बद्रीप्रसाद ढकालअसली राष्ट्रवादकाे फुइँ !!
हिजोको सपुतहरूको गुणगान गाउने हामीहरू मात्र आज फुइँ लगाएर कुरा गरिरहेका छौँ, विचार तर व्यवहारमा ठीक भिन्न छ असान्दर्भिकता देखाइरहेका छौँ राष्ट्रलाई दलदलमा फसाउनु नै हो राष्ट्रवाद समय फेरिएको हो या अर्थ, व्यक्ति, समाज बुझ्ने कसले ?

बद्रीप्रसाद ढकाल :
‘देशभक्ति मर्दैन चुत्थै देश भए पनि’ समले त्यसै लेखेका पनि होइनन् नि । आखिर देश भनेको मानचित्र मात्रै पनि होइन, देशसँग त मनमुटु मस्तिष्क सबै जोडिएरै आउँछ । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी उर्फ जन्मेको ठाउँ र जन्मदिने आमा विश्वका सबै ठाउँभन्दा ठूला हुन् दुर्लभ हुन् भन्ने कुरो वास्तवमा अब कुरोमा मात्र ठूलो हुन थाल्यो । यसले जोडेको भावनासँग खेल्न खोज्ने देशका नेतृत्व भएपछि लोकको के लाग्छ । आफ्नो कर्तव्य र राष्ट्रप्रतिको दायित्व भुल्नेहरूले राष्ट्रवादको कुरो गर्या पटक्कै नसुहाउने, मालिकको चाकडीमा खोक्रो राष्ट्रवादको भाषणले हल्ला मात्र हुनथाल्यो झन्झन् आजकल । दुःखको कुरो राष्ट्रवादका कुरामा ठूला ठूला डिङ हाक्नेहरू नै बाहिरी पनि ढोँग मात्र देखाउँछन् । आफूलाई असल राष्ट्रवादी र अरूलाई कमसल भन्नेहरू पनि ठाउँ ठाउँमा आफ्नै कुरा काट्छन् आफूलाई राष्ट्रका नागरिक भएको गर्व होइन लज्जा अनुभव गर्नुपर्ने गरी ।
कमसेकम हो अगुवा उही बाटो… भएपछि आशा कसरी गर्नु । त्यो पनि दोस्रो पुस्ताका लागि झन् झन् निराशा हुने कुरा गर्छन् । धाक र रवाफ देखाउन परे अर्काकै, राष्ट्रको बखान गर्नुपरे अर्काकै कुराकानी, अन्तर्वार्ता जे भए पनि परचक्रीकै उदाहरण दिनु परे विदेशकै अर्थ उद्योग, वाणिज्यदेखि चलचित्र समेत अकौकै हेर्ने, अकाृकै राम्रो देख्ने अनि त्यसैलाई आफ्नो राष्ट्रबीच तुलना गरेर आफैलाई खुम्च्याउने प्रवृत्ति पनि हाम्रै । अर्काको राम्रो र आफ्नो नराम्रो भन्ने अनि कसरी हुन्छ असल राष्ट्रवाद बुझ्नु पर्दैन भन्या । पुर्खाले यहि भूमिका लागि प्राणका आहुति दिए, एक थोपा रगत रहेसम्म आफ्नो स्वतन्त्रता र स्वाभिमानको लागि लडिरहे । हाम्रो स्वार्थका लागि पराधिन चाहन्छौँ, आफ्नो जीवनलाई सम्पन्न बनाउन अर्काकै चाकडी गर्छौँ अनि कसरी बन्छ मुलुक ।
हामी सधैँ अर्काकै लागि मिहिनेत गर्छाैँ बनाउने कुरोमा । आफ्ना लागि चाहिँ हात मोल्छौँ, हात थाप्छौँ अनि त्यहाँ खोज्छौ राष्ट्रियता । देशका दक्ष जनशक्ति हुन कि अन्य, सबैलाई अर्काकै विकासले तानेको छ, अर्कैको सम्पन्नताले बानेको छ अनि हाम्रोमा के छ र भन्ने पनि हामीहरू । हाम्रा शाखा सन्तानलाई अरूकोमा बाधा बनाउन कम्मर कस्ने पनि हामीहरू त्यस्ताका पनि असल राष्ट्रवादको कुरा चलेकै छ । शक्ति, बुद्धि र विवेक अर्कैको लगेर सुम्पेर आफ्नो चाहीँ बनेन भन्नु पनि हाम्रो विद्धता नै हो । क्यारे देशले लाखौँ खर्च गरेर उत्पादन गरेको दक्ष जनशक्ति देशका लागि सपना देख्छन् । यता भने काम गर्ने र गराउने वातावरण नै बन्दैन निराश भएको युवा झोला बोकेर हुत्तिन्छ परदेश अनि नेतृत्व देख्छन् समृद्धको सपना काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरै । अनि देश यो भन्दा भताभुङ्ग के गरेर हुन्छ ।
फुसर्दको समयमा दुई चारजना जम्मा गरी राष्ट्रवादको गफ गर्नमा हामी माहिर छौँ । अर्कैको राष्ट्रियताको सम्मान गर्छौँ यही समय राष्ट्रको उन्नतिका – भलाईका लागि खर्च गर्दैनौँ, रुचाउँदैनौँ । समाजसेवाका कुरा गर्नेहरू बिना लाभमा डेग सर्दैनन्, कुनै सामाजिक काममा फूर्सद नभएको बहाना बनाउँछन् र गफ चुट्छन् । अनि उन्नतितर्फ बढेन भन्ने पनि तिनीहरू नै । बडा गजब छ हाम्रो संस्कृति । अर्काको उन्नतिको बखानले मात्र राष्ट्र बन्छ ? कदापि बन्ला त । अर्काको विकाससँग तुलना परिवर्तन हुन्छ ? हुनै सक्दैन । कत्रो जिम्मेवारीलाई नबुझ्ने, बुझे पनि बुझ पचाउने अनि हाम्रो उन्नति आफैँले गर्ने कि पाउ मोलेर हुने हो ? उन्नति कहिले हुन्छ कसले गरिदिन्छ ?
आफूचाहिँ कहाँ के लागि मरिमेट्ने अर्काकै पराधिनलाई गर्व गर्ने, आफ्नो चाहिँ भएको पनि बिगार्ने, भत्काउने बाँदरे प्रवृत्ति देखाउने अनि आफैलाई विचरा भन्न पनि पछि नपर्ने द्वैध चरित्र भएपछि कसको के लाग्छ । कहिले सुध्रिएला हाम्रो मति । सहयोगी हातहरू जति धेरै भए पनि सहयोग लिनेले कहिले पाएँ नभन्ने । पाएको अवस्था पनि नदेखिएपछि दिनेले पनि कति मात्र देओस् डाक्टर, इन्जिनियर, पाइलट जस्ता प्राविधिक पनि अर्काकै राष्ट्र बनाउनमा तयार शिक्षित वर्ग सबै अरूलाई नै श्रम सीप बेच्ने अनि विकासको पूर्वाधार भएन, भताभुङ्ग भयो मात्र भनेर हुन्छ त ! बडो अचम्मको कुरो राष्ट्रले जननीले जन्माएको सपुत आफ्नै आङ कन्याएर छारो उडाउनेहरू कसरी बच्न सक्छन्, असल राष्ट्रवादी आफैलाई गौरवान्वित महसुस गर्न नसक्ने अग्रजले राष्ट्रवादको के कुरा देलान । कमसे कम राष्ट्रवादको गौर नगरे पनि राष्ट्रका बारेमा नमिठा नराम्रा कुरा नगर्दिए त हुन्थ्यो नि । त्यो पनि गर्न नसके के को सच्चा नागरिक के को राष्ट्रवादी ? देशको सीमा मिचिन्छ सदनमा कुर्लन्छ सडकमा चर्का नाराले उर्लन्छौँ तर त्यसका समाधानका लागि केही गर्दैनौ केवल बहसका विषय बनाउँछौँ अनि लाज पचाएरै मिच्नेको आतिथ्य ग्रहणमा नाक फुलाउँछौँ हरे शिव चरित्रको के कुरा गर्नु अब ।
लाजै पचाएर आतिथ्य ग्रहण गरेर तलुवा चाट्नु पनि त विशेषतै भैसकेछ आफ्नो स्वार्थका लागि । त्यहाँ कहाँ छ राष्ट्रवाद ? खोज्न बत्ती नै बाल्नु पर्ला जस्तो भइसक्यो । जति राम्रो नीति नियम बनाए पनि विश्वकै उत्कृष्ट संविधान बनाए पनि हामी झन झन किन ? गरिब र अराजक । हुन त जहाँ कङ्गाल त्यहाँ चण्डाल भन्छन् क्यारे । भोकले चेतनालाई उठ्नै दिँदैन । कति सम्म निर्लज्ज भए नभएका कुरा गरेर ठूलो बन्नु पर्ने । मिच्नु पर्ने, थिच्नु पर्ने हुने नहुने सबै कुरा घिच्नु पर्ने । आफू समाजको गन्नेमान्ने भएको नाताले नीति नियम मिच्छौँ । आफ्ना सहकर्मीहरूलाई मिच्न लगाउँछौ अनि कसरी बन्न सक्छ असल राष्ट्र ? कमसेकम देश बनाउन कसरत नगरे पनि बिगार्ने केही काम नगरे पनि हुन्थ्यो ।
हाम्रो बुद्धि विवेकको प्रयोग सहि ठाउँमा गर्न सके भोलिको हाम्रो भविष्य अन्यौल त हुँदैनथ्यो । देशप्रति सकारात्मक कुरा सिकाए पनि त असल, राष्ट्र बन्न सक्छ नि खै चेत । त्यतिसम्म पनि गर्न नसक्ने हामीमा कहाँ छ असल राष्ट्रवाद ? हुने खानेको नाममा हामी हाम्रा सन्तानलाई विदेशप्रतिको मोह देखाउँछौ उतै पुर्याउँछौ । अनि देशका सक्षम जनशक्ति सबै विदेशतिर पलायन हुन्छन् । सीपविहीन, दक्षताबिहीन भएका हामीहरू फुर्सदको समय हावाखोरीमै बिताउँछौ अनि बन्छ ? के कसरी असल । बडा दुःखको कुरो हामी भित्रको अन्तर्घाती आत्मा अर्काको भलो देख्न नसक्ने मन, व्यक्तिभित्रको कुविचार, व्यक्तिवादी अनि फेरि हिजोको राष्ट्रभक्तिको उदाहरण दिने हामीहरू नै । हिजोको सपुतहरूको गुणगान गाउने हामीहरू मात्र आज फुइँ लगाएर कुरा गरिरहेका छौँ, विचार तर व्यवहारमा ठीक भिन्न छ असान्दर्भिकता देखाइरहेका छौँ राष्ट्रलाई दलदलमा फसाउनु नै हो राष्ट्रवाद समय फेरिएको हो या अर्थ, व्यक्ति, समाज बुझ्ने कसले ? आफूलाई निकम्मा घोषित गरेर के प्रमाणित गर्न खोजेको हो लौन कसैले त सोध नेता भनेका बदमास होकी चोर कि केही काम नलाग्ने मनस्थिति बिग्रेका नै नेता बन्ने योग्यता हो कि बढी कुरा गर्न सक्नु राष्ट्रवादीको ठूलै बिल्ला जेहोस् अब चोकचोकमा ऐना झुण्ड्याउनु नपर्ने पो भाकै हो त ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































