माधव पोखरेल गोज्याङ्ग्रेभू-शासन
गरिब दुःखी अनि आफू जस्तै मानिसलाई मानिस नगन्ने प्रवृतिको जग बसेको छ । यो प्रवृति भनेको वनको बाघले नखाए पनि मनको बाघले खाने प्रवृति हो ।

माधव पोखरेल गाेज्याङ्ग्रे :
हामीले धेरै प्रकारका शासन देख्यौँ । कुशासन, घुशासन, चुशासन, चौकासन, टशासन, ढँटासन, भ्रष्टासन, छुशासन, झुशासन, टुशासन, टुक्कासन, ठुशासन, डुक्रासन, ढुकासन, थुकासन देखियो । यसैगरी धोकासन, पोकासन, फुशासन, फोकासन, बोकासन,भुकासन, भोकासन, मौकासन, लुकासन, लौकासन लगायतका कदेखि ज्ञसम्मका विविध प्रकारका शासनहरु देख्यौँ भोग्यौँ । अबको समयमा भने हामीले भुसमा आगोलाग्ने र जमिनमा हुने शासन भूशासन पनि देख्ने पक्का जस्तै भएको छ ।
शासन प्रशासन चलाउनु सहज छैन । त्यसैले शासन चलाउनेहरु लुकेर बस्छन् । त्यो पनि व्यवशासनमा बसेर शासन चलाउनेहरु आफूलाई देवता कै दूर्लभ अवतार ठान्छन् । आफ्नै घरमा पनि शौचालय जाँदा समेत आफैप्रति शङ्का गरेर शौचशासन चलाउने महासयहरुको विषयमा धेरै के भन्नु पर्ला र ! शासन शासकले कानून अनुसार भन्दा पनि आफ्नो मर्जीले चलाउने विषय हुने गरेको समयमा विधिका कुरा गर्नु सान्दर्भिक हुँदैन । विधिलाई चिरीपिचिरी बनाएर सुशासन खोज्ने हाम्रो नियतमाथि लाखौँ प्रश्नहरु तेर्सिएका छन् तर त्यसको जवाफमा आउँछ नयाँले केही गर्छ र केही गरेर देखाउन आएको हो । हो देखाउँदैछ नयाँले भूशासन । जसको परिणाम देशका लाखौँ सुकुम्बासीले भोगिरहेका छन् । सुकुम्बासीहरु हुकुम्बासीको शासन भोग्न आएका थिए र भोग्दै छन् ।
हुकुम्बासीहरुले हुने नहुने सबै सुकुम्बासीहरुलाई नै भोगाइरहेका छन् । किनभने सुकुम्बासीहरु भनेका भुमिका भोका हुन । भूमिका भोका भनेका वामपन्थीका पोका हुन । त्यसैले अहिले देशमा भूशासन चलेको छ । अर्थात् अर्को भाषामा भन्नु पर्दा वामपन्थी मास अभियान नै भूशासन हो भन्दा फरक पर्दैन । अधिकांश सुकुम्बासीहरु वाम विचारसँग सम्बन्धित रहेकोले हिजो काठमाण्डौ महानगरबाट नै शुरु भएको हो यो भुशासनको अभियान । आज पनि महानगरबाट नै शुरु भएको छ भूशासन ।
भूशासनमा पनि दुई प्रकारका शासन छन भुशासन र भू—शासन । पहिलो भुशासनको कुरो गर्दा भुसभित्र सल्कने आगो झैँ धुँवा आउने तर बाहिर नसल्कने गरी गरिएको शासन र अर्को भनेको भू—शासन चाहिँ अर्काको भूमिमा गरिने अर्थात् सुकुम्बासीहरुको बस्तीको जग्गामा शासन गर्ने प्रवृति हो । तर यि दुबै शासन शासककालागि घातक हुन भन्ने कुरा पनि हालै प्रमाणित भैसकेको छ । भित्रभित्रै भुसको आगो सल्काएर त्यो सल्केको आगोमाथि शासन गर्ने प्रवृति पनि भुशासन र भू—शासन हो र नेपालमा अहिले यस्ते भैरहेको छ ।
अर्को महत्वपूर्ण कुरा केहो भने जनताका अगाडि उभिएर जनताका प्रश्नको जवाफ डरले दिन नसक्ने अनि फेसबुकको भित्तोमा सबैलाई सबक सिकाउने र आफूचाहिँ कुना पसेर बस्ने संस्कारको कृत्रिम विकास भैरहेको छ । गरिब दुःखी अनि आफू जस्तै मानिसलाई मानिस नगन्ने प्रवृतिको जग बसेको छ । यो प्रवृति भनेको वनको बाघले नखाए पनि मनको बाघले खाने प्रवृति हो । जनताले निर्वाचित गराएर पठाएको जनप्रतिनिधिले जनताका माझमा गएर बोल्न हिच्किचाउनु भनेको जनमतको कदर गर्न नसक्नु हो र विगतमा गरेको गल्तीले मनमा त्रास फैलिएर आफै ओइलिएको हो भन्न सकिन्छ । जुन कुरा सुशासनको संकेत होइन भू—शासनको संकेत हो ।
अर्को कुरा भित्रभित्रै सल्किएको भुसको आगोमाथि बसेर गरिएको भू—शासनले संवैधानिक हक अधिकार तथा मान अधिकारका विषयमा र संविधानको पालनामा पनि विभेदकारी नीति अनुसार अघि बढ्ने संकेत देखा परेको छ । त्यही संविधानलाई टेकेर जनप्रतिनिधि बन्ने अनि त्यही संविधानलाई कुल्चिएर संविधानको मर्मलाई हत्या गर्ने परिपाटीको जन्म दिनु भनेको नै स्वार्थगत प्रवृतिको भुशासन हो भन्दा फरक पर्दैन । भू—शासनका बारेमा जानकार तथा विज्ञहरुको राय सुझाव विनाको झुकावले खाल्डोमा जाकिन सक्छ ।
भूशासन जग्गा जमिन नभएका जनताका लागि हुनु पर्नेमा भएकाहरुलाई पनि डोजर लाएर विद्रुपताकासाथ लखेटिएको मानवता बिहीन अवस्थामा भू—शासकहरु घृणाका उपासक भएको पाइन्छ । यो सिधै भूमिमाथि शासन गर्न आएको जस्तो देखिन्छ । जसरी अंग्रेजहरुले नेपाली भूमिमा अधिकार जमाएर नेपाललाई नै आफ्नो बनाउन खोजेका थिए । ठिक त्यसरी नै सुकुम्बासीहरुको भूमिमाथि हक अधिकार जमाउन खोजिएको छ ।
अर्को कुरा के भने हिजो पञ्चायती शासनको समयको झल्को दिने खालको प्रवृति जन्मिएको आभास पाइएको छ । भूमिमा सबैको पहुँचको अधिकारलाई लत्याएर घरबार बिहीन अवस्थामा पारेर भत्किएको घर टहरामा रमिता हेर्नु अहिलको भू—शासकीय सरकारको दिनचर्या भएको स्पष्ट भएको छ । डोजरले भत्काएका सुकुम्बासीका घर टहरामाथि भू—शासन चलाउनु भुशासन सरकारको दैनिकीले समाजमा त्रास उत्पन्न गराएको छ । जुन त्रासले सम्मानित तवरले जीवनयापन गर्न भुशासनको जालोले दिंदैन ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































