साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाटी पार्टीका कुरा

हाम्राे पार्टी केही भएका र नभएकाहरूकाे पार्टी हाे । यहाँ बुद्धि भएका र सुद्धि नभएकाहरूमा कुनै अन्तर्य छैन । त्यसैले म त भन्छु ; जान्नेलाई छान्नु पर्छ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पेटफाराे `फ´ का कुरा कुनै दिन गराैंला । आज पाटी `प´ का कुरा गराैं । पाटी `प´ मा पाटीले पाैवा, सत्तल वा बस्ने स्थल जनाउँछ । पहिले घारबासविहीनले यिनै पाटीलाई आवासकाे रूपमा प्रयाेग गरेकाे देखिन्थ्यो ।

अब कुरा गराैं ; सरकारी नीति, नियम र कानुनका । संविधानले ” प्रत्येक नागरिकलाई उपयुुक्त आवासकाे हक हुनेछ ” भनेकाे छ । आवासकाे सामान्य अर्थ ; बस्ने ठाउँ वा घर हाे । मानिसलाई बस्नका लागि घर चाहिन्छ । मानिसलाई मात्रै किन ? पशुपन्छी सबैलाई कुनै न कुनै किसिमको थातबास चाहिन्छ ।

हुनत: वानरले आफ्नो घर बनाउँदैन अरूले बनाएकाे पनि जाति मान्दैन भन्ने गरिन्छ । भैगाे वानरका कुरा छाेडाैं । कति वानरलाई मात्रै खेद्नु ? नरकै कुरा गराैं । आखिर नर र वानरमा के नै पाे फरक छ र ? डार्विनले दाइले वानरकै प्रजातिबाट नरकाे विकास भएकाे हाे भनेका थिए । नर शब्दका अगाडि वा गासिदिदा वानर नै हुन्छ । यसरी शब्दिक हिसाबले हेर्दा नर र वानरमा एक किसिमको समानता छ । शब्दमा मात्रै किन प्रवृत्तिमा पनि समानता छ । व्यबहारमा समानता छ । आकृतिमा समानता छ ।

आवासकाे कुरा गर्दा वनबासी वानरकाे स्थायी र व्यवस्थित बसाेबास हुँदैन । त्यसाे त घरबासी नरकाे घरमा पनि एकरूपता छैन । काेही खर, पराल र फुसका झाेपडीमा उस् उस् गर्दै पुसकाे जाडाेमा कक्क्रक्क परेका छन् । काेही टिनका खपटामुनि जेठकाे धुपमा धुनी लगाएर बसेका छन् । हुनीहरू महलकाे एसीमा देशी विदेशी ऐशकाे ऐश्वर्यमा मग्न छन् । कसैकाे पाटीकाे बास छ । कसैलाई पाटीबाट खेदाइने त्रास छ । कसैलाई संविधानले आवास मिलाइदिने आश छ । यस्तो आश पनि त्यस्तालाई छ ; जसकाे दरबारमा बास छ । जाे पार्टीको खास छ । सुकुम्बासी र हुकुम्बासीका कथा सबैले सुन्नुभएकै छ । संविधानले कस्ताे किसिमको आवासकाे हकलाई जनाउन खाेजेकाे हाे ? कसैले बुझेकाे भए बुझाइदिनुहाेला । संविधानले महलवाला मालिकलाई आवास दिलाउने हाे या घरबारविहीनलाई उठीबास लगाउने हाे ? याे मन्द बुद्धिले ठम्याउन सकेकाे छैन ।

हिजाे देशबासीमा धार्मिक भावना थियाे । धार्मिक हिसाबले ठाउँ ठाउँमा पाटी बनाइन्थे । बाटाे हिड्ने बटुवाहरू पाटीमा बास बस्थे । आफ्नो थातबास नभएकाहरूले पाटीमा बास लिन्थे । आज देश धर्म निरपेक्ष भयाे । धार्मिक भावना हराएर गयाे । धेरैजसाे पाटीहरू भत्किए । पाटीमा बस्ने चलन सक्कियाे । पाटीकाे बास मेटियाे । समय सापेक्ष पाटीले आफ्नो स्वरूपमा परिवर्तन ल्यायाे । पाटीले पार्टी परिवर्तन गर्याे । सबैका लागि पार्टी आश्रयस्थल बन्याे । मानिस पार्टीको बासिन्दा भयाे । बासिन्दा मात्रै किन ? नाैसिन्दा भयाे । पार्टीको एक बफादार सिपाही ; जाे हाकिमलाई एस् साप र हस् साप भन्न जानेकाे छ । सापलाई सलाम ठाेक्नुलाई आफ्नो कर्तव्य मानेकाे छ ।

मेराे नजरले देशमा कुनै पनि नागरिक स्वतन्त्र देखेकाे छैन । धेरैजसो कुनै न कुनै पार्टीका पहरेदार छन् । पार्टी मालिकले दिएकाे आदेश वा सन्देशलाई शिराेधार्य गर्नु पहरेदारकाे कर्तव्य हाे । मालिककाे बाेलीमा लाेली मिलाएन भने पार्टीबाट निष्कासित पक्का । मालिककाे मलद्वारलाई हरिद्वार सम्झेर पूजापाठ गर्नु नै इमानदार भक्तजनकाे प्रमुख दायित्व हाे । केही अपवाद हाेला ।अधिकांश नेपाली नागरिक पार्टीप्रति नतमस्तक भएकाे देखिन्छ । गाउँ समाजकाे कुरा छाडाैं । चुनावी माैसममा परिवारभित्रकै सदस्य पार्टी पार्टीमा विभक्त भएको देखिन्छ । पार्टी पर्टीमा लाग्नु वैयक्तिक स्वतन्त्रताकाे विषय हाेला । मानव अधिकार पनि भनिएला ।

याे सिल्पटले व्यक्तिगत लाभ लिनैका लागि केही वरिष्ठहरू घर सल्लाहबाट पार्टीहरूमा लागेकाे देखेकाे छ । बाहिरी रूपमा कट्टर पार्टीभक्त र भित्री रूपमा अवसरवादका नाइके यिनैलाई देखेकाे छ । केही यस्ता बुज्रुक पनि देखेकाे छ ; जाे बिहान , दिउँसो र राति फरक फरक पार्टीका प्रमुख सल्लाहाकारका रूपमा प्रकट हुन्छन् । फरक फरक पार्टीमा प्रवेश गरी अरूलाई पुराना र आफूलाई नयाँ विचारधाराकाे प्रतिनिधित्व गर्ने मसिहाहरूकाे पनि कमी छैन यहाँ ।

हिन्दु धर्मले तेत्तीस काेटी देवताकाे परिकल्पना गरेजस्तै हामीकहाँ तेत्तीस काेटी पार्टी भएकाे कुरा विदितै छ । यहाँ तेत्तीस काेटी पार्टीका चाैतीस काेटी प्रभुहरू छन् । जहाँ भक्तहरूलाई इच्छाअनुरूप पार्टीको भजन गर्न पूर्ण स्वतन्त्रता छ। कुनै राेकताेक छैन । आफ्नो पार्टीकाे आँखा चिम्लेर समर्थन गर्नु पर्छ । अरूका पार्टीको सकेसम्म विराेधका स्वरहरू घन्काउनु पर्छ । गाँठी कुरा यत्ति हाे : प्रसादस्वरूप जुन पार्टीको कलाे र बिलाे लिएकाे हाे ; उसैकाे प्रशस्ति गाउनु पर्छ । पार्टीका प्रभुकाे दैलाे धाउनु पर्छ । स्वार्थ सिद्ध भएन भने पार्टी परित्याग र पार्टी प्रवेशकाे ढाेका सदाका लागि खुला नै रहन्छन ।

शासन , सत्ता र शक्तिकाे मेल भएपछि स्याल पनि सिंह बनेका प्रशस्त उदाहरण छन् । शक्तिले समाएपछि कसैका बाजेको केही चल्दैन । मेराे गाेरूकाे बाह्रै टक्का भनेझैं अरूका अगाडि गल्दै गल्दैन । यथार्थबाेध नगर्दा कलीले मतिभ्रष्ट परिक्षित बनिदिन्छन् सत्तारूढ महाराजहरू । सत्तामा हुँदासम्म मदमस्त गजराजजस्तै लस्किन्छन् महाराजहरू । साताच्यूत भएपछि अगुल्टाले हानेकाे कुकुरजस्तै झस्किन्छन् । जब समयकाे सानाे हुरीले यिनकाे दम्भलाई तहसनहस पारिदिन्छ । यिनका चुरीफुरी इतिहासका पानातिर सारिदिन्छ । तर पनि यी दुन्दुभिहरू सलबलाई रहन्छन् ।

पार्टीको कुरा सिल्पटले जेरीवालाले जेरी घुमाएझैं घुमायाे भन्नुहाेला । केही पनि घुमाएकाे छैन । बिनासित्तिमा लित्ती छाेडुन्जेल कसलाई घुमाएर के फाइदा ? मेराे भनाइ साेझाे छ । पार्टीमा लागेपछि जिभ्राले कति स्वाद फेर्याे, फेर्याे । अझ मजाकाे क्षण त त्याे बेला हुन्छ जब देश चुनावी माहाेलमा हुन्छ । आफ्नै कुरा गर्नु पर्दा पार्टी फेरी फेरी कति कक्टेल हानियाे भनिसाध्ये छैन । सुकुटीकाे सितनसित टुच्च लगाएकाे कुरा गनिसाध्ये छैन । यी अहिले पनि मुख रसाएर आइसक्याे यहाँ ।

आजकाे युगमा पाटी खाेज्नु भनेकाे डाइनाेसर खाेज्नु जस्तै हाे । पाटी खाेज्न छाेडेर पार्टी खाेजे मालामाल भइन्छ । आजका पार्टी त्यस्ता शीतलपाटी हुन् ; जसकाे छत्रछहारीमा बसे रापतापबाट बच्न सकिन्छ । यसका लागि छत्रमाहाराजकाे जयगान भुल्नु हुँदैन । प्रभुका पाउकाे माटाे निधारमा दल्न छाेड्नु हुँदैन । पार्टीका प्रभुहरूले आँ गरे अलङ्कार बुझ्नु पर्छ । ओंठे भक्ति दर्साउन सामाजिक सञ्जालतिर कुद्नु पर्छ । प्रभु सन्देश स्थापित गर्न फरक मतलाई कुट्नु पर्छ । जबर्जस्ती नै सही सबैकाे विश्वास लुट्नु पर्छ । आफ्नो मण्डलीकाे कुनै सदस्य अपराध पुष्टि भएर जेल परे पनि हरहालतमा छुट्नु पर्छ । विराेध गर्ने विपक्षीलाई जुनसुकै अस्त्र चलाएर हाेस् ताताे कराईमा चरचरी भुट्नु पर्छ । गाेरू चुटेझैं चुट्नु पर्छ ।

हाम्राे मुलुकमा विभिन्न समयमा विभिन्न आन्दोलन, जनआन्दोलन र जेन जी आन्दोलनहरू भए । यी आन्दोलनहरूले कसैलाई विस्थापित गराए । कसैलाई स्थापित गराए । अनेक पथ र पथिकहरू देखिए ।यहीँ क्रममा अनेकौं रूप र रङ्गका बा, आमा, दाइ र भाउजूहरू भेटिए । यी मानवीय पात्रहरूलाई कहिले देवत्वकरण गरियाे । लम्पसार परियाे । कहिले दानवीकरणमा दरियाे । यिनका हाेसचेत समेत हरियाे । अस्थायी , अल्पकालीन , अस्थिरताका प्रतिबिम्ब यी हाम्रा बालुवाका महलहरूमा अरू कति बा, आमा , दाइ वा भाउजूहरू विराजमान हुने हुन् थाहा छैन ।अर्काेलाई सत्ताेसराप गर्ने र आफूलाई सफेद र स्निग्ध र स्फटिक ठान्ने भाैमानहरूकाे कमी छैन यहाँ ।

अर्काकाे बिरालाे बियाउनु वा तुहिनुसित याे सिल्पटलाई कुनै सराेकार छैन । गाेरू बियाओस् या भैंसी, बिगाैती भए पुगिहाल्छ । आफू त पाटीकाे बास भए पनि पार्टीको आश भएकाे मान्छे परियाे । शरीरमा सास रहेसम्म जुन पार्टीमा लागिन्छ त्यसकाे विश्वास गरिन्छ । हिजाे जुन पार्टीमा लागिएको थियाे , उसकै तारिफ गरियाे । आज जुन पार्टीमा लागिएको छ , त्यसकै तारिफ गरिएको छ । भाेलिका दिनमा पनि परिस्थितिअनुसार पार्टी नफेरिएला भन्ने छैन । छक्कापञ्जाकाे शृङ्खलाबाट पछाडि हटिने छैन । आफू त परियाे छेपारालाई गुरु मानेकाे मान्छे । छेपाराेवादी त हुनै पर्याे । परिस्थिति अनुसार रङ्ग बदल्न सकिएन भने अग्रगामी छलाङ मार्न सकिन्छ र ? आफ्नो अस्तित्व रक्षाका लागि भए पनि त कथाले मागे अनुसारको अभिनय त गर्नै पराे नि । तपाईं नाटक भन्नुहाेस् या नाैटङ्की ; कथा अनुसार अभिनय गरिएन भने युगले मागेकाे अभिनेता कहाँ भइन्छ र ? आफ्नो दुनाे साेझाउन छलछाम गरिएन पार्टी खाेल्नु र नेतृत्व गर्नुकाे कुनै ओैचित्य छैन ।

सिल्पटले धेरै खाेक्याे अरे ! हेर , कसैले मेराे पार्टीसँग ल्याङ्ल्याङ् नगरे हुन्छ । तिम्रा पार्टीका दिन गए बाबै । बाेल्नै नसक्ने तिम्रा बुढा नेता । दमदार र ठिक्क बेल्ने हाम्रा युवा केटा । मध्यान्हका रविकिरणका अगाडि मध्यरातका जुनकीरीकाे छविकाे के अर्थ ?

मेराे पार्टीका प्रमुखकाे हरेक बाेलीमा हेर । त्यहाँ अदम्य दम छ । हाम्रा हरेक नेताले बाेलेका हरेक कुरा अकाट्य छन् । हाम्राे हिडाइका हरेक कदमले एउटा नाैलाे दिशा निर्देश गरेकाे हुन्छ। हाम्रा जुझारु माननीयले छाेड्ने विचार खास त छँदै छन् । विष्टामा समेत महानता र गहनता रहेकाे छ । हाम्राे अपानवायुमा त्यस्ताे सुगन्ध छ; जुन कुनै कस्तुरी वा अत्तरमा हुँदैन । हाम्रा पार्टी प्रमुखको जस्तो प्रचण्ड तेज कुनै काेहिनुरमा हुँदैन । पर्याे भने हामी हाम्रा आदर्शकाे टट्टीलाई चन्दन ठानेर लेपन गर्न समेत पछाडि हट्दैनाैं । हामीलाई थाहा छ, हाम्रा प्रभुमा अलाैकिक साहस र शक्ति छ । साेही अनुसार हामीमा अटुट हनुमाने भक्ति छ ।

एउटा कुरा भनिहालाैं । हिजाे बा र हजुरबासँग कुम मिलाउदै युवा वर्गकाे प्रतिनिधित्व गर्ने पट्पटानन्द मेरा आदर्श थिए । आज उनैले नवयुवाकाे कमाण्डरी चलाएका छन् । हिजाे उनैले पाटीमा बस्ने साैभाग्य नपाएका झाेपडपट्टीहरूकाे उत्थान गर्ने संकल्प गरेका थिए । झाेपडपट्टीहरूले उद्दारक मानेका थिए। नेतृत्वमा तिनैकाे पार्टीलाई छानेका थिए । कहाँनेर बितल पर्याे कुन्नि ? आज तिनैले भन्दैछन् हाम्रा प्रभुले नराम्ररी झाने । गनीगनी हाम्रै बुकुरा हाने । हामीलाई पशुतुल्य ठाने । ए भाइ ! याे राजनीति हाे ।

राजनीति साेझाे बाटोमा हिड्ने भए किन नरसंहार हुन्थ्यो ? आफ्नैले आफ्नैलाई जेलमा किन थुन्थ्याे ? काेतपर्व , भण्डारखाल , दरबार हत्याकाण्डका शृङ्खलाहरू शृङ्खलाबद्ध रूपमा किन हुन्थ्यो ? त्यसैले अरूका कुरा छाडिदिनुहाेस् । हाम्राे पार्टीको विचार मानिदिनुहाेस् । हाम्राे पार्टी ठाँटी र पाटीमा बस्नेहरूकाे हाेइन् । हाम्राे पार्टी केही भएका र नभएकाहरूकाे पार्टी हाे । यहाँ बुद्धि भएका र सुद्धि नभएकाहरूमा कुनै अन्तर्य छैन । त्यसैले म त भन्छु ; जान्नेलाई छान्नु पर्छ । छानिएकाहरूले नाककाे डाँडी भाँचिने गरी गनी गनी हान्नु पर्छ । याे कुरा तपाईंलाई मात्रै भनेकाे हाे नि खुसुक्क । भित्ताका पनि कान हुन्छन् । त्यसैले तपाईं आफ्नाे खास मान्छे भएकाेले यति त भन्नै पर्याे , बन्द ओठमा चाेर ओैलाे पुराएर सबैलाई सङ्केत गर्नुहाेस् ; चुपचाप …! … सडकछाप !

०००
२०८३।०३।०६
रेसुङ्गा न पा २, गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x