नन्दलाल आचार्यआमाको अदालत
उनीहरूले हेरिरहे- छोराले त्यो अन्यायको तमसुकको खरानी हावामा उडाइरहेको थियो र आमाका आँखामा एउटा नयाँ युद्ध जितिसकेको आभास थियो ।

नन्दलाल आचार्य :
झिसमिसेमै ढोकामा कडा ‘ढ्याप-ढ्याप’ भयो । त्यो आवाजमा कुनै आत्मीयता थिएन, बरु एउटा कठोर सन्देश लुकेको थियो । भित्र आमा बाहिर छोरो दुबैका आँखा मात्रै जुधे । शब्दविहीन दुबै चौतारीतर्फ ओर्लिए ।
चौतारीमा गाउँका टाठाबाठाहरू जम्मा भइसकेका थिए । ‘न्याय’ को तराजु ठड्याइयो । छोरो भित्तामा अडेसिएर उभिएको थियो- शरीर नीलडाम र रगतले लतपतिएको, तर आँखामा भने एउटा विद्रोही चमक थियो । समाजका ठेकेदारहरू औँला ठड्याउँदै गर्जे, “जसले गाउँको थिति मिचेर रगत बगाउँछ, उसलाई यहाँ ठाउँ छैन । यसलाई हत्कडी लगाऊ !”
कसैले उसको हातमा रहेको च्यातिएको कागजको टुक्रा र शरीरका चोटहरू देख्न चाहेनन् । भीड सजाय तोक्न आतुर थियो । छोरो मौन थियो- सायद उसलाई थाहा थियो, बहिरो पहाडसँग सिँगौरी खेल्नुको अर्थ छैन । उसको मौनताले भीडलाई झन् उत्तेजित बनायो ।
अन्ततः भीडले एउटै स्वरमा भन्यो, “आमा ! तिम्रो छोरो अपराधी हो । भन, यसलाई के सजाय दिऊँ ?”
कुनामा बसेर सुकसुकाइरहेकी वृद्धा बिस्तारै उठिन् । उनले छोराको रक्ताम्मे अनुहार सुम्सुम्याइन् र काँपेको स्वरमा भनिन्, “मेरो कोखले अपराधी जन्माएको छैन, बरु एउटा यस्तो विद्रोही जन्माएको छ जसले तिम्रो अन्यायको तमसुक च्यात्ने आँट गर्यो ।”
भीडतिर तीखा नजर फ्याँक्दै उनले थपिन्, “तिमीहरूका लागि यो अपराधी होला, तर मेरो लागि न्यायको लडाकू हो । दुनियाँका अदालतले सजाय सुनाउलान्, तर आमाको काख यस्तो अदालत हो जहाँ सन्तानको हरेक चोटले माफी र ममता मात्र पाउँछ ।”
वृद्धा छोराको हात समातेर घरतिरको बाटो लागिन् । गाउँलेहरू रिसले मुर्मुरिँदै तराजु कुरेरै बसे, तर कसैको पाइला अघि बढ्न सकेन । उनीहरूले हेरिरहे- छोराले त्यो अन्यायको तमसुकको खरानी हावामा उडाइरहेको थियो र आमाका आँखामा एउटा नयाँ युद्ध जितिसकेको आभास थियो ।
०००
२०८२ चैत २५ गते ।
सप्तरी
Subscribe
Login
0 Comments
Oldest









































