डा. छायादत्त न्यौपाने ‘बगर’तिमी मेरो साथी
म स्वाधीन प्राणी हुँ मलाई छाडिदेऊ मेरो प्रिय जीवन स्वतन्त्र रम्न देऊ अनुनयपछि ऊ केही बेर पर बस्छ म फेरि भन्छु तिमी मेरो साथी आहा कति जाती !

डा. छायादत्त न्याैपाने :
मेरो एउटा साथी छ साथी अति जाती छ
आऊ खेलौं भन्छ घरीघरी बाेलाउँछ
म भन्छु- मलाई पढ्नु छ, तिमी बस म पढ्छु
ऊ भन्छ -खेलौं खेलौं रमाऊँ आऊ
देखाउँछ ऊ अनन्त दृश्यहरू
म भन्छु- आँखा दुख्छ हेर्दिनँ
ऊ भन्छ- पिर नगर नजिकै आऊ
म सुमसुम्याउँछु तिमी रमाऊ
म यता हेर्छु ऊ- मलाई हेर भन्छ आफैतिर तान्छ
म उता हेर्छु ऊ -मलाई हेर भन्छ छेउमै राख्न खाेज्छ
म साेझै हेर्छु ऊ -घाेप्टाे पर भन्छ
यताउता जताततै उसकै बाेलबाला छ
मैले मेरै ठानेका साख्खै आफ्ना
शिर,आँखा,औंला, चेत उसकै अधीन पर्छन्
कतै गयो कि सङ्केत अङ्क हाल भन्छ ऊ
म उसकै आदेश मानेर साेधखाेज गर्छु
म भन्छु- डर लाग्यो आमा आउनुभयाे
ऊ भन्छ -इ हेर आमा मैभित्र नाच्दै हुनुहुन्छ
लौ सम्झ धकतिपटक तरकारी डढ्याे दूध उम्ल्याे
म भन्छु- छाड मलाई नगर ती आमाका कुरा
नछाेऊ मलाई ऊ बाबा आउनुभयाे
ऊ भन्छ- इ हेर बाबा मैमाथि घाेप्टिरनुभा छ
म भन्छु -मलाई गुरुले हप्काउनु हुन्छ
ऊ भन्छ- निर्धक्क हाेऊ गुरु मेरै प्रिय मित्र
मैसँग ढुनुमुनु ढुनुमुनु रमाउनुहुन्छ
देखेनौ र परिवार आफन्तसँग भलाकुसारी
संस्कृति र संस्कार मेरै वश परेर हराका
म भन्छु -तिमी यहाँ बस, चुपचाप बस म पढ्छु
ऊ -टिङटाङ टिङटाङ गर्छ, मलाई हेर भन्छ
म उसलाई टेबुलमा थन्क्याउन बल गर्छु
ऊ फेरि कराउँछ टिनटिन गर्छ बाेलाउँछ
म भन्छु -उफ् ! कस्तो हैरान
ऊ – लौ निम्तो आयो हेर हेर भन्छ
म भन्छु -तिम्रो वश पर्दिनँ
तिमी मेराे कुरा मान ,नमाने भाग
मलाई तिमीबाट स्वतन्त्र हुन देऊ
कसैको अधीन हाेइन म स्वच्छन्द हुन देऊ
फकाइफुल्याइ गर्दै नगर तिमी
म स्वाधीन प्राणी हुँ मलाई छाडिदेऊ
मेरो प्रिय जीवन स्वतन्त्र रम्न देऊ
अनुनयपछि ऊ केही बेर पर बस्छ
म फेरि भन्छु
तिमी मेरो साथी आहा कति जाती !
०००
पर्वत, हाल – काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































