साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानमन्त्रीको मौनतन्त्र महात्म्य

अन्तर्राष्ट्रिय मिडियाले समेत यसलाई ‘नेपाली मोडलको आध्यात्मिक राजनीति’ भन्दै मुख्य समाचार बनाए ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

महात्म्य (भाग–१)

संसारका सबै रेडियो र टीभी अचानक बन्द भएझैँ प्रधानमन्त्री गफप्रसाद भट्टराई कुर्सीमै मौन व्रत बसेपछि सिंहदरबारमा खैलाबैला मच्चियो । भाषणमा नेपी ओलीलाई उछिन्ने र मगन थापालाई माथ दिने उनका ओठ एकाएक सिमेन्ट जमाएझैँ टक्क रोकिएका थिए ।

गफप्रसादको यो अचम्मको मौनता देखेपछि मन्त्रीहरू रमिते बने । कतिपयले उनलाई भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह वा ’पोलिटिकल स्फिङ्कस’ नरसिंह रावको नयाँ नेपाली संस्करणसमेत भन्न भ्याए । चतुर सल्लाहकारहरूले जुक्ति निकाले– यो त विपक्षीको सातो उडाउन खेलिएको गहिरो रणनीतिक चाल पो हो त !

जनता पनि दङ्ग परे, “लामो समयपछि देशले साँच्चैको गम्भीर र मितभाषी नेता पाएछ ।” भाषण सुन्दासुन्दा कान पाकेका नागरिकहरू उनको यो दिव्य मौनतालाई नै नयाँ क्रान्तिको विम्ब मानेर ताली बजाउन थाले ।

तर, यो मौनताको रहस्य तब मात्र खुल्यो, जब उनलाई अस्पताल भर्ना गरियो । डाक्टरले अचम्म मान्दै रिपोर्ट बाहिर ल्याए– बढी गफ हाँन्दाहाँन्दै उनको बङ्गारा नै फुस्किएर बोली लक भएको रहेछ !
००

महात्म्य (भाग–२)

बङ्गारा त डाक्टरले ठोकठाक पारेर ठाउँमा ल्याए, तर प्रधानमन्त्री गफप्रसाद भट्टराईले मुख खोल्न पटक्कै मानेनन् । उपचारपछि त उनको मौनता झन् सङ्क्रामक रोगझैँ मन्त्रिपरिषदभरि नै सरक्क सर्यो ।

जुन मन्त्रीहरू पहिले क्यामेरा देख्नासाथ र्‍याल चुहाउँदै माइक लुछ्न दौडन्थे, उनीहरू अचेल महात्मा गान्धीका तीन बाँदरझैँ आँखा र कान मात्र खुला राखेर ओठमा ताल्चा मार्न थाले । सिंहदरबारका बैठकहरू आर्यघाटभन्दा शान्त बन्न पुगे । सञ्चारमाध्यमहरू अत्तालिए– कतै यो देशमा ‘मौन अधिनायकवाद’ त सुरु भएन ? विदेशी कुटनीतिज्ञहरू प्रधानमन्त्रीको यो रहस्यमयी र गम्भीर ‘एन्जेला मर्केल शैली’ देखेर चकित पर्दै नेपालसामु नतमस्तक हुन थाले । जनताले सोचे, “यो मौनता त देशको ढुकुटी जोगाउने अचूक महामन्त्र पो रहेछ !”

तर, यो राष्ट्रिय सुशासनको भ्रममा बज्रपात तब भयो, जब प्रधानमन्त्री निवासको गोप्य सीसीटीभी फुटेज बाहिरियो । गफप्रसाद त केवल श्रीमतीको डरले मुख थुनेर बस्न बाध्य पो रहेछन्, किनकि उनले चुनावी खर्चको सबै हिसाब सासूआमाको नाममा सारिदिएका रहेछन् !
००

महात्म्य (भाग–३)

श्रीमतीको डरले सुरु भएको प्रधानमन्त्री गफप्रसाद भट्टराईको त्यो मौन व्रत रातारात ‘राष्ट्रिय कूटनीतिक हतियार’ मा परिणत भयो । उनले विदेशी दातृ निकायका प्रतिनिधिहरूसामु पनि ‘साइलेन्ट क्याल’ को अवतार झैँ एक शब्द नबोली टुलुटुलु हेरिरहने नयाँ रणनीति अपनाए ।

राष्ट्रप्रमुखको यस्तो अभेद्य र कठोर भ्लादिमिर पुटिन शैलीको मौनता देखेर छिमेकी देशका राजदूतहरू थरथर काँपे । उनीहरूले ठाने– “प्रधानमन्त्रीको यो मौनताभित्र कुनै ठुलो सैन्य रणनीति वा भयानक भू–राजनीतिक योजना लुकेको हुनुपर्छ !” यही डरका कारण छिमेकी राष्ट्रले नेपाललाई फकाउन बिनासर्त अर्बौँको अनुदान र नयाँ विमानस्थल उपहार दिने घोषणा गर्‍यो । देशभक्त जनताले सडकमा नारा लगाए– “हाम्रा दूरदर्शी नेताको मौनता नै राष्ट्रिय स्वाभिमानको ब्रह्मास्त्र हो !”

तर, यो कूटनीतिक सफलताको बेलुन तब फुट्यो, जब मन्त्रालयका टाइपिस्टले हस्ताक्षरका लागि फाइल अघि सारे । वास्तवमा गफप्रसादले त बजेटका बुँदै नबुझेर र अङ्ग्रेजी भाषाको डरले पो ओठ सिएका रहेछन् !
०००

महात्म्य (भाग–४)

अङ्ग्रेजी भाषाको डर लुकाउन रचिएको प्रधानमन्त्री गफप्रसाद भट्टराईको त्यो मौनता अन्ततः देशका लागि ‘आर्थिक समृद्धि’ को अचूक मन्त्र बन्न पुग्यो । प्रधानमन्त्री नै मूकदर्शन बनेपछि मन्त्री र कर्मचारीहरूले पनि थपघट नगरी सबै फाइलमा चुपचाप सही धस्काउन थाले ।

कुनै भाषण, कुनै आश्वासन र कुनै विरोध नभएपछि देशमा अनौठो शान्ति छायो । राजा महेन्द्रको झैँ कठोर र संयमी शासकीय विम्ब बोकेका गफप्रसादको डरले भ्रष्टाचारीहरूले सोचे– “प्रधानमन्त्रीले केही नबोली भित्रभित्रै ठुलै जेलको खाका कोर्दैछन् !” यही त्रासमा स्वदेशी र विदेशी उद्योगीहरूले देशमा धमाधम अर्बौँको लगानी भित्र्याए । सेयर बजारले आकाश छोयो र देशकै इतिहासमा पहिलोपटक महँगी शून्यमा झर्‍यो । बुद्धिजीवीहरूले पत्रपत्रिकामा लेखे– “मौनता नै विकासको वास्तविक लोकतन्त्र रहेछ ।”

तर, यो आर्थिक चमत्कारको उत्सव तब शोकमा बदलियो, जब सरकारको वार्षिक अडिट रिपोर्ट सार्वजनिक भयो । वास्तवमा, देशको ढुकुटी त शून्य भइसकेको रहेछ, किनकि बजेट स्वीकृतिको फाइलमा प्रधानमन्त्रीले ‘अस्वीकृत’ भनेर बोल्न नसक्दा ‘स्वीकृत’ को छाप उल्टो पारि थिचिदिएका रहेछन् !
००

महात्म्य (भाग–५)

उल्टो छाप लागेर देशको ढुकुटी रित्तिएपछि प्रधानमन्त्री गफप्रसाद भट्टराईको मौनता अन्ततः ‘परम आध्यात्मिक महाविस्फोट’ मा परिणत भयो । सङ्कट गहिरिएपछि उनले बालुवाटार छाडेर सिधै पशुपतिको जङ्गलमा ध्यानमग्न हुने घोषणा गरे ।

देश टाट पल्टिए पनि जनताले उनलाई महात्मा गान्धीपछिको दोस्रो ‘मौन अवतार’ मान्दै उनको दर्शन गर्न लाखौँको भीड जम्मा गरे । “प्रधानमन्त्रीको यो महामौनता त देशको ऋण मोचन गर्ने कुनै अलौकिक ताान्त्रिक अनुष्ठान हो ।” अन्धभक्तहरूले भजन गाउन थाले । अन्तर्राष्ट्रिय मिडियाले समेत यसलाई ‘नेपाली मोडलको आध्यात्मिक राजनीति’ भन्दै मुख्य समाचार बनाए । देश चलाउन असफल भएका गफप्रसाद रातारात विश्वकै महान् शान्तिदूत र दार्शनिक घोषित भए ।

तर, यो विश्वव्यापी आध्यात्मिक भ्रमको पटाक्षेप तब भयो, जब राति उनलाई नजिकैको पाँचतारे होटलको एउटा गोप्य कोठामा प्रहरीले छापा मार्‍यो । उनी त ध्यान गर्न होइन, देशको बाँकी पैसा लुकाएर सुटुक्क विदेश भाग्नका लागि एजेन्टसँग कमिसनको बार्गेनिङ गर्न पो मुख खोलिरहेका रहेछन् !

क्रमश:
०००

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x