रामकृष्ण ढकालसाधारण सभाको तयारी बैठक
आजको बैठकका लागि तय गरिएको बूँदाहरू यत्ती नै हुन । आदरणीय साहित्यिक मनहरूबाट यसमा आवश्यक थपघट गर्न सकिनेछ ।

रामकृष्ण ढकाल :
पर्दा खुल्छ ।
मञ्चको बीचमा केही थान टेबुलहरू बर्तुलाकार पारेर राखिएका छन र ती टेबुलहरूको बाहिर पटि मेचहरूको हातेमालो छ । टेबुलहरुमा केही रित्ता पानीका बोत्तलहरू र चिया पिइसकेका कागजी गिलासहरू पनि छन । मेचहरूमा झोकाज (झोले काण्डे जँड्याहा ) साहित्य मञ्चका पदाधिकारीहरू बसेका छन् । उनीहरुको जमघट र छलफलको विषय झोकाज साहित्य मञ्चको आगामी साधारण सभा भन्ने रहेको छ ।
अध्यक्ष : सबै साहित्यिक साथीहरूलाई नमस्कार । अब म हाम्रोसँस्थाको सचिबज्यूलाई आजको यो बैठकमा छलफलका लागि तय गरिएका बूँदाहरू सरर पढेर सुनाउन आग्रह गर्छु ।
सचिव : हाम्रो यश झोकाज साहित्य मञ्चको आगामी महिनामा हुने वार्षिक साधारणसभाका सन्दर्भमा आजको यो बैठकमा छलफल र निर्णयका लागि निम्न लिखित बूँदाहरू निर्धारण गरिएको जानकारी गराउन चाहन्छु । तपसिल —
१) झोकाज साहित्य मञ्चको आगामी साधारणसभाको मिति निर्धारण गर्ने ।
२) झोकाज साहित्य मञ्चको आगामी साधारणसभाको स्थान , शुरुहुने समय, आमन्त्रण गर्नुपर्ने अतिथिहरूको सूचि तय गर्ने , साथै त्यस कार्यक्रमका लागि आवश्यक ब्यानर, खाजापानी लगायतका अनेक विषयमा छलफल र निर्णय गर्ने ।
३) हालसालै हाम्रो यो झोकाज साहित्य मञ्चको कार्यक्षेत्र भित्र कुनै अवाञ्छित तत्त्वद्वारा केही हामिलाई अपाच्य हुने लेखरचनाका सिर्जना प्रकाशन प्रसारण गराइ, हाम्रा गतिविधिको उछित्तो काडी , हामी हामी झोकाजहरूका बीचमा बाहेक अन्यत्र मुख देखाउनै गाह्रो बनाई, हामीलाई मानसिक रुपमा रुनु न हाँस्नु मर्नु न बाँच्नुको अवस्थामा पुर्याएकोले उक्त अवाञ्छित तत्त्वप्रती के कस्तो रबैया अपनाउने भने बारेमा पनि आजको यो गरिमामय बैठकमा छलफल र उपाय निर्धारण हुनेछ ।
४) चालू आर्थिक वर्षका लागि हाम्रो पालिकाले हामीलाई करिब दर्जन लाख रुपैयाँको बजेट दिएको थियो । आज यो आर्थिक वर्षको करिब अन्त्यतिर आइपुग्दा सम्ममा हामीले गएको जाडोयाममा एउटा कार्यक्रमको नाटक मञ्चन गर्दा मात्र त्यत्रो बजेट पचाउन हजमोला चक्किको सहायता लिँदा पनि नसक्लाजस्तो भएकाले आजको यो बैठक, अब हुने साधारणसभा र परिआएमा एउटा अर्को कुनै साहित्यिक कार्यक्रम समेत आयोजना गरेजस्तो गर्नु कसो होला ?
५) हाम्रो पालिकाको वर्तमान जनप्रतिनिधिका हातबाट बिना खुल्ला प्रतिष्पर्धा, बिना योग्यता परीक्षा झोकाज भएकै मात्र भरमा पाउद्वारा हाम्रा निधारमा पदिय टीका बक्स भएको दिनदेखि चलाइआएको साहित्यिक मनोमानी, चाकरी चाप्लुसी, नातावाद, कृपावाद, अत्यधिक राजनीतिक पूर्वाग्रह, प्रतिशोध लगायतका एक प्रकारको तानाशाही माथी वर्तमानमा कतैबाट औंलो ठड्याइएकाले आफ्नो अन्नदाता, धाता बिधाता राजनीतिक दल, तिनका समग्र नेताकार्यकर्ता र तिनैको असिम अनुकम्पामा प्राण अड्याएका हाम्रो कन्त बिजोग शुरु भएको जस्तो लागेकाले यसका सम्बन्धमा पनि विचार विमर्श गर्ने ।
६) आगामी आर्थिक वर्ष पनि सँघारमै आइपुगेकाले हाम्रो मञ्चका तर्फबाट पालिकासँग कति रकमको बजेट माग गर्दा उपयुुक्त हुन्छ र पछि आर्थिक वर्ष शुरु भएर बजेट पनि आएपछि त्यसलाई पचाउन के कस्ता कार्यक्रम बाहिर देखाउने हो ? यसका सम्बन्धमा पनि यहि बैठकमा छलफल र निर्णय हुनेछ ।
७) हाम्रो सँस्थाद्वारा प्रदान गर्न भनेर कोहु सहृदयी व्यक्तिहरूद्वारा स्थापना गरिएका पुरस्कारहरू यसपाली हामीमध्येकै कसको पालोमा पार्ने भनेर पनि छलफल गरिनेछ ।
८) केही महिना अघिमात्र बनेको सरकारले देशभरका सबै सङ्घसँस्थाहरूबाट झोकाज भकैभरमा मात्र राजनीतिक नियुक्ती पाएका हामिजस्तालाई हटाउन शुरु गरिसकेकाले त्यसले हामीलाई दिएको अत्यधिक तनावका बारेमापनी आजको यो बैठकले केही छलफल गर्नेछ साथै साहित्यको नाममा चलिरहेको हाम्रो हालीमुहालीलाई के कसरी हाम्रो अन्तिम साससम्म कायम गरिरहन, यहाँ बसेर कमाइ रमाइ गरिरहन सकिन्छ भन्ने उपायहरूको खोजी पनि यहिँ हुनेछ ।
९). वास्तविक क्षमतावानहरूलाई मान्छे नै नगनी खाली झोकाजहरूका बीचमा मात्र रमाउने हाम्रो महान सदिच्छालाई सदासर्वदा कायम राखिरहन परिवर्तित परिस्थितिमा के कस्ता हत्कण्डाहरू अपनाउने भन्ने पनि आजको छलफलको विषय हो ।
आजको बैठकका लागि तय गरिएको बूँदाहरू यत्ती नै हुन । आदरणीय साहित्यिक मनहरूबाट यसमा आवश्यक थपघट गर्न सकिनेछ ।
अध्यक्ष : लौ त साहित्यिक मित्रहरू अब हामी केहिबेर चिया नास्ताको बिश्राममा लाग्नेछौंं । कृपया मित्रहरूले चिया नास्ता लिँदैगर्दा अहिले सुनिएका बूँदाहरूका सम्बन्धमा आफ्ना धारणाहरू बनाउन र ती धारणाहरू केहिबेरपछी पुन: चालुहुने बैठकमा खुलेर तथ्यप्रमाण र व्याख्या विश्लेषणसहित प्रस्तुत गर्न सक्नुहुनेछ ।
(परिचारक परिचारिकाहरूले किस्तिहरूमा चिया नास्ता बोकेर प्रवेश गर्छन । चिया नास्ता लिन साहित्यिकहरू तँछाडमछाड गर्छन र प्रफुल्लित मुद्रामा चिया नास्ता खाँदै दुई तीन जनाका समूहमा बाँडिएर अनौपचारिक छलफल शुरु गर्छन । )
(पर्दा खस्छ ।)
०००
२०८३ जेठ २२
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































