साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय- बोली, बन्न सक्दैन गोली !

भएनभएका कुरा दोचारेर म महिला हुननपाएकोमा अभागी महसुस गरेको छु भनी सन्काइदिने, विद्यार्थीकहाँ भाषण गर्दा ताइ न तुइ रगत उमाल्ने क्षुद्र प्रवचन दन्काउने चङ्खेका हुलले बोलीको अस्तित्वलाई खोलीमा पुर्याए ।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

‘बोली’ मुखबाट निस्केको शब्द, वचन र वाणीलाई भनिन्छ । कुनै जाति वा वर्गको मातृभाषा, लिलाम गर्ने र सकार्नेले बोलेको दाम, डाँक,तथा बोल पनि बोली हो । चराचुरुङ्गीहरुका आबाजलाई पनि बोली भनेर शब्दकोशले अथ्र्याएको देखिन्छ । बोलीको महत्वलाई हाम्रो उखान यसरी बोल्छन् ‘ बोली, गोली, पानी र ग्राहक कहिल्यै फर्कन्नन् ।

बोलक्कडमात्र भएर हुँदैन बुझक्कड पनि हुनुपर्छ,। बोलीभन्दा गोली मीठो ’। त्यसैले त शब्दशास्त्रीहरुले शब्दशक्तिको प्रतिक मानिएका बोलीका तीन आयाम अभिधा, लक्षणा र व्यञ्जनालाई सन्दर्भ, पात्र, स्थानअनुसार कथानकको आधारमा संप्रेषण गर्ने गर्दछन् । शिवपुरी बाबाको एक सटिक भनाइ छ — कस्ता वाक्य व्यक्त गर्न उचित पर्छ,कस्ता वाक्य व्यक्त गर्न उचित हुँदैन, कस्ता कृत्य र चिन्तन सम्पादन गर्न हुन्छ हुँदैन भन्ने कुरा हामीले ठम्याउन सकेमा हाम्रो मन र बुध्दि परिपक्क भएर संयमित गतिले चल्न थाल्दछ । यही कथनबाट हामी बोलीको गुरुत्व, अस्तित्व तथा घनत्व बुझ्न सक्छौँ । भर्तृहरि भन्ने धेरै अघिका राजा तथा नीतिकारले बोलीको ओजलाई यसरी प्रस्तुति दिएका छन् —ः

केयूराणि नभूषयन्ति पुरुषं, हारा न चन्दोज्ज्वलाः ।
न स्नान न विलेपनं न कुसुमं, नालङ्कृता मूध्र्दजाः।।
वाण्येका समलङ्करोति पुरुषां, या संस्कृता धार्यते ।
क्षीयन्ते खलु भूषणानि सततं , वाग्भूषणं भूषणम् ।।
अर्थात् — मानसिलाई केयूर (ब्रासलेट)-ले अङ्ग सजाएर ,चन्द्रमाझैँ कान्ति भएको सेतो मोतीको माला ढल्काएर, नुहाइधुवाइ गरेर, शरीरमा चन्दन अर्थात् क्रिमपाउडर दल्ने वा लगाउने अनि सुन्दर फूलका माला पहिरिई राम्रोसित सिँगारिएको कपालले सुन्दरता बढाउँदैनन् । मीठो र शुध्द बोली बोल्ने मिजासिला प्रकृतिका मानिस नै सबैका प्रिय हुन्छन् । मधुर बोली नै वक्ताको भूषण वा गहना हुन् । माला, ब्रासलेट, अत्तर, पाउडर लाली आइब्रो आदि स्थायी सौन्दर्य र गहना होइनन् , सुमधुर बोली नै स्थायी गहना र दिव्य सौन्दर्य हुन् । हुन त हाम्रो समाजमा कतिपय बोलीमा मीठो तर पेटमा करौँती भएका पिशुनताका प्रतिबिम्बहरु पनि पाइन्छन् । तर तिनीहरु पनि कालक्रमले पर्दाफास हुँदै जान्छन् ।

राजनीतिक अभिकर्ता भइटोपलिएका बक्बकानन्दहरु लोकरञ्जन दिन बठ्याइँ निकालेर थुतुनुमा ब्रेक नलगाई प्वाक्क बोलिदिन्छन् ग्याँसको पाइप घरैमा, रेलमा पूर्व पश्चिम सरर, साठी वर्षमै वृध्दभत्ता हरर पाँच हजार घरैमा । बेरोजगारभत्ता सबैमा , शैक्षिक बेरोजारलाई उद्योग गर्न विनाव्याज ऋणको प्रबन्ध, म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ । भ्रष्टाचारीविरुध्द बोल्दा मुखमा पानी हालेर बोल्दिनँ । तीव्र गतिमा शीघ्र विकास हुन्छ भइरहेको छ । सडकमा खाल्डाखुल्डी भए पुरिन्छ । यो लोकतान्त्रिक सरकार हो अब नेपालमा कोही मान्छे भोकै बस्नु पर्दैन गरीबीका कारण कोही भोकै मर्दैन प्रतिव्यक्ति वार्षिक आम्दानी ह्वात्तै बढ्छ । मेलम्चीको पानीले काठमाडौँ सडक धोइन्छ । म पाँच वर्षमा सिङ्गापुर बनाउँछु देशलाई। हाम्रो सरकारको पालामा बसीबसी जनता खान पाउँछन् । उनीहरुको कुरा सुन्दा हैन – साँच्चैको करिश्माकारी नेता पो रहेछन् बा यी त भनेर प्रशंसा भरुन् भन्ने आसयमा जे पनि बोल्न थालेपछि राजनीतिज्ञको वयट त चैट भैहाल्छ नि भन्ने कुरा किन नबुझेका यी धतुराहरुले र हिपहपे मण्डलीले ?

हुन त महान् नाटकार शेक्सपियरले भन्नुभा छ —* राजनीतिज्ञ त्यो जीव हो, जसले ईश्वरलाई धोका दिन्छ *। सर्व शक्तिमान् ईश्वरलाई त जिल्याउनेले यी धूर्तहरुले जनता चिल्याउँछन् भन्नु त ढुङ्गो टुसाउने आख्यान हो । हैन यी अभिकर्तालाई यी कुरा पनि थाहा छैन ? ‘बोल्न नजाने लेख्नु पर्छ, हग्न नजाने सोहोर्नुपर्छ । बोल्नु थोरै बुझ्नु धेरै । बोल्यो कि पोल्यो । बोलबोल मछली मुखभरि पानी । बोल्ने देख्दैन देख्ने बोल्दैन । जान्नु न सान्नु थुतुनो मात्रै तान्नु । गर्जने बादल बर्सँदैन । बोलेर साध्य र नुहाएर उपाध्य हुँदैन। बोलेर टाठो र दगुरेर छिटो भइँदैन । ’ भन्ने उखान उखानपुरका ठूला मान्छेले कहिले बुझ्लान् नारन शिव ! महापण्डित सुकरात भन्थे — *जबसम्म बोली तिम्रो मुखबाट निस्कँदैन तबसम्म त्यो बोली तिम्रो अधीनमा हुन्छ , जब त्यो मुखबाट बाहिर निक्लन्छ अनि तिमी त्यसको अधीनमा हुनेछौ *।

अमेरिकी गान्धी भनेर चिनिने मार्टिन लुथर किङ बोले — *शब्द जति कम हुन्छ प्रार्थना त्यत्ति उत्तम हुन्छ* यी हरफहरुलाई ठण्डा बरफ किन ठम्याउँन सकेनन् ? यहाँका कथित राजनीतिकर्मीले ?स्वेड मार्डन जसको पुस्तक कतिपय राजनीति गर्नेको आलमारीमा देखिन्छ पढेनपढेको उनै जानुन् ।बोलीलाई लिएर उनले कति सटिक बोलेका छन् ‘कम बोल्नुहोस् धेरै सुन्नुहोस् , बोल्नैपर्ने अवस्थामा मात्र बोल्नुहोस् ’ संस्कृत सूक्तिले युगौँ अगाडि बोल्यो — *जो बोल्नमा भन्दा गर्नमा ध्यान दिन्छ उसैलाई विश्वास गर्नुपर्छ* ।

हुन त ‘बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान, अनि कुनै मिथ्या कुरालाई सयचोटि दोहो¥याए त्यो साँचो हुन्छ भन्ने गोयबल्स कथन, बोले टर्छ हाने मर्छ,, भन्ने कहावत र हिजोआजको अल्कोरिदमको गणितीय जालो र सामाजिक झञ्झावात ल्याउने सञ्जाल विकार र धिक्कारका मुस्ला बने भन्ने उत्तिकै गुनासो छ । वास्तवमा आफ्नो सप्ठेरोमा प्रयोग गर्ने हेतुले बक्रबकानन्द वा बर्बरानन्द बन्नु खलानयकीपन पनि भइरहेका छन् । यसैले बोलीलाई जय गराउन काम र मनलाई अर्जुन दृष्टि दिएर नयाँ सृष्टि गर्नु उत्तम हुन्छ ।

दलितको भेलामा पुग्दा अब म थर फेर्छु भन्ने । जनजाति सम्मेलनमा पुग्दा यो देशको आदिवासीनै तपाईँहरु हो, सामन्ती सत्ता र बाहुनवादले अपमान गरेको हो भनेर अपानवायु उम्कने गरी च्याँठ्ठिने, महिला भेलामा पुग्दा भएनभएका कुरा दोचारेर म महिला हुननपाएकोमा अभागी महसुस गरेको छु भनी सन्काइदिने, विद्यार्थीकहाँ भाषण गर्दा ताइ न तुइ रगत उमाल्ने क्षुद्र प्रवचन दन्काउने चङ्खेका हुलले बोलीको अस्तित्वलाई खोलीमा पुर्याए । यसैले यतिखेर इमानीजति कसिएर भन्न परेको छ जय बोली ! जय वाणी ! जय भारती ! जय ब्राह्मी ! त्यसैले स्वरमा स्वर मिलाएर बोलौँ वाक्भूषणं भूषणम् ! जय बोली ! हुनु हुँदैन है गोली !

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
0
Would love your thoughts, please comment.x
()
x