के.पी. पाैडेलधुवाँ र मद्यपानले
माथि व्योमकाखमा करोडलाख पिण्ड छन् । गर्छ के ? मनुष्यले भनी गमी नियाल्दछन् ॥ बोझ बन्छ अम्मली गरून् विचार रामले । शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ :
अङ्ग अङ्ग आँतमा बिगार्छ है चुरोटले ।
क्षुद्र भ्रष्ट सोचको अँगाल्छ झन् दिमागले ॥
देह बुद्धि चेतको बिगार्छ धूम्रपानले ।
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ॥ – १
रोग शोक बढ्छ त्यो धुवाँ सुरा तमाखुले ।
लान्छु भन्छ कालले कडा दशा बिमारले ॥
दुष्ट काल हट्छ के मनुष्यका गुहारले ?
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ॥ – २
उग्र कालकूटझैँ छ रूप घूम्रपानको ।
नष्ट गर्छ तेजको लतार्छ मान सानको ॥
व्यर्थ हुन्छ जिन्दगी सुरा र जाँड भाङले।
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ॥ ३
नाश गर्छ बुद्धिको खराब व्यक्तिसाथले ।
खाक पार्छ सिद्धिको कराल भ्रष्ट कर्मले
आयु गिर्छ कत्तिको नसा बिँडी चरेसले ।
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ॥ – ४
बाल वृद्ध प्रौढको युवा जुझारु व्यक्तिको ।
जीर्ण पार्छ धूम्रले अहो ! समस्त वर्गको ॥
कष्ट खेप्छ जिन्दगी कुकर्मका प्रहारले ।
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ॥ -५
माथि व्योमकाखमा करोडलाख पिण्ड छन् ।
गर्छ के ? मनुष्यले भनी गमी नियाल्दछन् ॥
बोझ बन्छ अम्मली गरून् विचार रामले ।
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥- ६
०००
बट्टार, नुवाकोट । हाल: माछापोखरी, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































