साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो सपनामा केही शब्द र प्राणी !

प्रतिनिधि मण्डलका सबै सदस्यहरु सपनाको राजा मलाई वार्निङ दिँदै होहल्लासाथ गन्तव्य ताकेँ । लगत्तै म झल्यास्स भएँ, बिउँझिदा त घरमा छोरी, छोरा र गृहरानीमा महाभारत मच्चिरहेको !!

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

सबैभन्दा पहिले अन्यायको झाँतोमुनि पिसिएका र अबिरे वाक्तस्करबाट चरम रूपमा थिचिएका केही प्रतिनिधि शब्दहरूमाथि शल्यक्रियामार्फत प्रकाश पार्ने अवकाश दिनुहोस् । एक रात सपनामा ‘महामानव’ शब्दले आएर विनयपूर्ण शैलीमा आफ्नो गथासो पोखे—ः ‘ए निन्द्रालु मान्छे, तिमी मेरो कुरा जाग्रत्, सुसुप्ति र तुरीयावस्थामा चिप्लिन नपुगी स्वप्नावस्थामा अडिएर सुन त ! ‘ मनो अपत्यं पुमान् = मानवः, अर्थात् मनुका सन्तान मानव हुन् , यसै शब्दको अगाडि ‘महा’ यो विशेषण जोडिएर ‘महामानव’ शब्दको रूपमा म आएको हुँ । विडम्बना ! यहाँ त स्वार्थान्ध चाचाचुका मण्डल, चारण अर्थात् स्तुतिगायकहरू आफ्नो पायक पर्ने नालायक पात्रहरू—ःगुमनाम, बदनाम, डुलन्ताराम र मात्र घोषणाहराम झारपातसमेत पनि लायक गायक बनाउन मानव शब्दको अगाडि ‘महा’ थपी ‘भाङ्ग्राको टोपीमा गुहेलीको  फूल’ सिउरिदिएर हत्तुहैरान पारे बा !

परम प्रभु भगवान् विष्णुले अवतार लिने क्रममा जलचर, थलचर, नभचर, अनि नृसिंह र हयग्रीवजस्ता भयकारी रूप धारण गरेर प्राणी जगत्को उद्धार गर्नुभएको सर्वविदितै छ । राम, परशुराम, कृष्ण बुुद्ध, कल्कीजस्ता औतार जो मानव आकारमा आएर ‘कतुं अकर्तुं अन्यथा कर्तुम्’— को क्षमता देखाए तिनै पो हुन्छन् त महामानव ! ‘जे जे बराजु सोही सोही स्वाहा’ ! गरेर अल्पविद्या भयङ्करीको नशामा प्राज्ञिक नसा खुम्च्याउनु घोर अधर्म हो बुुझिस् मनुका सन्तान ! चर्को स्वरमा हकारेपछि म त झल्याँस्स भएर बिउँझिएँ । अब यी महासयसित कसिएर कुरा गर्छु भन्ने विचार हुँदाहुँदै ‘महामानव’ शब्द त सुइँकुच्चा ठोकिसकेछन् ।

यसै क्रममा अर्को रात निन्द्राको वेला‘राजनेता’ शब्द टुप्लुक्क आइपुगे । अनि म ‘बुुझ्दो न सुझ्दो टुँडीखेल कुद्दो’ भनेझैँ पाङ्ग्रे, भाङ्ग्रे, आइते काइते जो पायो त्यसै नेतालाई ‘राजनेता ’ लेख्ने र देख्ने अलपत्रुकार पत्रुकारलाई हकार्दै भने —ः ए अथवा नर ! म ‘राजनेता’ शब्द हुँ वास्तवमा ‘नेता’ णिञ् प्रापणे , धातुमा तृच् प्रत्यय लागेर सिद्ध हुन्छ, जसले नयाँ नीतिअनुसार ठिक ठाउँमा पुर्याउन सक्छ त्यही नेता हो । त्यही ‘नेता’ नाम पदवर्ग शब्दको अगाडि ‘राज’ यो विशेषणको ताज पहिरिएर राजकाज गरिरहेछ । जो प्रधान, प्रमुख, श्रेष्ठ, उत्तम, भविष्यद्रष्टा आदि गूढ आसयको सम्बोधनमा छताछुल्ल हुने दोश्रो औतारी पुरुष हो । जसले जाग्रत् हुँदा सपना देख्छ, दूरदृष्टिवान् अर्थात् मिसन र भिजनमा सत्—स्वप्ना देखेर ‘म’ नभनी ‘हामी’ भावमा आफ्नो दैनिकी चाल्छ, अन्याय तथा दमन फाल्छ, फट्याइँ , धूर्त्याइँ बाल्छ, ‘मम’ दुुइ अक्षरलाई अर्धचन्द्राकार दिएर ‘न मम’ को सिद्धान्तलाई आकारमा जनदृष्टिसामु उपस्थापन गर्ने उच्च शौर्यता प्रदर्शन गर्दछ त्यही हो ‘राजनेता’! तर मलाई तिमीहरूजस्ता थुुप्रै वा—नर अर्थात् कपिगणका हुलले जताततै चिथरेर हालाबाला पारी ऐरे, गैरे नथ्थु खैरेमा समेत ‘राजनेता’भिराउन पुुग्दा म दिक्कवाक्क भैसकेँ स्याललाई सिद्राको माला लगाउने र बिरालोलाई दुध कुर्ने जिम्मा सुम्पने निकम्मा तिमीलाई संझाउन आएको हुँ’ के भनिभ्याएका थिए म त झसङ्ग भएर ब्यूँझिएँ । हेर्दा त म हिजोझैँ एक्लै !

लगत्तै अर्को रात निन्द्रादेवीको नरम काखमा रङ्गिन सपनामा रमाइरहेको वेला शुक्रराज शास्त्रीसहितका चारै क्रान्तिकारी सहिदहरूले भ्रान्तिकारी मलाई भेट्नेबित्तिकै अभिवादनमा बोले —ः‘ए क्रान्तिभीरु ! सुतुवा मनुवा, हाम्रो एकमुुष्ट क्रान्तिकारी सलाम !’ भनी तुमुल ध्वनिको स्वरमा गर्जिए—ः हैन त्यति राम्रो निख्खरा शौर्यता र वलिदानको प्रतिक मोटो ‘श’ अनि दुइगोडे ‘ह’ लाई दाहिँना दिई दैलैमा पाइने दैले ‘द’ मिलाएर लेखिने ‘शहीद’ हृष्टपुुष्ट र ओजिलो शब्दसंरूपलाई लत्याएर दुब्लो, सिकुटे, मरन्च्याँसे पातलो स अनि आवश्यकताअनुसार दीर्घ तथा प्लुतसमेतमा उच्चारण गर्न मिल्ने ‘ही’ लाई ह्रस्व बनाएर हीनताभासमा डल्याई वितण्डा मच्चिँदा पनि ‘मौनं सम्मति लक्षणं’ देखाउने तिमीजस्ता डरछेरुवा सम्पादक किन पत्रिकाका सम्पादकको फुली लगाएर चुली चुमेको ? के लज्जा छैन ? उनको प्रश्नले म निरुत्तर रही थरथर भैरहेको थिएँ तै त्यै वेला गृहमन्त्री जङ्गिँदै आज दूध नल्याउने हो ? भनेर कडा र रुखिलो कर्कस आवाजको झुुसिलो हकार के निकालेकी थिइन् शहीदगणै त्यहाँबाट लोप भए ।

अर्को रात स्व कृष्णा ताम्राकार दिदी साडी र चौबन्दी चोलीको भेषमा दुुइ चुल्ठे कपालमा केश सजाएर टुप्लुक्क आइपुगिन् । सम्बोधन गर्दै बोलिन् :— ‘ए, एफ्एम् स्टेसन म्यानेजर भाइ ! आजभोलि समाचारवाचन वा अन्य सबै कार्यक्रममा विद्यालयलाई ‘विध्यालय’, उद्योगलाई ‘उध्योग’ पूmललाई ‘फुुल’ आत्मसात् शब्दलाई ‘आत्मसाथ’ प्रकाशको ठाउँमा ‘परकाश’कतिपय त अक्षरै फुटाउन नसक्ने कार्यक्रमका वाचक र सञ्चालक किन राखेका ?’ कृष्णा दिदीले हकार्नुसम्म हकारिन् बा ! अझ के के भन्थिन् ? तै गृहमन्त्रीकी सेक्रेटरी छोरी उग्रकन्याले ‘ए बाउ ! च्या खान आऊ’को लाउडस्पीकरे धोद्रे कटु स्वरले म विनिन्द्रित बनेँ । त्यसपछि म एक हप्तासम्म स्वप्नावस्था— भन्दा माथिल्लो सुसुप्तावस्थामा नै साता बितेछ ।

अर्को साताको पहिलो रात स्वप्नसंसारमा रमाइरहेको वेला यसै गरी प्राणीविभागको प्रतिनिधित्व गर्दै कुकुुर, गिद्ध, सर्प, चमेरो मिलेर एक प्रति— निधिमण्डल मेरो सपनाको मजेरीमा आइपुगे । मैले सुस्वागतम् ! भन्दै आउनाको कारण के सोध्न आँट्दै थिएँ प्रतिनिधि मण्डलका नायक कौलेय महासय( कुकुर)—ले घुक्घुक् गर्जना निकालेर भन्नुुभयो—ः‘ तपाईँ त अहिलेको हाइफाइ पत्रुकार, सबैलाई आफ्नो स्टुडियोमा निम्त्याएर समसामयिक विषयमा छलको फल चलाउनुहुन्छ । परेमा बल झिकेर पाखुरा सुर्किँदै लडभिड गर्ने प्रायः फटाहा, भ्रष्ट, अस्पष्ट, दुष्ट काला र मन्तरीका सालाहरुलाई अस्वाभाविक, रुखो र कर्कस स्वरको बर्बराहट छदाएर दुधले नुहाइदिने ताइ न तुइको गाईजात्रा वर्षौँ चलाइरहनुहुन्छ । तर पशुपन्छी वर्गलाई भने कहिल्यै मौकै दिनुहुन्न मेरी बास्सै !

हामी यतिखेर विश्वभरि झन्नै पचास करोड कुकुर छौँ विभिन्न जाति र प्रजातिका गरी । हाम्रो पुर्खा चौध मनुमध्ये वैवश्वत मनु जो सातौँ हुन् । अहिले संसारमा यही मनुको राज छ । त्यस्तो कुलीनका सन्तान हामीलाई सनातन शास्त्रले सम्मान वर्षा गर्दै यमपञ्चकको बेला नरलोकले पूजा गर्दछन् भक्तिपूर्व यस्तो प्रार्थनाबाट —ः

द्वौ श्वानौ श्याम सबलौ वैवस्वस्तुुकुुलोद्भवौ ।
ताभ्यां अन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।।

ए बलिया, काला कुकुुर हो ! तिमीहरु वैवस्वत् मनुुको कुलमा जन्मिएका हौ। आज तिमीहरूको तिहार भएकोले म पूजा गर्दै अन्नबाट बनेका विभिन्न परिकारका खाना दिन्छु, (टीकामाला र तेल आदि लगाइदिएर शोभायमान बनाइदिन्छन् ।) सधैँ बाटोघाटोमा सुरक्षा गर है भनेर पुकारा पनि गर्दछन् । वास्तवमा काले रङका हाम्रै पुर्खाका दुुइ भाइ पहिलादेखि नै यमराजका द्वारपाले रहेछौँ । स्वर्गमा इन्द्र राजाको हराएका मूल्यवान् सामान हामीले नै खोजेर बुझाइदिँदा उवेलामा बक्सिस पनि पाएका थियौँ रे । अनि महादेवको उग्र रूप भैरवको वाहन पनि हामी हौँ हामी काला रङका कुकुरलाई शनि, केतु र राहुहरुले स्नेह गर्ने हुँदा हाम्रो रेखदेख जल्ले गर्छ त्यसैलाई यी ग्रहहरूले रक्षा गर्छन् भनी शास्त्रमा बताएको पनि छ ।

पाँच पाण्डव स्वर्ग प्रस्थान गर्ने क्रममा बीच बाटामा सबै मरे तर युधिष्ठिरलाई स्वर्गको भूूगोल पत्ता लगाउन हाम्रै पुर्खाले मद्दत गरेका थिए । हामीसित उदात्त घ्राण शक्ति भएकैले सबै लोकले मान्नुपर्ने बाध्यता छ । यै हाम्रो महत्व जानेकैले सम्राट् कुुबलय खाँ ले हाम्रै वंशका पाँच हजार कुकुरको सेवासुसार गरेर सम्मानित गरेको इतिहास छ । रक्षक, परेमा बिरालोदेखि बाघसम्मसित लड्न तयार भई रखवारी गर्ने हामीलाई अधिकांश हजुरहरु हेप्ने, पिट्ने, लखेट्ने, हचुवा र हाहाको भरमा बन्ध्याकरण गररे सन्तानै लोप गराउने निकृष्टताको कुुअभ्यास चलिरहेको छ । अनि आफ्नै छर्छरीलाई गाली गर्दा—ः कुकुर, कस्तो बुद्धि नभएको जति भने पनि कुकुरको पुुच्छरजस्तो बाङ्गाको बाङ्गै, कुकुरको पुच्छर लौरो न हतियार !

भो अब आँखाबाट कुकुरको मुत नझार्, अलि कामुक मान्छे छ भने यो त कस्तो कात्तिके कुकुर जस्तो आदि हीन र तुुच्छ प्रतीक बनाएर हेपाइले हाम्रो हुर्मतलाई पराकाष्ठामा पुर्याएर पेल्नसम्म पेलिएको छ । सत्ताको सयर गरेर आन्द्राभुँडी पनि बाँकी नराख्ने बिग्रिएका मानवहरूका बिम्ब हामीलाई नै बनाउँछन् गाँठे ! अहिलेका नेता कुकुुर बिरालाजस्ता झगडिया हुन् भनेर हामीप्रति सम्पादकीय नै लेखी जुगुप्सा छेप्ने ताइ न तुइको वरिष्ठ पत्रकार हुन्छ ? भनेर हुँ हुुँ हुँ गर्दै भसक्कले आँसु खसाले । वास्तवमा कुकुर भ्रत्सना गर्ने वीर पात्र भएकोले ‘भषक’ भनेर संस्कृत कोषले सम्बोधन गरेको रहेछ ।

अहिलेको वैज्ञानिक युुगमा चन्द्रधरातलदेखि मन्त्र, यन्त्र, तन्त्रशास्त्र र तलातलको भूगोलतकमा हाम्रो कस्तो मूर्धन्य भूमिका छ । ‘लाइका’ नामकी हाम्री हजुरामा नाम त सुन्नुभा होला नि ! चन्द्रधरातल टेकेकी हैनन् भनेर थ्रेटै पो दियो बा ! वास्तवमा हाम्रो बखान प्रशंशा त हजार जिभ्रा भएका शेषनागले बताउन पनि कठिन छ भनी गौरव पोखे यी मृगदंशकले (कुकुर) । यसरी शास्त्रदेखि शस्त्रसम्मको, वातावरणीय परिशुद्धि, सरसफाइदेखि अनुुसन्धानको अगुवाइसम्मका गुरुतम भूमिकालाई कुकुर महासयले मजैले छादे र सुधार हुन मानव जगत्लाई चेतावनी दिए ।
लगत्तै प्रतिनिधि बनेर आएको चमेरो मेरो घरको तोरणमाथि तुन्द्रुङ्ग आसन कसेर झुन्निदै आफ्ना वर्गमा मान्छेको जातले गरेको हेपाइ, चेपाइ र निन्दालाई उकेल्न सुरु गर्यो । चमेरोलाई संस्कृत भाषाले ‘अजिनपत्रा, जतुका’ भन्छ भने अङ्ग्रेजीमा bat बोलिन्छ ।

उसले आत्मगौरव पोख्दै बोल्यो—ः ‘हामी स्तनधारी भए पनि खुुल्ला आकाशमा वेगवान् बनेर विचरण गर्न सक्षम छौँ। हामी हावामा उड्छौँ चरा होइनौँ, रातमा चाहार्छाै लाटोकोसेरो हैनौँ । हामी कानले देख्ने प्राणी हौँ घाँटीको ध्वनिप्रतिध्वनिबाट हरेक ठाउँको यथार्थ बोध गर्न सक्छौँ । हामी पराग सेचन गर्छौँ र बिरुवाका बीजलाई नयाँ—नयाँ ठाउँमा वितरण गरी सेवा पु¥याउँछौँ । किसानका बालीनाली जोगाउन कीटपतङ्गका संहार गरेर मद्दत गर्दछौँ । हामी साकाहारी प्राणी हौँ । वातावरणीय सन्तुलनमा हाम्रो मूर्धन्य भूमिका जानेर पनि हजुरहरु उपेक्षाभावमा हेर्नुहुन्छ । विग्रेका, सनकी, चुलबुले, अवसरवादी, ताकछोपुवा, बदमास, चरित्र भत्किएका मान्छेलाई हाम्रो उपमा दिएर ‘चमेरे’ भनी दल, सम्प्रदाय, गुटउपगुट चाहार्ने बाइफाला ,खानाकाल भ्रष्ट राजनीतिकर्मी शर्महारा जमातैमा हाम्रो नाम बेचेर अपव्याख्या भएकोमा भ्रर्त्रसना ना छ भने ।

यसरी ‘ताक परे तिवारी नत्र गोतामे ’आचरणका पङ्गु मनुवासित तुलना गरेर अतुलनीय बदनाम गर्ने भए अब हाम्रा पूर्वज छुचुन्द्रोदेखि आकाशमा कावा खाने, जल थलमा रहने सबै प्राणीको संयुक्त मोर्चा कसेर नामधारी लुसिफर वा लोफर मान्छेलाई कोपरकापर पार्छौँ भनी भयकारी चेतावनी दियो ।

यसै क्रममा वातावरणीय दशालाई तन्दुरुस्त र निरोगी राखेर संसारको सुरक्षा गर्ने सर्प तथा गिद्धहरुले पनि मनुका सन्तान भनेर गर्व गर्ने जमात आज हाम्रो उपयोग गलत तरिकाले बुझाएको भन्ने गुनासो गरेर दुखेसो यसरी छादेः
सर्पले घस्रिँदै मेरो निकट आएर भन्यो ‘हामी सर्पहरु सबै मांसाहारी हौँ । कीरा, फट्याङ्ग्रा, भ्यागुता, मुसाको शिकार गर्छौँ । हाम्रो वर्गको अजिङ्गरले त ससाना बनेल, मृगका पाठा र मानिसका बालबालिकालाई पनि निलिदिन्छन् । त्यसैले हामीलाई त्रासको प्रतिक मानेर बढी लखेट्ने गर्छन् नरलोक । जीवशास्त्रीहरुले अहिलेसम्मको खोजबिनमा दुइ हजार नौ सय प्रजातिका सर्पहरू भेट्टाएका छन् । सनातन संस्कृतिमा हाम्रो एक प्रजातिलाई नागदेवको रूपमा पूजाअर्चना गर्दछन् । नागहरूले मान्छेलाई बहुमूल्य नागमणि पनि दिएका छन् । त्यसैले त सनातनी समाज साउनको शुक्ल पक्षको पञ्चमीमा घरघरमा नाग टाँसेर हाम्रो सम्मान गर्दछन् । भगवान् नारायण( विष्णु) ले त पानीभित्रै हाम्रो शैय्या बनाएर ऐय्या आत्थो नभई बस्नुहुन्छ भने भोले बाबा महादेवले मालाको रूपमा हामीलाई सजाएर प्रतिकात्मक सन्देश दिनुभएको छ । मिश्र, ग्रीस, श्रीलङ्का आदि देशहरुले सर्पको अपूर्व उपयोगितालाई धेरै अघिदेखि बुझ्दै आएका छन् । सर्प नहिँडे विखालु वनस्पति बढेर मान्छेको स्वासप्रश्वासमा बाधा पारेको कुरा श्रीलङ्का नै साक्षी छ । यसरी वातावरणीय परिशुद्धिमा हाम्रो गुरुतम भूमिका नै बिर्सिएर दुइजिब्रे, डसालु लामकिरो भनेर भ्रष्ट, फटाहा र दुष्ट मान्छे नामका सरदारहरुले विवेकै गुमाएर हाम्रो संहार गरिरहेका छन् र नीच उपमामा हाम्रो अस्मितालाई ख्यालख्याल पो ठाने बा, मनुका सन्तानले !

नाग पञ्चमीका दिन पूजाआजा गरी गाईको दूध, दही र नैवेद्य चढाएर हाम्रो गरिमाबोध गराए पनि मात्र झारा कर्मकाण्ड भैरहेको छ बझ्नु भो पत्रुकार महासय ! तर आइन्दा हामीलाई बिप्ल्याँटा, उच्छृङ्खल, अरुलाई डस्ने निकृृष्ट खाले कुमान्छेका चरित्रसित उपमा दिन सख्त मनाही छ । हेप्नुको पनि भूगोल हुन्छ नि गाँठे ! मनुका सन्तान आखिर हामीलाई भेट्ने बित्तिकै संहार गरेर सर्प जातिलाई निमिट्यान्न पार्न उल्टो किस्मत गर्दछन् आवेगी नयाँ जन्मेजयका संस्करणहरू ! यसैले जलमा, थलमा र नभका बासिन्दा विभिन्न प्रकारका सर्प, लामकिरा, नाग, कोब्रा र अजिङ्गर सबैको संयुक्त अलाइन्स हाल यहाँ चलिरहेकोभन्दा तगडा गठबन्धन गरेर नयाँ नागराज्य स्थापनार्थ आन्दोलन गर्छौँ भनी युुद्धको शंखघोष पो गरे नारन शिव !

लगत्तै पक्षीराज गरुडका सन्तान गिद्ध लामो बसाइँले कुँजिएजस्तो भएछन् र अब म एकपटक वेग हानेर आउँछुु है ? अनि हजुरसमक्ष हाम्रो गथासो पोखौँला भनी अकाशतिर उड्दै निकै माथि पुगेर पुनः मेरै टाउकैमा टेकुँलाझैँ गरेर ठाउँमा आइपुगे । अनि भन्न थाले ः— हामी गिद्धहरूका कुलदेवहरू भगवान् विष्णुका वाहन गरुड जसको नाममा व्यासले कलम चलाएर गरुडपुराणै रचना गर्नुभएको छ । गरुड पुराणको प्रेतकल्प सुन्नुभएको होला नि त्यहाँ जनार्दन विष्णुसित कस्ता रोचक प्रश्न गरेर इहलोक र परलोकको सृष्टिदेखि संहारतकका कुरा जनार्दनका मुखबाट छदाएका छन् । त्यस्तै हाम्रा स्मरणीय संग्रामकुशल जटायु पनि हुन् । जो रामचन्द्र भगवान्का पिता दशरथका मित थिए। जव सीतालाई अपहरण गरेर लङ्काधीश विमानमा सबार भरिरहेका थिए, त्यही वेला घमासान युद्ध गरेर जटायुले वीरताको परिचय दिएको कुरा रामायणमा छ ।

वास्तवमा हामी पर्यावरणीय चक्र र सनातन खाद्यश्रृखला सन्तुलन गर्ने प्राणी हौँ । हामी शिकारी चरा भनिए पनि हिंसा गर्दैनौँ । मात्र मरेसडेका सिनोहरू पचाएर भुस्याहा कुकुर, स्याल र मुसाहरूको वृद्धि रोक्छौँ । जसबाट हैजा, प्लेग, आउँ, झाडापखाला र पशु चौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस, क्षयरोगको महामारी हटाउँछौँ । मानिस भने कसैलाई बढी मासु रुचि लागेमा कस्तो गिद्धजस्तो भनेर हामीलाई नै हाइलाइट गर्दै उपमा बनाएर हन्तकाली मनुवा जमातलाई टाइट पार्न उपमेयमा राखी ओझेलमा पार्छन् बा ! ‘गिद्धेको फूर्ती चमेरोको निसाफ’भनी उल्याउँछन् गाँठे ! यसरी मर्त्य लोकमा हामीप्रति निन्दाको हिलो छेपेर नअघाउने खुराफाती, नङ्ग्राफाती र पक्षपाती मनुवाविरुद्ध एक जेहाद छेड्ने रणनीति सफल पार्न भँगेरासम्म पुगेर अब डेन्जर गठजोड गरी क्रान्ति छेड्छौँ भन्दै आकाशमार्गमा गृद्धराजले वेग छोडे । प्रतिनिधि मण्डलका सबै सदस्यहरु सपनाको राजा मलाई वार्निङ दिँदै होहल्लासाथ गन्तव्य ताकेँ । लगत्तै म झल्यास्स भएँ, बिउँझिदा त घरमा छोरी, छोरा र गृहरानीमा महाभारत मच्चिरहेको !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चट्याङ मास्टरको चट्याङ गीताको छैटौँ मालाको ताला !

चट्याङ मास्टरको चट्याङ गीताको...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x