राजेन्द्रप्रसाद अधिकारीदेउता‚ अनि तिमी चाहिँ किन चुप ?
तिमी अर्थात् एक पहिचानविहीन ढुँगालाई बर्षौं लगाएर कुँदेर देउताको रुप दिएको छु भक्तजन! कृपया‚ तपाईंहरु यतिखेर बोल्न जरुरी छैन पुजारी ! बिन्ति‚ तपाईंहरु पनि चुप लाग्नुस देउता‚ अनि तिमी चाहिँ किन चुप ?

राजेन्द्रप्रसाद अधिकारी :
धैर्यतापूर्वक मिहीन ढँगले खोप्दै‚ हत्केलाले मुसार्दै
मुलायम रुमालले पुछ्दै‚ महिनौं लगाएर
बर्षौंदेखि बगरमा लडिरहेको ढुँगालाई
हामीले नै बनायौं देउता
आफ्नै जग्गा दान गर्यौं‚ देउसी‚ भैलो खेल्यौं
जगात माग्यौं‚ चन्दा उठायौं र मन्दिर बनायौं
अनि यिनै हातले कुँदेको तिमीलाई
आस्थाको देउता बनाएर मन्दिरमा प्रतिस्थापन गर्यौं
तिम्रै नाममा सप्ताह लगायौं र महायज्ञ गर्यौं
पुजारी राख्यौं र साँझ बिहान तिम्रो आरती उतार्न थाल्यौं
त्यसपछि हामीले भ्रम र अन्धविश्वासरुपी
पुलिस र सेना तिमीलाई सुम्पियौं हामीमाथि शासन गर्न
र हामी आफैँ डराउन थाल्यौं तिमीसँग
लाम लागेर मन्दिरको ढोकामा
फगत्! तिम्रो दर्शनका लागि उभिन थाल्यौं
भेटी र नैबेद्य चढाउन थाल्यौं‚ भाकल गर्न थाल्यौं
र तिम्रो नाममा‚ निरपराध राँगा‚ बोका‚ कुखुरा
हाँस र परेवाहरुको बली चढाउन थाल्यौं
आफैँले बनाएर तिमीलाई देउता
हामी तिमीसँगै डराउन थाल्यौं
यतिखेर म डराई डराई तिमीसँगै प्रश्न गरिरहेको छु-
देउता आस्था हो कि भ्रम ?
देउता शक्ति हो कि डर ?
देउता मुक्ति हो कि बन्धन् ?
म त्यही मानिस हुँ जसले बगरमा बरालिएको
तिमी अर्थात् एक पहिचानविहीन ढुँगालाई
बर्षौं लगाएर कुँदेर देउताको रुप दिएको छु
भक्तजन! कृपया‚ तपाईंहरु यतिखेर बोल्न जरुरी छैन
पुजारी ! बिन्ति‚ तपाईंहरु पनि चुप लाग्नुस
देउता‚ अनि तिमी चाहिँ किन चुप ?
०००
३ जेठ २०८३
Subscribe
Login
0 Comments
Oldest






































