साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब म केही बोल्दिनँ

उमेरमा तपाईंभन्दा निकै कान्छी भए पनि म पनि त बुढी भइसकेँ नि । तपाईंले मलाई मात्र गनगन गरेर रोग निको हुने होइन रहेछ, होइन त ?

Nepal Telecom ad

वासुदेव गुरागाईं :

बुढा असी, बुढी सत्तरी । दश वर्षको फरक बुढाबुढीमा । छोराछोरी सबै बाहिर । कोही कता, कोही कता । एकै ठाउँमा बसेर कसको पो गुजारा चल्छ र ? पाखुराको पौरख नछरी कतैबाट केही झर्ने होइन । उमेरका बेलामा सकेको गरे यी बुढाबुढीले पनि । दुवै उत्तिकै मेहनती । उत्तिकै परिश्रमी । जिउमा केही रोग थिएन । चिसो पानीको कुलो लाग्ने खेत÷बारी प्रशस्तै थियो । छैन भन्ने अवस्था थिएन । त्यही भएर सकेका बेलामा यिनले गर्नु गरे । कहिले कृषिका काम गरे, कहिले पशुपालनका । कहिले तरकारी उब्जाए, कहिले कुखुरापालन । कहिले ससाना उद्योग धन्दा, कहिले अन्य व्यापार । यस क्रममा कहिले लुगा बुने, कहिले पसल चलाए । जानेको काम सबै गरे यिनले । कसैले कुभलो चिताएनन् । मिलेका जोडी थिए । अझै पनि मिलेकै छन् छन त । तर, पछिल्लो समय बुढा विरामी परे । बुढो भएपछि कुनै न कुनै

सामान्य रोग त लागिहाल्छ । जुन कुरा स्वाभाविक हो । सधैँ एकनास को पो रहन्छ र ? के पो रहन्छ र ? बुढो भएपछि कसैका कानले काम गर्दैनन्, कसैका आँखाले । कसैका गोडाले काम गर्दैनन्, कसैका हातले । कसैका नाकले काम गर्दैनन्, कसैका मुखले । यी त बाहिरका कुरा भए । देखिने अङ्गका कुरा भए । शरीरभित्र पनि बुढो हुँदै गएपछि कता के रोगले समात्छ, कता के रोगले । कोही मुटुका विरामी होलान्, कोही दाँतका । कोही घाँटीका विरामी होलान्, कोही जिभ्राका । कोही फोक्सोका विरामी होलान्, कोही कलेजोका । कोही छातीका विरामी होलान्, कोही पाखुराका । कोही मिर्गौलाका विरामी होलान्, कोही अरू अङ्गका । नयाँ किनेको गाडी पछिसम्म उस्तै नरहे जस्तै मानिस पनि पुरानो हुँदै गएपछि पछिसम्म उस्तै रहन सक्दैसक्दैन । यो जगजाहेर कुरो हो ।

उमेरकै हिसाबले पनि बुढीभन्दा बुढो बढी कमजोर हुनु, रोगी हुनु अनौठो कुरा होइन । त्यही भएर सत्तरी वर्षकी भइसक्दा पनि बुढीलाई उनी उमेरदार नै सम्झिन्छन् । म पो बुढो भएँ त, यसले त जे पनि गर्न सक्छे भन्ने सम्झिन्छन् । तर, त्यसो होइन । उमेरले दश वर्ष कम भए पनि बुढी भनेको बुढी नै हो । छोराछोरी जन्माउने, लालनपालन गर्ने, हुर्काउने बढाउने कामले यिनलाई अझ बढी जीर्ण बनाएको हुन्छ । त्यसमाथि घरका नदेखिने कामले यिनलाई सधैँ थिलथिलो पार्छ । थकाउँछ । दिक्क गराउँछ । सधैँको भातभान्छा र अरू घरायसी कामले यिनलाई कहिल्यै छोड्दैन । यो कुरो सबैले देखेर पनि सबैले बुझ्दैनन् । यथार्थमा देख्दैनन् । अनि आफू मात्र बुढो अरू उमेरदार किन नदेखुन् यस्ता अबुझहरूले ?

बुढा जतिखेर पनि म विरामी परेँ, म सकिएँ, मैले केही गर्न सकिनँ भन्दै सधैँ बुढीलाई कचकच गरिरहन्छन् । तैपनि बुढी यिनको सधैँको बानी यस्तै हो भनेर खासै कुनै प्रतिक्रिया जनाउँदिनन् । बुढी चुप लागिरहनु भनेको बुढालाई बढी कचकचको अवसर दिनु हो जस्तो छ परिस्थिति । तैपनि बुढी सहेर बस्छिन् । आप्mनो काम छोड्दिनन् । लागिरहन्छिन् । राखनधरनदेखि पकाइतुल्याइसम्म घरको सबै भर उनकै छ । कसलाई के कसरी दिनु, कोसँग के कति लिनु पनि उनकै जिम्मामा छ । समग्रमा घरको पूरा व्यवस्थापन बुढीकै जिम्मामा छ ।

जतिखेर पनि यस संसारमा विरामी भनेको म मात्र हो झैँ गरी म विरामी परेँ, म सकिएँ, म अब मर्छु भन्दै बुढाले निरन्तर कचकच गर्न थालेपछि बुढीले आजित भएर एक दिन बुढालाई सहरतिर घुम्न जाने प्रस्ताव गरिन् । बुढाले आनाकानी गर्दागर्दै पनि कहाँ–कहाँ घुम्न जाने भन्ने ठाउँको निधो पनि उनैले गरिन् । मनमनै कार्यक्रम बनाइन् । भोक लाग्दा खाने र तिर्खा लाग्दा पिउने पानीको जोहो पनि घरबाटै मिलाइन् । झोलाभरिको सामान काँधमा हालेर बुढी अघि लागिन्, बुढा पछि लागे । हिँड्नै नसक्ने पनि थिएनन् बुढा । फटाफट बुढीका पछि लागे । जाडोको महिना थियो । छोड्नै मन नलाग्ने पारिलो घाम । एक घण्टा जति हिँडेपछि सहरको ठुलोमध्येको एउटा पुरानो अस्पताल पु¥याइन् बुढालाई । अघिपछि जस्तो जाँच पड्तालका लागि गएका थिएनन् उनीहरू आज । बुढीले अस्पतालमा उभिएका विरामीको लाइन देखाइनन् । कोठा चोटामा विरामी परेर भर्ना भएका विरामीहरूका विषयमा खोजखबरी गरेर बुढालाई जानकारी गराइन् ।

अर्को दिन पनि यसरी नै कार्यक्रम तय गरिन् बुढियाले । बुढा हिजो जस्तै बुढीका पछि लागे । बुढी अघिअघि बुढा पछिपछि । आज उनले सहरकै अर्को ठुलो अस्पताल पु¥याएर हिजोको जस्तै बुढालाई सबै निरीक्षण र जानकारी गराइन् । सहरका विभिन्न अस्पताल पुर्याएर बुढालाई घुमाउने काम उनले एक हप्तासम्म जारी राखिन् । यस क्रममा उनले मिलेसम्म विभिन्न प्रकारका रोगीहरूसँग भेटघाट र भलाकुसारी गराउने काम पनि गरिरहिन् । बेलाबखत के ? किन ? भनेर बुढाले राखेका जिज्ञासामा बुढीले आलटाल गरेर बुढालाई टार्दै आइन् । यथार्थ कुरो बताइनन् ।

अर्को हप्ता उनले बुढालाई सहरका ठुलाठुला औषधि पसलमा लगेर घुमाइन् । त्यहाँ रहेभएका औषधिका थुप्रा देखाइन् । भण्डारभरिका औषधिका गोदाम देखाइन् । उनले बुढालाई जति अस्पताल घुमाइन् त्यसको दोब्बर÷तेब्बर सङ्ख्यामा औषधिका पसल र गोदाम देखाइन् । यी कुनै एउटा रोगका मात्र नभएर विभिन्न रोगका औषधि हुन् भनेर कहिले आफैँले र कहिले औषधि पसलेबाट व्याख्या गराइन् । बुढाले कत्ति न बुझे नै गरी मुन्टो हल्लाउँदै ए ! ए !! भनिरहे ।

यसरी झन्डै तीन हप्ताको कार्यक्रम सम्पन्न भएपछि सार्वजनिक विदाको दिन पारेर एक दिन बुढीले छोराछोरी र नातिनातिना समेतलाई एकसाथ घरमा खाना खुवाउने कार्यक्रम मिलाइन् । सबै जम्मा भए । सबैसँग एक साथ भेट गर्न पाएकामा बुढा पनि खुसी देखिए । आफ्नै सन्तानले कोठाको ससानो हल भरियो । जो जुरेको खानपान भयो ।

यसबिचमा कतिखेर के गर्ने भनेर बुढियाले यसअघि नै एउटा समय तालिका बनाएकी थिइन् । यही तालिका मुताबिक उनले पन्ध्र मिनेटको समय आफ्नो प्रवचनका लागि छुट्ट्याएकी थिइन् । सोही समयको सदुपयोग गरेर बुढियाले उपस्थित सबैका सामु बुढालाई पनि सँगै राखेर आफ्नो भनाइ राख्न थालिन् । भनाइ अरूसँग सम्बन्धित नभएर आफ्नैर बुढासँग सम्बन्धित थियो । उनले बुढातर्फ आँखा जुधाउँदै भनिन्– हे मेरा स्वामीज्यू, मैले तपाईंलाई तीन हप्तासम्म घरमा बस्न नदिई सहर घुमाएर दुःख दिएँ हकि ?

बुढाले हो भन्ने भावमा मुन्टो हल्लाए । बुढीले फेरि थपिन्– सहरका अस्पतालमा कति धेरै विरामी हुँदारहेछन् भन्ने पनि मैले तपाईंलाई नजिकबाट देखाएँ । सबैका एउटै रोग थिएनन् । कोही के रोगका, कोही के रोगका । समग्रका विभिन्न थरीका रोगी त्यहाँ भेटिए । तिनीहरू कतिपयसँग म आपैmँले कुरा गरेँ, कतिपयसँग तपाईंलाई नै कुरा गर्न लगाएँ । होइन त ?

बुढीका यस कुरामा पनि बुढाले हो भन्ने भावमा मुन्टो हल्लाए । तीन हप्ताको हिँडाइमा मैले तपाईंलाई विभिन्न ठाउँका औषधि पसल र तिनका गोदामहरू पनि देखाएँ होइन त ? बुढीले थप प्रश्न गरिन् । बुढाले हो भन्ने भावमा फेरि पनि च्यापु तलमाथि गर्दै मुन्टो हल्लाए ।

त्यहाँ एउटै रोगका औषधि थिए कि विभिन्न रोगका ? बुढीको यस प्रश्नमा भने बुढाले अघिजस्तो मुन्टो मात्र नहल्लाई आप्mनो मुख नै खोलेर छोटकरीमा जबाफ दिए– विभिन्न रोगका ।

यति भएपछि अब बुढी बुढासँग आँखा जुधाएर एकोहोरो बोल्न थालिन् र भनिन्– यस संसारमा विरामी भनेको तपाईं मात्र होइन अरू पनि हुँदा रहेछन् । रोग बुढालाई पनि लाग्दो रहेछ, अरू उमेरका मानिसलाई पनि लाग्दो रहेछ । अनि, मानिसलाई एक थरी मात्र नभएर विभिन्न किसिमका रोग लाग्दा रहेछन् । रोगीले प्रयोग गर्ने औषधि एकै किसिमको मात्र नभएर रोग अनुसार विभिन्न किसिमका हुँदारहेछन् । यसरी औषधि  प्रयोग गर्ने मानिस धेरै भएकै कारण सहरमा औषधिका पसल र गोदाम पनि थुपै्र हुँदा रहेछन् । त्यो पनि तपाईंलाई मैले देखाएँ । तपाईंले नजिकबाट देख्नु भयो । कुनै पनि रोग लागेपछि घरका मानिसलाई गनगन गरेर रोग निको हुँदो रहेनछ, त्यसका लागि औषधि नै सेवन गर्नुपर्दो रहेछ । उमेरअनुसार रोग सबैलाई लाग्दोरहेछ । उमेरमा तपाईंभन्दा निकै कान्छी भए पनि म पनि त बुढी भइसकेँ नि । तपाईंले मलाई मात्र गनगन गरेर रोग निको हुने होइन रहेछ, होइन त ? तपाईंले अब यी सबै कुरा बुझ्नुपर्छ । मैले यस उमेरको तपाईंलाई शारीरिक कष्ट दिएर तीन हप्तासम्म सहर घुमाउनुको मुख्य उद्देश्य नजिकबाट यिनै कुराको जानकारी दिनु थियो । यी सबै कुरा जानेपछि अब फेरि पनि तपाईं मलाई सधैँको जस्तो कचकच गरिरहनु हुन्छ त ?

बुढीका कुरा सुन्दैमा अघिदेखि नै कताकता बुढा भावुकजस्ता देखिइरहेका थिए । यो पछिल्लो प्रश्नले उनलाई अझै बढी भावुक बनायो । सोच्न बाध्य गरायो । बुढीको पछिल्लो प्रश्नको जबाफमा उनले भने– भो, अब म केही बोल्दिनँ ।

०००
काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x