साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकिला अतिथि

मञ्चमा अवसर नपाउनेले आफू खुसी आफैँलाई अतिथि घोषणा गरेर कार्यक्रम भव्य सभ्य र नव्य बनाउन शून्य स्थान नै रोज्नु पर्ने हुन्छ । मैला अतिथि हाई हाई सुकिला अतिथि बाई बाई ।

Nepal Telecom ad

माधव पाेखरेल गाेज्याङ्ग्रे :

आउनुस् मित्रहरू, आजको हाम्रो काम्रो बाँधिएको चाम्रो कार्यक्रममा सुकिला अतिथि बन्न चाहनेलाई आफैँ कार्यक्रमको सुकिला अतिथि घोषणा गर्न छुट दिऔँ । कार्यक्रम आयोजकले अतिथि घोषणा गर्ने क्रम आजबाट रोकौँ । किनभने विचरा अतिथि बन्न जाँदा पनि नबनाउने चलनले कार्यक्रम भाँडिने गरेको छ ।

त्यसैले आजदेखि आफैँले आफैँलाई सुकिला अतिथि भनेर घोषणा गरौँ । व्यवहार फोहर भए पनि चट्ट मिलेको राम्रो सुकिलो मुकिलो कपडा लाएर आएको म यो कार्यक्रमको जिरो फिगरको व्यक्तित्व भएको भान्से बन्न तम्सिने आधुनिक मान्छे भन्दै आफैँले आफैँलाई घनिष्ट, प्रविष्ट, सडिष्ट, कनिष्ट जे भन्न मन लाग्छ भन्दै अतिथि घोषणा गर्न नबिर्सनु होला ।

कतै कुनै राजनीतिक वा अन्य प्रकारको कार्यक्रम भैरहेको छ भने मञ्चमा जानुस्, आफैँले आफैँलाई गन्धे फोहरी दुर्गन्धित, सुगन्धित जे जस्तो अतिथि घोषणा गर्न मन छ गर्नुस्, आयोजक वा दर्शकले जे सुकै भनून् । काग कराउँदै गर्छ पिना सुक्दै जान्छ । आखिरी अतिथि बन्नेलाई पनि पिना बनाएकै हो । त्यही पिना बनाएका कारण रुष्ट भएर यहाँ सुकिला अतिथिको रूपमा आफैँले आफैँलाई उभ्याउन आएको हुँ भन्दा कुनै फरक पर्दैन ।

समाजमा नाक नहुनेले अतिथि बन्न पाउँदैन भन्न खोजेको हो भने सुन्नका लागि कान छ, हेर्नका लागि आँखा छ भन्न पाइन्छ । कार्यक्रम स्थलसम्म हिँडेर पुग्न दुई खुट्टा पनि भएकोले निम्तो नभए पनि केही फरक पर्दैन । कार्यक्रममा गइन्छ, आफैँले आफैँलाई सुकिलो अतिथि घोषणा गरेर अरुलाई चकित बनाइन्छ ।

कार्यक्रम आयोजकले जे सुकै भनून् वा गलहत्याए पनि छाडिन्न । बरु कार्यक्रम सञ्चालकलाई गलहत्याएर तल झारिन्छ र अतिथि बन्नुको स्वाद फेरेरै छाडिन्छ । कार्यक्रममा दोहोलो काढिने गरी भाषण छाटिन्छ । तालीको साटो गाली पाए गीत गाएर नाचिन्छ, बारुले कम्मर भाँचिन्छ । परिवर्तन चाहने हामी सधैँ एउटै पाराले कार्यक्रम गर्दा अघि बढ्न गाह्रो भएकोले अझ पछि सरेर विकास गर्न आवश्यक छ ।

समाजमा परिवर्तन ल्याउन आवश्यक भएकोले कार्यक्रमको स्वरूप नै परिवर्तन गरेपछि फरक शैली र फरक तरिका देखिने भएकोले यसलाई परिवर्तन ठान्छौँ । आजको समाजको अपरिहार्य आवश्यकता नै परिवर्तन भएकोले सबैभन्दा पहिले हामीले हामीलाई नै परिवर्तन गर्नु पर्दछ । सोही क्रममा हामीबाटै परिवर्तन सुरु गर्न आफैँले आफैँलाई अतिथि बनाएर परिवर्तन आफैँबाट सुरु गरौँ भन्ने अभियानको थालनी गर्नु पर्दछ । गन्धे सुगन्धे अतिथिले देशमा बेथिति निम्त्याएकोले देशको स्थिति सुधार्न यो प्रक्रियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मैले निराशा व्यक्त गरेको छु ।

स्वयं घोषित अतिथिका बारेमा धेरै कुरा किन गर्नु । थोरै कुरा गर्दा नै सबै कुरा बुझिने भएपछि बेथिति निम्त्याउने गतिविधिमा लागेका अतिथि नै सही । मोही माग्ने ढुङ्ग्रो लुकाउने काम किन गर्नु । आखिरी जोर जुलुम गरेर होस् वा खोसाखोस जसरी भए पनि अतिथि बन्नु न हो । स्वघोषणा पनि अतिथि बन्ने नयाँ तरिका भएकोले र आफूलाई यही विधिको गतिविधि मन परेपछि कसकाे के लाग्छ ।

नेपाललाई नयाँ नेपाल बनाउने तरिकामध्ये यो पनि एउटा भएकोले विकसित घटनाक्रमको नयाँ नौलो र नविनतम प्रयोगमा नयाँ नेपाल भित्रिए केही फरक पर्दैन । फरक परे पनि आखिरी सुकिलो, मुकिलो लुगा हेर्दा अतिथि बन्न लायक भएकैले आफूलाई आफैँले अन्तिम अतिथि घोषणा गरे हुन्छ । किनभने कार्यक्रममा सबै एउटै धारका हुँदैनन् । फरक धारका पनि हुने भएकोले अतिचार, अत्याचार, कुविचार गरेर भए पनि अतिथि बनेरै छाड्ने भन्ने सदाचारको भावना हामीमा हुनु पर्दछ ।

नेपालमा अतिथि बन्ने नै सुकिला, मुकिलाले हो । झुत्रा, झाम्रा, लुम्रा, चाम्रा, शरीरमा मयलका माम्रा बोकेर हिँड्ने बोल्न नजान्ने लठेप्रोले अतिथि बन्न सुहाउँदैन । सोझासाझा, इमान्दार अनुशासनमा बस्नेले बोल्नै जान्दैनन् । सबैभन्दा पहिले त अभिवादन गर्न नै जान्दैनन् । अतिथि बन्नेलाई उपस्थित सबैले सबैभन्दा पहिले धनुष टन्कारको आकारमा नमस्ते, नमस्कार भनेर अभिवादन गर्नु पर्दछ । त्यसरी अभिवादन गरिएन भने भरे वाद्यवादनकाे शिकार हुन सकिने भएकोले पनि होसियार भएर कार्यक्रममा घरमा बसेर नै सहभागी हुन म सबैमा अवरोध गर्दछु । सबैले यो नियमको पालना गरेमा भोलिका दिनमा गतिरोध उत्पन्न हुँदा आवश्यक सहयोग गर्न सकिने व्यहोरा लुकाउन चाहन्छु ।

नेपालमा हुने कार्यक्रमहरूमा बढी भिडभाड हुने भएकोले कोही पनि पुग्न नसक्ने शून्य स्थानमा रुखपात, बोटबिरुवा, झारपात, ढुङ्गा, माटोले सुन्ने गरी कार्यक्रम गर्दा बढी भव्य, सभ्य र प्रभावकारी, दवावकारी हुन्छ । बेथितिको अतिथि कार्यक्रममा उपस्थित भएनन् भने कार्यक्रम गर्नुको कुनै अर्थ नै हुँदैन । सबैको सल्लाहले हल्ला गरेर कार्यक्रमलाई विशालता प्रदान गर्न पनि मानव रहित स्थानमा स्थानान्तरण गर्नु आवश्यक देखिएको छ ।

यही कुरालाई मध्यनजर गरेर पनि अतिथि बनाउने कुरामा सुकिला, मुकिला स्वघोषित अतिथिको परिकल्पना गरिएको कुरा यहाँ सबैका सामु ओठ लेप्य्राएर भए पनि सुँढो पसार्न चाहन्छु । घुँडो पसार्दा ठाउँ ओगटिने भएकोले आफ्नो सुँढो आफैँसँग रहने हुँदा र सजिलो पनि हुने देखिएकोले प्रविधियुक्त सुँढो नै पसार्ने निधो गरिएको हो । यसो गर्दा कसैको घुँडाबाट आँसु चुहिन्छ भने आँसु पुछ्ने सिंगाने रुमाल पनि उपलब्ध गराउन अनर्थ घण्टालयमा बजेट विनियोजनका लागि फिरादपत्र हुत्याउने बेकामको काम गर्न कछुवा गतिमा मति जोडिनेछ ।

फोहर मैलायुक्त सुकिला अतिथि नहुँदा यसअघि धेरै कार्यक्रममा घुँडाबाट आँसु चुँहाउँदै गुनासो गरेकाले सनासो हातमा लिएर, गन्धाजल पिएर, मैला अतिथिको ठाउँमा सुकिला अतिथिलाई थेच्चासन गराउँदै व्यशासनमा बसेर कुशासन चलाउन अवरोधयुक्त सहयोग गरिने छ । सुकिला भएपछि मैला अतिथि नभए पनि हुन्छ भन्ने असमान सोचलाई समान बनाउन मैलाको ठाउँमा फोहर सुकिलालाई बोलाएर खाली ठाउँ पूरा गरिने छ । अझ स्पष्ट भन्नु पर्दा मैलाको ठाउँमा फोहर सुकिलालाई मैलाका लुगा र गहना लगाउन दिएर थेच्चासन ग्रहण गर्न लाउँदा मनासिव हुने भएकोले यो कुरालाई सबैले थाहा पाउन भनी गोप्य राखिएको छ । गोप्य कुरामा भुराले पनि कुरा काट्ने हुँदा कुरा काट्न नपाउन भनी छुराको धार भुत्ते पारेर कार्यक्रममा सबैले प्रयोग गर्न पाउनेछन् ।

कार्यक्रम सञ्चालन गर्न नजान्नेले कार्यक्रम गर्छन् । अनि आसन ग्रहण गराउँदा अतिथिहरूको अनुहारमा ग्रहण लाग्छ । मञ्चमा बोलाउनु पर्नेलाई दर्शक दीर्घाको पिर्कामा राखिन्छ । दर्शक दीर्घामा बस्नेलाई उच्चासनमा राखिन्छ । त्यसैले अतिथि नबन्दा अनुहारमा ग्रहण लाग्छ । अतिथि बन्दा मात लाग्छ । यो तरिका नै ठीक होइन त्यसैले सबैभन्दा राम्रो जुक्ती र उक्ति नै कार्यक्रम सञ्चालकलाई गलहत्याएर आफैँ अतिथि भएको घोषणा आफैँ गर्नु पर्दछ । अनि मात्र कार्यक्रमको मेलो अघि सर्दछ । शून्य स्थानमा कार्यक्रम गर्दाको फाइदा भनेकै हल्ला, खल्ला र षड्यन्त्रको सल्लाह नहुनु हो । नभए त कुरो सरकारी छ भने भरे तरकारी खान पनि पाइन्न । अचारको त कुरै छाडौँ । मानव बस्तीमा निकै सास्ती खेपेर कार्यक्रम गर्दा पनि प्रसस्तीपत्र पाउन सकिन्न । शून्य स्थानमा हुँदा सास्ती नखेपिकन अधिकाधिक मस्ती कार्यक्रम हुने भएकोले र आफ्नो कार्यक्रमको अतिथि आफैँ हुन पाइने गजबको तामे अवसर हो यो ।

सुकिला अतिथि देखेपछि जो कोही पनि खुसी हुन्छन् । मैला अतिथि देखेपछि जो कोही पनि नाक खुम्च्याएर गन्धे मुख र अन्धे आँखा, बन्दे कान बनाउँदै टिमिक टिमिक हुँदै सुकिलालाई गुनासो सुनाउन पुग्छन् । अतिथि बनाउन नजान्नेले कार्यक्रम गरेपछि यस्तै हुन्छ र सबैको मन रुन्छ ।

हेपिएका, चेपिएका, मिचिएका, थिचिएका, किचिएका, जेलिएका, ठेलिएकालाई अतिथि नबनाएर सुतेकालाई उठाएर, बसेकालाई बोलाएर, खाइरहेकालाई खाना थपेर पनि अतिथि बनाउने हामो चलनमा भोट घट्ने चोट पुगेको छ । यस्तो चलनले सबैलाई जलन हुन्छ । जलन हुने चलन चलाउँदा अतिथि पलायन हुने अवस्था आउँछ । त्यसैले कार्यक्रममा अतिथि बन्न नपाउँदा पलायन भएकालाई पनि विगतका कार्यक्रममा पलायन भएकालाई पनि पलायन अतिथिका रूपमा धुप धुवाँर गर्दै काठको चिरा परेको पिरामा थेचासन गराउन बिर्सनु हुँदैन ।

नेपालमा चलेको सुकिला अतिथि आसन ग्रहणको बारेमा जति धारे लाए पनि चेपारे चलन जारी रहन्छ । यो चलनले सुकिला अतिथिको मन बाउठिन्छ । ठाउँ कुठाउँ आसन ग्रहणमा मन जान्छ । सामान्य कार्यक्रममा असामान्य व्यक्तिलाई चोट पुग्ने गरी सुकिलो अतिथि बनाएर उसको बेइज्जत गराउने काम गर्दा भोलिको कार्यक्रममा अतिथि नपाउन सकिने हुन्छ ।

सुकिला अतिथि नपाउँदा केही नलागेर मैला अतिथि नै घनिष्ठ र अन्तिम अतिथि भैदिए भने कार्यक्रम आयोजक र सञ्चालकले कार्यक्रम छाडेर भाग्ने होलान् । अनि मञ्चमा अवसर नपाउनेले आफू खुसी आफैँलाई अतिथि घोषणा गरेर कार्यक्रम भव्य सभ्य र नव्य बनाउन शून्य स्थान नै रोज्नु पर्ने हुन्छ । मैला अतिथि हाई हाई सुकिला अतिथि बाई बाई । अन्त्यमा दुबै अतिथि हाई बाई, हाई बाई । जय व्यङ्ग्य ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x