रामकृष्ण ढकालभिल्लपुर वाङ्मय
तब टिल्लबहादुरले किताबको प्रकाशक भिल्लपुर वाङ्मय परिषद नै हुनुपर्ने र आफ्नो एकदुई पृष्ठको मन्तव्य पनि त्यो कृतिमा छाप्नैपर्ने सुझाव दिए ।

रामकृष्ण ढकाल :
भिल्लपुरमा केहि वर्ष अघि गठन भएको भिल्लपुर वाङ्मय परिषद त्यस परिषदका नाममा केही बजेट पचाएका दुर्गन्धीहरूबाहेक अरूका लागि कुख्यात थियो । केहि वर्ष अघि कुनै महाभ्रष्ट दलको केन्द्रिय कार्यालयबाट लाखौं रुपैयाले किन्ने कुचलनको टिकट किनेर ल्याइ चुनाव लडि जितेका भनिएका झोलेका खल्तीबाट बिना योजनाका बिना स्वमतका खाली जानीजानी गरिने गल्ती र त्यसबाट भरिने खल्तिका मात्र चाकरी चाप्लुसीयुक्त खेलका महान खेलाडी टिल्लबहादुर उक्त वाङ्मय परिषदका अध्यक्ष थिए । तिनका वरपरका आसेपासे पाउमोले झोले झाम्टे कलाका महासाधक इल्ल बहादुर, झिल्ल कान्त, मिल्ल राज, जस्ता करिब एक दर्जन निपुण चाकरिबाजहरू टिल्लबहादुरका पार्श्ववर्तिका रूपमा टिके पद्धतिमार्फत भर्ना भएका थिए ।
आफ्ना झोले झाम्टे जुम्रे उडुसे मालिकहरूको केही जुठोपूरो चाटचुट पार्न पाउने आशमा अत्यधिक चाकरीमा रमाउनु तिनको महान विद्वता थियो । उनीहरूको संस्थाको केही यस्ता कार्यहरू थिए जसलाई उनिहरूले आफ्नो आदर्श क्रियाकलाप मान्दथे । यस अन्तर्गत आफ्नो आस्थासँग मिल्नेहरूलाई मात्र मान्छे सम्झनु र व्यवहार गर्नु, अन्य आस्थाका र आस्थाबिहिनहरूलाई मान्छेका रूपमा नदेख्नु र त्यस्तैखालको अघोषित व्यवहार गर्नु, पद पुरस्कार मान्यता स्थान आदि आफ्नै नोकरचाकरको भूमिकामा स्वाभिमान समर्पण गर्न सक्ने साहसीहरूलाईमात्र उपलब्ध गराउनु, वाङ्मयको शुद्ध सरस्वतीजन्य कार्यक्रमहरूमा आफ्ना प्रभुदल भित्रका गुट उपगुटको प्रदर्शन गराउनु, जसरी हुन्छ आफ्ना इमान बिहिन झुन्ड बाहेकका व्यक्तिको नजराना अतिसाह्रै निर्लज्ज घृणित साबित बन्न न्वारानदेखि टुप्पीसम्मको बल बुद्धि लगाएर मरिहत्ते गर्नु आदि इत्यादि तिनका अधिप्रशंसनिय कर्महरू थिए ।
स्थापनाको केही समयपछि त्यही झुण्डभित्रका एकजना महामहिम विद्वानले भिल्लपुरभरिका सबै वाङ्मयानुरागीहरूको एउटा विवरण कृति प्रकाशन गर्ने निधो गरेछन् । उनले यो कुरो अध्यक्ष टिल्ल बहादुरका हजुरमा बिन्ती चढाए । भिल्लपुर र आसपासका क्षेत्रमा के के न विद्वान् भनेर वर्णाइएका र अत्यधिक चाकरी पस्किइएका अनि त्यस्तैमा रमाएका कमाएका टिल्लबहादुरले यो काम त हाम्रो संस्थाले गर्नुपर्ने हो हामी नै हाम्रो संस्थामार्फत गर्छौं, तपाईंले यो विषयवस्तु सम्झाइदिनुभएकोमा धन्यवाद भन्न पनि कञ्जुस्याइँ गरे ।
हाम्रो संस्थाले गर्नुपर्ने काम तपाईंले आफैं गर्न खोज्नुभएछ कृपया कामको बाटो समाउनुस् तर त्यसकाममा हुनेजति खर्छ हाम्रो संस्थाले बेहोर्नेछ साथै तपाईंको पनि दुख सास्ती हेर्नेछ भन्न टिल्लबहादुरको मुखले कुनै शब्द निकाल्न उपयुक्त सम्झेन । धेरै लामो समयको र अनेक खोजतलास भेटघाट सोधी सम्झी गरिगरी जब ती विद्वान्ले आफ्नो सोच अनुसारको कृति निकाल्न तयार भए तब टिल्लबहादुरले किताबको प्रकाशक भिल्लपुर वाङ्मय परिषद नै हुनुपर्ने र आफ्नो एकदुई पृष्ठको मन्तव्य पनि त्यो कृतिमा छाप्नैपर्ने सुझाव दिए । अब गर्नु विद्वत्ताले त्वामशरणम कारखानामा बनेको धोती लगाएपछि त्यस्तै भयो ।
जब किताब प्रकाशन भयो तब टिल्लबहादुरले ती कृतिकार विद्वान तथा इल्लबहादुर झिल्लकान्त मिल्लराज जस्ता दुई चारजना पाउमोलेहरूलाई बोलाएर सबैका हातमा एकएक प्रति किताब लिइ तस्वीर खिचाई भिल्लपुर वाङ्मय परिषदका सबैजना त्यो पुस्त्कका प्रकाशनमा उत्तिकै मेहनत गर्नेहरू हुन् जस्तो भाव सामाजिक सञ्जालबाट यत्रतत्र पुर्याउने प्रयास गरेछन् । तस्वीर खिच्दै गर्दाको शुभ साइतमा नजिकै रहेको फूलको बुटालाई आधार बनाएर भगवान भैरवनाथको कालेबाहनले तस्वीर खिच्दै गरेकाहरू भएपटिको एउटा खुट्टो उचाली दिएछ । सायद भिल्लपुर वाङ्मय परिसदको गतिविधिप्रति त्यसले आफ्नो तर्फको सम्मान प्रकट गरेको हुँदो हो ?!
०००
२०८२ चैत्र १
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































