रामशरण न्याैपानेआधार ज्येष्ठको होस् साथी बनोस् समाज
यो देशभित्र लाखौँ छन् सिर्जना यिनैका विद्या र ज्ञान पाको भारी घना यिनैका छन् पूज्य गर्न सेवा मान्दैनमान लाज आधार ज्येष्ठको होस् साथी बनोस् समाज॥
रामशरण न्यौपाने “पाँचघरे” :
लागेर रोग चर्को तम्सिन्छ ढाल्न देह
घोटेर वृद्धहड्डी धान्नै सकिन्न गेह
सङ्घर्ष गर्न फुर्ती बाँकी रहेन आज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज॥१॥
पर्दा बिमार होओस् नि:शुल्क स्वास्थ्य सेवा
छाओस् उदारतामा सत्ता बनेर टेवा
आओस् सुशान्तिको नै यो देशभित्र राज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज॥२॥
सङ्घर्ष लाख गर्दै यो गेह स्वर्ग पारे
धाएर लेक बेँसी बारेर गोठ सारे
सक्दो गरे यिनैका मेलो तुरेर काज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज॥३॥
छोडेर भाइ छोरा जान्छन् विदेश छानी
बिर्सेर देश आफ्नो पैसा प्रधान ठानी
एक्लो छ जिन्दगानी सन्तापको छ राज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज॥४॥
होउन् सुता पुता नै सीता र रामजस्ता
काँडा सबै हराउन् हुन् फूलदार रस्ता
होस् मञ्च वृद्धवृद्धा रम्ने गरेर राज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज॥५॥
यो देशभित्र लाखौँ छन् सिर्जना यिनैका
विद्या र ज्ञान पाको भारी घना यिनैका
छन् पूज्य गर्न सेवा मान्दैनमान लाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज॥६॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































