महापुराणका उपपुराण भएजस्तै हास्यव्यङ्ग्य पुराणका विभित्र उपपुराणहरू छन् । जसमध्ये यहाँ भुँडी पुराणलाई प्रमुख विषयका रूपमा लिइएको छ । निबन्ध विधामा भुँडी पुराणलाई सम्बाेधन गर्ने गरी अच्छा राई रसिकले `भुँडी´ काे बखान गरेर गए । भैरव अर्यालले भुँडीका अगाडि जय थपेर `जय भुँडी´ भनी भुँडीकाे जय गान गरिदिए । दुर्गा रिमाल अधिकारीले फित्काैलीमार्फत प्रस्तुत गरेकाे `भुँडी पुराण´ सूत्रात्मक रहेकाे छ । यिनै पृष्ठभूमिमा रहेर यहाँ भुँडी पुराणमा अध्याय थप गर्ने जमर्को गरिएको छ ।
भुँडी पुराणमा मानवीय भुँडी नै केन्द्रीय एवम् प्रधान विषयका रूपमा रहेकाे छ । यसकाे भुँडीकाे दायरा फराकिलो छ । याे सर्वव्यापी र सर्वकालीक छ । जहाँ-जहाँ मानवीय अस्तित्व छ, त्यहाँ -त्यहाँ भुँडीले घाेषित अघाेषित रूपमा आफ्नाे आधिपत्य जमाएकाे छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त भुँडी पुराण आजसम्म पनि गिनिज बुकमा दर्ता नगरिनु घाेर आपत्तिकाे विषय हाे । म यस विषयमा सम्बन्धित पक्षकाे अविलम्ब ध्यान जाओस् भन्न चाहन्छु ।
भुँडी पुराणकाे सम्बन्ध भुँडीवादी दर्शनसँग गाँसिएको चर्चा रसिकले गरेकै छन् । अर्यालबाजेले भुँडीका आकारप्रकारकाे सवाई कहेकै छन् । अरूहरूले पनि कुनै न कुनै ढङ्गबाट चर्चा गरेका हाेलान् । भूमिगत आन्दोलनहरूमा जस्तै भुँडीवादकाे समर्थन र विराेधमा पर्चा छरेका हाेलान् । जाँड बनाउनेहरूले मर्चा मलेझैं भुँडी पड्काउनेहरूले मसला मलेका हाेलान् । यसर्थ मलाई एउटै कुरामा जेरीझैं जेलिनु छैन । सरकार बाहिरका विपक्षी दलहरूझैं सदनमा पेलिनु छैन । बेफ्वाँकमा सडकमा ठेलिनु छैन । षड्यन्त्रको सिकार भएर नदीका भङ्गलाहरूमा हेलिनु छैन ।
सृष्टिकर्ताले के साेंचेर मान्छेका शरीरमा भुँडी हाले हाेलान् कुन्नि ? बिना भुँडीकाे मान्छे भइदिएको भए भुँडीमा केही हुल्न पर्दैनथ्याे । भुँडी भर्न दस दिशा डुल्न पर्दैनथ्याे । उनान्सयकाे चक्करमा काेही पनि भुल्न पर्दैनथ्याे । लेककाे मान्छे वेशी झर्दैनथ्याे । देश छाेडेर परदेश काेही सर्दैनथ्याे । जे गरेकाे छ यहीँ भुँडीले गरेकाे छ । मान्छेले भुँडीकै लागि सबथोक गरेकाे छ ।
अभिधा अर्थमा खाएकाे अन्नपानी रहने भित्री आन्द्रे थैलो हाे भुँडी । मुखे ओढारबाट हुलेपछि मात्र आन्द्रेथैलामा अन्नपानी भरिन्छ । जसलाई भुँडी भर्नु भनिन्छ । कतिपय भाग्यमानी भुँडी हुन्छन् जसलाई खाद्यान्नले भर्नुपर्ने हुँदैन । हावा खाएरै यस्ता भुँडी भरिन्छन् । यस्ता हावादारी भुँडी हावा भरेका बेलुन वा भकुण्डा जस्ता भने हुँदैनन् । बरू पन्चर भएका टायर जस्ता भलत्त भुँईमा थचारिका हुन्छन् । यस्ता भुँडीले शरीररूपी गाडी गुडाउन सक्दैनन् । सुकेनासले सताएका यस्ता भुँडी कर्महारा वर्गअन्तर्गत पर्दछन् ।
अर्काथरि भुडुल्के भुँडीहरू देख्दा भलादमी जस्ता देखिन्छन् । यस्ता भसरभुँडीहरू घिचाहा प्रवृत्तिका हुन्छन् । जति घिचे पनि नअघाउने यस्ता हन्तकाली भुँडीहरू जहिले पनि अवसरकाे खाेजिमा हुन्छन् । जुनसुकै तन्त्रका भाेजभतेरमा यिनकै ढलीमली हुन्छ । छेपारे प्रवृत्तिका यस्ता चेपारे भुँडीलाई पञ्चायत हाेस् या प्रजातन्त्र, लाेकतन्त्र हाेस् या गणतन्त्र कुनै फरक पर्दैन । उमेरले साठी काटे पनि साेह्र वर्षे जेन्जी यिनै हुन्छन् । रामनामी भिरेर भुँडी भित्र्याँस गम्क्याउने , राजखानीमा हात लम्क्याउने, खाेयाबिर्के तन्क्याउने यिनै हुन्छन् । यस्ता भुँडीकाे जठराग्नी र सातपत्रे यति जब्बर छ कि जसले सुकुटी मात्रै हाेइन राज्यकाे ढुकुटी पनि सजिलै पचाइदिन्छ । खट्टाे पिराे हजमाेला जस्तै जे आउँछ मज्जाले पचाउँछ ।
भुँडी पुराणले भुँडीलाई सर्वशक्तिमान तत्व मानेकाे छ । भुँडीले मान्छेलाई दिनरात पेन्डुलम जस्तै दाैडाइरहेकाे छ । एकातिर सुकेनास भुँडीहरू भुँडी भर्नका लागि दाैडीरहेका छन् । अर्कोतिर फुकेनास भुँडीहरू भुँडी झार्नका लागि दाैडीरहेका हुन्छन् । झार्ने रन्काेमा भएका काेही भुँडीहरू जिमखानातिर त काेही कभर्डहलतिर दाैडिएकाे देखिन्छ । काेही मर्निङ्ग / इभिनिङ्ग वाककाे नाममा बाटातिर बरालिएकाे भेटिन्छ । कतिपय भुँडीहरू याेगसाधना केन्द्रहरूमा कपालभातीका नाममा भुँडी हल्लाउँदै गरेकाे भेट्न सकिन्छ ।
मान्छेलाई भुँडी सुके पनि सुख छैन । फुके पनि सुख छैन । न फाल्न सकिन्छ याे भुँडी न पाल्न सकिन्छ राम्रोसँग । नटबाेल्ट सिस्टम भएकाे भए याे भुँडी फुकालेर राख्न हुन्थ्यो । प्रकृतिले यसरी फसाइदियाे कि नबाेकी धरै छैन याे भुँडी । बाेके पनि पनि अनेक सुन्न परेकै छ । सारङ्गी जस्तो भुँडी लिएर हिड्याे मरन्च्यासे भन्छ दुनियाँ । पुटुस्स परेकाे भुँडी देखे भुँडे भन्छ । त्यसमाथि भुँडीवाला भाले भेटिए, “हात्तीकै परेछ कि क्या हाे ?” भनेर झटाराे हान्छ । पाेथी भुँडी उस्किएकाे देखे, “फलानीले त भुँडी बाेकिछ !” भनेर खासखुस गर्छ । वैधानिक भए त्यहीँ भुँडीले बधाई खान्छ । यति मात्रै कहाँ हाे र ? बेबी शावरका नाममा देश दुनियाँमा बडेमानकाे भुँडी प्रदर्शन गर्ने प्रतियोगिता सामाजिक सञ्जालहरूमा छरपस्ट देखिन्छ । दुःखकाे कुरा अवैधानिक भुँडी रहेछ भने त्यसैले भाँडभैलाे मच्याउँछ । यसरी हेरी ल्याउँदा पाेथी भुँडी कहिले साैभाग्यकाे त कहिले दुर्भाग्यकाे प्रतीक बनेर देखा पर्दछ । आवधिक प्रकारकाे यस्ताे भुँडीले भालेलाई बाउ तथा पाेथीलाई चल्लाकाे माउ बनाउँछ ।
जेहाेस् भुँडी पुराणले भुँडीकाे बहुआयामिक पक्षलाई समेटेकाे कुरामा कुनै मतभेद छैन । भुँडी चाहे जस्तोसुकै किन नहाेस् , यसकाे महिमा अपरम्पार छ । ब्रह्मवेत्ताले पनि गर्न नसकेकाे भुँडी पुराणकाे चर्चा मजस्ताे बबुराकाे वशकाे विषय हुने कुरै भएन । तसर्थ मेराे याे भुँडी पुराणलाई अरूले जेसुकै भनून् । आफूले कहेकाे पुराण भएकालेे जाेडदार रूपमा भन्नै पर्याे – भुँडी पुराण कि जय !
०००
रेसुङ्गा न पा २, गुल्मी
मिति २०८३ जेठ १९
Subscribe
Login
0 Comments
Oldest







































