माधव पोखरेल गोज्याङ्ग्रेगधाको कथा
भन्ने बेलामा खरायो नभए भोट आउँदैन । काम गर्ने बेलामा कछुवा नभए जवाफदेही बन्नुपर्छ । त्यसैले हाम्रा धेरैजसो राजनीतिक गधाहरू दोहोरो चरित्रका हुन्छन् ।
माधव पाेखरेल गाेज्याङ्ग्रे :
प्रिय राजनीतिका गधाहरू पिठ्युभरीको एकभारी सलाम, तिम्रो बारेमा एउटा कथा सुनाउँदैछु कृपया कुम्भकर्ण भएर सुन यसमा तिमीले महत्वपूर्ण शिक्षा पाउने छौँ । जनताले गधा बनाएर पठाएकोले केही सत्य तथ्य सुनाउँदैछु सुन ल ! हाई गधा आफ्नै भारीमाथि सुन है त !क्
गाउँमा एउटा गधा थियो । नाम राख्नु परे भारी बोक्ने गधा, किनभने उसको काम नै त्यही थियो – भारी बोक्नु र त्यो पनि कुनै गुनासो नगरीकन खुसीसाथ बस्नु । अनि भारी नपाउँदा निन्याउरो अनुहार लाएर झोक्रिनु । भनौँ ऊ भारी बोक्न कुनै पनि आनाकानी वा मानिसको जस्तो बेइमान नगर्ने, असली गधाको लहरमा दरिन्थ्यो ।
गधाका बारेमा सत्य तथ्य बुझ्दा अत्यन्त महत्वपूर्ण केही कुरा पता लाग्यो अनि मैलेमात्र जानेर बुझेर हुँदैन भनेर सबैलाई जानकारी होस् भनेर माड खाने थाल छाडेर जाँड खाने डवकामा पस्केको छु ।
सत्य तथ्य नं १ गधालाई जति भारी थोपर्यो त्यति नै बोक्छ । हाम्रो भारी बोक्ने गधालाई बिहान ५ किलोको बोरा दिएँ उसले बोक्यो, कान ठाडो पारेर तर मनभारी पारेर असन्तुष्टी जनायो ।
दिउँसो १५ किलोको दाउरा थपेँ । उसले फेरि बोक्यो, पुच्छर हल्लाएर । तर पनि उसलाई भारी नपुगेर मन खिन्न पारिरह्यो, अल्छी पाराले ढाँचु ढाँचु गर्दै अघि बढ्यो ।
साँझमा २५ किलोको सिमेन्टको बोरा राखिदिएँ । उसले त्यो पनि बोक्यो र भन्यो — अझै छ कि सर ?
मान्छेहरूले भन्न थाले हेर त ! कति इमान्दार छ यो गधा, कुनै गुनासो गर्दैन, गधाहरूको सङ्गठन बनाउँदैन, न कुनै भेला आयोजना गर्छ, काम गरेको तलब पनि माग्दैन ।
सत्य तथ्य नं २ गधालाई प्रशंसा गर्दा उसले अझ धेरै बोक्छ । नेतालाई फुर्क्याए जस्तै ।
वाह गधा दाइ ! तपाईं त देशको मेरुदण्ड हुनुहुन्छ ! भनिदिएपछि ऊ तीनवटा ग्यासको सिलिन्डर थपेर बोक्न तयार भयो, अरु केही छ कि भनेर भारी अपुग भएको संकेत गर्यो ।
तपाईं बिना त हाम्रो विकासै हुँदैन ! भनिदिएपछि ऊ पिठ्युँमा स्कूलको बेन्च, विद्यार्थीको किताबको झोला, मन्दिरको घण्टा र नेता जीको भाषणको फोटो भिडियो, टेप सबै एकै पटक बोक्न हिँड्यो ।
सत्य तथ्य नं ३ गधाले कहिल्यै थकित भएँ भन्दैन, भोक लाग्दा घाँस मात्र माग्छ र भोको पेटमा पनि भारी बोक्छ ।
हामीले उसलाई १० वर्षसम्म भारी बोकायाैँ। उसले चुपचाप भारी बोक्यो केही गुनासो गरेन ।
त्यसपछि उसलाई एउटा मेडल दियौं, यस वर्षको भारी बोक्ने गधा मध्ये सबैभन्दा एक नम्बरी गधा घोषणा गरेर ।
मेडलको तौल २ किलो थियो । त्यो पनि उसैले बोक्यो । हुन त त्यो मेडल उसले सधैँ बोक्दै आएको थियो । तर यस पटक उसलाई सम्मानित गर्ने भएकोले ऊसँग भएकै मेडललाई उपयोग गरेर मेडल दिंदा उसको महत्व बढ्छ भनेर त्यही दियौँ ।
एकदिन के भयो भने गाउँमा नयाँ ट्रयाक्टर आयो । ५० बोरा एकैपटक बोक्ने । हर्न पनि बजाउने । गाउँलेहरूले भने अब गधा दाइलाई आराम दिनुपर्छ । प्रविधिको युग आयो । भारी बोक्ने गधाले कान ठाडो पारेर सोध्यो अनि मेरो घाँस ? गाउँलेहरूले भने घाँस त अब ट्रयाक्टरको डिजेलमा सकियो सर । तपाईं अब संङ्ग्रहालयमा बस्नुस्।् । त्यहाँ गधा सरको फोटो खिच्न हजारौ मानिसहरू आउने छन् र तपाईलाई सङ्ग्रहालयमा देखेर रमाइलो मान्ने छन् । गधाले त्यो दिनदेखि भारी बोक्न छोड्यो । गाउँलेहरू छक्क परे ( हेर त ! इमान्दार गधा पनि बिग्रियो । पहिलाको जस्तो सेवा भाव रहेन अब गधामा पनि ।
असली कुरा के भने, गधा बिग्रिएको थिएन । हामी मानिसले मात्र उसलाई कहिल्यै मान्छे ठानेनौं । सधैं भारी बोक्ने मेसिन ठान्यौं । अन्त्यमा भारी बोक्ने गधाले एउटा नोट छोडेर गयो ‘म गधा भए पनि पिठ्युँ त मेरो हो नि । जबसम्म तिमीहरू आफ्नो भारी आफैंँ बोक्दैनौ, तबसम्म फूलहरू पनि फुल्दैनन् । अर्को कुरा मानिसहरूलाई केही दुःख पीडा पर्दा मानव अधिकार कुरा गर्छन तर हामी पशुहरूको पशु अधिकारका बारेमा कोही केही बोल्दैनन् । गधालाई पशुहरूले नै पशु मान्दैनन् किन ?’
समाजमा केही मान्छेहरू सधैं भारी बोक्ने गधा बन्छन् । काम गर्छन्, बोल्दैनन्, आफूले पाएको पीडाका बारेमा कही कतै उजुरी गर्दैनन् । र हामी ताली बजाउँदै उसको पिठ्युमा अझ भारी थोपरिरहन्छौं । त्यसैले कहिलेकाहीँ गधालाई पनि सोधिदिनु दाइ, आज तपाईंको पिठ्युँ कस्तो छ ?
हाम्रो नेपालमा मुख्यतया दुई प्रकारका गधा पाइन्छन् । घरपालुवा गधा र जंगली गधा । साथै गधाका नाममा काम अनुसारका नाम पनि छन् ।
नेपालमा सत्ता सम्हालेर बसेका गधाहरूका बारेमा जति लेखे पनि गधाहरूलाई सीता कस्की जोई भन्ने थाहा छैन । यस बारेमा धेरै लेखकले धेरै कुरा लेखिसकेका छन् । अझै धेरै लेख्न बाँकी रहेकोले थोरै भए पनि यहाँ लेख्ने प्रयास गरेको छु म गोज्याङ्ग्रेले । तर लेख काँचो भएमा राम्ररी पकाएर मात्र पढ्नु होला ।
भारी बोक्ने गधाको पहिचान जनताको भारी बोक्ने हो । गधालाई जसले पनि जे भने पनि हुन्छ भनेर भन्नेहरू ऊ टाउको हल्लाउँछ । काम ५ वर्षे घोषणापत्र, बजेट व्यवस्थापन, चुनावी वाचा सबै पिठ्युँमा बोक्छ । बोक्दा बोक्दै मेरुदण्डमा अख्तियारले हान्छ र थला परेर बस्छ । यसको बानी बिहान जनताको सेवा भन्छ, दिउँसो विकास बोक्छ, साँझ आयोग को भारी थप्छ । विशेषता कहिल्यै थकित भएँ भन्दैन । घाँसको सट्टा प्रशंसा र फोटो, भिडियोे माग्छ ।
अर्को हो कराउने जातको गधा यसको पहिचान हा,े काम शून्य, माममा मात्र ध्यान दिन्छ । आवाज १२० डेसिबल भन्दा बढी निकाल्ने । काम संसदमा, टिभी डिबेटमा, फेसबुक लाइभमा ढेँचो बजाउने र टेबुलमा प्वाल पर्ने गरी ठोक्ने । बानी मुद्दा आएपछि मात्र ब्युंझिन्छ तर मुद्दा सल्टाउदैन । समस्या समाधान गर्दैन, समस्या उसलाई गनाउँछ । विशेषता मैले पहिले नै भनेको थिएँ भन्ने रेकर्डर बोकेर हिँड्छ ।
हाम्रो समाजमा देखिने अर्को गधा हो रङ फेर्ने गधा । यसको पहिचान मौसम अनुसार कोटको रङ फेर्छ । काम चुनाव अगाडि एउटा गोठ, जितेपछि अर्को गोठ चहार्ने । यसको बानी सत्तामा हुँदा ूराष्ट्रवाद प्रतिपक्षमा हुँदा जनआन्दोलनको धम्की दिने । विशेषता पिठ्युँमा ५ वटा पार्टीको चिन्हको ट्याटु छ । अवसर आएमा पुछेर मेटाउन सकिन्छ ।
अर्को खाले गधा हो खोरमै बस्ने गधा । यसको पहिचान ३० वर्षदेखि एउटै कुर्सी, एउटै फाइलमा सिमीत हुने । काम फाइल सार्ने, टेबुल थप्ने, रिटायरमेन्ट काउन्टडाउन गर्ने । बानी नयाँ कुरा सुन्ना साथ यो त हुँदैन भन्ने । विशेषता उसको खोरको ढोका कहिल्यै खुल्दैन, किनकि भित्र जंगली हात्ती, गैडा, बाघ भएको हरियो घाँसको स्टक छ ।
अर्को नयाँ गधा हो जुत्ता बोक्ने गधा यसको पहिचान भनेको अरुको पछाडि पछाडि हिँड्छ । काम सर, चिया ल्याऊँ सर, फोटो भिडियो बनाएर फेसबुकमा पोष्ट गरौँ । बानी मालिकको नाम लिएर आफैं ढेँचु ढेँचु गर्दै गर्जिन्छ । विशेषता मालिक फेरिएपछि नाम पनि फेर्छ ।
गधा र सत्ताको साझा सत्य तथ्य
गधालाई जति भारी थोपर्यो त्यति बोक्छ, नेतालाई जनताले जति वाचा थोपर्यो त्यति नै बोक्छन्, उजुरी गर्दैनन् ।
गधा एक ठाउँमा धेरै बेर बस्दैन तर हाम्रा केही गधा २० ।३० वर्ष एउटै खोरमा छन् । गधालाई सीधा बाटो मन पर्दैन त्यसैले नीति पनि घुमाउरो बनाउँछन् । गधा खराब जनावर होइन । उसले इमान्दार भएर बोक्छ । समस्या तब आउँछ जब गधालाई घोडा भनेर दौडमा हालिन्छ, र घोडालाई गधा भनेर भारी बोकाइन्छ ।
नेपालमा साँच्चै कमी केको छ भने भारी बोक्ने गधाको होइन, भारी बुझ्ने गधाको हो । नेपालमा आफू केको भारी बोक्दैछु भन्ने ज्ञान नहुने गधाहरूको निकै ठूलो जमात छ ।
गधा दौडमै भाग लिँदैन । ऊ भन्छ मलाई दौडको पदक चाहिँदैन, मलाई घाँस र बोझ बोक्ने इज्जत चाहिन्छ ।
खरायोले दौड जितेर फोटो खिचाउँछ, कछुवाले इतिहास बनाउँछ, गधाले चाहिँ गाउँको सबै भारी बोक्दै जीवन बिताउँछ । देशमा कछुवा गतिका, खरायो गतिका र गधा गतिका गधाहरूको बाहुल्यता रहेकोले यहाँ सबै खाले गधाहरूको तुलनात्मक विश्लेषण र समीक्षा गरिएको छ ।
कछुवा, खरायो र गधा
कछुवा ढिलो, खरायो सबैभन्दा छिटो र गधा मध्यम, तर लामो समय लगाएर यात्रा गर्दछ । कछुवाको शक्ति सहनशीलता खरायोको शक्ति छोटो समयको, गधाको शक्ति आफ्नो शरीरको तौलभन्दा बढी भारी बोक्ने क्षमता हुन्छ । कछुवाको कमजोरी ढिलो भएकाले आक्रमणको डर, खरायोमा घमण्ड र लापरबाही गदाहालाई सबैले बोक्ने मेसिन ठान्छन् । कछुवाले निरन्तरता र आत्मविश्वास राख्नु पर्छ भनेर सिकाउँछ, खरायोले अनुशासनमा बसेर इज्जत कमाउनु पर्छ भन्ने सिकाउँछ भने गधाले आफूले बोक्ने भारीको सीमाको ख्याल गर्नु पर्ने सिकाउँछ । नेपालका राजनीतिक गधाहरूले यो कुरा बुझेका छैनन् ।
यहाँ गधा जनावर होइन, काम गर्ने शैलीको श्रमिकको रूपक हो । गधाले अहिलेको जमानामा बोलेको २ मिनेटमै निर्णय, फोटो, प्रेस विज्ञप्ति र शिलान्यास सबै काम सक्छ । चुनाव जितेको भोलिपल्टै १० दिने योजना ल्याउँछ । १० दिनमा १० वटा घोषणा गर्छ काम भने वरको सिन्को पर सार्दैन । आफूले गरेको घोषण ९० दिनमा बिर्सिन्छ । फाइलको काम आधा बाटोमा पुगेपछि समय थोरै भो भन्दै सुतेर रोक्छ ।
भाषण ऐतिहासिक निर्णय अभूतपूर्व उपलब्धि मान्छ । तर ग्राउण्डमा एउटा ढुंगा पनि राखिएको हुँदैन भने मैले यस्तो गरे उस्तो गरे भनेर टिभीमा दौडिरहन्छ, अफिसमा भेटिँदैन । जनतालाई काम भइरहेको छ भन्ने फिल दिन्छ । जग बलियो नभएर भत्किन्छ । ५ वर्षमा ५० वटा योजना सुरु गर्छ २ वटा मात्र सकिन्छ । ४८ वटा योजनाले उतानो टाङ लाइरहेका हुन्छन । गधा त्यही कुरेर ५ वर्ष विताउँछ । एउटा फाइललाई ५ वर्ष लगाएर अध्ययन भइरहेको छ भन्छ ।
कुनै पनि विषयको निर्णय गर्न समिति, समितिले उपसमिति, उपसमितिले प्रतिवेदन तयार पार्छ र प्रतिवेदन धुलोले पुरिन्छ । अवसर गुमाउँछ, हिजोको समस्या भोलि हेर्छु भन्छ । दीर्घकालीन सोच, दिगो विकासमा हतार गर्नु हुँदैन भन्छ । कुर्सीबाट उठ्दैन, उठे पनि शौचालयसम्म मात्र, तर एक पटक उठेर गरेको काम करिब ६ महिना वर्ष दिन टिक्छ ।
काममा हतार नगर्दा घोटाला कम हुन्छ । गरेको काम दिगो हुन्छ । जनताको समस्या कछुवाको उमेर जति लामो हुन्छ । कछुवा गतिको गधा, काम सकिँदा पुस्ता सकिन्छ भन्ने उखान यहाँ चरितार्थ हुन आउँछ ।
खरायो गतिको गधा, कछुवा गतिको गधा, दुबै अलमलमा पर्छ । दुबैलाई पछि पछुतो हुन्छ केही वर्षमा, पछि पनि पछुताउमा परिरहन्छ ।
सबै खाले गधाले घोषणा ठूलो, खर्च सानो, घोषणा सानो, अध्ययनमा खर्च ठूलो देखाएर बजेट खर्च गर्छन । जनतासँग सेल्फी खिच्छ, समस्या सुन्दैन, समस्या सुने पनि समाधान गर्दैनन् । कार्यकाल सकिएपछि १०० वटा शिलान्यासको ढुंगा एकवटा पनि नसकिएको फाइलमा नक्कली कागजात बोकेर भुक्तानीकोलागि सबै मन्त्रालयको झ्याल ढोका धाउँछ, । टेबल मुनि हात छिराउँछन् । तर समस्या जस्ताको त्यस्तै हुन्छ । अहिले समस्या गति होइन, समस्या दिशा बनेको छ । खरायो गतिको गधाले गलत दिशामा छिटो दौड्यो भने खाडलमा पर्छ । कछुवा गतिको गधाले सही दिशा थाहा नपाएर २० वर्षसम्म एउटै ठाउँमा घुम्छ । जनतालाई चाहिने चाहिँ गधाको इमान्दारी, ंखरायोको गति रं कछुवाको धैर्यता हो । तर हाम्रो खोरमा त्यस्तो प्रजाति अहिलेसम्म फेला परेको छैन । फेला परे संग्रहालयमा राखिनेछ ।
देश बनाउने बेला सबै खरायो बन्ने, र जवाफ दिने बेला सबै कछुवा बन्ने प्रवृत्ति नै हाम्रो मुख्य समस्या हो । यही कुरालाई त राजनीतिक विज्ञानमा खरायो भाषण, कछुवा काम र गधालाई सिद्धान्त भनिन्छ । भन्ने बेलामा खरायो गति चुनाव आयो, भाषण आयो, समस्या देखियो भने सबै टर्निङ मोडमा जान्छन् । यस्ता मुला समस्या २४ घण्टामा समाधान गर्छु, ऐतिहासिक निर्णय लिन्छु, जनताको आँसु पुछ्छु । माइक अगाडि ढिलो बोल्यो भने भोट कटिन्छ । त्यसैले ब्रेक फेल गरेर दौडिन्छ । काम गर्ने बेलामा कछुवा गति, चुनाव सकियो, कुर्सी मिल्यो, अब सुरु हुन्छ प्रक्रिया पहिले अध्ययन समिति, बजेट अर्को वर्ष, यो त ऐनसँग बाझियो । कारण काम गर्यौ भने गल्ती हुन्छ, गल्ती भयो भने मुद्दा हुन्छ । नगरे सुरक्षित, त्यसैले खप्परभित्र बुद्धिमा लागेको बिर्को खोलेर बुद्धि पस्छ ।
यसको वैज्ञानिक नाम कुरा नबुझ्ने गधा, दोहोरो गियर प्रणली, पहिलो गियर भाषण, पेट्रोल हाल्नासाथ प्रतिघण्टा २०० किलोमिटरका दरले चल्छ । दोस्रो गियर काम गियर ब्रेक लगाएर २ सय किलोहर्जमा र कहिलेकाहीँ रिजर्भमा पनि जान्छ । तर जनाताले भोग्ने नतिजा नेताको गति जनताको हालतमा भर पर्दछ । चुनावको बेला खरायो ं चितुवा मिक्स अब देश बन्छ भनेर सपना बाड्ने, कामको बेला कछुवा ंबनेर सुस्तरी मिक्स अध्ययन भइरहेको छ भनेर पर्खाउने ५ वर्ष पछि फेरि खरायो, अघिल्लोले गर्न दिएन भनेर नयाँ सपना बाँडने परम्परा गधाहरूमा कायमै छ ।
भन्ने बेलामा खरायो नभए भोट आउँदैन । काम गर्ने बेलामा कछुवा नभए जवाफदेही बन्नुपर्छ । त्यसैले हाम्रा धेरैजसो राजनीतिक गधाहरू दोहोरो चरित्रका हुन्छन् । खरायोको मुख र कछुवाको खुट्टा बोकेर हिँड्ने यो प्रजातिलाई जीवविज्ञानका वैज्ञानिकहरूले अहिलेसम्म नामाकरण गर्न सकेको वा गरेको छैन । तर गाउँ घरमा भने यस्ता गधालाई तित्रे वा वाचाल गधा भनिन्छ ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































