घनश्याम रेग्मीआमा !
खोजेमा चिज वस्तु मिल्छ सहजै आमा कहाँ पाउनु चाहे स्वर्ग मिलोस् तथापि ममता आमा सरी के हुनु सच्चा सन्ततिले बुझेर उनको सेवार्चना गर्दछन् हामी मातृनुरक्त कर्मठ बनौँ सौभाग्य पछ्याउँछन् ।।

घनश्याम रेग्मी :
हामी मानव देह जन्म लिनुमा आधार आमा ठुली
निर्माता जननी महत्त्व जसको को भन्न सक्ला खुली
आमाको महिमा अथाह गहिरो माया र छाया दिने
साक्ष्रात् ईश्वर मातृका भगवती संसार देखाउने ।।
आफैँभित्र गरेर धारण दियौ यो जन्म पीडा सही
तिम्रा ती सब योगदान टिपिए बन्छन् करोडौं बही
आमा वृक्ष बनेर जीवन दियौ सङ्कष्ट खेप्यौ सब
जे जे छौँ हर अङ्ग जीवन कला नासो छ बाँकी अब ।।
हुर्काएर ठुलो बनाउन चुन्यौ सङ्कष्ट सानन्दले
तिर्खा भोक खपेर मातृ ममता सुम्पेर आनन्दले
पानी घाम झरी बतास सब यी सामान्य ठानीकन
आफै मृत्यु जितेर जीवन दिने संसार देखाउन ।।
आमा झैँ प्रिय शब्द के छ शिशुमा आमा महा गौरव
हो सन्तान निमित्त मातृ ममता सर्वोच्च नै सौरभ
आमाको तुलना हुँदैन कहिल्यै ऐश्वर्य फिक्का सब
आमा हार्दिक भावना जनमकी आमा ठुली वैभव ।।
खोजेमा चिज वस्तु मिल्छ सहजै आमा कहाँ पाउनु
चाहे स्वर्ग मिलोस् तथापि ममता आमा सरी के हुनु
सच्चा सन्ततिले बुझेर उनको सेवार्चना गर्दछन्
हामी मातृनुरक्त कर्मठ बनौँ सौभाग्य पछ्याउँछन् ।।
०००
Subscribe
Login
0 Comments
Oldest







































