साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानमन्त्रीको मौनतन्त्र महात्म्य

अन्तर्राष्ट्रिय मिडियाले समेत यसलाई ‘नेपाली मोडलको आध्यात्मिक राजनीति’ भन्दै मुख्य समाचार बनाए ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

महात्म्य (भाग–१)

संसारका सबै रेडियो र टीभी अचानक बन्द भएझैँ प्रधानमन्त्री गफप्रसाद भट्टराई कुर्सीमै मौन व्रत बसेपछि सिंहदरबारमा खैलाबैला मच्चियो । भाषणमा नेपी ओलीलाई उछिन्ने र मगन थापालाई माथ दिने उनका ओठ एकाएक सिमेन्ट जमाएझैँ टक्क रोकिएका थिए ।

गफप्रसादको यो अचम्मको मौनता देखेपछि मन्त्रीहरू रमिते बने । कतिपयले उनलाई भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह वा ’पोलिटिकल स्फिङ्कस’ नरसिंह रावको नयाँ नेपाली संस्करणसमेत भन्न भ्याए । चतुर सल्लाहकारहरूले जुक्ति निकाले– यो त विपक्षीको सातो उडाउन खेलिएको गहिरो रणनीतिक चाल पो हो त !

जनता पनि दङ्ग परे, “लामो समयपछि देशले साँच्चैको गम्भीर र मितभाषी नेता पाएछ ।” भाषण सुन्दासुन्दा कान पाकेका नागरिकहरू उनको यो दिव्य मौनतालाई नै नयाँ क्रान्तिको विम्ब मानेर ताली बजाउन थाले ।

तर, यो मौनताको रहस्य तब मात्र खुल्यो, जब उनलाई अस्पताल भर्ना गरियो । डाक्टरले अचम्म मान्दै रिपोर्ट बाहिर ल्याए– बढी गफ हाँन्दाहाँन्दै उनको बङ्गारा नै फुस्किएर बोली लक भएको रहेछ !
००

महात्म्य (भाग–२)

बङ्गारा त डाक्टरले ठोकठाक पारेर ठाउँमा ल्याए, तर प्रधानमन्त्री गफप्रसाद भट्टराईले मुख खोल्न पटक्कै मानेनन् । उपचारपछि त उनको मौनता झन् सङ्क्रामक रोगझैँ मन्त्रिपरिषदभरि नै सरक्क सर्यो ।

जुन मन्त्रीहरू पहिले क्यामेरा देख्नासाथ र्‍याल चुहाउँदै माइक लुछ्न दौडन्थे, उनीहरू अचेल महात्मा गान्धीका तीन बाँदरझैँ आँखा र कान मात्र खुला राखेर ओठमा ताल्चा मार्न थाले । सिंहदरबारका बैठकहरू आर्यघाटभन्दा शान्त बन्न पुगे । सञ्चारमाध्यमहरू अत्तालिए– कतै यो देशमा ‘मौन अधिनायकवाद’ त सुरु भएन ? विदेशी कुटनीतिज्ञहरू प्रधानमन्त्रीको यो रहस्यमयी र गम्भीर ‘एन्जेला मर्केल शैली’ देखेर चकित पर्दै नेपालसामु नतमस्तक हुन थाले । जनताले सोचे, “यो मौनता त देशको ढुकुटी जोगाउने अचूक महामन्त्र पो रहेछ !”

तर, यो राष्ट्रिय सुशासनको भ्रममा बज्रपात तब भयो, जब प्रधानमन्त्री निवासको गोप्य सीसीटीभी फुटेज बाहिरियो । गफप्रसाद त केवल श्रीमतीको डरले मुख थुनेर बस्न बाध्य पो रहेछन्, किनकि उनले चुनावी खर्चको सबै हिसाब सासूआमाको नाममा सारिदिएका रहेछन् !
००

महात्म्य (भाग–३)

श्रीमतीको डरले सुरु भएको प्रधानमन्त्री गफप्रसाद भट्टराईको त्यो मौन व्रत रातारात ‘राष्ट्रिय कूटनीतिक हतियार’ मा परिणत भयो । उनले विदेशी दातृ निकायका प्रतिनिधिहरूसामु पनि ‘साइलेन्ट क्याल’ को अवतार झैँ एक शब्द नबोली टुलुटुलु हेरिरहने नयाँ रणनीति अपनाए ।

राष्ट्रप्रमुखको यस्तो अभेद्य र कठोर भ्लादिमिर पुटिन शैलीको मौनता देखेर छिमेकी देशका राजदूतहरू थरथर काँपे । उनीहरूले ठाने– “प्रधानमन्त्रीको यो मौनताभित्र कुनै ठुलो सैन्य रणनीति वा भयानक भू–राजनीतिक योजना लुकेको हुनुपर्छ !” यही डरका कारण छिमेकी राष्ट्रले नेपाललाई फकाउन बिनासर्त अर्बौँको अनुदान र नयाँ विमानस्थल उपहार दिने घोषणा गर्‍यो । देशभक्त जनताले सडकमा नारा लगाए– “हाम्रा दूरदर्शी नेताको मौनता नै राष्ट्रिय स्वाभिमानको ब्रह्मास्त्र हो !”

तर, यो कूटनीतिक सफलताको बेलुन तब फुट्यो, जब मन्त्रालयका टाइपिस्टले हस्ताक्षरका लागि फाइल अघि सारे । वास्तवमा गफप्रसादले त बजेटका बुँदै नबुझेर र अङ्ग्रेजी भाषाको डरले पो ओठ सिएका रहेछन् !
०००

महात्म्य (भाग–४)

अङ्ग्रेजी भाषाको डर लुकाउन रचिएको प्रधानमन्त्री गफप्रसाद भट्टराईको त्यो मौनता अन्ततः देशका लागि ‘आर्थिक समृद्धि’ को अचूक मन्त्र बन्न पुग्यो । प्रधानमन्त्री नै मूकदर्शन बनेपछि मन्त्री र कर्मचारीहरूले पनि थपघट नगरी सबै फाइलमा चुपचाप सही धस्काउन थाले ।

कुनै भाषण, कुनै आश्वासन र कुनै विरोध नभएपछि देशमा अनौठो शान्ति छायो । राजा महेन्द्रको झैँ कठोर र संयमी शासकीय विम्ब बोकेका गफप्रसादको डरले भ्रष्टाचारीहरूले सोचे– “प्रधानमन्त्रीले केही नबोली भित्रभित्रै ठुलै जेलको खाका कोर्दैछन् !” यही त्रासमा स्वदेशी र विदेशी उद्योगीहरूले देशमा धमाधम अर्बौँको लगानी भित्र्याए । सेयर बजारले आकाश छोयो र देशकै इतिहासमा पहिलोपटक महँगी शून्यमा झर्‍यो । बुद्धिजीवीहरूले पत्रपत्रिकामा लेखे– “मौनता नै विकासको वास्तविक लोकतन्त्र रहेछ ।”

तर, यो आर्थिक चमत्कारको उत्सव तब शोकमा बदलियो, जब सरकारको वार्षिक अडिट रिपोर्ट सार्वजनिक भयो । वास्तवमा, देशको ढुकुटी त शून्य भइसकेको रहेछ, किनकि बजेट स्वीकृतिको फाइलमा प्रधानमन्त्रीले ‘अस्वीकृत’ भनेर बोल्न नसक्दा ‘स्वीकृत’ को छाप उल्टो पारि थिचिदिएका रहेछन् !
००

महात्म्य (भाग–५)

उल्टो छाप लागेर देशको ढुकुटी रित्तिएपछि प्रधानमन्त्री गफप्रसाद भट्टराईको मौनता अन्ततः ‘परम आध्यात्मिक महाविस्फोट’ मा परिणत भयो । सङ्कट गहिरिएपछि उनले बालुवाटार छाडेर सिधै पशुपतिको जङ्गलमा ध्यानमग्न हुने घोषणा गरे ।

देश टाट पल्टिए पनि जनताले उनलाई महात्मा गान्धीपछिको दोस्रो ‘मौन अवतार’ मान्दै उनको दर्शन गर्न लाखौँको भीड जम्मा गरे । “प्रधानमन्त्रीको यो महामौनता त देशको ऋण मोचन गर्ने कुनै अलौकिक ताान्त्रिक अनुष्ठान हो ।” अन्धभक्तहरूले भजन गाउन थाले । अन्तर्राष्ट्रिय मिडियाले समेत यसलाई ‘नेपाली मोडलको आध्यात्मिक राजनीति’ भन्दै मुख्य समाचार बनाए । देश चलाउन असफल भएका गफप्रसाद रातारात विश्वकै महान् शान्तिदूत र दार्शनिक घोषित भए ।

तर, यो विश्वव्यापी आध्यात्मिक भ्रमको पटाक्षेप तब भयो, जब राति उनलाई नजिकैको पाँचतारे होटलको एउटा गोप्य कोठामा प्रहरीले छापा मार्‍यो । उनी त ध्यान गर्न होइन, देशको बाँकी पैसा लुकाएर सुटुक्क विदेश भाग्नका लागि एजेन्टसँग कमिसनको बार्गेनिङ गर्न पो मुख खोलिरहेका रहेछन् !

क्रमश:
०००

उदयपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Nanda Lal Acharya
Nanda Lal Acharya
1 month ago

https://www.fitkauli.com/message/singouri/159604/ यसको अर्को भाग ६-१० भेटिएन ।

Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
1
0
Would love your thoughts, please comment.x
()
x