डा. विदुर चालिसेचुनावकाे चम्चा
त्यसपछि मेराे भान्छा काेठामा बजिरहने चम्चा, चुनावमा सडक भरि बज्न थाल्याे । विपक्षीहरू बकबकाएर हैरान हुँदै गीत गाउन थाले ।

डा. विदुर चालिसे :
भान्छातिर हेर्याे कि घरवाली आँखा तर्न थालिहाल्थिन् ।मलाई पनि बेकारकाे रिस उठ्थ्याे । कच्कच मुखबाट निफनिन्थ्याे । भनिदिन्थेँ। –“के भान्छातिर हेर्न पनि नहुने ?”
–“किन हेर्ने त अर्काकाे भान्छामा !”
म अकमकिन्थेँ । कमाएर ल्याउँन दुनियालाई झुट बाेल्थेँ । नियम र कानुन छल्दै भूमिगत काराेबार गर्थेँ । उसैलाई खुसी पार्न बेलुका दम्भ छाेडेर भन्थेँ ।
–“याे चाहिँ विचाैलियाकाे नजराना हाे, जतन गरेर राखेस । सधैँ यस्ताे अवसरकाे माेटाे नजराना आउँदैन ।”
–“कसरी यति धेरै नजराना पाउनुभयाे ?”
हर्षकाे आभास र काँथर त्रासकाे बिचमा उसलाई भनी पनि दिन्थेँ।
–“तेराे भाग्य र मलाई भगवानबाट आशिर्वादकाे संयाेग एकै दिन परेकाे रहेछ !”
घरवाली लजाएर नजिकै बस्थी । घरकाे प्रमुख जिम्मेवार भएकाे नाताले मनमा रहेकाे अनियमितताकाे त्रास दबाएर ठट्टामा भन्थेँ । –“अँ तँलाई थाहा छ ?”
–” के कुरा हजुर ?”
घरवालीकाे घुर्ने आँखा, ठाेस्याउने भाका र झर्किने स्वभाव एकै पटक भक्तपुरे जुजु धाै जस्ताे जमेर स्थिर बन्थ्याे । उसकाे मुहारकाे जलन एकाएक शान्त सराेबर भएर निश्चल बन्थ्याे । म पनि सत्य तथ्य खुलाएर भन्थेँ ।
–“एक चम्चाकाे करामत हाे, याे !”
उसले कुरा बुझिन । अनपढ थिई । नजरानाकाे बिटाे हेरेर ओल्टाइ पल्टाई गर्थी । मख्ख देखिन्थी । उसमा एउटै ओैडाहा भाव थियाे । मलाई साेध्न पुग्थी ।
–“कहाँ राखे सुरक्षा हुन्छ ?”
मेराे मनकाे निर्भिक मन भय र भ्रान्तिले भड्किन पुग्थ्याे । अलि झर्किलाे स्वरमा कराइदिन्थेँ ।
–“भान्छामा लगेर राख !”
उसकाे हाेसहवास उठ्थ्याे । फेरि अन्कनाएर सुझाव माग्थी । डर र त्रासले ओैडाहा बनेर गम खान्थी । मायालु तरिकाले हात च्याप्प समातेर भान्छा काेठामा मलाई समेत लगेर ढाेकाकाे चुकुलबन्द गर्थी । मायालु स्वरमा भन्थी ।
–“भन्नू न बुढा कहाँ राख्ने याे पैसा ?”
दुवैजना गलफत्ती गर्दागर्दैकाे समयमा सुटुक्क एकजना छिमेकी घरमा आयाे । भान्छामा फिँजाएकाे पैसा देखेर उसले साेध्याे ।
–“दाजु हजुर ! यत्राे पैसा कहाँबाट ल्याउनु भयाे ?”
–“ढुकुटीबाट !”
–“के का लागि ल्याएकाे ?”
–“चुनावका लागि !”
त्यसपछि मेराे भान्छा काेठामा बजिरहने चम्चा, चुनावमा सडक भरि बज्न थाल्याे । विपक्षीहरू बकबकाएर हैरान हुँदै गीत गाउन थाले ।
–“भान्छा र सडकमा बज्ने चम्चामा काे शक्तिशाली ?”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































