बद्रीप्रसाद ढकालवृद्ध मनोविज्ञान
वृद्ध साहित्य मनोविज्ञानसँग निकट भएर रचना हुन्छ भने मनोविज्ञानका विभिन्न रूप स्वरूपको प्रकटीकरण वृद्ध मनोविज्ञानमा पाइन्छ ।
बद्रीप्रसाद ढकाल :
वृद्ध मानवका मानसिक बिम्ब, संवेग, स्वप्न र चेतना र व्यवहारिक आयामका विविध पक्ष हुन्छन् । ती कुराहरू चेतनाद्वारा अभिव्यक्त हुने र अचेतनद्वारा अव्यक्त हुने भएकोले तिनको अध्ययन गर्नु नै वृद्ध मनोविश्लेषण हो । मनोविज्ञान र वृद्धताको गहिरो सम्बन्ध देखिन्छ जसलाई वृद्ध मनोविज्ञानले खोजी गर्दछ । त्यसैले मनोविज्ञहरूले वृद्धतालाई मानवको विविध पक्षसँग जोडेर प्रस्तुत गरेका छन्, विभिन्न पाटोबाट अध्ययन गरेका छन् ।
‘मनोविज्ञान’ गहन अध्ययनको विषय हो । अमूर्त तत्त्वहरूको अध्ययन र विश्लेषणका माध्यमबाट मूर्त वस्तु र कार्यात्मक रूप उद्घाटन गर्ने विज्ञान नै मनोविज्ञान हो । मान्छेको अन्तर्मनका अपरिभाव्य र अदृश्य अनेकतम पत्रहरू, कोण र तहहरूमा सुषुप्त अवस्थामा रहेका अतृप्त र संवेगजन्य उत्सुकताजन्य अभीप्साहरूको प्रस्तुति गर्ने क्रममा यस विज्ञानले आफूलाई समर्पित गरेको छ । मान्छेका मनस्तलका इच्छा र बुभुक्षाहरूको पूर्ति हुन नसक्नुका कारणले खण्डित रहेका अवस्थामा जन्मने र तिनको परिपूरणको याचना प्रकट गर्ने क्रममा सहायक तत्त्व बनेर अभिव्यक्त हुने प्रक्रियाको कारण र परिणाम समेतको पहिचान गर्ने क्रममा यस विज्ञानले आफूलाई वस्तुका रूपमा स्थापित गरेको छ । मनोविज्ञान व्यक्तिको बाह्यजगत्मा रहेको मूर्त क्रियाको परिपूर्तिको रूप लिएर प्रकट हुन्छ ।
मनस्तलको फेदमा धेरै सूक्ष्म र गम्भीर विषयका तथ्यहरू प्रस्तुत गर्ने क्रम प्राचीन कालदेखि नै कायम रहेको देखिन्छ । मन यस्तो रहस्यमय विषयका रूपमा स्थापित भएको छ, जसको अध्ययन गर्नु विश्वका विभिन्न चिन्तक, विश्लेषक तथा अन्वेषकहरूका लागि नै चुनौतीको विषय बनेको छ ।
समयअनुसार बढ्ने उमेरसँगै मानिसको दैनिक कार्यव्यवहार सोच तथा कार्यपद्धतिमा परिवर्तन आउँछ । जसले गर्दा विस्तारै परिवार तथा समाजमा त्यसको सकारात्मक तथा नकरात्मक प्रभाव पर्दछ । वृद्धवृद्धाको छोराछोरी, नातिनातिना तथा छरछिमेकसँग गर्ने र गरिने व्यवहारमा विस्तारै परिवर्तन हुन आउँछ । मानिसको समयसँगै उमेरमा आउने परिवर्तनले उसको सोच्ने क्षमतामा ह्रास आउँछ भने बिर्सने बानी बढ्दै जान्छ जसले उसको मनोविज्ञान भिन्न देखिन्छ । उमेरसँगै शरीरको सक्रियतामा कमी आउने तथा ईच्छाशक्ति घट्ने तथा जीवनप्रतिको राग विरागमा परिणत हुँदै जाने देखिन्छ त्यसैले उमेरको वृद्धिसँगै देखिएको मनोविज्ञानको अध्ययन गर्ने काम वृद्ध मनोविज्ञानले गर्दछ। पितृरति ग्रन्थी र मातृरति ग्रन्थीका कारण विपरीत लिङ्गीप्रतिको सामिप्यता र कटुतामा विशेष अवस्था देखिन्छ । शरीर कमजोर, शिथिल रोगी भएपछि भएको कमजोरी वृद्धवृद्धाका दैनिक व्यवहारमा सहजै प्रकट हुन्छन् । सानो कुरामा रिसाउने, झर्किने तथा पुराना कुरा सम्झेर टोलाउने मनोवृत्तिको चित्रण वृद्ध मनोविज्ञानले अध्ययन गर्दछ ।
प्रसिद्ध मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले बुढ्यौलीपन त्यससँग सम्बद्ध घटनालाई अचेतनका इच्छा तथा अनुभूतिसँग जोडेका छन् । उनले स्वप्न सिद्धान्तमा दबिएर रहेका इच्छाहरू सपनामा प्रतीकात्मक भएर अभिव्यक्त भएजस्तै मानव मनमा दबिएका, मानव जातिमा लुकेर रहेका कुराहरू साहित्यका माध्यमबाट उद्घाटित हुन्छ भनेका छन् । कार्ल गुस्ताभ युङले मानव जीवनका घटना र मनोविज्ञानलाई अचेतनसँग जोडेका छन् । त्यसैले वृद्ध भएको मनोविज्ञानद्वारा मानव सभ्यताको चुरोसम्म पुग्न सकिन्छ । साहित्य कुनै भौगोलिक परिवेशमा बसोबास गर्ने जाति, तिनका संस्कार वा संस्कृति र चेतनालाई चिनाउने महत्त्वपूर्ण साधन हो ।
वृद्धमा समग्र मानवको अनुभव रहेकाले त्यसले मानव जीवनका विभिन्न पक्षसँग सम्बन्ध राख्दछ । मानवसभ्यताको विकाससँगै मानव मनोविज्ञानमा आएको परिवर्तन त्यसले पारेको सामाजिक प्रभावलाई तुलना गर्न सकिन्छ । विभिन्न समयमा भएका युद्ध, प्राकृतिक विनाश र त्यसले पारेको मानसिक प्रभाव अनुसारको मनोविज्ञानको चित्रण वृद्ध साहित्यका संस्मरण, सवाई, तथा जीवनीका आख्यानमा पाइन्छन् । त्यसैले वृद्ध वा बुढ्यौली साहित्यलाई मानव सभ्यताको इतिहास सँगसँगै मानव चेतनाको दस्तावेज, मानव ज्ञानको प्रतिकात्मक रूप भन्न सकिन्छ । विभिन्न समयका शासक तिनका शासनकला, घटना, दुर्घटनामा मानव मनोविज्ञानकै भूमिका रहेकोले वृद्धमनोविज्ञानको चित्रण रहेको हुन्छ । वृद्ध साहित्य मनोविज्ञानसँग निकट भएर रचना हुन्छ भने मनोविज्ञानका विभिन्न रूप स्वरूपको प्रकटीकरण वृद्ध मनोविज्ञानमा पाइन्छ । त्यसैले प्राचीन मानव सभ्यताको मानवीय चेतन / अचेतन प्रतिबिम्बका रूपमा वृद्ध साहित्य र मनोविज्ञानको सम्बन्ध रहेको छ ।
जीवन सरल, सोझो वा सोलोडोलो नभएर मात्रै होइन, प्रवृत्तिगत कारणहरूले गर्दा पनि मानिस जटिल र विपरीत परिस्थितिमा बाँचेर विकृति, द्वन्द्व र संघर्ष तथा मानसिक तानातानीका अनिश्चिततामा अल्झिन विवश हुन्छ । यिनीहरूबाट अनेक समस्या र विकारहरू सृजना भएर डरलाग्दो स्थिति मौलाउँछ। वैमनस्य, कटुता, विभ्रम तथा असत्यको प्रतीतिमा मानवसम्बन्ध तथा समझदारी नै कलुषित र विपन्न तथा विच्छिन्न भइदिन्छ । तसर्थ बाह्य परिस्थितिको अध्ययनबाट निष्कर्षित हुने प्रचलित सिद्धान्तका विपरीत अथवा त्यसलाई मात्र सम्पूर्ण नमानेर अन्तस्तलका गूढतम सत्यको पर्यावलोकन र खोजी गर्ने दिशातर्फ मनोविज्ञान अग्रसर भयो । यसलाई अङ्गीकार गरेर चिन्तनको क्षेत्र यथार्थतिर आकर्षित भयो भने त्यसको प्रगति र प्रभावले विश्लेषणात्मक प्रवृत्तितर्फ उन्मुख हुन प्रेरित गर्यो र हरेक वस्तुको अन्वेषण र सूक्ष्मातिसूक्ष्म विश्लेषण गरेर प्रतिपादित हुने तथ्य र सत्य नै विश्वासिलो हुने मान्यताअनुरूप मनोविश्लेषण स्थापित भयो (प्रधान, २०५२ : १७१) ।
आधुनिक युगमा फ्रायडको विलक्षणयुक्त मनोविश्लेषणको अर्थ पनि एउटै रूपमा नभई विभिन्न रूपमा प्रयोग गरिएको देखिन्छ । मुख्यतः आज यसको अर्थ तीन रूपमा प्रयोग भइरहेको देखिन्छ । जस्तै :
(क) खोज प्रविधि (टेक्निक)
(ख) मनोचिकित्सापद्धति (साइकोथेरापी)
(ग) मनोविज्ञानको सम्प्रदाय वा सिद्धान्त (स्कुल अफ थ्यौरी)
(क) खोज प्रविधि
सर्वप्रथम मनोविज्ञान/मनोविश्लेषण एउटा खोज प्रविधि हो। यसका माध्यमले व्यक्तिको चेतन, अचेतन, अवचेतन र जीवनको विश्लेषण गरिन्छ । साथै व्यक्ति व्यवहारको गद्यात्मकताको अध्ययन उसको उपचारको दृष्टिकोणले गरिन्छ ।
(ख) मनोचिकित्सा पद्धति
दोस्रो अर्थमा मनोवैज्ञानिक पद्धतिमा मनोविश्लेषण एक प्रकारको मनोचिकित्सा हो, जसद्वारा रोगीले मानसिक सन्तुलन प्राप्त गर्दछ र उसले आफ्नो जीवनका समस्याहरूप्रति समायोजन गर्दछ । ब्राउनका अनुसार यो एउटा मनोचिकित्सा हो जसका माध्यमले मनस्ताप, मनोविक्षिप्तता वा यौनविकृत रोगीहरूको पुनर्निर्माण एवम् उपचारको प्रयत्न गरिन्छ, जसले गर्दा रोगीले जीवनका समस्याहरूको असल समायोजन गर्दछ (भण्डारी, २०५८ : १०) ।
(ग) मनोविज्ञानको सम्प्रदाय वा सिद्धान्त
तेस्रो एवम् अन्तिम अर्थमा मनोविश्लेषण मनोविज्ञानको एउटा सम्प्रदाय वा एउटा व्यवस्था हो अर्थात् व्यक्तित्वको एउटा सिद्धान्त हो। मनोविज्ञानको एउटा विशिष्ट सम्प्रदायका रूपमा यसले मानिसको असामान्य व्यवहारको अचेतन मनको विशेषताहरूका साथमा अध्ययन गर्दछ । साथै यसले व्यक्तिको व्यक्तित्वको विकासमा प्रारम्भिक अनुभवहरूलाई धेरै प्रभावशाली ठान्दछ। यी अनुभवहरूको मौलिक कारण शैशवावस्थामा उत्पन्न हुने ती प्रेरणा र इच्छाहरू हुन् जसको स्वरूप गत्यात्मक (डाइनामिक) हुन्छ ।
अर्को शब्दमा भन्ने हो भने यो एउटा सम्प्रदायका साथै विद्या, मत, सिद्धान्त वा ज्ञान हो जसका आफ्नै प्रकारको धारणा एवम् मान्यताहरू देखिन्छन् । यस सम्प्रदायका प्रवर्तक यस युगका प्रख्यात मनोविज्ञानवेत्ता डा. सिग्मण्ड फ्रायड हुन् । यसअन्तर्गत व्यक्तित्व सिद्धान्तको चर्चा गरिन्छ। यो व्यक्तित्वसिद्धान्त मनोविश्लेषणात्मक सिद्धान्तका नामले पनि प्रचलित छ जसलाई फ्रायडवादको नामले समेत सम्बोधन गरिन्छ ।
उपर्युक्त तथ्यहरूलाई ध्यानमा राख्दै हामी मनोविश्लेषणात्मक सम्प्रदायलाई ती मनोवैज्ञानिकहरूको समूह हो भन्न सक्दछौं जसले मानिसको असामान्य व्यवहारको अध्ययन मनका विशेषताहरूका साथ मनोविश्लेषण पद्धतिद्वारा गर्दछ । अझ यसले मानिसको अचेतन मन र त्यसका प्रक्रियाहरूको अध्ययन गर्दछ जसको सम्बन्ध जीवनको विभिन्न पक्ष एवम् क्षेत्रहरूसँग हुन्छ । यहाँ एउटा कुरा के स्पष्ट देखिन्छ भने मनोविश्लेषणलाई खोज प्रविधिका रूपमा हेर्दा फ्रायड यसका प्रतिपादक हुन् भने चिकित्सापद्धतिका रूपमा हेर्दा जनक हुन्, अनि सम्प्रदायका रूपमा हेर्दा यी संस्थापक हुन् ।
०००
वृद्ध मनोविज्ञान र साहित्य (२०७९)
Subscribe
Login
0 Comments
Oldest




































