नन्दलाल आचार्यग्याँस
बुबाले छोरातिर हेरे । छोराले आमातिर । आमाले खाली सिलिन्डरतिर । खाली सिलिन्डरले फेरि सुस्केरो हाल्यो, “म त ग्याँसविहीन भएँ; देशचाहिँ आश्वासनले भरिएछ !”
नन्दलाल आचार्य :
बिहानै सिलिन्डरले भान्साको कुनाबाट ठाडो उभिएर भन्यो, “आज म सकिएँ ।”
आमाले चुलोमा भाँडो राख्दै भनिन्, “हिजोसम्म त राम्रै थियौ नि !”
“देशको अर्थतन्त्रजस्तै हुँ,” सिलिन्डरले सुस्केरा हाल्यो, “बाहिरबाट भरिभराउ, भित्रबाट खोक्रो ।”
छोराले मोबाइल निकाल्दै भन्यो, “आमा, ग्याँस सकियो भनेर चिन्ता नगर्नू । सरकारले राहत घोषणा गरेको छ ।”
“कहाँ ?”
“फेसबुकमा ।”
बुबा अखबारबाट टाउको उठाउँदै मुस्कुराए, “त्यो राहत पकाएर खान मिल्छ ?”
छोराले भन्यो, “मिल्छ नि ! चुनावमा नेताहरूले त्यसै पकाएर खुवाएका होइनन् ?”
आमाले अर्को सिलिन्डर खोलिन् । खाली ।
बुबाले चामल-ड्राम खोले । चामल सकिएको ।
छोराले फ्रिज खोल्यो । तरकारी सकिएको ।
अन्ततः तीनै जनाले छेउको पसलतिर नजर दौडाए।
पसलमा लामो लाइन थियो । अगाडि उभिएका एक नेताले कार्यकर्तालाई भन्दै थिए, “जनताको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौँ ।”
पछाडिबाट एउटी वृद्धाले सोधिन्, “बाबु, ग्याँस कहिले आउँछ ?”
नेताले मुस्कुराउँदै भने, “चाँडै ।”
“कहिले चाँडै ?”
“निर्वाचन नजिकिएपछि ।”
भीड हाँस्यो । त्यत्तिकैमा नेताको मोबाइल बज्यो । उनले फोन उठाउँदै भने, “हेलो ! पाँचवटा सिलिन्डर तुरुन्त घर पठाइदिनू ।”
बुबाले छोरातिर हेरे । छोराले आमातिर । आमाले खाली सिलिन्डरतिर ।
खाली सिलिन्डरले फेरि सुस्केरो हाल्यो, “म त ग्याँसविहीन भएँ; देशचाहिँ आश्वासनले भरिएछ !”
०००
२०८३ भदौ १ गते
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest










































