साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म को हुँ …?

हुकुमप्रमाङ्गी शैलीमा गरिएको मलाई टिके प्रथा औधी मन पर्छ । दर्शक दीर्घाबाट दुवै कान थुनेर मेरालागि ताली बजाइदिनुपर्छ । अब भन्नुहोस्, म को हुँ ... ?

Nepal Telecom ad

मिलन समीर :

मुटु खाने कविता

अहिलेसम्म
सहृदयी सिर्जनशील
अधिकाङ्श सहकर्मीहरुसँग
बिग्रीसकेको छ मेरो सम्बन्ध !

सिर्जना भइसकेको छ
सार्वजनिक रुपमै
हात हालाहालसँगै
पानी बाराबारको परिस्थिति !

म उहिलेदेखि
जति उग्र थिएँ ध्रुवे हात्तीझैँ
उत्तिकै उग्र छु अहिलेसम्म पनि
म उहिलेदेखि
जति आत्मकेन्द्रित थिएँ टुक्केझैँ
उत्तिकै आत्मकेन्द्रित छु अहिलेसम्म पनि ।

अरुको आलोचना नगरीकन त
बस्नै नसक्ने थिएँ म पहिले पनि
अरुको आलोचना नगरीकन त
खै कसरी बस्न सकिन्छ होला र
एकैछिन्को समय अहिले पनि ?
त्यसैले त यही नै मेरो तर्फबाट
नियमित दैनिकी हुनेछ जहिले पनि ।

अरु कसैले मेरो आलोचना गरेको
पटक्कै सहनै सक्दिनथिएँ पहिले पनि
मेरो आफ्नो आलोचना गरेको त
फिटिक्कै सहनै सक्दिनँ अहिले पनि
त्यसैले त मेरो आलोचना नगरियोस्
कोही कसैद्वारा जीवनमा कहिले पनि ।

मभित्र वर्षौंदेखि बगिरहेको छ- अहंकारको अविरल अमेजन
निरन्तर फैलिँदै गइरहेको छ-
कुण्ठाको कुरुप कुरुक्षेत्र
अग्लिदै उन्मत्त भइरहेको छ-
आरिसको प्राचीन पोकोसँगै
प्रतिशोधको महाभारत पहाड ।

बोकेर कपटले भरिएको कमण्डलु
साहित्यको नाउँमा गरिरहेको छु-
व्यक्तिगत स्वार्थको कोठे राजनीति !

अल्झाइदिएर अनावश्यक मुद्दामा
गरिदिएको छु- सुनियोजित रुपले
सहृदयी सिर्जनशील अभियन्ताहरुको
सर्वाधिक महत्त्वपूर्ण समयको बर्बादी ।

अनुहारले गहुँगोरो
सधैँको हँसिलो भएर पनि
व्यवहारमा कालो बिरालो
बाँचिरहेको मान्छे हुँ म !

रिस त मेरो नाकको टुप्पोमै
झुण्डिएर बसिरहेको छ-
भीरमा फलेको फर्सीझैँ ।

कोही कसैद्वारा
छिसिक्क आलोचना गरिएको
सुइँको मात्रै पाएँ भने पनि
स्वच्छन्द बोल्न रुचाउने मान्छे
व्यक्तिगत तहमै ओर्लिएर
तुरुन्तै उत्रिहालेको हुन्छु-
पाँडेगालीको साथमा ।

यति कुरा ख्याल राखेर
सधैँ सबैले जान्नुपर्छ
सर्वश्रेष्ठ स्रष्टाको रूपमा
मलाई मात्रै छान्नुपर्छ
अरुले आजीवन मलाई
महान् मान्छे मान्नुपर्छ ।

अरुलाई त
मान्छेको रूपमा पनि
गन्दै गन्दिनँ मैले
अरुले सदैव चुपचाप
मेरा कुराहरु सुन्नुपर्छ
अरु कसैका कुनै पनि कुरा
सुन्दै सुन्दिनँ मैले ।

म त साँच्चिकै महान् मान्छे,
मैले जहाँ उभिएर जे बोले पनि
अरुले सधैँ सहनुपर्छ
मैले जहिले जेसुकै गरे तापनि
अरु सधैँ आफ्नो ठाउँमा रहनुपर्छ
मेरो स्वार्थ पूरा हुनका लागि मात्रै भए पनि
आँधीखोला अब उकालोमै बहनुपर्छ ।

मसँग असहमत हुनेहरुलाई
भित्तामै पुर्‍याएर
कसरी गर्नुपर्छ आलोचना ?
त्यसमा त म साँच्चिकै माहिर छु ।

म आफू मात्रै हुनुपर्छ-
सधैँ सबैथोकको केन्द्रमा
म आफू मात्रै अगाडि आउनुपर्छ- एकलौटी रूपमा ।

मलाई प्रायः सबैले
स्वतन्त्रताको हिमायती भन्छन्
तर म आफैँले अहिलेसम्म पनि
बुझ्नै सकिरहेको छैनँ धरोधर्म !
म के को लागि लडिरहेको थिएँ त्यतिबेला ?
म जत्तिकै निरङ्कुश प्रवृत्ति भएको
यहाँ अर्को मान्छे कोही पनि छैन यतिबेला ।

हुकुमप्रमाङ्गी शैलीमा गरिएको
मलाई टिके प्रथा औधी मन पर्छ
म आफूले बोल्नै नहुने कुरा
बोलिरहेको भए तापनि
दर्शक दीर्घाबाट दुवै कान थुनेर
मेरालागि ताली बजाइदिनुपर्छ ।

सधैँ सधैँ सबैद्वारा
महान् मान्छे भनिएको
मात्रै सुन्न मन पराउने
माखाको पित्तझैँ चित्त भएको
महानको विपरितार्थक मान्छे !

अब भन्नुहोस्, म को हुँ … ?

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
झोले

झोले

खोलाघरे साहिँलोे
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
टीचर

टीचर

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x