रामशरण न्याैपानेकुनै छैनन् महान् देवकोटा समान
दिए अर्ती राम्रो मनुज बिच सधैँ उच्च आदर्श बन्ने गरे शिक्षासाथै विविध नव कला काव्यमा योगदान कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान॥
रामशरण न्यौपाने “पाँचघरे” :
दयाका खानी ती सरल प्रकृतिका भावनाका मुहान
हुँदा पैसा गर्थे गरिब असकमा मुष्टि खोलेर दान
दिलासा निम्त्याए सकल मनुजमा जून चुम्ने प्रधान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान॥१॥
रुकेनन् थाकेनन् सृजन शिखरमा रोज लागे उकालो
सबै धोई फाली मनुज सकलको द्वेष दुर्भाव कालो
हिँडे यात्री बन्दै हर बखत खटी बिर्सिँदै त्यो थकान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान॥२॥
हुले यो नेपाली प्रकृतिबिच महान् सिर्जनाको बिहानी
यहाँ धेरै जन्मे कवि अधिक खटी काव्य गर्ने सिरानी
पुगे हाराहारी कुन कवि कहिले गर्छ को खै किटान?
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान॥३॥
कडा आयो शाकुन्तल जलधिसरी भावगङ्गा बडेमा
फिँजे मर्मस्पर्शी मदन अनि मुनाको कथा झ्याउरेमा
चल्यो होडै लेख्ने दश दिनबिचमा काव्य पारे तमाम
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान॥४॥
उनै हुन् भाषाका जलधिबिच डुबी छन्दमा खेल्न सक्ने
विधा छानीछानी विविध किसिमका पद्यमा रेल्न सक्ने
उनैका छन् ज्यादा कृति समरथ है विश्वमा राख्न सान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान॥५॥
ठुलो मान्छेमा हो फगत मनुजता जातले हुन्न भन्ने
दिए अर्ती राम्रो मनुज बिच सधैँ उच्च आदर्श बन्ने
गरे शिक्षासाथै विविध नव कला काव्यमा योगदान
कुनै छैनन् अर्का कविहृदय महान् देवकोटा समान॥६॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































