फित्काैली डटकमबजारमा आयो प्रभातको पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’
गजललाई सिर्जनाका रूपमा मात्र नभई यसको शिल्प, सिद्धान्त र संरचनाका विषयमा समेत अध्ययन तथा विमर्श गर्दै आएका प्रभातका लागि यो सङ्ग्रह विशेष महत्त्वको कृति हो ।
भरतपुर । चितवनका क्रियाशील समालोचक, गजल मञ्च चितवनका पूर्वअध्यक्ष कवि रमेश प्रभातले आफूले गजल लेख्न थालेको झन्डै साढे तीन दशकपछि पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित गराएका छन् ।
चितवनको पुरानो र पाको साहित्यिक संस्था चितवन साहित्य परिषद्ले यो कृति प्रकाशित गराएको हो । चितवनमा गजल लेखन र यसको साहित्यिक गतिविधिलाई स्थापित गर्न गजलमञ्च चितवनको स्थापनामा समेत सक्रिय भूमिका निर्वाह गरेका प्रभातको यो नयाँ कृतिले उनको लामो गजलयात्रालाई पुस्तकाकार रूपमा प्रस्तुत गरेको छ । गजललाई सिर्जनाका रूपमा मात्र नभई यसको शिल्प, सिद्धान्त र संरचनाका विषयमा समेत अध्ययन तथा विमर्श गर्दै आएका प्रभातका लागि यो सङ्ग्रह विशेष महत्त्वको कृति हो ।
विक्रमको चालिसको दशकको उत्तरार्द्धदेखि साहित्य कविता, गीत र गजलमार्फत् साहित्य सिर्जनामा सक्रिय प्रभात चितवनमा गजल लेखनको सुरुआती पुस्ताका स्रष्टामध्ये एक हुन् । चितवन, नवलपरासीसहित आसपासका जिल्लामा हुने साहित्यिक तथा गजलसम्बन्धी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनले गजल सिर्जनासँगै गजल सिद्धान्त र संरचनाका विषयमा समेत विभिन्न आलेखमार्फत योगदान दिँदै आएका छन् ।
उनको यो गजदसङ्ग्रहमा कूल ८३ वटा गजल र १० वटा फर्दहरु समावेश छन् । गजलकार प्रभातका अनुसार यी गजलहरू स्वतन्त्र रूपमा लेखिएको भए पनि केही गजल बहरको सिद्धान्तसँग मेल खाने खालका पनि छन् ।
कृतिका हिसाबले ‘आँगनीमा फूल रोपेँ’ प्रभातको छैटौँ पुस्तक तथा पहिलो गजलसङ्ग्रह हो । यसअघि उनका २०५२ सालमा ‘प्रायश्चित’ बालचित्रकथासङ्ग्रह, २०५४ सालमा ‘सत्तालिप्सा’ हाइकूसङ्ग्रह, २०५७ सालमा ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कवितासङ्ग्रह, २०८० सालमा ‘अलिकति फरक कुरा’ र २०८२ सालमा ‘अरू अलिकति फरक कुरा’ समालोचनासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
त्यसो त ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कवितासङ्ग्रहमा त्यतिबेला कवितालेखनमा सङ्घर्ष गर्दै गरेका रमेश प्रभातलगायत सुरेन्द्र अस्तफल, गणेश श्रमण, प्रकाश थापा, गोपाल पौडेल, नवराज ढुङ्गाना, सिर्जन अविरल, दीपकप्रसाद गौतम र लक्ष्मीकुमारी ढकालका पाँच–पाँचवटा कविता समावेश छन् ।
साहित्य सिर्जना, शोध, अनुसन्धान, शोधनिर्देशन, समालोचना लेखनलगायत जिल्लाभित्र हुने विभिन्न साहित्य साहित्यिक गतिविधिमा सक्रिय रहँदै रमेश प्रभात अक्षर समूह चितवन, गजलमञ्च चितवन, अभिव्यञ्जना साहित्य प्रतिष्ठानजस्ता संस्थामा पूर्व अध्यक्ष हुन् । पेसागत रुपमा उनी हाल वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा उपप्राध्यापकका रूपमा कार्यरत छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest




































