रामशरण न्याैपानेमैले सकेमा
वैरी को हो यस मुलुकको गुन्छु मैले सकेमा शत्रु पस्ने जति पनि दुलो थुन्छु मैले सकेमा किर्ना जो छन् रगत चुसने उन्छु मैले सकेमा नेता चल्ने मुलुक हितमा चुन्छु मैले सकेमा॥

रामशरण न्यौपाने “पाँचघरे” :
नौलो भाका अब दिनदिनै हाल्छु मैले सकेमा
उम्दा बत्ती नव प्रगतिको बाल्छु मैले सकेमा
बाटो खन्दै पद सहज नै चाल्छु मैले सकेमा
भ्रष्टाचारी जति पनि उठे ढाल्छु मैले सकेमा॥१॥
बाधा आए प्रगति पथमा गाल्छु मैले सकेमा
खाल्टापारे विधि नियममा टाल्छु मैले सकेमा
काटी अग्ला विष-रुख सबै बाल्छु मैले सकेमा
नेपालीका विकृति जति नै फाल्छु मैले सकेमा॥२॥
अड्को आए जति पनि यहाँ फुन्छु मैले सकेमा
कालो मैलो मनुज दिलको धुन्छु मैले सकेमा
चुम्दै अग्लो पथ प्रगतिको छुन्छु मैले सकेमा
नेपालीका सुखद सपना बुन्छु मैले सकेमा॥३॥
वैरी को हो यस मुलुकको गुन्छु मैले सकेमा
शत्रु पस्ने जति पनि दुलो थुन्छु मैले सकेमा
किर्ना जो छन् रगत चुसने उन्छु मैले सकेमा
नेता चल्ने मुलुक हितमा चुन्छु मैले सकेमा॥४॥
मेची काली हिम शिखर नै टेक्छु मैले सकेमा
साँढे दौडी धनहर पुगे छेक्छु मैले सकेमा
नेपालीको विजय सपना देख्छु मैले सकेमा
मिश्री जस्तो मधुर कविता लेख्छु मैले सकेमा॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































