बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जिन्दावाद र मुर्दावादको चक्रव्यूह !
’मच्चियो मच्चियो अनि थच्चियो’ को दुर्नियतिले फेरि जनतालाई जिन्दावाद र मुर्दावादको चक्रव्यूहमा जाक्दैछन् । बेबकूफ सिसिफसहरु ।, होसियार ! जनता जनार्दन !

बद्रीप्रसाद दाहाल :
प्राकृतिक दृष्टिले सम्पन देशका विपन्न बनाइएका सोझा हामी नेपाली जनताको पुर्पुरो हतभागी भएको भयै छ गाँठे ! नाना थरी प्रणाली लाली धसेर आए पनि फगत भ्रष्टाचारको बाली लगाएर शासकहरु नाराका बलमा ताली लिनमात्र जान्ने चरम जाली बन्दा जतिखेर पनि देशको हालीमुहाली गर्ने चम्बू जम्बूगणले नमजाले रिँगाए देश र देशवासीलाई ! अयोग्य, अक्षम,विवेकहीनहरुको सत्ता चढाइँको लागि सधैँ जिन्दावादमा घन्किने,पन्पिने र मुर्दावादमा रन्किने सन्किने तथा चम्किने चक्रव्यूहमा फसेको फस्यै पो भयौँ त ? हे हरि !
आजको केन्द्रबिन्दु जिन्दावाद र मुर्दावाद भन्ने शब्दहरु छन् । जिन्द+आवाद मिलेर फारसीहरुले ‘जिन्दावाद’ उच्चारण गरेको यो पद नेपाली भाषामा आगन्तुक हो भन्छन् कोषकर्ताहरुले होस भएरै त होला ? यसको अर्थ बाँचिरहोस् ! अमर अजर बनोस् ! धराधाममा चिरकालसम्म सुशोभित पारोस् वा चिर समयपर्यन्त जय जय भएर टिकोस् ! भन्ने विस्मयसूचक बनेर ‘जिन्दावाद’ ! ओठतालु सुक्ने गरी घन्किरहन्छ । यसको बिप्ल्याँटो अर्थ दिने शब्द मुर्दावाद हो । यो शब्द पनि फारसकै खाडीबाट हाम्रो भाषामा आएको विस्मयादिबोधक पाहुना रहेछ । मुर्द+आवाद मिलेर बनेको यो पद मुर्दावाद तुमुल ध्वनिमा हतपत नथन्किने गरी रन्किने झम्टिने शासनको अव्यवस्थामाथि शाब्दिक हुङ्कारमा उत्पीडकवर्गप्रति जेहादै छोडेर फन्किने पड्किने र छड्किने गर्छ ।
विजय, हर्ष,असन्तुष्टि, विरोध र आक्रोश मुखर गर्ने सामूहिक स्वरमा नारा भएर आवेग तथा संंवेगमा छटाँउँदै यै शब्दले कथित अगुवाहरुको लोकप्रियता घटाउँछ ।त्यसै भएर त शब्दमा शक्ति हुन्छ भनेर अभिधा, लक्षणा र व्यञ्जना ब्रह्मा,विष्णु तथा महेश्वरझैँ मान्य बनेका रहेछन् ।
यसरी शासकका हठ,सनक,अहं,घमण्ड र व्यभिचार चुलिएर जुलुङ्गाहरूका छनकमनक घुलिएर समय—समयमा आ—आफ्ना सुसेधन्दा गरी बसेका जनतालाई कथित सिध्दान्त, दर्शन तथा आग्रहका बलले सडक तमासा मञ्चन गराउने उल्टो बहादुरी प्रदर्शन हुन्छन् बा ! जिन्दावादी र मुर्दावादीका घाती—प्रतिघातीका नाना जातिले । ‘जेलभरिलाई जेलको साथी, रेलभरिलाई रेलको साथी’ भनेजस्ता बन्छन् नारामा घन्किन, तन्किन र दन्किन पर्ने बाध्यता भएका भाग्यहारा जमात । ‘जोईपोइ एकै, म रहेँ भोकै’ भनेझैँ पार्दा रहेछन् आयोजकहरुले जुलुसका उपकरण बन्न टाढा—टाढादेखि आएका सहभागी मनुवाहरुलाई ।
‘जोगीको मोजमा झुपडी स्वाहा’ गरेर पुर्खादेखि नारामा कौलास्ने भ्यागुता पो बनाए बा राज बुद्धिभन्दा रजक बुद्धि ठूलो भएका आलुपाँडेहरुले हामी सोझालाई । ‘राजनीति वेश्यासमान अनेकौँ प्रकारले व्यवहारमा ल्याइन्छ, त्यो कतै भूmठ, कतै कठोर र कतै प्रियभाषिणी हुन्छ भने कतै—कतै हिंस्रक वा दयालु हुन्छ, कतै कृपण, कतै उदार पनि भनेरं नीतिविद् राजा भर्तृहरिले राजनीतिलाई अथ्र्याउनु रहस्यपूर्णै रहेछ’ । अङ्ग्रेजी नाट्यसाहित्यका सम्राट् शेक्सपियरले ‘राजनीतिज्ञ ईश्वरलाई पनि धोका दिने अचम्मको जीव हो’भनेर फाल्तु बोलेका रहेनछन् ।त्यसैले राजनीतिज्ञ हूँ भनी घमण्ड र अहंले चुलिएकाहरु आफ्नो सनकमा दिनलाई रात र रातलाई दिन बनाउन मुर्दावाद र जिन्दावादमा आम मानिसलाई भेडाबाख्रा संझिएर युगौँदेखि सडकमा मार्च गराएको गरायै छन् । उनै रत्नाकर र भस्मासुरका प्यादा बनेर हिँड्नु पर्ने हाम्रो नियति सधैँ धिक्कार, विकार,विशाद, तिरस्कार, अभिशाप र वहिष्कारका कुर्कुस्त भारी बोकेरै जीवन इति हुने भो कयौँ पुस्ता !
खरबौँ रुपयाँ खर्च गरी एक दसक लगाएर बल्ल—बल्ल ल्याएको संविधान काटीकुटी श्वान र कपिगण चरित्र बोकुवा, जनताका भाग्य खोसुवा तथा टोकुवाहरुको अहंको टकरावले ठहरै भएको देख्दा कसको आँसु थामिन्छ र ? आक्रोशको ज्वालामुखी किन दन्किँदैन जनार्दनका छातीमा ! पटक—पटकका लहडी, सनकी, झगडा र रगडा गर्न आनन्द मान्ने तमोगुणी आसुरी चित्तका गिद्धवृत्तिले बाटो भत्काको भत्कायै गरे गाँठे ! बाँदरको घाँटीमा मोतीको माला, बिरालालाई दूध कुर्ने सिपाही’ बनाउँने मजस्ता छ्यानबिछ्यान गर्न तागतमरुका मत जिप्ट्याएर पदको लडडू हातपार्ने ढड्डूले मुख मिठ्याएर गर्नु मोज गरे, लुट्नु राश लुटे बा ! लुटतन्त्रे लोकतन्त्रको भङ्घीय गाणतन्त्रमा ।
आम जनतालाई आफ्नै नीच इरादा र ईप्सा पूरा गर्न कहिले दायाँ कहिले बायाँ फर्क भनेर अर्बौँ अर्ब कमाउने चक्करमा अक्कर बाटो हिँडाउँने धुन्धुकारिका हुलले चिसो सडकमा मारुनी बनेर नाचेको झर्को लाग्दो अपची दृश्य हेरिसाध्यै छैन । वादको टुप्पी उखलेर, सिद्धान्तको साहस सुमरेर,आदर्शको सगरमाथामा हुरीबतास चलाएर परोपकार, सदाचार, करुणा, प्रेम, ममता, स्नेह, आदर, कर्तव्याकर्तव्यलाई चपरीमुनि पु¥याई हस्तिनापुरमा कुराज चलाउन कम्मर कस्ने लोभीपापीहरुको घिनलाग्दो उछिनापछिन जारी छ । जिन्दावाद र मुर्दावादमा सडक फोहर बनाउन कसिएकाले ‘फोहरमै मोहर छ’ भन्ने गजबले बुझेका छन् ।
सुन्दा क्या मीठा सूत्रका नारा बरालाहरुले तयार गरेका छन् त —ः हजुरहरु कहाँ ? हामी छौँ यहाँ ! विघटनको असंवैधानिक कदम— मुर्दावाद ! मुर्दावाद !, आसेपासे र ध्वाँसे समेट्ने हाम्रो दल—ः जिन्दावाद ! जिन्दावाद !, फलाने र ढिस्काने सरकारको सर्वसत्तावाद—ः मुर्दावाद ! मुर्दावाद !, जनताले चिन्यो झोली सरकार—ः चारैतिर भ्रष्टाचारै भ्रष्टाचार ! जनता कोरोनाको मारमा—ः कमाउनिष्ठजति सत्ताको जितहारमा ! महिला र्हिसा र बलात्कार—ः व्यभिचारी सरकारको उपहार ! कुशासन र भ्रष्टाचार—ः आततायीका मुहार ! आदि नाराहरुका तुमुल ध्वनिका यी मुर्दावाद र जिन्दावादले पुसको ठिहीलाई डिही बनाउन थालेको छ ।
‘बहुदलको दलदल,मान्छेको खलबल र अदलबदल’ भन्ने उखानलाई नै उखान शासकले तलबितल पारेकाले यो दशा आइलागको हो भनेर बिहानको चियागफमा एउटी पाकी आमा भन्दै थिइन् । बहिरोसित कानेखुसी लङ्गडोसित बुर्कुसी मार्ने बानी नानीदेखिकै भएको हुँदा हामपन्थीहरुले कहिल्यै सपना देख्न नसकेको देश हो यो । ‘मर्नुभन्दा बौलाउँन निका’े भन्ने आधा उखानमात्र जानेका लघुदर्शीहरुले‘बौलाइएपछि सबैको ननिको’पढ्न चैँ छुटाएछन् विचरा ! अजिँगरको आहार दैवले पु¥याउँछन् भन्ने सुनेका छेदीको हुलले ‘नेताको आहारा जनताले पु¥याउँछन्’ भन्ने उक्ति अनुसार नै अहिलेको जुक्ति ‘मुर्दावाद र जिन्दावाद’ तय गरेका हुन् भनेर गोठालाहरुले कुरो पनि चुहाए ।
‘दालभात तरकारी सधैँ बनूँ सरकारी’ भन्ने एक सूत्रीय अभियानमा छन् सबै मुर्दावाद र जिन्दावादका मूल पुजारीहरु । ‘नौ थरी नारा, न जून न तारा’ भित्री शत्रुले बनाइदिएपछि हाम्रो हैकमलाई अवज्ञा भयो र यो कागजी घर जल्न पुग्यो भन्छन् ठाडै। उत्तरतिरको सुपर ग्लू र दक्षिणपटिको सुपर फ्लूले पनि हामपन्थी, घामपन्थी र जामपन्थीहरु टसको मस नहुने भए अरे । त्यसैले यो महापागल मनस्थितिले अन्यलाई पनि उन्मादी बनाएर कर्कस ध्वनिमा जिन्दावाद र मुर्दावादको कोकोहोलो कान फुट्ने गरी मच्चिँदैछ । ’मच्चियो मच्चियो अनि थच्चियो’ को दुर्नियतिले फेरि जनतालाई जिन्दावाद र मुर्दावादको चक्रव्यूहमा जाक्दैछन् । बेबकूफ सिसिफसहरु ।, होसियार ! जनता जनार्दन ! अस्तु ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































