युगल बसेलसिंहको हुङ्कार
छाेटे सिंहहरू तराई र मधेसी भूमि नाप्दै चुरे-भावर पस्दै छन् ऐश-आरामको कर्कस हाँसोसँगै डकार्दै मृत आत्माको रगत ।
डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ :
सिंह-
तिमी वनको राजा
कहिले तिमी
अरण्यको छायाँमा लुकेको
कम्पित डमरु थियौ,
तिमीले लुलो गतिमा धर्ती नाप्दा
न गर्व थियो
न गर्जनको साहस ।
आज
उमेरले तिमीलाई
दरो दाँत र नङ्ग्रा दियो,
अनि अहङ्कारको कलेजी फुल्यो,
शरीर तन्कियो,
रौं झुस्सियो,
आँखा भयको दीप बने
पञ्जाहरू दरो बने ।
अरण्यको मौनताभित्र
पाइला चाल्छौ तिमी
कहिले लस्कँदै
कहिले बुर्कुसी मार्दै,
हुड्ङ्कारको ज्वालामा
निर्दोष जीवनलाई
दन्काउँदै संहारतिर धकेल्दै ।
रक्त-पिपासु तिमी
झारखण्डको वन पसेर
कति निर्दोष आत्माहरू
रगतको स्वादमा संहार गर्यो
कप्लक्क पेटभित्र हुल्यौ
तर भरिएन कहिल्यै
मातिएको तिम्रो पेट ।
अब त
छाेटे सिंहहरू
नाकानाकामा अखडा जमाएर
लोभलालचाको जाल थाप्दै
बडे सिंहको छायाँमा
मातेर आतङ्कित छन्
अमन चयन गर्दै छन्
अवोधको रगतको होलीमा ।
छाेटे सिंहहरू
तराई र मधेसी भूमि नाप्दै
चुरे-भावर पस्दै छन्
ऐश-आरामको
कर्कस हाँसोसँगै
डकार्दै मृत आत्माको रगत ।
के याे हुङ्कार
निरन्तरताकाे लागि हाे कि,
अन्त्यकाे पूर्व सङ्केत ?
०००
१ भदाै २०७२
खरानीकाे अङ्कुर (२०८३)
Subscribe
Login
0 Comments
Oldest






































