राजेन्द्रप्रसाद अधिकारीगलेको काँध र मक्किएको झोला
आफैंलाई सबभन्दा चेतनशील, इमान्दार र प्रतिवद्ध ठान्दै अझै गींडहरु मुर्कट्टाको आड खोजिरहेछन् … कस्तो विचित्र !

राजेन्द्रप्रसाद अधिकारी :
(१)
गलेको काँधमा झुण्डिएको, मक्किएको झोला
र झोलाभित्र वर्षौंदेखि गुम्सिएको, भाऽऽरी टाउको
मक्किएको झोलाबाट टाउकाहरु
बाहिर निस्कन सकेनन्,
गलेको काँधबाट मक्किएका झोलाहरु
भूइँमा झर्न पनि सकेनन्, र
टाउकै नभएको गींडसँग गलेका काँधहरुले
कुनै गुनासो गर्न पनि सकेनन्
कस्तो विजोग !
(२)
मक्किएको झोलाभित्र
वर्षौंदेखि गुम्सिएर बसिरहनुलाई
कसरी चेतना भन्नु र खै ?
अनि टाउको हुनुको अर्थ ?
गलेको काँधमा मक्किएर पनि झुण्डिरहनुलाई
कसरी इमान्दारी मान्नु र खै ?
अनि झोला हुनुको अर्थ ?
र टाउकै नभएको गींडसँग चुपचाप टाँसिरहनुलाई
कसरी प्रतिवद्धता भन्नु र खै ?
अनि भरपर्दो काँध हुनुको अर्थ ?
कस्तो विडम्बना !
(३)
आफ्नै टाउको आफ्नै हातले झिकेर
आफैंले भिरेको काँधको मक्किएको झोलामा राखेर
आफैंलाई सबभन्दा चेतनशील, इमान्दार र प्रतिवद्ध ठान्दै
अझै गींडहरु मुर्कट्टाको आड खोजिरहेछन् …
कस्तो विचित्र !
०००
१९ फागुन २०८२








































धन्यबाद सर टी कांध हरू गले तई पनी मक्कियेको झोला थप भारी बोकन उद्धत छ