माधव पोखरेल गोज्याङ्ग्रेखोसेर खाँदै छ जो
रोगीको उपचार छैन किन हो ? आफैँ छ रोगी सरी कानूनी उपचार छैन कतिको बेहोस आफैँ सरी के के काम भयो बजेट कति गो हिसाब खोजौँ अब हाम्रो देश उकास्न स्वार्थ बलियो पारेर एकै तब ।

माधव पोखरेल गोज्याङ्ग्रे :
तर्सायो दिनरात साँझ त्यसले बोल्दै नबोली कन
नाङ्गो नाच तमास देश भरि नै बेहाल मान्छे झन
कालोभित्र लुकेर राक्षसहरू भत्काउँदै बास जो
देखायो ललिपप् र चुस्न नदिई खोसेर खाँदै छ जो ।
सुत्केरी महिला र बालकहरू रोएर पीडा सही
वृद्धावृद्ध अशक्त बालिगहरू रूदैँ गरेका यही
भत्कायो श्रमको चुसेर पसिना सारा कराए कति
फिर्ता भोट मागेर आज जसले गर्दै बिरोधै अति ।
भत्कायो सपना सखाप जनको आतङ्क भो डोजर
रोगी औ मजदूरका दिनहरू बित्दै गए सोत्तर
भन्दै थे कतिले गरीब जनको सात्तो उडाई दियो
डस्यो सर्प बनेर गरीब उपरै झुप्रो धनी झै भयो ।
कानूनी उपहास गर्छ अति नै धामी र झाक्री पनि
आफैँ भो मुखिया विभेद मनको खै स्वच्छ कामै अनि
देखायो बहना अनेक थरिका लुक्दै बसेको छ त्यो
आफ्नै दोष लुकाउँदै घरिघरी पेल्दै छ मान्छे उ त्यो ।
गाँजा भाङसँगै नशा छ गहिरो चिन्दैन कोही पनि
जाक्यो खाडलमा र देश अहिले कोमा बसेको अनि
हाम्रो नैतिकता कतातिर गयो ? कानून मास्नेतिर
यस्तै चाल भयो भने मुलुकमा मासिन्छ त्यो आखिर ।
खै कस्ले कसरी चलाउँदैछ दुनियाँ बुझ्नै छ गाह्रो अति
भेडो झैँ छ सवार एक तरिका हेर्दैन एकै रति
आफ्नै ताल छ देश शेषतिर गो बोल्दैन त्यो आखिर
बैरीले धरती लुछेर अहिले लादैछ आफैँतिर ।
रोगीको उपचार छैन किन हो ? आफैँ छ रोगी सरी
कानूनी उपचार छैन कतिको बेहोस आफैँ सरी
के के काम भयो बजेट कति गो हिसाब खोजौँ अब
हाम्रो देश उकास्न स्वार्थ बलियो पारेर एकै तब ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































