साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसालाई शिक्षा

भिक्षा मागेर भए पनि शिक्षा नै दिने हो । भिखारी भएर भिक्षा माग्न सिकाउने पनि सँगै रहेकोले गुरु भएपछि शिक्षाको के दुख हुन्छ र !

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

तपाईँ हाम्रो घरमा चकचक गर्ने, भकारीको धान खाने, भान्सामा पसेर विध्वंश गर्ने, मंसिर महिनामा धान खेतमा पसेर धानको बालाल खाने गरेको छ मुसाले । हाम्रो ओछ्यानमा पसेर कपडा काट्ने, श्रीमान श्रीमती बिचको गोप्य कुरामा एकान्त भंग गर्ने जस्ता गैर न्यायिक र गैर कानुनी काम गरिरहेको छ भने अब सहेर नबसौँ । किनभने मुसालाई शिक्षाको अभाव भएर यस्तो बद्मासी गरेको पनि हुन सक्छ । गणेशजीको बाहन भन्दैमा मुसाले हाम्रो घरमा पसेर मनपरी गर्न पाउँदैन । त्यसैले मुसाको मनपरीतन्त्र रोक्नकालागि अब हामी मुसा पीडितहरू एक जुट भएर लाग्नु पर्छ भन्ने मलाई लागेको छ ।

मुसाले कतिपयको किताब काटेर, कतिपयको कपडा काटेर, ठुटेबुटे भएर ससुराली जानु पर्ने अवस्था पनि नआएको होइन । समाजको एक नम्बर फटाहा प्राणीका रूपमा दरिएको मुसाले हाम्रो आँखा अगाडि नै अर्को मुसाको श्रीमती पनि उडाउँछ, जारी भने तिर्दैन । फेरी एउटा मात्र भए त हुन्थ्यो नि भेटे जति सबै भेला पार्छ र मंसिरमा धानका बाला काट्न लगाउँछ अनि काटेर डङ्गुर पार्छ । यो मुसालाई बहु विवाह गर्नु हुन्न भन्ने कुरा थाहा छैन क्यारे । त्यसैले भेट जति सबै जम्मा गरेर प्वालमा राख्छ ।

मुसालाई शिक्षाको अभाव भएको हो भन्ने कुराको आभास मैले पहिले नै पाएको थिए । तर कतै सुध्रिन्छ कि भनेर केही समय बाटो हेरेँ । तर सुध्रिने छाँटकाँट नदेखिएपछि अब चाहिँ मुसालाई स्कुल भर्ना गरेर शिक्षा दिने काममा लाग्नु पर्‍यो भनेर अघि बढेको छु । कृपया मुसा पीडितहरूले यस काममा मलाई सक्दो सहयोग गर्नु हुनेछ भन्ने निराशामा छु ।
मुसालाई विद्यालय पठाउँदा विचार गर्नु पर्ने कुरा के हो भने जुन मुसाले किताब कापी काटेको छ त्यसलाई कलेजमा भर्ना गर्नु पर्दछ । किनभने उसले विद्यालयको शिक्षा चपाएको हुन्छ । फेरी दोहोर्‍याएर पुनः विद्यालयमै भर्ना गर्दा उस्को औकात घट्छ र स्तर पनि तल झर्ने भएकोले कलेजमा नै भर्ना गर्नु पर्ने हुन्छ ।

अर्को कुरा किताब कापी कलम काटेर अनुभव संगालेको मुसाको उमेर पनि कलेज जाने भएको हुन्छ । उमेर खाएको मुसामा धेरै कुराको ज्ञान अनुभव बढी हुन्छ । केही नजान्ने केटाकेटी मुसालाई कलेजमा भर्ना गर्दा कलेजको पनि मापदण्ड मिचिने अवस्था आउने हुँदा सो अवस्था आउन नदिन उमेर पुगेका वयस्क मुसालाई कलेज भर्ना गर्नु पर्छ । भर्खर चाँचाँ चुँचुँ गर्ने उमेरका मुसालाई सरकारी सामुदायिक विद्यालयमा भन्दा पनि निजी क्षेत्रका संस्थागत विद्यालयमा भर्ना गर्दा अंग्रेजी विषयमा पोख्त हुन्छन र विदेश गएर नेपालमा गर्दे आएको मुसागिरी विदेशमा गर्न सक्छन् ।

मुसालाई शिक्षा दिने विषयमा सरकार पनि गम्भिर हुनु पर्दछ । किनभने सरकारी मुसाहरूले पनि समाजमा निकै दुःख दिएको गुनासो आएको छ । सरकारी मुसाहरूले त गाउँका गरिब किसानको भकारीभित्र पसेर धान, चामल, दाल, तरकारी समेत खाएको छ । राजधानीस्थित सिंहदरबारको प्रधानमन्त्री कार्यालयदेखि गाउँको सिंहदरबारसम्म मुसाले रजाईँ गरिरहेकोले ति सबै शिक्षा कै अभावले यसरी छाडा भएको र मनपरी गर्दै हिडेको हुन सक्छ । नेपाल गणतन्त्रात्मक मुलुक भन्दा पनि मुसातन्त्रात्मक मुलुकका रूपमा विश्वमा परिचित हुँदै गएकोले पनि साना ठुला सबै खाले मुसाहरूलाई स्कुल कलेज विश्वविद्यालय पठाएर शिक्षा दिने व्यवस्था राज्यको र सरकारकातर्फबाट हुनु आवश्यक छ ।

मुसाको शिक्षाकालागि यो सरकारले एउटा मुसा शिक्षा आयोग गठन गरेर केही शिक्षा पाएका र नपाएका मुसाहरूको अलग अलग संगठन बनाएर संगठन मार्फत सशुःल्क शिक्षाको व्यवस्था गर्नु पर्दछ । निःशुल्क शिक्षा दिंदा सरकारले मुसाहरुको भार थेग्न नसक्ने भएकोले क्रमशः वर्षै पिच्छे सीटकोटा बढाएर भर्ना गर्दा उपयुक्त हुने सुझाव दिन चाहन्छु । तर डाक्टर इन्जिनियर पढ्ने मुसाहरुकालागि भने निशुल्क शिक्षाको व्यवस्था हुनु पर्दछ । किनभने कतिपय मुसाहरूको विकास हुन नसक्नुमा प्राविधिकको कमिले पनि हो । प्वाल तथा सुरुङ विज्ञका रूपमा मुसा आफैँ नाम कमाएको प्राणी हो ।

हालको प्रतिष्पर्धात्मक युगमा अझ धेरै प्राविधिक ज्ञान भएको विशेषज्ञ प्राविधिकको आवश्यकता भएकोले पनि विशेषज्ञ इन्जिनियर मुसाको आवश्यकता परेको हो । घरमा, धानखेतमा वा अन्य कुनै पनि ठाउँमा उत्कृष्ट प्वाल तथा सुरुङ निर्माण गर्नु परेमा विशेषज्ञ इन्जिनियर मुसाको आवश्यकता पर्दछ । यसैगरी कतिपय मुसाहरू बिरामी परेका समयमा वा कसैले राखेको विष खाएर पनि मुसाहरू बिरामी परेका कारण उपचारकालागि विशेषज्ञ डाक्टरको आवश्यकता पर्दछ ।

अहिलेको मुसा समाजमा विविध विचार तथा धेरै प्रकारका मुसाहरू बसोबास गर्छन । सरकारले ति सबै मुसाहरूको बर्गिकरण गरेर अव्यवस्थित रूपमा बसेका छन भने सुकुम्बासीहरूलाई हटाइएको ठाउँमा व्यवस्थापन गर्न म जोडदार माग गर्दछु । किनभने सुकुम्बासी हटाइएको ठाउँमा सुरुङ र प्वालहरू निर्माण गर्नु सरकारकालागि आवश्यक छ । भत्काइएका सुकुम्बासी बस्तीदेखि सिंहदरबारसम्म, बालुवाटार, प्रत्येक मन्त्रालय, आयोग, नियोग विभाग निर्देशनालय मन्त्री निवास सबैतिर पुग्ने गरी प्वाल र सुरुङ मार्ग बनाउनु पर्दछ । अहिलेको ताजा प्राथमिकताको विषय नै मन्त्रालय विभाग निर्देशनालय कार्यालयहरुमा सरकारी दलको कार्यकर्ता अरुले नदेख्ने गरी छिर्ने प्वाल र सुरुङ हो । यि सबै विषयलाई ध्यान दिंदा सबैभन्दा पहिले मुसालाई शिक्षा आवश्यक देखिएको हो । प्वाल बनाउन र सुरुङ निर्माण गर्न आधुनिक प्रविधि आवश्यक छ ।

सोह्रौँ शताब्दीको प्रविधिले अहिलेको एक्काइसौ शताब्दीमा काम नगर्ने र मुसाहरु पनि पुरानो प्रविधिमा आधारित भएर काम गर्ने भएकोले नयाँ शिक्षा अनुरुप मुसालाई शिक्षा दिएर दक्ष बनाउँदा भोलिका दिनमा सरकारलाई प्राविधिक जनशक्तिको कमी हुँदैन । तर मुसालाई शिक्षा दिने विषयमा सरकारले बिरालोलाई पनि साथमा राखेर आवश्यक निर्णय लिनु पर्दछ । यदि बिरालोलाई बेवास्ता गरेर मुसालाई शिक्षा दिनेतिर लाग्यौँ भने भोलिका दिनमा बिरालोले आमरण अनसन वा आत्मदाह गर्ने प्रयास नगर्ला भन्न सकिन्न । त्यसैले मुसाहरुलाई स्कुलदेखि कलेज, विश्वविद्यालयसम्म पढाउनकालागि बिरालोलाई शिक्षक, उपप्राध्यापक, सहप्राध्यापक प्राध्यापक पदमा नियुक्ति गर्दा राम्रो हुने कुरा सरकारलाई सुझाव दिन चाहन्छु । हुन् त अहिलेको नियुक्ति पनि त्यस्तै नै भैरहेको भन्दा फरक पर्दैन । साँच्चै भन्ने हो भने सरकारले देशमा एउटा मुसक विश्वविद्यालय सञ्चालन गर्दा सबैभन्दा राम्रो होला । र यस विश्वविद्यालयमा मुसाहरुमात्र अध्ययन गर्न पाउने व्यवस्था हुनु आवश्यक देखिएको छ ।

मुसा र बिरालो मिलेपो बिरालोले पढाउँछ भन्नु होला । अरु कुरामा नमिले पनि मुसालाई बिरालोको शिक्षान्ने लिनु अहिलेको जमानामा आवश्यक भएकोले मुसाले बिरालोले दिएको शिक्षा सहज रुपमा स्वीकार गरेर अघि बढ्ने कुरामा म विश्वस्त छु । किनभने बिरालो मासु खान माहिर त्यो पनि मुसा कै । तर शिक्षा लिने दिने क्रममा बिरालोले मुसामाथि आक्रमण गर्‍यो भने हालका गृहमन्त्री तत्कालै घटनास्थल पुगेर खानपिनमा व्यस्त हुन बेर लाउदैनन् । नेपाली संस्कार न हो आफैले जे बसायो त्यही बस्छ । मुसा र बिरालो एकै ठाउँमा मिलाएर राख्न सक्ने खुवी र क्षमता भएका गृहमन्त्री नेपालमा हुँदा हुँदै विदेशी मन्त्री झगडा मिलाउन बोलाउनु पर्दैन ।

मुसाहरुलाई अब न्यायालयमा पनि घुसाउनु पर्छ । सरकारी वकिल, नेपाल िसेना, प्रहरी सशस्त्र प्रहरी पनि मुसालाई नै बनाउनु उपयुक्त हुन्छ । किनभने शिक्षामा मुसा पसेपछि अन्यत्र चाहिँ अरुलाई किन राख्ने मुसाकै रजगज होस् न कतै नेपालको प्रशासनयन्त्र सुध्रिन्छ कि । फाइलभित्रको दाम हाम नगरेसम्म नेपालको प्रशासनयन्त्रले संयन्त्र निर्माण गर्न सक्दैन भन्ने कुराको प्रमाण मुसाको सदनले देखाइसकेको छ । भनौ नेपालको करिब तीनतिहाइको मुसे सदन भित्रभित्रै भुसे आगो बनेको छ । तीन तिहाइभित्र बाट नै भूसको आगो सल्काइएको छ र यसले मुसे सदन र बिराले सरकारलाई दीर्घकालीन रुपमा असर गर्ने कुरामा दुईमत छैन ।

यस अघिका सरकारले देशमा मुसा बिरालो कति पाले त्यसको संख्या एकिन भएको छैन । तर वर्तमान सरकारले मुसा बिरालो पाल्नकालागि स्वीकृति दिएको छ । मुसा बिरालोको बौद्धिकता कस्तो हुनु पर्दछ भन्ने शिक्षा दिएरमात्र पुग्दैन प्रयोगात्मक रुपमा प्राप्त शिक्षालाई व्यवहारमा गरेर देखाउन सक्नु पर्दछ । मन्त्रीलाई खुसी पार्न सक्ने क्षमता र ज्ञान पनि हुनु पर्दछ । मुसा बिरालो नपाल्ने हो भने माननीय र मन्त्री ज्यूहरुलाई निकै हम्मेहम्मे हुन्छ । त्यसैले पनि मुसालाई शिक्षा दिएर पारंगत बनाएर काम लगाउँदा बाहै महिना तेह्रैकाल फाइदै फाइदा । जनता मुला बेफाइदामा बसे पनि माननीय र मन्त्री ज्यूहरु भने फाइदामा बस्नु पर्दछ भन्ने विश्वव्यापी मान्यता रहेकोले सिद्ध गर्नकालागि मुसालाई शिक्षा दिनु आजको अपरिहार्य आवश्यकता भएको छ । तर एउटा कुरा के भने मुसाले धेरै शिक्षा लियो भने मन्त्री ज्यूलाई भुसा खुवाउन बेर लाउदैनन् । घुस पो खुवाउन मिल्दैन त भुस खुवाउन त केही फरक पर्दैन नि । आखिरी गाई भैसीले गोरु, राँगाले भुस खाएकै हो क्यारे !

अब धेरै कुरा के लेखौँ । मुसालाई शिक्षा दिन सरकारले देशले काँचुली फेर्न सक्दैन भन्ने कुरा जनताले बुझेका छन् । सुकुम्बासीलाई हुुकुम्बासीहरुले लखेटेर प्वाल पार्न र सुरुङ बनाउन ठाउँ पाएकै छन । मुसालाई शिक्षा दिने ठाउँ पनि त्यही बनाउँदा केही फरक पर्दैन । मुसाले र बिरालाले शिक्षा लिने ठाउँ भनेकै प्वाल स सुरुङबाट हो । मुसाले टेबल माथि र मुनिबाट खाम चोर्न नयाँ तरिकाले सिक्छ भने बिरालोले पनि दूध, मासु चोर्न नयाँ तरिकाले सिक्छ । आखिरी जसरी पनि शिक्षा लिनु न हो । भिक्षा मागेर भए पनि शिक्षा नै दिने हो । भिखारी भएर भिक्षा माग्न सिकाउने पनि सँगै रहेकोले गुरु भएपछि शिक्षाको के दुख हुन्छ र ! जय साहित्य जय व्यङ्ग्य ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x