हरिशंकर परसाईंपाँच व्यङ्ग्य लघुकथाहरू
उसले भन्यो, ‘तपाई त यी किताब, अध्ययन र तर्कको फेरीमा पर्दै पर्नुहुन्न । तपाईं त सोझै साक्षीलाई भाँड्नुहुन्छ र जित्नुहुन्छ । यसैबाट तपाईंको अभ्यास चलेकै छ ।’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. अर्को फरहाद
यो हालसालैको कुुरो हो । एउटा राजा थिए जसकी छोरी सिरीन असाध्यै राम्री थिइन् । फरहाद नामको एउटा तन्नेरीले उसलाई माया गर्न थालेको थियो किनभने उसले लैलामजनूँको किस्सा सुनेको थियो किनभने जसले यो किस्सा सुनेको हुन्थ्यो ऊ प्रेमी बनिहाल्थ्यो ।
फरहाद सिरीनसँग विवाह गर्ने अर्जी लिएर राजाकहाँ पुग्यो । त्यति बेला राजा एउटा नहरको नक्सा हेर्दै थिए । उनले फरहादको अर्जी सुनेर भने, ‘बाबुराजा, यति वेला त म पञ्चवर्षीय योजनामा हराएको छु । हेर न, यो नहर खन्नुपर्ने छ । यो खनियो भने ठुलै भूभागमा सिँचाइ हुनेछ र हाम्रो राज्यमा अन्नको सङ्कट समाधान हुनेछ ।
फरहादले फादर इन ललाई प्रभावित गर्नका लागि भनेछ, ‘ड्याडी, के यो हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट हो …?’
राजाले भने, ‘हैन बाबु, नहर खन्ने मात्र हो । जसले यो नहर खनाउने छ उसैसित मेरी छोरीको विवाह गरिदिनेछु ।’
म.फरहादले भन्यो, ‘मलाई यो सर्त स्वीकार छ । मैले एकै वर्षमा यो नहर बनाइदिने छु । तबसम्म सिरीन पनि कुनै लफङ्गो क्लासफेलोको जालमा नपरेर बस्ने छिन् भन्ने आशा पनि गरेको छु ।’
राजाले भने, ‘तिमी निश्चिन्त बन । सिरीनको विवाह त यो नहर बनाउनेसित नै हुनेछ ।’
फरहाद ठुलो उत्साह लिएर फर्क्यो । उसले एउटा ठेकेदारलाई बोलाएर नहर खन्ने ठेक्का दिँदै भन्यो, ‘पैसा जति चाहिन्छ, त्यो लेऊ तर नहर एक वर्षमा तयार पारेर देऊ ।’
यता ठेकेदारले काम सुरु गर्यो उता फरहाद सिरीनको सम्झनामा हराउन थाल्यो ।
वर्ष बित्यो । फरहाद नहर हेर्न निस्क्यो । नहर पनि खनिएको थिएन र ठेकेदार पनि फरार थियो ।
फरहाद छट्पटियो । ऊ सिरीनका बाबुलाई भेट्न गयो । उसले भन्यो, ‘मलाई माफ गर्नुहोला । त्यस ठेकेदारले धोका दियो । पैसा पनि खायो र नहर पनि खनाएन । म अर्को वर्षसम्म त पक्कै नहर बनाएर बुझाउने छु । कृपया एक वर्षको म्याद थपिपाऊँ !’
सिरीनका बाबुले भने, ‘अब दुःख पाउनै पर्दैन ।’
फरहादले सोध्यो, ‘किन हजुर ?’
राजाले भने, ‘किनभने सिरीन त त्यसै ठेकेदारसित भागिसकी ।’
त्यसपछि फरहाद ‘मस्टर रोल’माथि टाउको ठोकेरै मर्यो भन्ने पनि सुनियो ।
२. गुरु शिष्य
कुनै राज्यमा पण्डित वेद शर्मा नामका विद्वान् थिए । उनको विद्याको ख्याति टाढाटाढासम्म फैलिएको थियो । उनको गुरुकुलमा राजा वितण्डवाहनका पाँच भाइ छोराहरू विद्यार्जन गर्दथे ।
राजकुमारहरूको शिक्षा समाप्त भएपछि गुरुले भने, ‘शिष्यहरू हो ! अब म तिमीहरूको परीक्षा लिन्छु है !’
पाँचैजना राजकुमारहरूलाई राखेर गुुरुले प्रश्नपत्र दिए । उनीहरू उत्तर लेख्न थाले ।
गुरु पालैपालो प्रत्येक राजकुमारनिर गएर हेर्दै थिए । चारवटा कुमारहरूलाई हेरेर जब उनी पाँचौँ राजकुमारनिर पुगे त्यहाँ उनले उसले उत्तरकुञ्जिका (आन्सरकी)बाट सारिरहेको देखे ।
गुरुले भने, ‘बाबु, यो कुञ्जिका तिमीले कहाँ पायौ ?’
कुमारले भन्यो, ‘गुरुदेव, यो मैले हजुरकै पुस्तकधानीमाथि (टेबल)बाट झिकेर ल्याएको हुँ नि !’
यो सुनेपछि गुरु निकै खुसी भएछन् र उसैलाई प्रथम घोषित गरिदिएछन् ।
३. वकिल
कुनै समयको कुरो हो । कुतर्कतीर्थ पं. फौजदारी आफ्नो समयका सबैभन्दा ठुला वकिल थिए । उनकी एउटी छोरी मात्र थिइन् । उनी आफ्नो परम्परा यसै गरी बढिरहोस् भनेर आफ्नी छोरीको विवाह कुनै यस्तो प्रतिभाशाली युवक वकिलसँग गरिदिन चाहन्थे ।
उनको चाहना बुझेर एक दिन पाँचछजना प्रतिभाशाली युवकहरू उनीलाई भेट्न आए र आआफ्नो प्रतिभाको बखान गर्न थाले ।
एउटाले भन्यो, ‘मेरो लाइब्रेरीमा कानुनका एक लाख किताबहरू छन् र म प्रतिदिन दश घण्टा अध्ययन गर्छु ।’
अर्कोले भन्यो, ‘क्रस एक्जामिनेसनमा त बडा बडा जजहरूले पनि मेरो प्रतिभाको सराहना गर्छन् ।’
तेस्रोले भन्यो, ‘कानुनको सूक्ष्मतामा त कसैसँग पनि मेरो तुलना हुन सक्दैन ।’
सबैले आआफ्नो गुणहरू बताए । एउटा तन्नेरी वकिल भने केही नबोली बसिरहेको थियो । पण्डित फौजदारीले उसलाई भने, ‘तिमीले केही भनेनौ त ! तिम्रो लाइब्रेरी कस्तो छ ? तिम्रो तर्कशक्ति कस्तो छ ? तिम्रो अध्ययन कस्तो छ ? आदि ?’
उसले भन्यो, ‘तपाई त यी किताब, अध्ययन र तर्कको फेरीमा पर्दै पर्नुहुन्न । तपाईं त सोझै साक्षीलाई भाँड्नुहुन्छ र जित्नुहुन्छ । यसैबाट तपाईंको अभ्यास चलेकै छ ।’
वकिलसाहेबले उसैसित आफ्नी छोरीको विवाह गरिदिए ।
४.आधुनिक
एउटा राजा भेस बदलेर आफ्नो मन्त्रीसित प्रजाको हालतह हेर्न निस्किँदा रहेछन् ।
एक दिन राजाले एउटा झ्यालबाट एउटा घरमित्र हेर्दै थिए । त्यहाँ एउटा जनै र तिलक लगाएको मानिस बर्थडे केक काट्तै थियो ।
राजाले मन्त्रीसित सोधे, ‘के हो यो ?’
मन्त्रीले भने, ‘महाराज, यही त हो नि हाम्रो भारतीय आधनिकता !’
५. भगवान्को प्रकाश (खुदा का नूर)
हजरत मुसा नामका एकजना सज्जन दिक्दारिएर पहाडमाथि गएछन् र एकै छि एकान्तमा शान्तिले बसुँला भनेर सोचेछन् । उनले आँखा चिम्लेर भगवान्को स्मरण गर्न थालेछन् । आँखा उघार्दा त के देखेछन् भने जसलाई उनले थुप्रै उधारो र सापटी तिर्न बाँकी थियो उही नुरू नामको बनियाँ उभिएको छ ! नुरूले भनेछ, ‘के हो ? उधारो तिर्न मन नलागेर यहाँ आएर मुख लुकाउन खोज्यौ ?’
हजरत मुसा उसलाई देखेर बेहोस भएछन् ।
मानिसहरूले उनलाई उठाएर लगेछन् उनी त भगवान्को प्रकाश देखेर बेहोस भएका हुन् भनेर प्रचार गरिदिएछन् ।
वास्तवमा उनी त साहूलाई देखेर बेहोस भएका थिए र साहूहरू नै यथार्थमा भगवान्का प्रकाश हुन्छन् ।
०००
यी लघुकथाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली’ २ को ‘पाँच लघुकथाएँ’बाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest






































