गायत्री परिरोशनीहेरौँ न त सरकारको पाइन
सरकारले जेसुकै निर्देशन दिए तापनि हामी डाक्टरहरूलाई मन लागेको ठाउँमा अपरेसन गर्न कुनै दुविधा छैन । एउटा खुट्टाको अपरेसन गर्दा अर्को खुट्टा पर्याे भनेर चिच्याएर मात्र हुन्छ ? हाम्रो आवश्यकतानुसार अपरेसन गरिन्छ ।

गायत्री परिराेशनी :
हामी नागरिकहरू कम्ती बाठा छौं । सरकारले जतासुकै तामझाम गरेर यो देशको विकास गर्छौँ भने पनि ज्यान जाला बरु, हामी गर्न दिँदै दिदैनौं । चोर्ने, मार्ने, ठग्ने, हान्ने, छान्ने सबै नेपालीहरूको सनातन संस्कार हो । यस्तो सबैको घरमा चलनचल्तीमा रहेको संस्कारलाई के-के नै परिवर्तन भैरहने दुईचार महिने अनि दुईचार वर्षे सरकारले हटाउँछु, घटाउँछु, पठाउँछु भन्नु उनान्सय दशमलव उनान्सय प्रतिशत गलत हो । यो छाडा सोच हो, आयातित पलायनवाद हो । जनताको भोट जितेका छौं भनेर मख्ख नपर सरकार ।
हामी नागरिकहरूको पाइन सरकारलाई थाहा छैन कि कसो ? सरकारले गरेभनेका कुन काम भत्काउन सकेका छैनौँ र हामीहरूले । बाटोको छेउमा, राजमार्गको छेउमा घर नबनाउने भन्ने नियम पुस्तौँ-पुस्तालाई भन्दै आएको छ तर हामी जान्ने, सुन्ने, बुझ्ने टाठाबाठा नागरिकहरूले राजमार्गको छेउमा अग्ला अग्ला घर ठड्याएर अरबपति बनेकै छौं । खोला नदीमै पिलर हालेर घर बनाएका छौं । सरकारी जग्गालाई ठेलठाल गरेर आफ्नो सीमाना बढाएका छौं । नेपाललाई प्लास्टिकको झोलामुक्त देश बनाउँछु भनेर काम थालेको कति वर्ष भैसक्यो । हामी आधुनिक मानिसहरूलाई अहिले त झन् प्रत्येक श्वासमा प्लास्टिकको झोला मात्र होइन प्लास्टिककै भाँडाकुडा, कपडा, गरगहना हुँदाहुँदा कहीँकहीँ त प्लास्टिककै खानेकुरा पनि चाहिने भैसक्यो ।
सरकारभन्दा लाखौँ गुणा बाठा यहाँका व्यापारीहरू छन् । सरकारले गुणस्तरहीन सामान बेचे भनेर, दुई सयको कपडालाई दुई हजार रुपैयाँमा बेचे भनेर कारवाही प्रक्रिया अगाडि बढाउँछ, पसल बन्द गरिदिन्छ तर सबै व्यापारीहरू मिलेर हामीहरूले मन लागेजति ठग्न पाउनुपर्छ भनेर आन्दोलन गर्छन्, आमरण अनसन बस्छन् । टन्न जुस खाएर आमरण अनसन बसेपछि जे-जेको व्यापार गरे पनि एकै रातमा करोडपति बन्न पाइन्छ भने किन अनसन नबस्नु ? आन्दोलन गरेपछि, अनसन बसेपछि, तोडफोड गरेपछि, नेपाल बन्द गरेपछि सरकार त के सरकारका बाबुको पनि केही तागत चल्दैन भन्ने कुरा सबै सानाठुला व्यापारीहरूलाई थाहा भएकै कुरा हो ।
जहाँ मन लाग्यो त्यहींबाट बाटो काट्न हुन्न भनेर सरकारले जेब्रा क्रसिङबाहेक अन्य ठाउँबाट क्रस गर्नेलाई जरिवाना गर्ने नियम ल्यायो । सरकारलाई केको खाँचो ? हामी नागरिकहरू मन लागेको ठाउँबाट बाटो क्रस गर्न किन नपाउनु ? दुर्घटनामा मरे पनि हामी मर्ने हो सरकार मर्ने होइन भन्दै आन्दोलन गर्यौ। केही दिनपछि नै दनादन जेब्रा क्रसिङका त कुरा नै छोडौं, ओभर हेड ब्रिज भएको ठाउँमा पनि ब्रिज उक्लने लन्ठा नगरी त्यहीँ तलबाट पाखुरा सुर्कदै रोड क्रसिङ गरिन्छ । जनताको स्वतन्त्रताप्रति सरकारले किन प्रतिबन्ध लगाउँछ है ?
सरकारले थोत्रा गाडी हटाएर नागरिकहरूको दुर्घटना हुनबाट कम गराउन पर्याे भनेर बिस वर्ष पुराना गाडी हटाउने नियम बनायो । किन यति धेरै चिन्ता सरकार नागरिकहरूको ? यातायात व्यवसायीहरू भने थोत्रा गाडीहरू बिस वर्ष मात्र होइन, आफै हिंड्न नसके एउटा डोरी बांधेर तानुन्जेल चलाउन पाउनुपर्छ भन्छन् र यसैका लागि न्वारानदेखिको बल निकालेर आन्दोलन र चक्काजाम गर्छन् । अझ सरकारले सिन्डिकेट तोड्ने रे । हेरौं सिन्डिकेट तोडिन्छ कि दुई तिहाइको सरकार तोडिन्छ । बिचरो बलवान् सरकार गाडीको लागि इन्धन बोक्ने ट्याङ्करहरूलाई बिचमा तेल चोरेर नबेच भन्छ । ट्याङ्कर चालकहरूको नानीदेखि लाएको बानी कसरी छोड्न सक्नु ? अलिकति पनि चोरेर तेल बेच्न नपाउने हो भने हामीहरूले ट्याङ्कर चलाउन सक्दैनौ भनेर आन्दोलन गर्छन् । ट्याङ्कर थन्क्याउँछन् । बिचरो सरकार कति इमानदार छ । आफ्नो इमानदारिता सर्वसाधारण नागरिकहरूले पचाउन सक्दैनन् भन्ने कुरो थाहा नै छैन ।
सरकारले कर्मचारीहरूलाई भ्रष्टाचार नगर भन्छ तर कर्मचारीहरूले नै सरकारलाई भ्रष्टाचार गर्ने बाटो सिकाइदिन्छ । नयाँ बाटामा सरकारलाई पनि हिंडन रहर लाग्छ नै । सरकारले भन्छ हाम्रो लोकसंस्कृति छाडा भो, पश्चिमा संस्कृतिले बिगार्यो, छोटा कपडा नलगाउनुहोस तर हामी कलाका पारखीहरू जुन-जुन गायिका र नायिकाले गोप्य अङ्गहरूलाई खुला देखाउँछन् उनीहरूलाई नै मान, सम्मान गर्छौँ, हुटिङ गर्छौं र जुनसुकै महोत्सवलगायत अन्य समारोहमा महङ्गो पारिश्रमिक दिएर बोलाउँछौं । सरकारलाई के को खाँचो हामी नायकनायिका, गायकगायिकाहरूले जे-जे सुकै गरौं ?
अहिलेको सरकारले अरू जस्तो होइन दुई तिहाइको बलियो छु भनेर सोचेको होला तर यस्तो सोच्नु निकै खतरनाक छ । दुई तिहाइ छोडी पूरापूर प्रतिपक्ष पनि नभएको सरकार भए पनि हामी नागरिकहरूलाई जित्ने तागत पटक्कै छैन । सरकारले जे-जे गर्छु भन्छ हामीहरू त्यति-त्यति हुन्न भन्न बानी परिसक्यौं । गर्न नै दिँदैनौँ । अब सरकारले भन्ला व्यावसायिक खेती गरौं, हामीहरूले जमीन बाँझो राख्न पाउनुपर्छ भनेर आन्दोलन गर्छौं ।
केही समयपहिला हो प्रधानमन्त्रीज्यूले डाक्टरहरूलाई जहाँ रोग लागेको छ, जुन ठाउँको अपरेसन गर्नुपर्ने हो त्यही ठाउँको मात्र अपरेसन गर्न निर्देशन दिनुभएको थियो । हामी आधुनिक डाक्टरहरू त्यस्तो उल्लु हुन त भएन । किड्नीको पत्थरी फाल्नलाई किड्नीकै अपरेसन गर्ने हो भने त हामीहरूले पैसा कमाउने त कुरा छोडौं, आफ्नो जिन्दगीभर आफूले डाक्टर पढ्नलाई लागेको खर्च पनि उठाउन सक्दैनौं । कम से कम किड्नीमा पत्थरी छ भने पहिलो चरणमा कलेजोको अपरेसन गर्याे, दोस्रो चरणमा मुटुको अपरेसन गर्यो, अनि बल्ल अन्तिम चरणमा किड्नीको गर्यो । यति गरेपछि काम त्रिबल, दाम ट्रिपल । त्यसैले सरकारले जेसुकै निर्देशन दिए तापनि हामी डाक्टरहरूलाई मन लागेको ठाउँमा अपरेसन गर्न कुनै दुविधा छैन । एउटा खुट्टाको अपरेसन गर्दा अर्को खुट्टा पर्याे भनेर चिच्याएर मात्र हुन्छ ? हाम्रो आवश्यकतानुसार अपरेसन गरिन्छ ।
सरकारले गुणस्तरीय शिक्षा भन्दै के-के गर्न खोज्यो तर हामी अस्थायी शिक्षकहरूले पाँचपाँच पटकसम्म अध्यापन अनुमतिपत्र याने कि टिचर लाइसेन्सको परीक्षामा उत्तीर्ण हुन नसकेपछि पटक-पटक सङ्गठित भएर आन्दोलन गर्ने र अनसन बस्ने काम गर्यौं । त्यसैको परिणामस्वरूप अब निकट भविष्यमा नै सबै स्थायी हुँदै छौं । पाँच पटक टिचर लाइसेन्सको परीक्षामा फेल भए तापनि के भो र ? आधुनिक जमानाका व्यावसायिक शिक्षाका स्थायी टिचर हामी नै हुने भयौँ ।
हामी बाठा नागरिकहरूले सहजै अनुमान लगाउन सक्छौं कि अबको सरकारले धेरै राम्रा राम्रा कुराहरू भन्नेछ । सरकारले स्वदेशमै रो जगारी सिर्जना गर्ला तर हामी नागरिकहरू यहाँको जागिर खानुभन्दा विदेशमा नै जानेछौं । सरकारको जताततै रेल गुडाउने तयारी छ तर हामीहरू रेल नचढेर खुट्टैले सरासर हिँडिदिन्छौँ । सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता गर्ने भनेको छ हामीहरू शून्य होइन गुणात्मक ग्रहणशीलताको तयारीमा छौं । सरकारले सरकारी बिदा घटाएँ भनेर मख्ख परेको छ तर हामीहरूले त्यो घटाएको बिदाभन्दा डब्बल बढी दिन नेपाल बन्द गर्ने पूर्वतयारीमा छौं ।
सरकारले धुम्रपान, मद्यपान, सूर्तिजन्य पदार्थमुक्त सरकारी कार्यालय घोषणा गर्दै छ । हामीहरू आधुनिक तरिकाले कसरी कार्यालयभित्र वर्जित कुराहरूलाई सहजै लागू गर्ने भन्ने सवालमा प्रयोगात्मक परीक्षामा सामेल हुँदै छौं । सबै मिलेर मुसुक्क हाँस्दै हेरौं न त सरकारको पाइन ।
०००
रुद्रघण्टी (२०८१)
Subscribe
Login
0 Comments
Oldest









































