साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अब बिहेका दिनमा त यिनीहरूका जन्ते फौजले कति तर्साउला बा ! तर धैर्य लिँदै संझेँ ‘छोरीको बाउ खुट्टा नकमाऊ’ धानेसम्मको सत्कार पुर्याएँ ।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

नातागोतामध्येमा (ज्ञातिगोत्र) अलि अप्ठेरो सम्बन्धका पुरुष हुन्छन् जुवाइँ वा ज्वाइँ भनेर हाम्रो लोकबोलीमा सुुनिदै आएको हो । हुन त हामी सबै लोग्ने मान्छेमात्र नभएर स्वास्नी मान्छे पनि कसै न कसैका जुवाइँकै नातामा गाता हालेका प्राणी हौँ । यो शब्दको नालीबेली खोज्दै जाँदा प्राकृत भाषाको ‘जामाउय’ शब्दबाट ‘जुवाइँ वा ज्वाइँ’ नेपाली भाषामा प्रचलित हुँदै आएको रहेछ । छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी आदिका पतिलाई जुवाइँ भनेर सम्बोधन गरिन्छ । संस्कृतमा ‘जामाता, विट्पति, जामातृ, भाम, भगिनीपति’ हिन्दीमा ‘दामाद’ अङ्ग्रेजी ‘सन् इन् ल’ तामाङ ‘मा’ नेवारी ‘जीजबायुु, अजु, दिलजभाजु, जिचाभाजु वा जिचा’ आदि शब्दमा पुकारिन्छ ज्वाइँलाई । सूर्यमुखी फूल र मालिकलाई पनि ज्वाइँ भनिने रहेछ ।

जुवाइँलाई माया, स्नेह, मान वा अपमान के गरेर हो जु को उकार र अकारलाई लोप गरेर छोटोमा ज्वाइँ भनिन्छ । ज्वाइँ समाजदेखि दिक्क भएर हो अथवा के कुराले हो ‘ज्वाइँ न स्वाइँ अगुल्टोले च्वाइँ’ भन्ने उखान पनि हाम्रा बाजेबराजुको पालादेखि प्रचलनमा छ । महासुभाषित संग्रहमा ज्वाइँबारे रोचक र घोचक भनाइ छ‘आदित्यादि ग्रहाः सर्वे, यथा तुष्यति दानतः। सर्वेष्वेऽपि न तुष्येत जामाता दशमो ग्रहः’।। अर्थात् सूूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुुक्र, शनि, राहु र केतुजस्ता ग्रहहरु उनीहरुको प्रकृतिअनुसारका निश्चित वस्तुहरुका दानबाट प्रसन्न हुन्छन् तर जुवाइँ हजुर भने कन्यादानजस्तो महादान गर्दा पनि अरू कुराको दानको माग गरेर बहिनी, छोरी, नातिनी आदिमा चुुल्ठो रिँगाई, कपाल भुत्ल्याएर हानाहान तानातान मात्र हैन, उस्तै परे बगरे नै बन्न पो तयार हुन्छन् बा ! त्यसैले त उनलाई अति असन्तुुष्ट हुने दसौँ ग्रह भनेर हाम्रा ऋषिमुनिहरुले चौरासी व्यञ्जनमा अर्को नयाँ व्यञ्जनाको थप्पड कसेका रहेछन् कि ?

छोरी नानीहरुको बिहेमार्फत घरजम गराइदिने काम भनेको भीमसेनले हनुमानको पुच्छर उचाल्न कठिन भा भन्दा नि अति कठोर काम रहेछ । बिहेको इङ्गेजमेन्ट गर्दादेखिको दुलाहा पक्षको प्रत्यक्ष अप्रत्यक्ष आजीवनतक उनको मागको फेहरिस्त बताउँदा लरतरो मान्छे त बेहोसै हुन्छ नि ! घर, घडेरी, कार, मोटर साइकल, नवरत्नदेखि घरको खरानी पनि बाँकी नराख्ने गरी आँखी बनाउने ज्वाइँ प्रवृत्ति देखेरै होला पुर्खाहरुका अन्तर आत्माले भने होलान् ‘ज्वाइँ न स्वाइँ, टुप्पी समाती क्वाइँ’ । अचेल त अधिकांशले टुप्पी गिँडिसके कहाँ समात्ने भन्ने प्रश्न पनि उठ्ला तर हिजोआज त झन् सजिलो भएको छ । किनकि टाउकाको दायाँ बायाँ खौरिएर बिचमा यामानको जुरो राख्ने फेसन आएको छ । अनि त ठिटाहरुको जगल्टा हल्लाउन पाउने सुविधा भने अहिलेको हावाहुरीले मजाले खडा गरिदिएको छ ससुरालीजमातलाई ।

हाम्रा नीतिविद्हरुले भनेका छन्—‘सप्तैतानि न पूर्यन्ते, पूर्यमाणन्यनेकशः। ब्राह्मणोऽग्नि यमो राजा, पयोधिरुदरं गृहम्’ अर्थात् संसारमा सातवटा पक्ष ब्राह्मण,आगो, यमराज, राजा,समुद्र, भुँडी र घर कहिल्यै अघाउँदैनन् वा पूर्ण भएको महसुस गर्दैनन् । अब यसमा अर्को हरप थप्न कसोहोला ? ‘जामाता च न पूर्यन्ते साक्षात् ते धूर्तिलोष्टम’ भन्न न्यायसङ्गत नै हुन्छ कि कसो ?यही ज्वाइँतन्त्रको चरम निरंकुशताबाट दिक्कवाक्क भएर बृहत् भाण्डागारले बोलेको हुनुपर्छ तलका कुरा :— ‘सदा वक्रस्सदा क्रूरः, सदा पूजामपेक्षते । कन्याराशि स्थितो नित्यं, जामाता दशमो ग्रहः’ ।। अर्थात् सधैँ बाङ्गो वा कुटिल, निर्दयी, मानसम्मान र पूजामात्र चाहने,सधैँ कन्या राशिमा रहने जामाता दसौँ ग्रह अर्थात् तुच्छ दशा दिने एक प्रकारको ग्रहण नै हो ।

उखानटुक्काबाजहरुले भुक्तभोगी भएरै यी कथन निकाले होलान् :—‘ज्वाइँ जति बैगुनी र कुकुर जति गुनी अरू कोही हुँदैन । ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाइँ । ज्वाइँ न स्वाइँ कोदाको रोटी च्वाइँ । ज्वाइँ न स्वाइँ गुन्द्रुक झ्वाइँ । ज्वाइँ रिसाए के गर्लान् ? छोरी लिएर घर जालान् । ज्वाइँ चैँ उनै हुन् टोपी चैँ मेरो । ज्वाइँ लुठो व्यर्थैको भुटो । ज्वाइँसित होइन घ्वाइँसित होसियार हुनुपर्छ । झर्कोफर्को नगर् छोरी ज्वाइँले फेरि कुट्ला, कुटेदेखि के को खाँचो आफै मकै भुट्ला । ज्वाइँ त साह्रै असल छन्, छोरीले जे भन्यो त्यही मान्छन्, छोरो मोरो मात्रै बुहारीको लहैलहैमा लागेर बिग्रियो’ । आदि उपाख्यानले ज्वाइँवर्गको मनोविनोदात्मक व्यक्तित्वको स्पष्ट झलक पाइन्छ ।

सुरुवातमा बिहेको कुरा चल्दा हुनेवाला संधी र भावी ज्वाइँसमेत डाकोमा डाको मिलाएर हजुरको छोरीमात्र भए हुन्छ, हामीलाई लक्ष्मी भित्र्याउने रहर हो । हजुरको शीलवती कन्या पाए पुग्छ भनेर बक्स्योस् र हजुरको गजुर लगाएर चिल्लो घस्छन् । होला त नि भनेर हामी सबै त्यही विश्वासमा अगाडि बढ्छौँ । जब बिहे छिन्ने दिन आउँछ अनि कति बजे कति जना सबारी होइसिन्छ त ? भनेर सोध्यो उत्तर आउँछ बढीमा डेढसय पुग्ला । कस्तो आँगोमा हात हालिएछ भगवान् ! भनेर आइहाल्छ खुय्य ! ! अनि आवेगमा एक्लै हे भाते हो ! हे पाखण्डका पोका, हे खान नपाएका भोका, यो बुढेस कालमा मेरो पुनःभ्याक्सोटोमि गर्ने झारपाते बोका हो, भन्नुजस्तै जङ पनि उठ्छ बा ! पञ्चकन्यापछि बल्लबल्ल जन्मिएको हाम्रो झुसे छोरो सुसे इङ्गेजमेन्टमा आउने बथानको संख्याको कुरा सुनेर हर्टएटेक्ट होला झैँ पो भयो मेरी बास्सै ! ! ! ठूलो स्वरमा हुनेवाला संधीले दुलाहा राजा, आफू र बूढो संधीलाई चाहिने सो दिनको गहनापातको लिष्ट टिप्न पनि लगाए । डेढ तोलाको औँठी २४ सै क्यारेटको बूढा संधीलाई, मूल संधीलाई दुइ तोलाको सिक्री र दुलाहा राजालाई ब्रासलेट तथा औँठी झन्नै जम्माजम्मी छ तोलाको हिसाव आयो । छोरीको बाउ भएछि जे जे बराजु सोही सोही स्वाहा गर्नै पर्यो नत्र बिहे नै भताभुङ्ग गरेर हिँडिदेलान् ? हे हरि !

वाग्दान र बिहेको छिनोकाँटो गर्ने दिनलाई अचेल इङ्गेजमेन्ट भन्दारहेछन् । लगत्तै पन्ध्र दिनपछि भएभरका च्याँहा गर्ने नानीदेखि हाँ हाँ र हूँहूँ गर्ने धम्कीका आहारा बूढासम्म, जुरेवाल मुन्द्रेवाल ठिटादेखि जताततै ह्वाङ्ङ र छ्याङ्ङ तथा टाइट पहिरन लगाएका ठिटीतक, कपालको झाँक्रा फिँजाएर स्तनकञ्चुकी अर्थात् ब्रेसियरकै हाराहारीको ब्लौज र लतारिने साडी लगाएका ब्यूटीपार्लरले सिँगारिदिएका मैयाँ साहेबको लर्को छुट्यो । दुइसयको हाराहारीमा बस, कार, मोटरसाइकललगायतका सबारी साधनमा आएका साकाहारी, मांसाहारी, फलाहारी, मिष्टान्न आहारी, मद्याहारीका भीडले पार्टीप्यालेसलाई नै धान्न धौ धौ बनायो बा बा ! अब बिहेका दिनमा त यिनीहरूका जन्ते फौजले कति तर्साउला बा ! तर धैर्य लिँदै संझेँ ‘छोरीको बाउ खुट्टा नकमाऊ’ धानेसम्मको सत्कार पुर्याएँ । लगत्तै लमी आएर भन्यो लौ बिहेको तिलक वहाँहरुको इज्जत राख्ने गरी जोरजाम गर्नुहोला भनेर दुइ पानाको लिष्टै बुझायो सातै जाने गरी । ‘छोरीको भलो चाहँनेले ज्वाइँको जय बोल्नू’ भन्ने सूत्र मनन गर्दै तैँ चुप मै चुप बनेँ ।

हुनेवाला ज्वाइँका बाउ मेले भर्खरै ढल्काइदिएको सिक्रीमा झझल्काकार हुँदै आएर बोले—ः लौ हजुर अब बिदा हुन पर्यो । हाम्रो लहरो ठूलो भएको हुँदा सकेसम्म कटौती गरेर चारसयमात्र जन्ती ल्याउँछौँ । हजुरले तकलीफ मान्नै पर्दैन अनि बूढापाकाको भनाइ संझेँ :— ‘छोरीको बखेडा जितौँला नभन्नू छोराको बखेडा हारौँला नभन्नू’ । जति जन्ती आउँछन् थाम्नै पर्यो । छोरीको बिहे पनि भयो आफ्नो दाहिने हात पनि भाँचियो भनेर त्यसै लोकोक्ति चलेको हो र ? पाँच कन्याका दुर्भागी पिता । कहाबतै छ ‘छोरी पाउने टिमुरेलाई खुर्सानीको झोल, छोरी भनेको बन्साको बोट, छोरा भनेको सुन्तलाको बोट । छोरी दिएपछिमात्र ज्वाइँ चिनिन्छ’।

पञ्चकन्यामध्ये भर्खर दुइको बिहे दान सकिँदै छ । अझ तीनतीनवटीको बिहे गर्दा त आफ्नै बाउआमाको बिहे देखिने भो । हे हरि ! त्यसै भनेका रहेछन् र ‘ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाइँ ? जय ज्वाइँ , जय छोरीको भाले !
समाप्तम्

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चट्याङ मास्टरको चट्याङ गीताको छैटौँ मालाको ताला !

चट्याङ मास्टरको चट्याङ गीताको...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
दादावाद उर्फ डनवाद !

दादावाद उर्फ डनवाद !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x