साइबर अपराध सम्बन्धी सचेतना सामग्री

​माइक खोस्ने ‘संस्कारी’ हातलाई नागरिकको खुला पत्र

Nepal Telecom ad

नन्दलाल आचार्य :

​आदरणीय एवं माननीय सांसदज्यू,
सङ्घीय संसद् भवन (जहाँ कानुन बन्छ भनिन्छ, तर अक्सर सर्कस चल्छ), नयाँ बानेश्वर, काठमाडौँ।

​महोदय,
​लोकतन्त्रको सर्वोच्च मन्दिर मानिने त्यस पवित्र संसद्‌भित्र माननीयज्यूले हालै प्रदर्शन गर्नुभएको त्यो अभूतपूर्व, विहङ्गम, र सामाजिक सञ्जालमा डढेलोझैँ फैलिएको ‘भाइरल’ वीरता देखेपछि यो अभागी नेपाली नागरिकको छाती गर्वले यसरी फुल्यो कि अहिले भित्रको हावा बाहिर फाल्न र बाहिरको हावा भित्र तान्न पनि धौ-धौ भइरहेको छ । सर्वप्रथम त, राष्ट्रको भाग्य र भविष्य कोर्ने थलोमा हजुरले प्रस्तुत गर्नुभएको त्यो जुझारु, कम्मरमर्काई र विनाग्लिभ्सको ‘मल्ल युद्ध’ शैलीका लागि २१ तोपको सलामी टक्र्याउन चाहन्छु । संसद् भवनभित्रै ती तोपहरू पड्किएर ताण्डव मच्चिए पनि अचम्म नमाने हुन्छ, किनभने त्यहाँको वातावरण अचेल कुनै युद्धमैदानभन्दा कम देखिँदैन ।

​तपाईंले मिडियासामु दिनुभएको त्यो ओजस्वी र आत्मविश्वासी स्पष्टीकरण निकै घोत्लिएर सुनेँ । सुनेर मेरो चेतनाको ढोका यसरी खुल्यो कि म त केही बेर जिल खाँदै अवाक भएँ । तपाईंले बडो गर्वका साथ भन्नुभएछ- “हामी राजनीतिक गुण भएको मान्छे हौँ । हामी राजनीतिक संस्कार सिकेका मान्छे हौँ ।” अहो ! कति गहिरो ज्ञान, कति अगाध चेतना र कति महान् विचार ! संसद्‌को रोस्ट्रम घेर्नु, सिटबाट बाँदरझैँ उफ्रिएर मर्यादापालकको टाउको र काँधमाथिबाट फ्लाइङ किक हान्न खोज्नु र डकैती शैलीमा घाँटी तन्काएर माइक खोस्न दौडिनु नै ‘राजनीतिक संस्कार’ को नयाँ र आधुनिक परिभाषा हो भनेर त हामी भुइँमान्छे सोझा जनतालाई पत्तै थिएन ।

हामी त कस्ता कूपमण्डुक र मूर्ख रहेछौँ, जसले संसद्‌लाई राष्ट्रिय समस्यामाथि बहस गर्ने, विधिको शासन स्थापना गर्ने र गरिबका पीरमर्का पोख्ने थलो ठानेका थियौँ । धन्य हुनुहुन्छ माननीयज्यू, तपाईंले बल्ल हाम्रो भ्रम निवारण गरिदिनुभयो र बुझाइदिनुभयो कि संसद् त वास्तवमा ‘जसको शक्ति उसको माइक’ भन्ने खोसाखोसको खेलमैदान पो रहेछ !

संस्कारको नयाँ भाष्य “हातपात होइन, माइक खोस्या हो !” भन्ने रह्यो । ​तपाईंको दिव्य स्पष्टीकरणको त्यो सबैभन्दा बेजोड र हास्यरसले भरिएको अंश त मलाई स्वर्ण अक्षरले लेखेर बैठक कोठाको भित्तामा फ्रेम गरी टाँस्न मन लागेको छ । तपाईंले भन्नुभयो- “तर हामी उहाँलाई हातपात गर्न वा कसैलाई हातपात गर्न होइन, हामी चैँ माइक खोस्न चाहिँ गएका हौँ । हामी बोल्न दिन्नौँ भनेर माइक खोस्न चाहिँ गएका हौँ ।”

वाह ! कस्तो अचम्मको तर्कशास्त्र ! कस्तो दिव्य र अलौकिक दर्शन ! तपाईंको यो तर्क सुन्दा त न्यायशास्त्रका पिताहरू पनि चिहानबाट ब्युँतिएर आफैँलाई झापड हान्थे होलान् । यो त कस्तो भयो भने- “हजुर, मैले कसैलाई गाला चड्काएको वा कुटपिट गरेको त कत्ति पनि होइन नि, म त केवल उसको अनुहारको गालामा मेरो हत्केलाको थप्पड कस्तो सुहाउँदो रहेछ भनेर जोडले स्पर्श मात्र गराउन गएको हुँ !” अथवा “मैले चोरी र डकैती गरेको कहाँ हो र महोदय ? म त केवल साहुको दराजमा भएको पैसा एक्लै उदास र गुम्सिएर बसिरहेको देखेर, त्यसलाई अलिकति खुल्ला हावा खुवाउन र आफ्नो खल्तीमा सङ्गत गराउन मात्र ल्याएको हुँ !”

​माननीयज्यू, जब तपाईंहरू बथानका बथान बनेर, आक्रामक मुद्रामा संसद्को रोस्ट्रम र आसनतिर झम्टिनुहुन्छ, तब हजुरका ती संस्कारी र कोमल हातहरू कसैको गाला, कसैको कोटको कलर, वा कसैको नाकको आसपास पुग्दा त्यहाँ कुन चाहिँ ‘राजनैतिक गुण’ र ‘संस्कार’ प्रकट भइरहेको थियो ? देश र दुनियाँले प्रत्यक्ष प्रसारण र सामाजिक सञ्जालका रिलहरूमा तपाईंहरूको त्यो लज्जास्पद तमासा एक-एक गरी हेरिरहेका थिए । संसारभरि छरिएका नेपालीहरूले लाजले भुतुक्क हुँदै, आफ्ना विदेशी साथीहरूका अगाडि शिर निहुराएर ‘यिनै हुन् हाम्रा देशका भाग्यविधाता र संस्कारी सांसद’ भन्दै आत्मग्लानिको गहिरो खाडलमा डुबिरहेका थिए । तर तपाईंलाई भने आफ्नो त्यो बालहठ जस्तो हर्कतमा रत्तिभर पनि पछुतो छैन, बरु उल्टै ‘म त माइक खोस्न मात्र गएको’ भन्दै विजयी भावमा गर्विलो स्पष्टीकरण दिनुहुन्छ !

यहाँनेर आम सोझा जनताको एउटा सिधा प्रश्न छ: “माननीयज्यू, तपाईंहरू संसद्‌मा राष्ट्रको नीति, नियम र कानुनको चुरो कुरोमा बहस गर्न जानुभएको हो कि गाउँको कुनै धुलाम्मे चौरमा गुच्चा खेल्दा झगडा परेर साथीको गुच्चा खोस्न कुद्ने अबोध, ढिट र जिद्दी बालक बन्न जानुभएको हो ?”

सभामुखमाथि दोषको डम्पिङ साइट र प्रतिपक्षको बाँझो अस्त्र बारे पनि बोध गर्ने अवसर मिल्यो । ​आफ्नो गल्ती लुकाउन तपाईंले अर्को ओभानो तर्क अघि सार्दै भन्नुभएछ- “सभामुखज्यूले सामान्य अवस्था गराइदिएको भए आज यो विवादै खडा हुन्थेन नि त । उहाँले हामी प्रतिपक्षको कुरै सुन्नुहुन्न के ।”

अहो ! यो त दुरुस्तै नेपाली समाजको त्यो चर्चित उखानजस्तै भयो- “नाच्न जान्दैन, आँगन टेडो !” संसद्‌मा एउटा निश्चित नियम हुन्छ, स्थापित परम्परा हुन्छ र कडा अनुशासन हुन्छ । प्रतिपक्ष लोकतन्त्रको मुटु हो, उसले आफ्ना असहमति र कुरा राख्न पाउनुपर्छ, यसमा कसैको दुई मत हुन सक्दैन । तर आफ्ना कुरा सुनाउन र अनुकूल वातावरण बनाउनका लागि के संसद्‌भित्र जङ्गली र आक्रामक शैली प्रदर्शन गर्नैपर्छ ? यदि सभामुखले कुरा सुनेनन् वा पक्षपात गरे भने पनि संसद्‌भित्रै मर्यादित रूपमा विरोध गर्ने, आफ्नो आसनमा शान्तिपूर्ण ढङ्गले उभिएर असहमति जनाउने र कानुनी एवं प्रक्रियागत रूपमा दबाब दिने संस्कार कुन चाहिँ विश्वविद्यालयमा सिकाइन्छ ? कि तपाईंहरू पढ्ने र सिक्ने राजनीतिशास्त्रको किताब नै बेग्लै छ ?

​तपाईंहरूले त अचेल एउटा नयाँ रोगको विकास गर्नुभएको छ- प्रतिपक्षमा हुँदा संसद्को साँचो नै आफ्नै खल्तीमा छ झैँ गरी चल्न नदिने, तोडफोड गर्ने, र सत्तापक्षमा पुग्ने बित्तिकै प्रतिपक्षलाई कीरा-फट्याङ्ग्रा जत्तिको पनि नगनिकनै नटेर्ने ! यही दोहोरो चरित्रको नाम नै ‘नेपाली प्रजातन्त्र’ हो भनेर तपाईंहरूले ठान्नुभएको छ । जब-जब तपाईंहरूको दलीय वा व्यक्तिगत स्वार्थ मिल्दैन, जब-जब तपाईंहरूले खोजेको भागबन्डा पुग्दैन, तब-तब संसद्को त्यो गरिमामय रोस्ट्रम र सरकारी माइक तपाईंहरूका लागि सडकको आन्दोलन र घरेलु युद्धको मैदान बन्न पुग्छ ।

जनताको धैर्यको बाँध अब भत्किँदै छ ! माननीय सांसदज्यू, हजुरहरूलाई त के छ र ? चुनाव जितेर आएपछि पाँच वर्षसम्म राजा-महाराजाको जस्तै ठाँट हुन्छ । गाडीमा रातो झण्डा हल्लाएर, साइरन बजाउँदै ट्राफिक जाम छिचोलेर सानका साथ हिँड्नुहुन्छ । महिना मरेपछि यो देशका गरिब जनताले नुन, तेल र चामल किन्दा तिरेको करबाट उठाइएको मोटो रकम, तलब, भत्ता, इन्धन र विविध सुविधाका नाममा बडो आनन्दले आफ्नो खल्तीमा हाल्नुहुन्छ । तर के तपाईंले कहिल्यै एक सेकेन्ड मात्रै भए पनि शान्त दिमागले सोच्नुभएको छ- त्यो भव्य संसद् भवनको मात्र एक मिनेटको खर्च धान्न यो देशका हली, गोठाला, मजदुर र गरिब जनताले कति रगत र पसिना बगाउनुपर्छ ?

आज देशको अवस्था कस्तो छ, थाहा छ माननीयज्यू ? ​समयमा मल र बीउ नपाएर, सिँचाइको अभावमा खेतको आलीमा बसेर आकाशतिर हेर्दै छटपटिएका लाखौँ किसानहरू छन्, ​स्वदेशमा रोजगारी र अवसर नपाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लामो लाइनमा आँसु पुछ्दै, खाडीको ५० डिग्री तातो बालुवामा भुनिन बाध्य लाखौँ ऊर्जाशील युवाहरू छन्, ​खल्तीमा पैसा र अस्पतालमा न्यूनतम उपचार नपाएर सरकारी अस्पतालको चिसो भुइँमा छटपटिँदै ज्यान गुमाउन बाध्य गरिबहरू छन् । ​ गुणस्तरीय शिक्षा एवं पाठ्यपुस्तकको अभावमा भविष्य अन्धकार देख्दै भौँतारिएका दुर्गमका निर्दोष बालबालिकाहरू छन् ।

​यी तमाम पीडित, शोषित र आवाजविहीन जनताका प्रतिनिधि भएर, उनीहरूको दुःख सुखको आवाजलाई नीतिगत रूपमा बुलन्द गर्नका लागि तपाईंलाई भोट दिएर त्यहाँ पठाइएको हो । तर तपाईंहरू भने जनताका ती गम्भीर मुद्दाहरूलाई कुल्चिएर, त्यहाँ पुगेपछि कुन स्तरको सस्तो र तल्लो दर्जाको तमासा देखाइरहनुभएको छ ? जनता महँगीको चर्को मारले थिचिएर ओछ्यान परेका छन्, देश आर्थिक मन्दीको दलदलमा फसिरहेको छ, बैंकको ब्याज र मिटरब्याजको पिरलोले मानिसहरू आत्मदाह गरिरहेका छन्, तर हाम्रा माननीयज्यूहरूलाई भने संसद्‌भित्र कसको माइक पहिले खोस्ने र कसलाई पहिले पछार्ने भन्ने चिन्ता र हतारो छ ।

यस पत्रमार्फत म आम नागरिकको तर्फबाट तपाईंलाई कडा र स्पष्ट चेतावनी दिन चाहन्छु: नेपाली जनता अब सधैँ भेँडा र लाटा बनिरहने छैनन् । तपाईंहरूको यो लज्जास्पद नाटक, गाईजात्रे अभिनय र अमर्यादित तमासा हेर्नका लागि हामीले आफ्नो अमूल्य मत दिएर संसद्‌मा पठाएका होइनौँ । संसद्‌लाई आफ्नो व्यक्तिगत रिसइबी पोख्ने, पार्टीको तुस निकाल्ने र कुस्ती खेल्ने अखडा बनाउने अधिकार तपाईंलाई कसले दियो ? आइन्दा संसद्को गरिमामा आँच आउने यस्ता हर्कतहरू दोहोरिएमा, जनताले संसद्को ढोकाबाट मात्र होइन, यो देशको राजनीतिबाटै तपाईंहरू जस्तालाई ‘माइक र पद’ दुवै खोसेर सडकको धुलोमा बजार्ने दिन अब धेरै टाढा छैन । चेतना भया !

सांसद्ज्यू,
​अब त चेत खुलोस् एउटा नागरिकको शुभेक्षा छ । राजनीतिक इगो, रिस र आक्रोशलाई एकछिनका लागि एकातिर पन्छाएर सोचौँ । यो देश र यहाँका सोझा जनताप्रति तपाईंको पनि त केही न केही मानवीय र नैतिक जिम्मेवारी होला नि ? मानिस त्रुटि र गल्तीकै पुञ्ज हो, गल्ती मानिसबाटै हुन्छ । क्षणिक उत्तेजना वा आवेगमा आएर संसद्‌भित्र माइक खोस्न दौडिनु एउटा कमजोरी वा गल्ती थियो होला, तर संसद् भवनबाट बाहिर निस्किएर सञ्चारमाध्यमका अगाडि बडो शानका साथ त्यसलाई ‘राजनीतिक गुण र संस्कार’ को लेपन लगाउनु त त्योभन्दा हजार गुणा ठूलो नैतिक अपराध हो । गल्तीलाई गल्तीका रूपमा स्वीकार गरेर आत्मसमीक्षा गर्नु नै साँचो अर्थमा संस्कार हो ।

त्यसैले, अब त कम्तीमा चेत खुलोस् र चेतनाको दियो बलोस् । आइन्दा संसद्को ढोकाबाट भित्र छिर्दा आफूलाई एउटा जिम्मेवार, कानुनको पालक, मर्यादित र इज्जतदार सांसदको रूपमा जनसमक्ष प्रस्तुत गर्ने हिम्मत र आँट गर्नुहोस् ।

​एउटा साँचो र संस्कारी सांसदले संसद्‌भित्र जस्तोसुकै जश-अपजशको परिस्थितिमा पनि अत्यन्तै संयमित भएर तार्किक, बौद्धिक र सैद्धान्तिक बहस गर्नुपर्नेमा अहिलेको तीतो यथार्थ भने केवल कुर्सी भाँच्ने, टेबल ठटाउने र अमर्यादित रूपमा नाराबाजी गर्ने मात्रै देखिएको छ ।
​जनताका आधारभूत समस्या, जस्तै- शिक्षा, स्वास्थ्य, र रोजगारीका मुद्दाहरूलाई गम्भीरताका साथ उठाएर तिनलाई देशको कानुन र नीतिमा रूपान्तरण गर्नका लागि बौद्धिक पहल गर्नुपर्ने ठाउँमा, हाम्रा माननीयज्यूहरू भने केटाकेटी जस्तै माइक खोस्न र मर्यादापालकहरूसँग मारमुङ्ग्री गर्न पो तँछाडमछाड गर्दै कुद्ने गर्नुहुन्छ ।
​त्यस्तै, सभामुखको आसन, नियम र संसद्को ऐतिहासिक गरिमाको उच्च सम्मान गर्दै आफ्नो पदीय मर्यादाको सीमारेखा जोगाउनुपर्नेमा, अहिले भने सबै राजनीतिक नैतिकता र लाज सरम भुलेर हुल्लडबाजी गर्ने र देश-दुनियाँलाई तमासा देखाएर लज्जित पार्ने काम मात्र भइरहेको छ ।
​हामी आम नागरिक चाहन्छौँ कि आगामी दिनमा तपाईंको नाम सामाजिक सञ्जालमा कुनै भाइरल झगडा, गालीगलौज वा माइक खोसेको भिडियोको थम्बनेलमा नआओस् । बरु, यो देशको समृद्धिका लागि, महिला, दलित, जनजाति र उत्पीडित वर्गको उत्थानका लागि बनाइने उत्कृष्ट विधेयक, कानुनी मस्यौदा र नीतिहरूको गहन बहसमा तपाईंको नाम अग्रपङ्क्तिमा आओस् । संसद्‌मा प्रतिपक्षीको आवाज दबाउन वा कसैको सातो लिनका लागि होइन, बरु गाउँ-गाउँमा रोइरहेका गरिब र उत्पीडित जनताको मसिनो आवाजलाई पनि सिंहदरबारको बहिरो कानले सुन्ने गरी ठूलो स्वरमा बुलन्द गर्नका लागि मात्र तपाईंको हात माइकतर्फ अघि बढोस् ।

तपाईंको त्यो ‘माइक काण्ड’ पछिको स्पष्टीकरणले हामी जस्ता आम नागरिकलाई एकैचोटि हँसायो पनि र उत्तिकै रुवायो पनि । हाँसो यसकारण उठ्यो कि तपाईंको कुतर्क कति कफलो, बालसुलभ र हास्यास्पद थियो; रोदन र चिन्ता यसकारण लाग्यो कि हाम्रा नीतिनिर्माता र नेताहरूको बौद्धिक एवं नैतिक स्तर कति गहिरो खाडलमा खसेको रहेछ । आशा छ, एक नागरिकको मनैदेखि निस्किएको यो व्यङ्ग्यात्मक तर पीडादायी पत्रले तपाईंको सुषुप्त चेतनामा थोरै भए पनि सकारात्मक घाम लाग्नेछ र आत्मबोध गराउनेछ ।

​आइन्दा संसद्‌भित्र एउटा साँचो अर्थमा ‘राजनीतिक गुण, मूल्य र संस्कार’ ले सुसज्जित भएको गरिमामय एवं इज्जतदार सांसदको भूमिकामा तपाईंलाई देख्न पाइयोस्, यही नै एक सच्चा र देशभक्त नेपाली नागरिकको सादर शुभेच्छा छ ।

आगामी दिनमा संसद्‌भित्रका ‘माइकहरू’ माननीयज्यूहरूका हातबाट सुरक्षित रहून्, अनि तपाईंको हराएको ‘राजनीतिक संस्कार’ पनि समयमै जोगियोस् र फर्कियोस् ! ​सद्बुद्धि र

सुमतिको हार्दिक कामनासहित,
​तपाईं जस्तै माननीय सांसदहरूको संसद्‌भित्रको तमासा र सर्कस हेरेर
लाजले टाउको चिलाउन र ऐना हेर्न बाध्य,
एक सचेत एवं घाइते नेपाली नागरिक ।

०००
२०८३ जेठ १८ गते ।
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
पुरुष मान्छे

पुरुष मान्छे

ईगम खालिङ
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x