घनश्याम रेग्मीपाकाहरूबाट सिकाैँ (३)
काँचो हुन्छ फलाम नुग्छ उसमा के शक्ति टिक्ने हुनु तातो पाइनको समागम भए औजार लाग्ने हुनु लाग्ने हुन्छ छुरा उद्याउन सके क्या धारिलो बन्दछ हो सङ्घर्ष नयाँ र धार बनिने पाकोपना भन्दछ ।

घनश्याम रेग्मी :
लामो शिक्षण कर्मले सफलता पाएर अध्यापक
गर्ने खोज तलास तौरतरिका मानिन्छ प्राध्यापक
हीरा बन्दछ ताप चाप सहँदै आश्चर्य मान्छौ किन
पाका मानिस खारिए अनि बने आदर्श पुस्ता चिन ।११
•••
माटो कैयनपल्ट जोत्न सकिए राम्रो हुने उब्जनी
जाडो ताप सहेर उन्नत हुने बाली मकै जीवनी
डल्ला फोर्न ठटाइयो घन भने माटो हुने फुर्फुर
के हुन्थ्यो घनको प्रहार सजिलो पाको हुने औसर ।१२
•••
गर्दा मन्थन दूधको नियमले नौनी बनेको कुरा
बिर्सिन्छौ किन आज मानव तिमी निष्कर्ष भन्ने कुरा
पाका मानिसबाट सिक्न सकियोस् सङ्घर्ष हो जीवन
पाकाझैँ समभाव राख मन यो निर्लोभ होस् कञ्चन ।१३
•••
पाकासाथ सिकेर कौशल कला हामी बनौँ शिक्षित
पाकासाथ बुझेर जीवन कला होऊँ अझै दीक्षित
छन् दृष्टान्त अनेक कर्म पथका हुन् स्रोत पाकाजन
सिक्ने सिक्न लगाउने विषयमा आदर्श ती चिन्तन ।१४
•••
घोडा दाउन सक्नुपर्छ जनले आनन्द भोग्ने भए
यात्रा सुन्दर पार्न सक्छ हयले आदेश मान्ने भए
जुत्ता दैनिक पाउमा पहिरिए बानी परी मिल्दछ
काँडाबाट बचाउनेछ पदले आफ्नो जुता चिन्दछ । १५
•••
पाकाले कति ताप चाप सहँदा आदर्श पाका भए
तातो तेल सहे मिठा रसदले आस्वाद खानी भए
केही बन्न सकिन्न ताप नसहे सङ्घर्ष गर्ने गर
पाकेका चिज वस्तुले तपनको तातो सहे हैन र ?१६
•••
हीरा बन्दछ कोइला जमिनमा वर्षौँ खपी चापिई
चल्छन् मेसिन यान यन्त्र जब ती निर्वाध घुम्ने भई
हामीले पनि चल्न दौडिन सकौँ पाको बनी इन्जिन
यात्रा जीवन मार्गको सरसिलो बन्नेछ सोही दिन ।१७
•••
लेख्नालागि भनी नयाँ कलम ती किन्छौ पुराना त्यजी
गाह्रो हुन्छ नयाँ नयाँ जब तिनी टाँका दिँदैनन् उति
राम्रो गायक बन्नको मन भए अभ्यास सा रे ग म
गर्नैपर्छ रियाज नत्र कसरी आवाज बन्ला सम ।१८
•••
उम्दा लेखक बन्नको मन भए धेरै कहानी पढ
के के छन् घटना स्वयं अनुभवी चिन्ने छ राम्रो गढ
आफैंले पढ भूत जीवन कथा सङ्घर्ष पाना भर
आफ्नै जीवन जो बुझेन उसले के काव्य रच्ने छ र ?१९
•••
काँचो हुन्छ फलाम नुग्छ उसमा के शक्ति टिक्ने हुनु
तातो पाइनको समागम भए औजार लाग्ने हुनु
लाग्ने हुन्छ छुरा उद्याउन सके क्या धारिलो बन्दछ
हो सङ्घर्ष नयाँ र धार बनिने पाकोपना भन्दछ ।२०
क्रमश :
०००
विकास चोक , भरतपुर ५, चितवन
Subscribe
Login
0 Comments
Oldest







































