फित्काैली डटकमगाईजात्रे पात्र !
झ्यालझ्यालबाट र दुलादुलाबाट च्याइरहेका दर्सक सबैले पररर ताली बजाए ! गाईजात्रे चारैपात्रको अनुहारमा क्रमैसङ्ग प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र बिपक्षीदलका नेताको मुखौटो थियो !
ध्रुवराज थापा ‘पुरुष’ :
पहिलो- म नकचरो हुँ !”
दोस्रो- “म पो नकचरो हुँ त !”
तेस्री- “म पनि नकचरी हुँ !”
चौँथो- अनि के म चाहिँ खोया ? म पनि त नकचरो नै हुँ नि !”
“ल ल ठिक छ हामी विवाद नगरौँ । हामी सबै नकचरो र नकचरी हौँ, यसमा हाम्रो सहमति भयो । हाम्रो चार सदस्यीय गोप्य बैठकमा गाँड कोराकोर नगरौँ, हाम्रो एकता अमर रहोस् !” दोस्रो सदस्यले सहजीकरण गर्यो ।
“ल अब तपाईँहरुले आफूले गरेका उदाहरणीय कार्यहरु पालैपालो बताउनुहोस् ।” पहिलोले आदेश दियो ।
दोस्रोले बहादुरी देखायो र आफूले गरेका कामको फेहरिस्त बुँदा प्रस्तुत गर्यो ।
(क) भिजिट भिसा लाखौँमा बेचें
(ख) तोकिएको प्रतिशत तपाईँलाई बुझाएँ
(ग) हाम्रालाई अख्तियार लाग्दा बचाएँ तर बिरोधिलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल मै सडाएँ
(घ) जनताले राजिनामा माग्दा पनि लाज पचाएर सत्तामा टाँस्सिएरै बस्न सफल भएँ !
तेस्रीले फरियाको मुजोमाथि उचाल्दै आफ्नो पौरख बुँदा मै सुनाइन् ।
बुँदा नं. १. नेपालीलाई शरणार्थी बनाएर करोडौँ असुली गरें
बुँदा नं. २. कारबाहीबाट बच्न परराष्ट्रमन्त्रालय कब्जा गर्न सफल भएँ
बुँदा नं. ३. छोरालाई गरिखान नदिने पत्रकारलाई पक्राउ गराएँ
बुँदा नं. ४. लोग्नेलाई हग् भन्दा हग् र मुत् भन्दा मुत् बनाएर राखें
“स्याबास् ! मैले तपाईँहरुको योग्यता क्षमता बुझेर नै जिम्मेवारी दिएको थिएँ, आज म तपाईंहरुदेखि प्रशन्न छु !” पहिलोले स्याबासी दियो ।
चौथो हौसियो, “हामी पनि कोहीभन्दा कम्तिचाँही छैनौ है, कसैले धक्कु नलगाउँदा हुन्छ ! मैले गरेको महत्त्वपूर्ण कामहरु यसप्रकार छन्:
१.नम्बर- जनतालाई धोका दिएर भागबन्डामा तपाईंलाई साथ दिएँ
२.नम्बर-आफू सत्तामा हुँदा सकेको लुँड्याएँ
३.नम्बर- सरकार भत्काउन, बनाउन र टिकाउन महत्वपूर्ण भूमिका खेलेको सबैलाई थहै छ
४.नम्बर-सर्बहाराको नाम भजाएर महासामन्त पथमा अग्रसर भएँ यो पनि छर्लङ्गै छ।
दोस्रोले उत्सुकता जनायो, “तपाईँ त हाम्रो नाईके, तपाईँको पनि पराक्रम सुनिहालौँ न त !”
पहिलोले छाती फर्काएर जवाफ ठोक्यो, लौ सुन !
पहिलो- म भष्टाचार गर्दीन र गर्न पनि दिन्न भनेपनि कति लुँड्याएँ तपाईंहरुलाई थाहै छ।
दोस्रो- मेरा बिरुद्ध आईलाग्नेलाई कालाो अरिङ्गाल लगाएर डसाएँ!
तेस्रो- स्वदेशमा धनको असुरक्षा देखेर विदेशी बैंकमा रकम थुपारें !
चौँथो- मेरो खेदो खन्नेलाई झुठा मुद्दा लगाएर फसाई दिएँ, अन्तिम ईच्छा सोध्न लगाएर रातारात जेल सारिदिएँ ।
पाँचौँ- जनगुनासा र बिद्रोह गिरिबन्धुको चिया पिएर पचाइदिएँ
छैठौँ- बिदेश जाँदा जम्बोटोलि, फर्कदा चुस्त टोली बनाइदिएँ।
झ्यालझ्यालबाट र दुलादुलाबाट च्याइरहेका दर्सक सबैले पररर ताली बजाए !
गाईजात्रे चारैपात्रको अनुहारमा क्रमैसङ्ग प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र बिपक्षीदलका नेताको मुखौटो थियो !
०००
पनौती-४, काभ्रे हालः कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest











































