डा. छायादत्त न्यौपाने ‘बगर’बासी बेथाकाे उपचार
त्यसैले त उस्तै शैली पछ्याएर डुक्रन छाडेकाे छैन । कस्तो छ है, लाजपचेकाे हन्तकालीजस्तै पुच्छर गाँसिएकाे दुई खुट्टे ?

डा. छायादत्त न्याैपाने :
हिजाेका आँखाले नेपाललाई सुसम्पन्न देख्छन् । भूगोल ,प्रकृति, पर्यावरण सम्पन्न मुलुकमध्ये अग्रस्थानमा रहेको इतिहास । त्याे कृषि र कृषिजन्य उत्पादनमा अनुपम ठहरिएको परम्परा तर पछिल्लो समय दूरदृष्टियुक्त शासकाभावकाे चपेटामा परेर सिङ्गै मुलुक थिलथिलिन पुगेको यथार्थ । यस्ताे बिडम्बना कहीँ कतै लुकेको छैन । याे दृश्य बादल फारेकाे घामझैं छर्लङ्ग छ ।
हुन त हाम्राे बन्दुकलाई खुकुरीले जितेको इतिहास हाे तर के गर्नु याे स्वाधीन आँगनमा उभिएकी सुत्केरीले सिपाहीसँग लडेर बचाएकाे स्वाभिमान बेचेर खान पल्केका दानवराजकाे बिगबिगीले सबै भताभुङ्ग पार्याे । आजकाे परिणामले बल्ल आलाेपालाे हालीमुहाली गर्दै आएकोे पामरलाई थन्क्याइदिएकाे छ । उसले कल्पना नगरेको परिणामले पड्काएर पन्छाइदिएकाले आशाकाे दियो बल्ने भएको छ ।
हाे नि, भन्दै आएको कुरा समय शक्तिशाली हुन्छ । समय चक्रसँग हिँड्दा जीवनकर्म कतिखेर कता माेडिन्छ पत्तो नहुनेरहेछ । विज्ञानले हार मानेको याे समयकाे गति र जीवनरेखासँग तानिएको परिणामले कसलाई कतिखेर कहाँ पुर्याउँछ टुङ्गो नहुने देखियाे । झुक्याई झुक्याई खान पल्केका ढाडेहरू दैलाबाट छिर्नै नपाएसी टाउको ठाेक्तै रन्थनिँदै गरेको दृश्य देखेर खित्किन पाइएको छ ।
भन्थे पाकाहरू -बाँच्नुपर्छ जीवनचक्र चक्रिएकाे देख्न पाइन्छ थरी थरी दृश्यमा । अहङ्कारकाे पर्खाल टेकेर अग्लिएकाहरू उधिनिएपछिकाे खैलाबैला सडकदेखि सदनसम्म पाेखिएकाे छ । याे आफ्नै अनुहारकाे ध्वाँसाे धुन नजानेर रमिते बनेकाे निम्छरो चिन्तन आपसी खिचातानीमा व्यस्तिएकाे हाे । फाेहाेरिएकाे निजी इतिहास काेतरे बल गरी गरी फलाक्न तम्सिरहेको मैमत्त साँढे सिङ भाँचिएको थाहै पाएकाे छैन । त्यसैले त उस्तै शैली पछ्याएर डुक्रन छाडेकाे छैन । कस्तो छ है, लाजपचेकाे हन्तकालीजस्तै पुच्छर गाँसिएकाे दुई खुट्टे ?
समयकाे गति छामेर बेला छँदै मेला बैँस छँदै घरबार भनेझैं यतिखेर हाे एमसिसि, एसपिपिजस्ता राष्ट्रघाती सम्झौता खारेज गरेर देशकाे सान र जनताको स्वाभिमान सुरक्षित गर्ने । फलाम तातेकै बेला पिटे आउँछ आकार । चिसो फलाम पिटेर आकार दिन सकिन्न । जनमतको कदर गरेर देशकाे साख जाेगाउने देशभक्त सन्तानकाे अभाव पूर्ति भएको याे शुभसाइतकाे सम्मान यस्तै शुभकर्म गरेर हाेस् ।
मौका आउँछ पर्खंदैन , समय एकनास बग्दैन । शिशिरपछिकाे वसन्तले दिने सुखानुभूति वसन्तपछिकाे ग्रीष्मले दिन सक्तैन । गन्तव्य पर छ, बाटाे उबडखाबड छ, पछाडिबाट खुट्टा तान्नेहरूकाे भिड छ । यहाँनेर आँटले मात्र नपुग्न सक्छ । जाेगिनुपर्छ नैतिक डाेरी, बाँधिनुपर्छ विवेकी साङ्लो, आउनुपर्छ उपयोगमा इमानकाे आग्लो, गरिनुपर्छ सिंचाइ वर्षाकाे पानीले खडेरीले खाएको विधानलाई । समयमा सम्पन्न गरिनुपर्ने यस्ता काम धेरै छन् तर छाेटाे समय दौड प्रतियोगितामा सहभागी छ । यी र यस्ता धेरै विघ्नहरू उधिनेर देउरालीमा नपुगी भएको पनि छैन ।
टाउकातिर धारिलो तलबार झुन्डिएको छ, तलतिर विषालु सर्प, बिच्छी, गाेहीले भरिएको इनार छ । बिचमा परेको छ पुराणवर्णित बिर्खबहादुरकाे कथा । यस्ता थुप्रै चुनौतीहरूकाे घेराबन्दीमा छ वर्तमान। यसबाट निस्केर देशकाे मुहार हँसाउने उत्साह नछाेडी निरन्तर हिँडिरहने सक्षम कर्मयाेगी सन्तान धेरै लामाे प्रतीक्षापछि जन्मेको हुँदा बग्रेल्तिएका हुन् नेपाल आमाका आशा- अपेक्षाहरू ।
यतिखेर विधान मिचेर माेटाएकाहरू भाग खाेसियाे भनेर दाह्रा उध्याउँदै छन् । यिनलाई पन्छाएर पाइला पाइलामा गति भरी विधानकाे बिउ नमासी झाेपडीमा उज्यालो छर्नु छ । सर्वसाधारणले अपेक्षा गरेकाे जीवनमा सकारात्मक परिवर्तनको पालुवा पलाउने गरी मलजलकाे व्यवस्था नमिलाई भएको छैन ।
खै के भन्नू, कसरी भन्नू, कति भन्नु,भन्नू कि नभन्नु ? कृषि प्रधान देशको विकास नीतिमा कृषि याेजना १ नं.मा नपर्नु दुखद परिघटना हाे । नेपालकाे अर्थतन्त्र बलियो बनाएर नेपालीको जीवन सुखी बनाउने इच्छा हाे भने कृषि उत्पादन, बजार व्यवस्था, शीतभण्डारणजस्ता कृषि उद्योगकाे आधुनिकीकरणले प्राथमिकता पाउनु अनिवार्य छ ।
आफै जन्मेहुर्केकाे थातथलाेमा बसेर काम माम र दाम पाउनका लागि नेपालकाे सन्दर्भमा कृषि नै मुख्य हाे यसकाे विकल्प देखिँदैन । यसतर्फ ध्यान नदिई देश बनाउँछु र नेपाली अधरमा मुस्कान भर्छु भनेर सपना देख्नु सपनै मात्र ठहर्छ, दिवासपना हुन्छ ।
पक्कै पनि भूगोल, प्रकृति , पर्यटन, जलस्रोतकाे उन्नयन कृषिविना सम्भव देखिन्न । नेपालकाे माटाे, हावापानी, भौगोलिक संरचनाका आधारमा हुने अर्गानिक उत्पादन नेपाली अर्थव्यवस्था सपार्ने बलियाे जग बन्न सक्छ । याे कृषि र कृषिजन्य उत्पादन नेपाली जनजीवनकाे सुखका लागि महत्त्वपूर्ण प्राप्ति हुँदै हाे, यसकै सम्भावना प्रबल देखिन्छ ।
विश्वास गरौँ , हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने बासी बेथाकाे उपचार हुनेछ।
०००
पर्वत, हाल : काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































