साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बासी बेथाकाे उपचार

त्यसैले त उस्तै शैली पछ्याएर डुक्रन छाडेकाे छैन । कस्तो छ है, लाजपचेकाे हन्तकालीजस्तै पुच्छर गाँसिएकाे दुई खुट्टे ?

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

हिजाेका आँखाले नेपाललाई सुसम्पन्न देख्छन् । भूगोल ,प्रकृति, पर्यावरण सम्पन्न मुलुकमध्ये अग्रस्थानमा रहेको इतिहास । त्याे कृषि र कृषिजन्य उत्पादनमा अनुपम ठहरिएको परम्परा तर पछिल्लो समय दूरदृष्टियुक्त शासकाभावकाे चपेटामा परेर सिङ्गै मुलुक थिलथिलिन पुगेको यथार्थ । यस्ताे बिडम्बना कहीँ कतै लुकेको छैन । याे दृश्य बादल फारेकाे घामझैं छर्लङ्ग छ ।

हुन त हाम्राे बन्दुकलाई खुकुरीले जितेको इतिहास हाे तर के गर्नु याे स्वाधीन आँगनमा उभिएकी सुत्केरीले सिपाहीसँग लडेर बचाएकाे स्वाभिमान बेचेर खान पल्केका दानवराजकाे बिगबिगीले सबै भताभुङ्ग पार्‍याे । आजकाे परिणामले बल्ल आलाेपालाे हालीमुहाली गर्दै आएकोे पामरलाई थन्क्याइदिएकाे छ । उसले कल्पना नगरेको परिणामले पड्काएर पन्छाइदिएकाले आशाकाे दियो बल्ने भएको छ ।

हाे नि, भन्दै आएको कुरा समय शक्तिशाली हुन्छ । समय चक्रसँग हिँड्दा जीवनकर्म कतिखेर कता माेडिन्छ पत्तो नहुनेरहेछ । विज्ञानले हार मानेको याे समयकाे गति र जीवनरेखासँग तानिएको परिणामले कसलाई कतिखेर कहाँ पुर्‍याउँछ टुङ्गो नहुने देखियाे । झुक्याई झुक्याई खान पल्केका ढाडेहरू दैलाबाट छिर्नै नपाएसी टाउको ठाेक्तै रन्थनिँदै गरेको दृश्य देखेर खित्किन पाइएको छ ।

भन्थे पाकाहरू -बाँच्नुपर्छ जीवनचक्र चक्रिएकाे देख्न पाइन्छ थरी थरी दृश्यमा । अहङ्कारकाे पर्खाल टेकेर अग्लिएकाहरू उधिनिएपछिकाे खैलाबैला सडकदेखि सदनसम्म पाेखिएकाे छ । याे आफ्नै अनुहारकाे ध्वाँसाे धुन नजानेर रमिते बनेकाे निम्छरो चिन्तन आपसी खिचातानीमा व्यस्तिएकाे हाे । फाेहाेरिएकाे निजी इतिहास काेतरे बल गरी गरी फलाक्न तम्सिरहेको मैमत्त साँढे सिङ भाँचिएको थाहै पाएकाे छैन । त्यसैले त उस्तै शैली पछ्याएर डुक्रन छाडेकाे छैन । कस्तो छ है, लाजपचेकाे हन्तकालीजस्तै पुच्छर गाँसिएकाे दुई खुट्टे ?

समयकाे गति छामेर बेला छँदै मेला बैँस छँदै घरबार भनेझैं यतिखेर हाे एमसिसि, एसपिपिजस्ता राष्ट्रघाती सम्झौता खारेज गरेर देशकाे सान र जनताको स्वाभिमान सुरक्षित गर्ने । फलाम तातेकै बेला पिटे आउँछ आकार । चिसो फलाम पिटेर आकार दिन सकिन्न । जनमतको कदर गरेर देशकाे साख जाेगाउने देशभक्त सन्तानकाे अभाव पूर्ति भएको याे शुभसाइतकाे सम्मान यस्तै शुभकर्म गरेर हाेस् ।

मौका आउँछ पर्खंदैन , समय एकनास बग्दैन । शिशिरपछिकाे वसन्तले दिने सुखानुभूति वसन्तपछिकाे ग्रीष्मले दिन सक्तैन । गन्तव्य पर छ, बाटाे उबडखाबड छ, पछाडिबाट खुट्टा तान्नेहरूकाे भिड छ । यहाँनेर आँटले मात्र नपुग्न सक्छ । जाेगिनुपर्छ नैतिक डाेरी, बाँधिनुपर्छ विवेकी साङ्लो, आउनुपर्छ उपयोगमा इमानकाे आग्लो, गरिनुपर्छ सिंचाइ वर्षाकाे पानीले खडेरीले खाएको विधानलाई । समयमा सम्पन्न गरिनुपर्ने यस्ता काम धेरै छन् तर छाेटाे समय दौड प्रतियोगितामा सहभागी छ । यी र यस्ता धेरै विघ्नहरू उधिनेर देउरालीमा नपुगी भएको पनि छैन ।

टाउकातिर धारिलो तलबार झुन्डिएको छ, तलतिर विषालु सर्प, बिच्छी, गाेहीले भरिएको इनार छ । बिचमा परेको छ पुराणवर्णित बिर्खबहादुरकाे कथा । यस्ता थुप्रै चुनौतीहरूकाे घेराबन्दीमा छ वर्तमान। यसबाट निस्केर देशकाे मुहार हँसाउने उत्साह नछाेडी निरन्तर हिँडिरहने सक्षम कर्मयाेगी सन्तान धेरै लामाे प्रतीक्षापछि जन्मेको हुँदा बग्रेल्तिएका हुन् नेपाल आमाका आशा- अपेक्षाहरू ।

यतिखेर विधान मिचेर माेटाएकाहरू भाग खाेसियाे भनेर दाह्रा उध्याउँदै छन् । यिनलाई पन्छाएर पाइला पाइलामा गति भरी विधानकाे बिउ नमासी झाेपडीमा उज्यालो छर्नु छ । सर्वसाधारणले अपेक्षा गरेकाे जीवनमा सकारात्मक परिवर्तनको पालुवा पलाउने गरी मलजलकाे व्यवस्था नमिलाई भएको छैन ।

खै के भन्नू, कसरी भन्नू, कति भन्नु,भन्नू कि नभन्नु ? कृषि प्रधान देशको विकास नीतिमा कृषि याेजना १ नं.मा नपर्नु दुखद परिघटना हाे । नेपालकाे अर्थतन्त्र बलियो बनाएर नेपालीको जीवन सुखी बनाउने इच्छा हाे भने कृषि उत्पादन, बजार व्यवस्था, शीतभण्डारणजस्ता कृषि उद्योगकाे आधुनिकीकरणले प्राथमिकता पाउनु अनिवार्य छ ।

आफै जन्मेहुर्केकाे थातथलाेमा बसेर काम माम र दाम पाउनका लागि नेपालकाे सन्दर्भमा कृषि नै मुख्य हाे यसकाे विकल्प देखिँदैन । यसतर्फ ध्यान नदिई देश बनाउँछु र नेपाली अधरमा मुस्कान भर्छु भनेर सपना देख्नु सपनै मात्र ठहर्छ, दिवासपना हुन्छ ।

पक्कै पनि भूगोल, प्रकृति , पर्यटन, जलस्रोतकाे उन्नयन कृषिविना सम्भव देखिन्न । नेपालकाे माटाे, हावापानी, भौगोलिक संरचनाका आधारमा हुने अर्गानिक उत्पादन नेपाली अर्थव्यवस्था सपार्ने बलियाे जग बन्न सक्छ । याे कृषि र कृषिजन्य उत्पादन नेपाली जनजीवनकाे सुखका लागि महत्त्वपूर्ण प्राप्ति हुँदै हाे, यसकै सम्भावना प्रबल देखिन्छ ।

विश्वास गरौँ , हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने बासी बेथाकाे उपचार हुनेछ।

०००
पर्वत, हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
विवाह

विवाह

सुरेशकुमार पाण्डे
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x