रामकृष्ण ढकालस्याबास काग !?
पछ्यौराको फेरले हतार हतार आफ्नो आफ्नो मुख पुछ्न थाले । मुख पुछेपछि तिनका पछ्यौराको फेरमा हेर्दा कालो कालो पदार्थ लतपतिएको देखियो ।

रामकृष्ण ढकाल :
जस्तो अवस्था उस्तै नाम भन्ने भनाइ चरितार्थ हुने गरि शहरको बीचबाट बगेको ढलमती खोलो शहरबाहिर पनि करिब दुई कोशपरसम्म पुगेर अर्को नदीमा समावेश भएको थियो । लाग्थ्यो शहर र त्यसको बाह्यान्तर शेरोफेरोको राजनीतिक माहोलको, कर्मचारीतन्त्रको, ठेक्कापट्टाको, सबै सानाठूला सरकारी अड्डाको सबैभन्दा सुहाउँदो सुवास त्यही ढलमती खोलाले छरिरहेको थियो । त्यही खोलाको शहरदेखि आधा घण्टा पैदल दूरीमा परेको किनारमा एउटा सानो जङ्गल र त्यसको बीचमा भएको चौरमा आज अनौठो जमघट देखियो । करिब अन्ठानब्बे प्रतिशत महिलाको उपस्थिति रहेको त्यो जमघटमा कुनै उत्साह उमङ्ग रमाइलो हँसिलो उज्यालो वातावरण थिएन । थियो त केवल एकदम गहिरो सन्नाटा मूर्दा शान्ति मात्र ।
जङ्गलमा घाँस काट्न भनेर आएका कुनै दुई जना स्थानीयले यस अघि कहिल्यै नदेखेको जमघट देखेपछि सल्लाह गरेर वास्तविकता बुझ्ने प्रयास गरे । उनीहरू जमघटको नजिक गए र कुनै दुई सहभागी महिलाहरूलाई बोलाएर शिष्टतापूर्वक कुरो कोट्ट्याए । जब कुरो शुरू भयो तब ती महिलाको आँखामा आँसु आयो । उनीहरू सुँक्क सुँक्क गर्न थाले । निकै गाह्रो मान्दै बीचबीचमा अड्किँदै उनीहरूले भने-
हेर्नुस , हामीहरू निकै सप्पन्न परिवारका महिला हौं यहाँ उपस्थित सबै । हामीमध्ये लगभग दुई तिहाई र करिब सबैका भर्ताहरू सरकारी कार्यालयमा उच्च पदमा छौं । कसैको आफ्ना ठूला निर्माण कम्पनी छन् । कसैको परिवारका मूल व्यक्तिहरू देशका ठूला राजनीतिक दलका शीर्ष पदमा छन् । हाम्रा कार्यालयहरूमा कम्पनी र दलहरूमा हामीलाई पहिले असाध्यै स्वर्ग थियो । हाम्रो नियमित तलब भत्तभन्दा कैयौं गुणा आम्दानी अरू नै हुन्थ्यो । जतिखेर मनलाग्यो त्यतिखेर काम छोडेर हिँड्न, काममा हाजिर हुन, सङ्घ सङ्गठनमा सामेल हुन र त्यसकै आधारमा सरकारलाई अनेक मनमौजी कुरामा बाध्य पार्न, आफ्ना नातागोतालाई खाली पदमा भर्ती गर्न पाइन्थ्यो ।
अहिले नयाँ सरकार आएपछि कस्तो ज्याद्रो मन्त्री आएछन् भने राष्ट्र सेवकहरूका यस्ता आन्तरिक रूपमा असाध्यै लोकप्रिय काम कुनै पनि गर्न नपाइने भयो । हामीमाथि एकदम ठूलो बज्रपात भयो । हामी समयमै कार्यालयमा पुग्नुपर्ने, नियमित तलब बाहेक अन्य कुनै कुरा लिन नपाउने, सङ्घ सङ्गठनमा बस्न नपाउने , नातावाद हटाउनुपर्ने जस्ता अनेक हाम्रालागि यातना दिन थाल्यो । अनि हामीलाई बानिपरेको बाहेक अन्य कुरा सहन साह्रै गाह्रो पर्यो । त्यही पीडा खप्न नसकेर अनि सरकारले उदाङ्गो बनाइदिएको हाम्रो छवि देखाउन नसकेर यहाँ जङ्गलको बीचमा आइ रुँदै रुँदै शोक मनाइरहेका छौं ।
ती महिलाहरूले आकाशतिर हेरेर भने- “हे भगवान ! हाम्रो उद्धार गर । हाम्रो खाइपाइ आएको वरदान रुपि वातावरण फेरि फर्काइदेउ ।” त्यहिबेलामा कस्तो संयोग अचानक पर्यो भने माथि आकाशमा एक जोडी काग उड्दै गरेका देखिए । अनि ती महिलाहरूले तत्कालै थू: थू: थू: थू: गर्दै पछ्यौराको फेरले हतार हतार आफ्नो आफ्नो मुख पुछ्न थाले । मुख पुछेपछि तिनका पछ्यौराको फेरमा हेर्दा कालो कालो पदार्थ लतपतिएको देखियो ।
घाँस काट्न वनमा आएका दुवै स्थानियले भने — स्याबास काग !?
अनि उनीहरू अन्तै मोडिए ।
०००
२०८३ वैशाख २५
चितवन
Subscribe
Login
0 Comments
Oldest







































