साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाहिर गए

नयाँ धन्दा थाल्ने अवसरहरू ध्वस्त गरिए । झुटो नारा मात्रै मन मगजमा टम्म भरिए ॥ सधैँ झालेमाले विष कपटका खेल रचिए । दशा पीडा बढ्दा युवक युवती बाहिर गए ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ :

युवा सारा हाम्रा विविध पिरले छन् विरहमा ।
जुनी धान्ने खाखा इलम नहुँदा छन् सकसमा ॥
नयाँ शिक्षा दीक्षा प्रगति पथका युक्ति पुरिए ।
हियो गाँठो पार्दै युवक युवती बाहिर गए ॥

व्यवस्था पल्टाई नव प्रकृतिका शासन चले ।
पुराना पन्छाई विविध छविका शासक भए ॥
यहाँ सत्ता भत्ता पद र धनका खेल रचिए ।
छली चाला बढ्दा युवक युवती बाहिर गए ॥

बिगारे भत्काए नियम र प्रथा सिर्जनहरू ।
बिलाए मिल्काए विधि चलनका अक्कलहरू ॥
यहाँ छक्का पन्जा सुरथ चिडका खेल रचिए ।
अहो! सुर्ता मान्दै युवक युवती बाहिर गए ॥

विकासे नाराले धुर विकटमा डोजर चले ।
कुना पाखा कान्ला भिर जमिन ती भत्किन पुगे ॥
बढ्यो बाढी पैह्रो गरिबजनका आलए बगे ।
कठै छाती पिट्दै युवक युवती बाहिर गए ॥

खनीखोस्री गर्ने प्रविधि सिपका आँट सकिए ।
करेसा बारीमा तनमन हुने जाँगर गए ॥
कुटो नाम्लो डोको घन र हँसिया गायब भए ।
हलो मेलो छोडी युवक युवती बाहिर गए ॥

नयाँ धन्दा थाल्ने अवसरहरू ध्वस्त गरिए ।
झुटो नारा मात्रै मन मगजमा टम्म भरिए ॥
सधैँ झालेमाले विष कपटका खेल रचिए ।
दशा पीडा बढ्दा युवक युवती बाहिर गए ॥

०००
वि.न.पा.-४, बट्टार, नुवाकोट ।
हालः का. म.न.पा.-१६, बालाजु, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x