साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको अदालत

उनीहरूले हेरिरहे- छोराले त्यो अन्यायको तमसुकको खरानी हावामा उडाइरहेको थियो र आमाका आँखामा एउटा नयाँ युद्ध जितिसकेको आभास थियो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​झिसमिसेमै ढोकामा कडा ‘ढ्याप-ढ्याप’ भयो । त्यो आवाजमा कुनै आत्मीयता थिएन, बरु एउटा कठोर सन्देश लुकेको थियो । भित्र आमा बाहिर छोरो दुबैका आँखा मात्रै जुधे । शब्दविहीन दुबै चौतारीतर्फ ओर्लिए ।

चौतारीमा गाउँका टाठाबाठाहरू जम्मा भइसकेका थिए । ‘न्याय’ को तराजु ठड्याइयो । छोरो भित्तामा अडेसिएर उभिएको थियो- शरीर नीलडाम र रगतले लतपतिएको, तर आँखामा भने एउटा विद्रोही चमक थियो । समाजका ठेकेदारहरू औँला ठड्याउँदै गर्जे, “जसले गाउँको थिति मिचेर रगत बगाउँछ, उसलाई यहाँ ठाउँ छैन । यसलाई हत्कडी लगाऊ !”

कसैले उसको हातमा रहेको च्यातिएको कागजको टुक्रा र शरीरका चोटहरू देख्न चाहेनन् । भीड सजाय तोक्न आतुर थियो । छोरो मौन थियो- सायद उसलाई थाहा थियो, बहिरो पहाडसँग सिँगौरी खेल्नुको अर्थ छैन । उसको मौनताले भीडलाई झन् उत्तेजित बनायो ।

अन्ततः भीडले एउटै स्वरमा भन्यो, “आमा ! तिम्रो छोरो अपराधी हो । भन, यसलाई के सजाय दिऊँ ?”
​कुनामा बसेर सुकसुकाइरहेकी वृद्धा बिस्तारै उठिन् । उनले छोराको रक्ताम्मे अनुहार सुम्सुम्याइन् र काँपेको स्वरमा भनिन्, “मेरो कोखले अपराधी जन्माएको छैन, बरु एउटा यस्तो विद्रोही जन्माएको छ जसले तिम्रो अन्यायको तमसुक च्यात्ने आँट गर्‍यो ।”

भीडतिर तीखा नजर फ्याँक्दै उनले थपिन्, “तिमीहरूका लागि यो अपराधी होला, तर मेरो लागि न्यायको लडाकू हो । दुनियाँका अदालतले सजाय सुनाउलान्, तर आमाको काख यस्तो अदालत हो जहाँ सन्तानको हरेक चोटले माफी र ममता मात्र पाउँछ ।”

​वृद्धा छोराको हात समातेर घरतिरको बाटो लागिन् । गाउँलेहरू रिसले मुर्मुरिँदै तराजु कुरेरै बसे, तर कसैको पाइला अघि बढ्न सकेन । उनीहरूले हेरिरहे- छोराले त्यो अन्यायको तमसुकको खरानी हावामा उडाइरहेको थियो र आमाका आँखामा एउटा नयाँ युद्ध जितिसकेको आभास थियो ।

०००
२०८२ चैत २५ गते ।
सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x