नन्दलाल आचार्यसिंहदरबार डोजर र राष्ट्रवादको चक्की
डोजरको एउटा गतिलो प्रहार केवल गरिबका झुपडीमा मात्र होइन, ठूला–ठूला भ्रष्टाचारीका महल, देशलाई खोक्रो बनाउने दलालका सेटिङ र दुर्गमका पहाड फुटाएर सडक बनाउने ऐतिहासिक काममा देख्न पाइयोस् ।

नन्दलाल आचार्य :
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री निवास, सिंहदरबार, काठमाडौँ ।
चिसो चुल्हो, च्यातिएको खल्ती र छिमेकीको ‘कृपा’ मा सास फेरिरहेको देशका कुनाकाप्चाबाट, महाकालीको सुसाइदेखि मेचीको बगरसम्म, कर्णालीको भोकदेखि काठमाडौँको सुकुम्बासी बस्तीसम्मका सम्पूर्ण पीडित, थिचिएका र मिचिएका जनताका तर्फबाट त्रिनेत्रधारी, सर्वशक्तिमान् प्रधानमन्त्रीज्यूलाई कोटी–कोटी नमस्कार तथा अभिवादन !
प्रधानमन्त्रीज्यू, यहाँका पत्रपत्रिका, सामाजिक सञ्जाल र फेसबुकका भित्तामा तपाईंलाई कसैले ‘मेयर’ भन्लान्, कसैले ‘र्यापर’ भन्लान्, कसैले ‘इन्जिनियर’ भन्लान् त कसैले ‘डोजर–डन’ भन्लान् । तर देशका करोडौँ उत्पीडित, गरिब र उपेक्षित जनताको चेतनामा सिंहदरबारको मूल कुर्सीमा बस्ने, राष्ट्रियताको नारालाई चुनाव जित्ने भर्याङ बनाउने, र कङ्क्रिटको जङ्गलभित्र देशको आत्मा खोज्ने ‘प्रधानमन्त्री’ तपाईं नै हो । हिजो कालापानीकी चेली दीप गुन्ज्यालले क्यानडाको आधुनिक सुखसयलबाट दार्चुलाको गुन्जी, नाबी र कुटीको तस्बिर नियालेर रुँदै पत्र लेखिन् होला, तर आज यो पत्र कुनै एउटी चेलीको वा एउटा भूगोलको मात्र होइन । यो त सिंहदरबारको फेदमा बसेर पनि न्याय नपाएका, महँगीले ढाड भाँचिएका, बेरोजगारीले खाडीमा बेचिएका, र राष्ट्रवादको खोक्रो भाषण सुनेर कान पाकिसकेका सम्पूर्ण साढे तीन करोड पीडित नेपाली जनताको एकमुष्ट क्रन्दन र गर्जन हो ।
यो पत्रमा शब्दका सबै शक्तिहरूको मिश्रण घोलेर पठाएका छौँ । नेपाली भाषाका सबै शक्तिलाई सिंहदरबारको मूल ढोकामा चढाउन ल्याएका हौँ । काठमाडौँको आधुनिक, ब्रान्डेड चश्माले सोझो मात्र बुझ्छ, तर सिंहदरबारको शक्तिशाली सिंहासनले बाङ्गो र चोटिलो नबुझी ब्युँझिँदै ब्युँझिँदैन । यो सिंहासनको एउटा कान बहिरो र अर्को कान निदाएको हुन्छ भन्छन्, त्यसैले यो पत्रलाई केवल कागजको टुक्रा वा सर्वसाधारणको रोदन नसम्झनुहोला; यो त राज्यको अदूरदर्शिता र शोषक नीतिका कारण मरेका र जिउँदै मारिएका नागरिकहरूको ‘जीवन्त पोस्टमार्टम रिपोर्ट’ हो, जसमा नेपाली मनको पीडा पनि छ र शासकहरूको चेत खुलाउने प्रहार पनि छ ।
सबैभन्दा पहिले सिधा र लोकप्रचलित अर्थकै भाषाबाट कुरा सुरु गरौँ, जसलाई बुझ्न सिंहदरबारका कुनै ठुला नीतिशास्त्र वा जटिल शब्दकोश पल्टाउनु पर्दैन । प्रधानमन्त्रीज्यू, गुन्जी, नाबी र कुटी नेपालकै अकाट्य भूमि हुन् । यो कुरा नेपालको संसद्ले ताली पिटेर, एकमुख भई पास गरेको ‘चुच्चे नक्सा’ ले सगर्व बोल्छ । विद्यालयका भित्तादेखि सरकारी कार्यालयका भित्तासम्म त्यो चुच्चो भाग निकै चम्किलो र आकर्षक देखिन्छ । तर यसको तीतो सत्य के हो भने, त्यो नक्सा जति चुच्चो, तिखो र लाम्चो छ, यहाँका रैथाने र सिङ्गो देशका गरिब जनताको जिन्दगी त्यति नै थुच्चो, चेप्टो र नाजुक छ । नक्सामा त चम्किलो रङ भरियो, राष्ट्रिय गौरवको पेन्टिङ गरियो, तर जनताको चुल्होमा अझै दुई छाक टर्ने आधार थपिएको छैन । नक्साको चुच्चोले आकाश छुन खोज्दै छ, तर मानिसको जीवनस्तर पातालमा धसिँदै छ ।
तपाईं काठमाडौँमा डोजर चलाएर अवैध संरचना भत्काउनुहुन्छ, सिंहदरबारकै वरिपरिका मिचिएका जमिन खाली गराउनुहुन्छ, फुटपाथका साना व्यापारीलाई लखेटेर शहर ‘सफा’ बनाउनुहुन्छ, जसमा सचेत वर्गको ताली होला । तर यता सीमापारिका छिमेकीहरूले हाम्रै छातीमा डोजर गुडाएर, पहाड फोरेर पक्की लाम्चो सडक बनाइसक्दा तपाईंको राष्ट्रवाद कुन ओडारमा लुक्छ ? हाम्रा सुदूरका नेपालीहरू आज पनि आफ्नै जिल्ला सदरमुकाम जानुपर्यो भने नेपालको बाटो हिँड्न सक्दैनन् । कस्तो उदेकलाग्दो देशभक्ति हो यो ? हामीसँग बाटो नै छैन ! हामीले महाकालीको कडा चट्टानमा टाउको ठोक्नुपर्छ वा भीरबाट हाम फाल्नुपर्छ । आफ्नै देशको भूगोलभित्र यात्रा गर्न विदेशीको लालमोहर चाहिने हामी कस्ता सार्वभौम नागरिक हौँ प्रधानमन्त्रीज्यू ? के सार्वभौमिकता भनेको केवल संसदको रोष्ट्रममा उभिएर भाषण ठोक्नु मात्रै हो ?
शहरमा सुशासनको ढोल पिटिन्छ, तर गाउँमा सामान्य सिटामोल नपाएर सुत्केरी महिलाहरू डोकोमा तड्पिएर मर्दछन् । हामी रेडियो र टेलिभिजनमा राष्ट्रवाद र समृद्धिका ठूला–ठूला गफ त सुन्छौँ, तर बिहान उठ्नेबित्तिकै पेट भर्न छिमेकीकै रासन, बिरामी पर्दा छिमेकीकै अस्पताल, कपुर र सञ्चारका लागि विदेशी सिमकार्डको नेटवर्क खोज्नुपर्छ । नेपालतर्फबाट एउटा भरपर्दो सडक सञ्जाल वा मोबाइलको टावरसम्म ठड्याइएको छैन । के नेपाल भनेको काठमाडौँको चक्रपथ मात्रै हो ? के काठमाडौँको सिमाना नागढुङ्गा र साँगाभञ्ज्याङमै सकिन्छ ? कि सिंहदरबारको ऐनाले उपत्यका बाहिरको धूलो र गरिबी देख्नै छोड्यो ?
अब अलिकति लक्षित क्षेत्रतर्फ लागौँ, जहाँ शब्दको सिधा अर्थ बदलिएर अर्को अर्थ लाग्छ र त्यसले मुटुमा चस्स घोच्छ । हामीलाई काठमाडौँका नेताहरूले चुनावका बेला सधैं ‘देशका मालिक’, ‘सिमानाका सजग पहरेदार’ र ‘देशका खम्बा’ भन्छन् । आहा ! कति सुन्दर र गहकिलो शब्द । तर यो ‘मालिक’ र ‘पहरेदार’ शब्दको लक्षित अर्थ बुझ्दा आँसु आउँछ । यहाँ पहरेदारको अर्थ ‘बन्दुकधारी र सुसज्जित सिपाही’ होइन, यहाँ पहरेदारको अर्थ ‘सधैं भोकै बसेर, राज्यबाट उपेक्षित भएर छिमेकीको गाली र हेपाइ सहने लाचार नागरिक’ हो । सिमानाका जनता त देशको सीमामा गाडिएका ‘जिउँदा जङ्गे पिलर’ हौँ, जसलाई रगत चाहिन्छ तर पानी पाइँदैन । ढुङ्गाको जङ्गे पिलर रोँदैन, तर हामी हाडछालाका पिलर दिनरात रोइरहेका छौँ र हाम्रो आँसु महाकाली र कोसीमा मिसिएर बगिरहेको छ ।
त्यति मात्र कहाँ हो र प्रधानमन्त्रीज्यू ? देशका युवाहरूलाई तपाईंको सुशासनले यसरी ’लक्षित’ गर्यो कि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशको विकासको सूचक होइन, युवा बेच्ने आधुनिक दास बजार बनेको छ । देशका खम्बा भनिने युवाहरू कतार, मलेसिया र साउदीको ५० डिग्रीको गर्मीमा भेडा बाख्रा झैँ खटिन विवश छन् । उतैबाट बाकसमा प्याक भएर आउने शवहरू देख्दा सिंहदरबारको मुटु कहिल्यै कुडिएन ? उता काठमाडौँका वातानुकूलित कोठामा बस्ने शासकहरूका लागि राष्ट्रवाद र रेमिट्यान्स भनेको एउटा ब्रान्डेड ‘फेसन’ र विलासिताको साधन हो, जसलाई चुनाव आउँदा भिर्ने गरिन्छ, बजेट बनाउँदा गनिन्छ, र सत्ता टिकाउन दलालहरूसँग साटफेर गरिन्छ ।
काठमाडौँमा माइतीघर मण्डलामा प्लेकार्ड बोकेर, टायर बालेर ‘कालापानी हाम्रै हो’ वा ‘भ्रष्टाचार अन्त्य गर’ भन्दै घाँटीका रेशा फुलाउनेहरू मिडियामा ‘वीर देशभक्त’ वा ’क्रान्तिकारी’ बन्छन् । तर यहाँ वर्षौँदेखि नेपाली नागरिकता खल्तीमा राखेर, भारतीय रुपैयाँ (भारु) ले नुन र तेल किनेर, भारतकै शरणमा परेर नेपालको भूमिको रक्षा गरिरहेका सोझा जनता भने राज्यका दृष्टिमा ‘अनागरिक’ जस्ता भएका छन् ।
हाम्रो देशप्रेम र श्रमको मूल्य काठमाडौँले कहिले बुझ्ने ? तपाईं त इन्जिनियर हुनुहुन्छ, च्यातिएको मन, भत्किएको अर्थतन्त्र र भताभुङ्ग भएको भूगोलको ‘स्ट्रक्चरल एभ्यालुएसन’ गर्न पक्कै सक्नुहुन्छ । काठमाडौँको न्यूरोडको फुटपाथ फराकिलो बनाउन र व्यापारीका सटर भत्काउन जति जाँगर चलाउनुभयो र रातारात डोजर कुदाउनुभयो, देशका विकट गाउँ जोड्ने हिलाम्मे र भिरालो गोरेटोलाई पक्की सडक बनाउन र युवाहरूलाई स्वदेशमै रोजगारी दिन त्यति नै जाँगर र साहस चलाइदिनुस् । नत्र नक्साको त्यो कागजमा कोरिएको चुच्चो भाग र देशको स्वाभिमान महाकालीको बाढीसँगै बगेर सदाका लागि हिन्द महासागरमा विलीन हुनेछ र हामी केवल रुन्चे गफ र बहसमा सीमित हुनेछौँ ।
अब मुख्य कुरा गरौँ, जसका लागि यो पत्रको विशेष रचना गरिएको हो– ध्वनित अर्थ, जहाँ लुकेको गहिरो सत्यले शासकको मुटुमा सिधै वाण हान्छ र हाँस्दाहास्दै आँखाबाट आँसु खस्छ । प्रधानमन्त्रीज्यू ! हाम्रो देशमा एउटा उखान पुरानो भइसक्यो, ‘जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि ।’ तर आजभोलि काठमाडौँका गल्लीहरूमा नयाँ भाष्य भन्न थालिएको छ– ‘जहाँ पुग्दैन सरकारी नजर, त्यहाँ पुग्छ बालेनको डोजर !’ अथवा ‘जहाँ हुँदैन नीति र थिति, त्यहाँ चल्छ फेसबुकको रीति !’ त्यसैले त हामी पीडित जनताले आशा गरेका छौँ कि यो देशमा सरकार कतै जीवितै छ भने त्यो केवल टिकटकका भिडियो, फेसबुकका लामा–लामा स्टेटस र भाषणका आगो ओकल्ने शब्दहरूमा मात्रै सीमित छ कि वास्तविक धरातलमा पनि छ ?
काठमाडौँमा महँगो ब्रान्डको कफी सुरुप्प पार्दै ‘लिम्पियाधुरा र कालापानी हाम्रो जग हो’ भन्दै राष्ट्रिय गान गाउनु र सिमानाको चिसो सिरेटोमा सिँसिं गर्दै छिमेकीको एसएसबीको आँखाको क्रूर इशारा र बन्दुकको नालको छायामा बाँच्नुमा आकाश–पातालको फरक छ । त्यो बुझ्न तपाईं कम्तीमा एकपटक सिंहदरबारको ऐना र सामाजिक सञ्जालको भर्चुअल संसार छाडेर गाउँ आउनैपर्छ । हाम्रा काठमाडौँका सिंहदरबारे नेताहरू र तपाईंको सरकार त कस्ता छन् भने, उनीहरू दिउँसो संसदमा राष्ट्रवादको ‘नारा’ लगाउँछन्, माइक बङ्ग्याउँछन्, सुशासनको गफ हाँक्छन्, तर बेलुका शक्ति केन्द्रको ‘नुन र रासन’ सम्झेर लम्पसार पर्छन् । उनीहरूको राष्ट्रवाद केवल कागजको रङमा सीमित छ । संसदमा जति ठुलो स्वरले करायो, उति नै चाँडो आफ्नो राजनीतिक भविष्य र प्रधानमन्त्रीको कुर्सी सुरक्षित हुन्छ भन्ने ठुलो भ्रम छ त्यहाँ । राष्ट्रवाद त कुर्सी चढ्ने अचम्मको लिफ्ट पो भएको छ यहाँ !
तपाईं र्याप गाउनुहुन्छ, शब्दहरूलाई छिटो–छिटो र प्रहारक ढङ्गले प्रस्तुत गर्नुहुन्छ । युवाहरू तपाईंसँगै फेसबुकमा झुम्छन् । एकपटक सिंहदरबारको बार्दलीमा उभिएर यो देशका गरिब, सुकुम्बासी, बेरोजगार र सिमानाका जनताको चीत्कार र व्यथालाई र्यापमा ढालेर गाइदिनुस् न ! सायद त्यो स्पीड र बिट सुनेर सिंहदरबारका तेल भरिएका, सुतेका कानहरू ब्युँझिनेछन् कि र राष्ट्रियताको वास्तविक धुन बज्नेछ कि ?
नक्सामा छ चुच्चो, सडकमा छ सुक्खा,
गरिब र जनताले सधैं पाउने दुःख ।
काठमाडौँमा गफ छ, सीमामा छ लफडा,
भाषणले मात्रै कसरी ढाक्ने यो नाङ्गो कपडा ?
हाम्रो राष्ट्रवाद र सुशासन पनि बडो रङ्गीचङ्गी र मौसमी खालको छ । जब सरकारमाथि सङ्कट आउँछ, जब कुनै ठूलो भ्रष्टाचारको काण्ड (जस्तै गिरीबन्धु, भुटानी शरणार्थी वा सहकारी ठगी) सार्वजनिक हुन्छ, तब मात्र शासकहरूलाई ‘कालापानी’ को तीव्र याद आउँछ वा शहरका गरिबका छाप्रा भत्काउने ‘स्टन्ट’ सुझ्छ । कालापानी र गरिब जनता भनेका नेपाली राजनीतिज्ञका लागि ‘पेनकिलर’ (दुखाइ कम गर्ने औषधि) जस्तै भएका छन् । जब–जब आन्तरिक राजनीतिमा कुर्सी तानातान हुन्छ, संसदमा खिचातानी हुन्छ र टाउको दुखाइ बढ्छ, तब–तब राष्ट्रवादको एउटा चक्की खायो, स्टन्टको राष्ट्रिय गान गायो, जनताको सेन्टिमेन्टलाई लठ्यायो, अनि आफ्नो दुखेको टाउको निको पार्यो ! तर त्यो चक्कीको असर सकिएपछि फेरि जनता उस्तै भोक, रोग र अभावको लाइनमा लामबद्ध हुन बाध्य हुन्छन् । यो कस्तो दीर्घकालीन रोग हो प्रधानमन्त्रीज्यू, र यसको स्थायी उपचार कहिले हुन्छ ?
प्रधानमन्त्रीज्यू, हामी सोझा जनताको सबैभन्दा ठुलो दुःख के हो थाहा छ ? यो भूगोलको भौतिक दूरी होइन, यो त सिंहदरबारले बनाएको मानसिक र व्यवहारिक दूरी हो । सिंहदरबारको पर्खालभित्र बसेर हेर्दा यो देशको सिमाना र यहाँका जनता धेरै टाढा देखिन्छन्, त्यसैले त सिंहदरबार हाम्रो मुटुबाट कहिल्यै नजिक हुन सकेन ।
यदि नेपाल सरकारले हामीसँग साच्चै आत्मियता बढाएको भए, देशका दूरदराजमा एउटा राम्रो अस्पताल हुन्थ्यो होला । यहाँका बालबालिकाहरूले नेपाली पाठ्यपुस्तक नपाएर विदेशी विद्यालयमा जानुपर्ने र हरेक बिहान पराई देशको राष्ट्रिय गान गाउनुपर्ने विवशता हुने थिएन । बच्चाको ओठमा पराई गीत छ तर मुटुमा नेपाल छ– यो मानसिक द्वन्द्व कसले बुझ्ने र यसको समाधान कसले खोज्ने ?
जब आफ्नै जन्मदिने आमाले स्तनपान गराउँदिनन्, दूध दिँदिनन्, तब बच्चाले भोक मेटाउन छिमेकी आमाको शरण पर्नैपर्छ । यो प्रकृतिको निर्मम नियम हो, र तीतो सत्य पनि हो । यहाँका जनताले भारत वा खाडी मुलुकको भर पर्नु उनीहरूको कुनै रहर होइन, त्यो त बाँच्ने अन्तिम बाध्यता हो । नुनदेखि सुनसम्म, सियोदेखि सिटामोलसम्म, सलाईको काँटीदेखि तरकारी र जागिरसम्म सबै कुरा विदेशबाटै आउँछ । अनि हामी कसरी छाती पिटेर भन्नू कि यो भूमिमा नेपाल सरकारको बलियो उपस्थिति छ ? नेपाल सरकार त केवल यहाँका सोझा जनताको नागरिकताको प्रमाणपत्रमा छाप लगाउने, राहादानी जारी गर्दा मोटो दस्तुर असुल्ने र कर उठाउने बेलामा मात्र देखिन्छ, अरू बेला त यहाँ सरकार ‘गुमनाम’ र बेपत्ता छ ।
तपाईंले काठमाडौँका नदीहरू जस्तै बागमती, टुकुचा र रुद्रमती सफा गर्ने, भूमिगत खोला खोतल्ने ठुलो अभियान चलाउनुभयो, जुन सराहनीय छ । अब काठमाडौँको धूलो फालेर देशको बिग्रिएको नियत र राजनीतिको मुहान सफा गर्ने पालो आएको छ । नदीको मुहानसँगै बगेर गएको, बन्धक बनेको नेपाली अस्तित्व, युवा शक्ति र सार्वभौमिकतालाई फेरि नेपालतर्फै फर्काउनु परेको छ । नदी फर्काउन गाह्रो होला, तर राज्यको नीति, थिति र नियत त फर्काउन सकिन्छ नि !
अब वास्तविक भूमिमा गोडा टेक्न आउनुस् । काठमाडौँको सुकुटी, तारे होटलका मःम, पिज्जा र कफी खाएर देशको वास्तविक विकास देखिँदैन । फेसबुक र टिकटकका ‘लाइक्स’ र ‘कमेन्ट्स’ ले भोक मेटिँदैन । गाउँ–गाउँमा आउनुस्, यहाँको चिसो सिरेटो खानुस्, यहाँको उकालो–ओरालो गर्नुस् र यहाँका सोझा जनताको आँखामा लुकेको लाचारी, आक्रोश र देशप्रेमको गजबको फ्युजन हेर्नुस् ।
कागज छोडेर काममा लाग्नुु्स् । राष्ट्रिय गौरवका आयोजनाहरूलाई केवल फाइलमा र भाषणमा मात्र सीमित नगरेर, सिंहदरबारको ‘राष्ट्रिय लाजको आयोजना’ सम्झेर युद्धस्तरमा निर्माण गर्नुस् । जबसम्म देशका दुर्गम कुनासम्म सडक, शिक्षा र स्वास्थ्य पुग्दैन, जबसम्म खाडीमा पसिना बगाउने युवाले स्वदेशमै आत्मसम्मानको रोजगारी पाउँदैन, तबसम्म नक्साको त्यो चुच्चोले वा सुशासनको नाराले कसैको मनलाई छुँदैन र हाम्रो सार्वभौमिकता जोगिँदैन ।
आत्मियताको बलियो पुल बनाउनुस् । यहाँका जनतासँग राज्यको तर्फबाट आत्मियता बढाउनुस् । गरिब, सुकुम्बासी र सिमानाका जनतालाई महसुस गराउनुस् कि उनीहरू देशका ‘ब्याकअप’ वा दोस्रो दर्जाका नागरिक होइनन्, उनीहरू त यो देशको अस्तित्व धान्ने असली ‘फ्रन्टलाइनर’ हुन् जसले बिना स्वार्थ देश बचाइरहेका छन् ।
अन्त्यमा, प्रधानमन्त्रीज्यू, यदि तपाईंले आफ्नो यो कार्यकालमा पनि यी ऐतिहासिक, आर्थिक र भौगोलिक त्रुटिहरूलाई सच्याउनु भएन, भाषणको साटो परिणाम दिनुभएन भने काठमाडौँको मेयर, इन्जिनियर वा र्यापर पद त इतिहासको कुनै कुनामा रहला, तर देशको प्रधानमन्त्रीको पानामा तपाईं पनि अरू जस्तै एउटा ‘फेसबुकिया राष्ट्रभक्त’, ‘स्टन्टबाज शासक’ र ‘कुर्सी प्रेमी’ मात्र ठहरिनुहुनेछ । इतिहासले कसैलाई माफ गर्दैन, इतिहासको अदालत निकै क्रूर, निष्पक्ष र निर्दयी हुन्छ ।
अर्को स्पष्ट भाषामा भन्दा, सिंहदरबारको कुर्सीमा बस्ने आधुनिक शासकहरूका लागि देश भनेको ‘गुगल म्याप’ जस्तै हो, जहाँ धेरै जुम गर्दा मात्र दुःख पाएका जनता, कालापानी, लिम्पियाधुरा वा भोका नङ्गा मानिस देखिन्छन्, नत्र त केवल कुर्सी र सत्ताको एउटा सानो टुक्रा मात्र देखिन्छ । त्यो गुगल म्याप र सामाजिक सञ्जालको भर्चुअल संसारबाट बाहिर निस्केर वास्तविक ढुङ्गा, माटो, हिलो र आँसु भएको जमिनमा गोडा टेक्न आउनुस् र सिमानाको माटोको सुगन्धका साथै जनताको भोकको गन्ध सुँघ्नुस् ।
तपाईंको डोजरको एउटा गतिलो प्रहार केवल गरिबका झुपडीमा मात्र होइन, ठूला–ठूला भ्रष्टाचारीका महल, देशलाई खोक्रो बनाउने दलालका सेटिङ र दुर्गमका पहाड फुटाएर सडक बनाउने ऐतिहासिक काममा देख्न पाइयोस् । काठमाडौँका महल भत्काउने साहस भएको त्यो बलियो हातले देशको गरिबी र बेरोजगारी भत्काउने हिम्मत गरोस् । सिङ्गो देशका सिधा र सोझा जनता बाटो हेरिरहेका छन्, तिनीहरूको धैर्यताको बाँध टुट्न नदिनुस् ।
सम्पूर्ण पीडित नेपाली जनताको यो भावुक, काव्यात्मक र व्यङ्ग्यात्मक पुकार सिंहदरबारको बन्द कोठाभित्र ठोक्किएर अनुगुञ्जित हुँदै कतै नबिलाओस्; यसले सिधै तपाईंको मनभित्र रहेको कङ्क्रिटको पर्खाललाई पगालोस् र देशभक्तिको, सुशासनको अनि समृद्धिको नयाँ, वास्तविक र बलियो संरचना निर्माण गरोस् ।
भवदीय,
सिंहदरबारको सुशासन र न्यायको बाटो हेरिरहेका,
देशभरिका सम्पूर्ण पीडित, शोषित र उपेक्षित नेपाली जनता !
०००
सिद्धार्थटोल, उदयपुर ।
२०८३ जेठ २६ गते ।
Subscribe
Login
0 Comments
Oldest









































