बद्रीप्रसाद ढकालनेता बन्ने कि ! महोदय
अरु व्यवसायमा जस्तो शिक्षामा जस्तो वर्षौ लगानी गर्नुपर्ने पनि छैन नेता बन्न । अलिकता चातुर्यता देखाउनुस् । ठूला नेताका अगाडि अहिले सकेसम्म अलि बढी झुक्नुस् । उनका अवगुण बिर्सेर गुणै गुणका कथा फुक्नुस् ।

बद्रीप्रसाद ढकाल :
नेता भनेपछि कोही काला कोही सेता, कोही बुढा कोही भर्खरै जुँगाको रेखी बसेका केटा हुने नै भए । जे जस्तो भए पनि सबैले आफैले आफैलाई ठूलै मान्छन् असल ठान्छन् तर आजभोलि हिजो अस्तिको जस्तो भाउ नभएको जस्तो भन्दा पनि नमज्जा घृणा र तिरस्कारको पात्र बनेजस्तो लाग्छ । हैन, यो नेता शब्द नै यस्तो हो कि आजकलको बुद्धि र व्यवहारले गर्दा हो । नेताका गुण, बुझ्न चाहि ज्यादै कठिन फेरि परापूर्वकालदेखि नै मानवीय गुण भन्दा पनि लप्पनछप्पन जान्ने, नक्कल झक्कल र आडम्बरको झुण्ड मात्र मान्छे जस्तो देखिने, पटकपटक झुटलाई छोप्न सयौं झुट बोल्ने कलाप्रेमी अनि यथार्थलाई पन्छाएर फुस्रो कपोकल्पित गफ गलाप्रेमी मान्छे । योग्यता पनि उहि छक्याउने, झुक्याउने परेको बेला मुक्काउन सक्ने चटपटे, फटफटे अनि बेला न कुबेलाको पटपटे भए त योग्य भैगो नि ऊ पक्कै नेता बन्न पुगि गो । गजबको कुरो नेता बन्न कुनै विद्यालयको विश्वविद्यालयको सर्टिफिकेट पनि नचाहिने हुन्छ है ।
मानवीय गुण भए पनि नभए पनि ठीकै अरूको के कुरा । कति मान्छे जस्ता मात्रै भए पनि हुने भएपछि नेता बन्न सानोतिनो लुरे लाम्रो भुँडे, हाब्रे पनि नकस्सिने कुरै भएन । खान चाहिँ सबै कुरो चपाउन सक्नुपर्छ । तरल, लवण, ठोस, ग्यास, रसायन सबै चपाउने दांँत तिखार्न सक्ने । जे चपाए पनि बारम्बार आफूलाई इमन्दार, स्वाभिमानी, राष्ट्रवादी देखाउन, बनाउन र भनाउन पछि पर्नु हुँदैन । असल स्वभाव र संस्कारको बनावटी खोल पनि ओढने हुन सक्नुपर्छ । ठूलो भनाउन, मनाउन दुईचार जना केटा केटीलाई आफन्त बनाए पनि कार्यकता भनाए पनि पछि लगाउन सक्नुपर्छ त्यति भए एक से एक नम्बरको नेता भइन्छ ।
जब नेता बन्ने योग्यता बन्छ तब उसले आफैलाई ठूलै मान्छेमा गन्छ अनि यथार्थमा कामचोर भए पनि कर्मजीवी बन्छ अवगुण जतिलाई ढाकछोप गर्न नानाभातिका फाल्तु कुरा गर्छ । जमानाले रंग फेरे जस्ते बोली फेरिरहन्छ, मान्छेको अनुहार हेरेर जमघट हेरेर कुरा गर्ने बानी हुन्छ, अनि ठाउँ हेरी मान्छे हेरी कुरा फेर्न सक्ने, लेखेको कुरा केर्न सक्ने, जिद्दी गर्ने दृढ अनि माफी माग्ने कलाका पोख्त कलाकार । नेताका पनि भिन्न भिन्न प्रवत्ति त्यहि प्रवृत्ति अनुसारका नेताको विभाजन, कोही प्रगतिवादी कोही राष्ट्रवादी, गणतन्त्रवादी, समाजवादी यथास्थितिवादी, तर्कवादी, विचारवादी, बुद्धिवादी, भौतिकवादी, लोकतन्त्रवादी, कट्टर सत्यवादी, छट्टु बकबकवादी अनि त्यस्ताका कुरा चाहिँ कहिलेकाहीँ यवालाई तताउने, कहिलेकाही वृद्धवृद्धालाई छकाउने, युवतीलाइृ फकाउने र प्रतिपक्षलाई बकाउने हुनुपर्छ । कहिले बच्चालाई हँसाउने, कहिले युवतीलाई फसाउने ताल तालका नेताले गर्ने कुरालाई सत्य र झुटको तराजुमा राख्ने हो भने सत्यपट्टी हलका र झुटपट्टी गह्रौं हुन्छ । प्रायः अधिकतम सङ्ख्याका यस्ता नेताको भोक चाहिँ गजबको । प्रारम्भिक कालमा कार्यकर्ताको घरमा मकै, भटमास, चिउरा, रोटी भोजनको भरमा अघाउने थिए आजकल निकै खञ्चुवा वा घिचुवा प्रवृत्तिका देखिँछन् । सानातिना कुराले पेट नभरिने २१ औं शदिका नेताले खान हुने नहुने कुरो केही भन्दैनन् ।
अझ सरकारी जग्गाजमिन, पुलपुलेसा भनेपछि हुरुक्कै हुन्छन् । जब उपल्लो स्तरमा बढु़वा हुँदै जान्छन् तब वन, बिजुली, पानी, मल, सिमेन्ट, फलाम सबै चपाउन सक्ने हुन्छन् । आजकल जतिजति चारित्रिक रूपमा कमसल देखिएका छन् ति गन्तीमा ठुलै नेता हुन जसको नाम भ्रष्टाचारमा मुछिएको छैन ति के नेता ? नेता भएपछि चरित्रको कुरा पटक्कै भुल्नुपर्छ, जनताको अगाडि चुनावको बेलामा झुके पनि आफू सरहका अगाडि फुल्नुपर्छ आफनै कार्यकर्तालाई अगाडि राखेर झुट बोले पनि ताली पडकाउन लगाउन अनि चर्कोस्वरले फलाक्नु नै प्रचलित नेताको साखुल्ले बन्ने तौरतरिका हो । यस्ता असमान्य गुण र त्यसलाइृ देखाउन सक्ने स्वभाव र व्यवहार छ भने आजैदेखि प्रयोग गर्न थाल्नुस् कतै भोलि यो देशको होनाहार नेता हुन सक्नुहुन्छ, भविष्य सुनौलो हुनसक्छ । लाइन लागी हालौँ । जताततै पार्टी अफिसजस्ता तालिम केन्द्र खुलिसके त ।
फेरि अरु व्यवसायमा जस्तो शिक्षामा जस्तो वर्षौ लगानी गर्नुपर्ने पनि छैन नेता बन्न । अलिकता चातुर्यता देखाउनुस् । ठूला नेताका अगाडि अहिले सकेसम्म अलि बढी झुक्नुस् । उनका अवगुण बिर्सेर गुणै गुणका कथा फुक्नुस् । अनि त लगानी पुगी गो । भोलिदेखि नै तपाईंको चर्चा चुलिन्छ, जीवन त्यतै झुलिन्छ । केवल झोला बोक्नुस्, सर्वभक्षी हुनुस्, सर्वहारा बन्नुस् । अलिअलि अतिरिक्त क्रियाकलापमा हात मल्ने, हात छोड्ने र सबै खानेकुरामा मुख हाल्न सिके भैगो नि । के छ विचार लाग्ने हैन त नेता बन्ने बाटोतिर नभए बाटो तताए हुन्छ पसिना बेच्न ॥। जय होस ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































