साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

’मच्चियो मच्चियो अनि थच्चियो’ को दुर्नियतिले फेरि जनतालाई जिन्दावाद र मुर्दावादको चक्रव्यूहमा जाक्दैछन् । बेबकूफ सिसिफसहरु ।, होसियार ! जनता जनार्दन !

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

प्राकृतिक दृष्टिले सम्पन देशका विपन्न बनाइएका सोझा हामी नेपाली जनताको पुर्पुरो हतभागी भएको भयै छ गाँठे ! नाना थरी प्रणाली लाली धसेर आए पनि फगत भ्रष्टाचारको बाली लगाएर शासकहरु नाराका बलमा ताली लिनमात्र जान्ने चरम जाली बन्दा जतिखेर पनि देशको हालीमुहाली गर्ने चम्बू जम्बूगणले नमजाले रिँगाए देश र देशवासीलाई ! अयोग्य, अक्षम,विवेकहीनहरुको सत्ता चढाइँको लागि सधैँ जिन्दावादमा घन्किने,पन्पिने र मुर्दावादमा रन्किने सन्किने तथा चम्किने चक्रव्यूहमा फसेको फस्यै पो भयौँ त ? हे हरि !

आजको केन्द्रबिन्दु जिन्दावाद र मुर्दावाद भन्ने शब्दहरु छन् । जिन्द+आवाद मिलेर फारसीहरुले ‘जिन्दावाद’ उच्चारण गरेको यो पद नेपाली भाषामा आगन्तुक हो भन्छन् कोषकर्ताहरुले होस भएरै त होला ? यसको अर्थ बाँचिरहोस् ! अमर अजर बनोस् ! धराधाममा चिरकालसम्म सुशोभित पारोस् वा चिर समयपर्यन्त जय जय भएर टिकोस् ! भन्ने विस्मयसूचक बनेर ‘जिन्दावाद’ ! ओठतालु सुक्ने गरी घन्किरहन्छ । यसको बिप्ल्याँटो अर्थ दिने शब्द मुर्दावाद हो । यो शब्द पनि फारसकै खाडीबाट हाम्रो भाषामा आएको विस्मयादिबोधक पाहुना रहेछ । मुर्द+आवाद मिलेर बनेको यो पद मुर्दावाद तुमुल ध्वनिमा हतपत नथन्किने गरी रन्किने झम्टिने शासनको अव्यवस्थामाथि शाब्दिक हुङ्कारमा उत्पीडकवर्गप्रति जेहादै छोडेर फन्किने पड्किने र छड्किने गर्छ ।

विजय, हर्ष,असन्तुष्टि, विरोध र आक्रोश मुखर गर्ने सामूहिक स्वरमा नारा भएर आवेग तथा संंवेगमा छटाँउँदै यै शब्दले कथित अगुवाहरुको लोकप्रियता घटाउँछ ।त्यसै भएर त शब्दमा शक्ति हुन्छ भनेर अभिधा, लक्षणा र व्यञ्जना ब्रह्मा,विष्णु तथा महेश्वरझैँ मान्य बनेका रहेछन् ।

यसरी शासकका हठ,सनक,अहं,घमण्ड र व्यभिचार चुलिएर जुलुङ्गाहरूका छनकमनक घुलिएर समय—समयमा आ—आफ्ना सुसेधन्दा गरी बसेका जनतालाई कथित सिध्दान्त, दर्शन तथा आग्रहका बलले सडक तमासा मञ्चन गराउने उल्टो बहादुरी प्रदर्शन हुन्छन् बा ! जिन्दावादी र मुर्दावादीका घाती—प्रतिघातीका नाना जातिले । ‘जेलभरिलाई जेलको साथी, रेलभरिलाई रेलको साथी’ भनेजस्ता बन्छन् नारामा घन्किन, तन्किन र दन्किन पर्ने बाध्यता भएका भाग्यहारा जमात । ‘जोईपोइ एकै, म रहेँ भोकै’ भनेझैँ पार्दा रहेछन् आयोजकहरुले जुलुसका उपकरण बन्न टाढा—टाढादेखि आएका सहभागी मनुवाहरुलाई ।

‘जोगीको मोजमा झुपडी स्वाहा’ गरेर पुर्खादेखि नारामा कौलास्ने भ्यागुता पो बनाए बा राज बुद्धिभन्दा रजक बुद्धि ठूलो भएका आलुपाँडेहरुले हामी सोझालाई । ‘राजनीति वेश्यासमान अनेकौँ प्रकारले व्यवहारमा ल्याइन्छ, त्यो कतै भूmठ, कतै कठोर र कतै प्रियभाषिणी हुन्छ भने कतै—कतै हिंस्रक वा दयालु हुन्छ, कतै कृपण, कतै उदार पनि भनेरं नीतिविद् राजा भर्तृहरिले राजनीतिलाई अथ्र्याउनु रहस्यपूर्णै रहेछ’ । अङ्ग्रेजी नाट्यसाहित्यका सम्राट् शेक्सपियरले ‘राजनीतिज्ञ ईश्वरलाई पनि धोका दिने अचम्मको जीव हो’भनेर फाल्तु बोलेका रहेनछन् ।त्यसैले राजनीतिज्ञ हूँ भनी घमण्ड र अहंले चुलिएकाहरु आफ्नो सनकमा दिनलाई रात र रातलाई दिन बनाउन मुर्दावाद र जिन्दावादमा आम मानिसलाई भेडाबाख्रा संझिएर युगौँदेखि सडकमा मार्च गराएको गरायै छन् । उनै रत्नाकर र भस्मासुरका प्यादा बनेर हिँड्नु पर्ने हाम्रो नियति सधैँ धिक्कार, विकार,विशाद, तिरस्कार, अभिशाप र वहिष्कारका कुर्कुस्त भारी बोकेरै जीवन इति हुने भो कयौँ पुस्ता !

खरबौँ रुपयाँ खर्च गरी एक दसक लगाएर बल्ल—बल्ल ल्याएको संविधान काटीकुटी श्वान र कपिगण चरित्र बोकुवा, जनताका भाग्य खोसुवा तथा टोकुवाहरुको अहंको टकरावले ठहरै भएको देख्दा कसको आँसु थामिन्छ र ? आक्रोशको ज्वालामुखी किन दन्किँदैन जनार्दनका छातीमा ! पटक—पटकका लहडी, सनकी, झगडा र रगडा गर्न आनन्द मान्ने तमोगुणी आसुरी चित्तका गिद्धवृत्तिले बाटो भत्काको भत्कायै गरे गाँठे ! बाँदरको घाँटीमा मोतीको माला, बिरालालाई दूध कुर्ने सिपाही’ बनाउँने मजस्ता छ्यानबिछ्यान गर्न तागतमरुका मत जिप्ट्याएर पदको लडडू हातपार्ने ढड्डूले मुख मिठ्याएर गर्नु मोज गरे, लुट्नु राश लुटे बा ! लुटतन्त्रे लोकतन्त्रको भङ्घीय गाणतन्त्रमा ।

आम जनतालाई आफ्नै नीच इरादा र ईप्सा पूरा गर्न कहिले दायाँ कहिले बायाँ फर्क भनेर अर्बौँ अर्ब कमाउने चक्करमा अक्कर बाटो हिँडाउँने धुन्धुकारिका हुलले चिसो सडकमा मारुनी बनेर नाचेको झर्को लाग्दो अपची दृश्य हेरिसाध्यै छैन । वादको टुप्पी उखलेर, सिद्धान्तको साहस सुमरेर,आदर्शको सगरमाथामा हुरीबतास चलाएर परोपकार, सदाचार, करुणा, प्रेम, ममता, स्नेह, आदर, कर्तव्याकर्तव्यलाई चपरीमुनि पु¥याई हस्तिनापुरमा कुराज चलाउन कम्मर कस्ने लोभीपापीहरुको घिनलाग्दो उछिनापछिन जारी छ । जिन्दावाद र मुर्दावादमा सडक फोहर बनाउन कसिएकाले ‘फोहरमै मोहर छ’ भन्ने गजबले बुझेका छन् ।

सुन्दा क्या मीठा सूत्रका नारा बरालाहरुले तयार गरेका छन् त —ः हजुरहरु कहाँ ? हामी छौँ यहाँ ! विघटनको असंवैधानिक कदम— मुर्दावाद ! मुर्दावाद !, आसेपासे र ध्वाँसे समेट्ने हाम्रो दल—ः जिन्दावाद ! जिन्दावाद !, फलाने र ढिस्काने सरकारको सर्वसत्तावाद—ः मुर्दावाद ! मुर्दावाद !, जनताले चिन्यो झोली सरकार—ः चारैतिर भ्रष्टाचारै भ्रष्टाचार ! जनता कोरोनाको मारमा—ः कमाउनिष्ठजति सत्ताको जितहारमा ! महिला र्हिसा र बलात्कार—ः व्यभिचारी सरकारको उपहार ! कुशासन र भ्रष्टाचार—ः आततायीका मुहार ! आदि नाराहरुका तुमुल ध्वनिका यी मुर्दावाद र जिन्दावादले पुसको ठिहीलाई डिही बनाउन थालेको छ ।

‘बहुदलको दलदल,मान्छेको खलबल र अदलबदल’ भन्ने उखानलाई नै उखान शासकले तलबितल पारेकाले यो दशा आइलागको हो भनेर बिहानको चियागफमा एउटी पाकी आमा भन्दै थिइन् । बहिरोसित कानेखुसी लङ्गडोसित बुर्कुसी मार्ने बानी नानीदेखिकै भएको हुँदा हामपन्थीहरुले कहिल्यै सपना देख्न नसकेको देश हो यो । ‘मर्नुभन्दा बौलाउँन निका’े भन्ने आधा उखानमात्र जानेका लघुदर्शीहरुले‘बौलाइएपछि सबैको ननिको’पढ्न चैँ छुटाएछन् विचरा ! अजिँगरको आहार दैवले पु¥याउँछन् भन्ने सुनेका छेदीको हुलले ‘नेताको आहारा जनताले पु¥याउँछन्’ भन्ने उक्ति अनुसार नै अहिलेको जुक्ति ‘मुर्दावाद र जिन्दावाद’ तय गरेका हुन् भनेर गोठालाहरुले कुरो पनि चुहाए ।

‘दालभात तरकारी सधैँ बनूँ सरकारी’ भन्ने एक सूत्रीय अभियानमा छन् सबै मुर्दावाद र जिन्दावादका मूल पुजारीहरु । ‘नौ थरी नारा, न जून न तारा’ भित्री शत्रुले बनाइदिएपछि हाम्रो हैकमलाई अवज्ञा भयो र यो कागजी घर जल्न पुग्यो भन्छन् ठाडै। उत्तरतिरको सुपर ग्लू र दक्षिणपटिको सुपर फ्लूले पनि हामपन्थी, घामपन्थी र जामपन्थीहरु टसको मस नहुने भए अरे । त्यसैले यो महापागल मनस्थितिले अन्यलाई पनि उन्मादी बनाएर कर्कस ध्वनिमा जिन्दावाद र मुर्दावादको कोकोहोलो कान फुट्ने गरी मच्चिँदैछ । ’मच्चियो मच्चियो अनि थच्चियो’ को दुर्नियतिले फेरि जनतालाई जिन्दावाद र मुर्दावादको चक्रव्यूहमा जाक्दैछन् । बेबकूफ सिसिफसहरु ।, होसियार ! जनता जनार्दन ! अस्तु ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
सञ्जालको जाल : कालको द्वार

सञ्जालको जाल : कालको...

फित्काैली डटकम
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x