साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलहकाे साइनो

जीवन जाेगाउने नैतिक इमान धानेर विवेकी बलमा दराे गरी उभिई हिंस्रक हुँडार हुत्याउनुपर्ने दायित्व निर्वाहमा बिलम्ब भइरहेको छ ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

जीवन हाे, सम्बन्ध चाहिन्छ । सम्बन्धमै हाे सृष्टि फक्रेर सौर्न्दर्य बटुलिने र सम्बन्धलाई सहृदयी र सुमधुर बनाउने चेतनाले हाे तर यहाँ चेतनाले काम नगरी मै-मत्त भई आफै जान्ने सुन्ने हुँ भनेर स्थापित सम्बन्ध निभाउन गाह्रो मान्नेहरूकाे भिड बढाउने आजकाे वस्तुस्थितिले के सामाजिक बेथितिमा मलजल गरी मानवअस्तित्व सङ्कटमा पारिरहेको छैन ?

हाे, नभई नहुने भएर गाँसिएको श्रीमान् श्रीमतीको सम्बन्ध सहृदयी हुनुपर्ने तर कलहकाे सङ्ग्रह भइदिएकाे छ । स्वकर्तव्य लत्याएर अधिकारकाे एकलौटी खेतीमा पल्केकाे मान्छेले आफै खुट्टामा बन्चरो चलाइरहेकाे तथ्य नपत्याउन मिल्छ र ? उफ्, कति अप्ठेरो मान्याहाेला ! आमापछि सबैभन्दा नजिकको श्रीमान् श्रीमती सम्बन्ध सकुशल निर्वाह गर्न ! याे भा-बनाकाे सम्बन्ध मासेर अर्को खाेज्न हिँड्ने कल्मष मनका धनीहरूले पाहारिला घाम तापेर आफ्नै मन धाेइपखाली निर्मल पारे कति सुन्दर हुँदाे हाे जीवन !

थाहा छ, याे सत्य हाे,सम्बन्ध चाहिन्छ, यै आवश्यक छ तर अरूका कुराले डसिरहन्छ, डसिइन्छ । जिन्दगी आफ्नो हाे श्रीमान् श्रीमतीको साख्खै आफ्नो तर कुरौटेका अर्थहीन कुरा के ? कसाे ? किन ? कति ? जस्ता लिनु न दिनुका आन्तरिक चासोमा प्रश्नहरू तेर्स्याएर हैरान पारिदिने हाेइन फुर्सद पनि कति हाे ! यी आफन्त भनिनेहरू हुँदाे खाँदाे जिन्दगी भत्काइदिन हेर, विवेक गुमाएर कस्सिएका ! एकपछि अर्को निउँ झिकेर कुरा काट्छन् र सहज चलिरहेको जिन्दगीमा आगाे सल्काइदिएर आफू खुसी मनाउँछन् तर भित्री लुगामा भ्वाङ परेर आफै उदाङ्गिएकाे पत्तो पाउँदैनन् ।
हेरौं न, आफू बाँच्ने जिन्दगी अरूका कुरा पत्याएर भताभुङ्ग पार्ने हामी आफै श्रीमान् श्रीमती ! श्रीमान् श्रीमतीले अरूका कुरा नसुने, शङ्का नगरे, कुरौटेका पछि नलागे आज मौलाएको भयावह सामाजिक फेसनजस्ताे बनेको पारपाचुके बिगबिगीले सताउनै पाउने थिएन ।

भनिन्छ-आज चेतना बढेको छ, मान्छे सचेत भए तर निजी सुखकाे क्षणिक रमाइलोमा भासिएर सिङ्गो जीवन भड्खालाेमा परेकाे दृश्य नदेख्ने ज्ञानचक्षु कसरी सचेत ? सँगै राखेका भाँडा चलाउँदा बज्छन्, एकै ओछ्यानमा सुते गाेडा लाग्छ कि त मुर्दा हुनुपर्‍याे नचलबलाउन ! चलेपछि दाेहाेरै ठाेकिन्छ । यति सानाे र सजिलो विषयमा आफू विवेक प्रयोग नगरी लहैलहैमा दौडिँदा खेपिने हैरानी नसम्झने ? हाेइन कस्तो हाे याे आज आर्जित सचेतना ?

आफ्नो सिर्जनशील समय खर्चेर आफन्तकाे जिन्दगीकाे धमिराेे हुने रहर कति जाती हाे ? याे कहाँबाट पलायाे कुन्नि ? यस्तो रहरबाट काे कति लाभान्वित भए र हुन्छन् भविष्यमा ? यस्तो अर्थ न बर्थ गाेविन्द गाईका पछि हुत्तिएकाे मान्छे कहाँ अडिने हाे ? याे मूल्यवान् समय कुरौटिएर खेर फाली फाली परिवारभित्रका छिद्र काेट्याउनु बुद्धिमानी कति हाे कुन्नि ? साेध्न मन लाग्छ !

अर्थहीन बाेल्ने बानीले सिर्जनाकाे बाटाे भत्काउँछ । सान्दर्भिक ठाउँमा ठिक्क बाेलिने बाेलीले कसैलाई घाेंच्दैन । मेरो बाेलीले कसैलाई घाइते बनाउँदैन र मेरो समयकाे दुरुपयोग पनि हुँदैन । याे उपदेश भाे भन्ने हाे भने व्यवहारमा त झन् शालीनता गर्ल्यामगुर्लुम ढलेकाे छ ।

हेरौं, प्रकृतिले हुर्काएकाे संवेदनशील चेतना र मानवीय संस्कार संस्कृति निमुखालाई जितेर बहादुर बन्ने हाेइन । आज शक्तिमा हुनेले कमजोर चरित्रकाे काँध चढेर अग्लिने यस्तो चलन छाेडिनुपर्छ, मासिए जाती हुन्छ । सहअस्तित्वमा खेल्न पाउने जीवनकाे नैसर्गिक अधिकार हाेइन र ?

जनमत देश सञ्चालनकाे सर्वोच्च शक्ति हाे । के याे भन्नका लागि भनिने महावाक्य हाे ? कि मान्छे, मान्छेजस्तै जीवन जिउने पद्धतिले पछ्याएकाे मानवीय मर्यादा हाे ? चेतनाकाे चाेइलाे चलाउनेले समन्यायी व्यवहार के हाे र कसरी गरिन्छ ? हेक्का राखिदिनुपर्ने कसले हाे ?

याे अरूले अरूकाे विषयमा चासो दिएर विसङ्गति बढाउने अभ्यासकाे हाेडबाजी मान्छेकाे गतिहीन आचरण हाे । आफू सिर्जनात्मक कर्ममा जुटे अरूको विषयमा खानतलासी गरिरहनुपर्दैन । मान्छे आफ्नो कामप्रति इमानदार भए नानाभाँती राेगकाे उपचारमा मनमस्तिष्क र समय खर्चिनुपर्दैन । प्रत्येक मान्छेले आफैलाई विश्वास गर्ने सामर्थ्य भए समाज सङ्लिन गाह्रो पर्दैन । प्रत्येक मैलो म सुकिलिए, मैलो कहाँ बस्ने ? समस्या मैलो मसँग टाँसिएकोले झाँगिएकाे हाे । याे ममा टाँसिएको कत्लाे उक्केर हामीमा जाेडिए जीवन, जीवनजस्तै झरीपछिकाे आकाशसरि उजेलिने थियाे ।
शालीन व्यवहार सम्बन्ध बचाउँछ । सम्बन्धसूत्रकाे पाेयाे नरम भए सृष्टि सौर्न्दर्य रमाउँछ । प्रकृतिको स्वच्छ हावा र कलकल झरनाकाे आत्मीय साइनाेमा जीवनले मुस्कुराउन पुग्ने खुराक पाउँछ । सचेतनाकाे बौचाे बाेकेर हिँड्ने मान्छेले प्रकृतिबाट पाइने प्रवृत्तिकाे कदर गरे समस्त जीवन सुखी हुन सक्थ्याे । कुरा, कुरा हुन् जति गरे पनि जता माेडे पनि निजी समस्या निजले सुल्झाए राम्रो हाे । याे घरभित्रकाे सहमति असहमति बिसाएर बाहिरी काेलाहल समनमा एकै ठाउँ उभिने सुझबुझ खेतीमा संयुक्त हातले मलजल गर्नु आवश्यक देखिन्छ ।

आज मच्चिएको विश्वसमुदायकाे हिंसा, युद्ध , छट्पटी मान्छे स्वयंकाे दम्भले डाेर्‍याएकाे विकृति हाे । याे घरपरिवारबाट सुरु भएजस्तो गरी एक पक्षीय शैलीकाे बेथितिकाे हुँडारले झैँ मानवता झम्टिँदाे छ । समुद्र पारिबाट हामफालेकाे हुँडारलाई जितेर सौम्य जीवन जिउने परिवेश बिउँझाउने जिम्मेवारी मान्छे आफैले पूरा गर्ने हाे पशुपन्छीबाट हुँदैन ।

याे बेलाबखत साँढेसरि डुक्रेर प्राकृतिक सम्पदाकाे उछिताे काढ्ने हिंस्रक हुँडारमाथि सामूहिक हस्तक्षेप अनिवार्य छ । याे लठैत पाराकाे हुङ्कारबाट भइरहेको सम्पदा विनाशले जीवन सङ्कटतिर धकेलिरहेकाे छ । यसले सिङ्गो सृष्टिसँग हुर्किंदै आएकाे जीवन सौर्न्दर्यकाे साताे खाइरहेकाे छ । यसबाट जीवन जाेगाउने नैतिक इमान धानेर विवेकी बलमा दराे गरी उभिई हिंस्रक हुँडार हुत्याउनुपर्ने दायित्व निर्वाहमा बिलम्ब भइरहेको छ । प्रकृतिका सुन्दर छटा मास्ने दुस्साहसी हत्याराे हुँडारलाई समयमै ठेगान लाउने परिदृश्यतिर एक साथ साहसिक पाइलाहरू साेझिनु आवश्यक छ ।
लाै, यै हाेइन त ! सग्लो पृथ्वीको सिर्जनात्मक सौर्न्दर्य सुरक्षित गर्ने विकल्प ?

०००
पर्वत, हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
कहाँ छ मान्छे ?

कहाँ छ मान्छे ?

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x