साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार काशीनाथ मिश्रितलाई जानकी साहित्य पुरस्कार

नेपाली कविता तथा हास्यव्यङ्ग्य निबन्ध विधामा उहाँले पुर्याउनु भएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागिएकाे हाे ।

Nepal Telecom ad

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास स्थित किरण पुस्तकालयले प्रदान गर्दै आएको ‘जानकी साहित्य पुरस्कार–२०८३’ कवि तथा निबन्धकार काशीनाथ मिश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ ।

जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णय अनुसार नेपाली कविता तथा हास्यव्यङ्ग्य निबन्ध विधामा उहाँले पुर्याउनु भएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिने भएको किरण पुस्तकालयका उपाध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले जानकारी दिनुभयो ।

रुरुक्षेत्र गाउँपालिका–५ स्थित सुन्डाडा निवासी मिश्रित विगत लामो समयदेखि साहित्य सृजनामा सक्रिय रहँदै आउनु भएको छ । उहाँका ‘रक्सी’ (खण्डकाव्य), ‘दुर्भाग्य’ (महाकाव्य), ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसंग्रह) ‘मिश्रित तरङ्ग’ र ‘स्वर्णिम सपना’ कवितासंग्रह लगायतका कृतिहरू प्रकाशित भएका छन् ।

राजधानीबाट प्रकाशित भइरहेकाे हास्यव्यङ्ग्य प्रधान फित्काैली डटकममा मिश्रितका हास्यव्यङ्ग्य सिर्जना नियमित प्रविष्ट भइरहेका छन् । फित्काैलीबाट प्रदान गरिँदै आएकाे फित्काैली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कारबाट २०७९ मा पुरस्कृत समेत हुनुभएका मिश्रित हाल फित्काैली डटकमका संरक्षक सदस्य रहनु भएकाे छ ।

नेपाली विषयमा स्नातकाेत्तर उत्तीर्ण गरी गुल्मीकाे विकट क्षेत्रमा शिक्षण सेवा गर्दै साहित्यमा कलम चलाइरहनु भएका मिश्रित नेत्रहीन स्रष्टा हुनुहुन्छ ।

साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनु भएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो ।

स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पुर्याएको योगदानलाई स्मरणीय बनाउन उहाँका पति शंकरप्रसाद गौतमको विशेष अग्रसरतामा जिल्लामा जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरिएको छ ।

उक्त प्रतिष्ठानको नाममा किरण पुस्तकालय गुल्मीमा २ लाख १ हजार १५१ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमि तथा कर्मभूमि बनाई इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पुर्याउने सर्जकलाई प्रत्येक वर्ष जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिँदै आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताउनु भएको छ ।
००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x