फित्काैली डटकमजानकी साहित्य पुरस्कार कवि एवम् निबन्धकार मिश्रितलाई
किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् वर्तमान सभासद डिल्लिराज भुसालकाे प्रमुख आतिथ्यतामा सम्पन्न ।
गुल्मी । १६१ ओैं माेतीजयन्ती समाराेहमा कवि एवम् निबन्धकार काशीनाथ ज्ञवाली मिश्रितलाई किरण पुस्तकालय , तम्घास गुल्मीले कुशे ओैंसीका दिन “जानकी साहित्य पुरस्कार” प्रदान गरेकाे छ ।
समाराेहमा रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मीका पूर्व क्याम्पस प्रमुखद्वय चन्द्रकान्त पन्थी, ढुण्डीराज पाेखरेल, नेपाल सरकारका पूर्व सहसचिव देवीराम भण्डारी, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल लगायतका साहित्यानुरागी विशिष्ट महानुभावहरूकाे समुपस्थिति रहेकाे थियाे ।
किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् वर्तमान सभासद डिल्लिराज भुसालकाे प्रमुख आतिथ्यता, पुस्तकालयका सचिव चनक बहादुर कुँवरकाे सञ्चालन, गाेपाल पन्थीकाे स्वागत मन्तव्य रहेकाे उक्त कार्यक्रमकाे पहिलो चरणमा दाताहरू डा. मनाेज ढुङ्गाना, साहित्यकार सुब सेन लगायतका व्यक्तित्वद्वारा प्रदान गरिएका पुस्तकहरूमा प्रमुख अतिथिबाट टाँचा लगाई आम्दानी बाँध्ने काम गरिएकाे थियाे ।
यसै गरी निजामती सेवाबाट अवकाशप्राप्त रेसुङ्गा न . पा १ निवासी यज्ञश्वर पन्थीबाट पुस्तकालयलाई धागिथुम भगवती मन्दिरकाे एक थान तस्बिर प्रदान गरेका थिए । प्रा. भुवन अर्यालले माेतीराम रचित पिकदूत खण्डकाव्यका केही अंश वाचन गरेर सुनाएपछि बाल तथा वयस्क कविहरूका स्वकीय रचनाहरू प्रस्तुत गरिएका थिए । यसरी रचना प्रस्तुत गर्नेहरूमा बाल प्रतिभा विजया पन्थीदेखि लिएर वयस्क कविहरूमा नमाेनारायण पन्थी, रामप्रसाद पन्थी र लक्ष्मण रिजाल रहेका थिए ।
कार्यक्रमकाे दाेस्राे चरणमा जानकी साहित्य पुरस्कारका संस्थापक शंकर गाैतमले स्वर्गीय जानकी गाैतमले महिला अधिकार , मानव अधिकार, राजनीति, साहित्य र समाजसेवामा पुर्याएकाे याेगदानकाे चर्चा गर्दै २०८३ काे जानकी साहित्य पुरस्कार कवि एवम् निबन्धकार काशीनाथ ज्ञवाली मिश्रितलाई प्रदान गर्न पाएकाेमा गाैरवान्वित भएकाे उल्लेख गरेका थिए ।
त्यसैगरी पुस्तकालयका उपाध्यक्ष वरिष्ठ साहित्यकार दीन पन्थीले माेतीराम भट्टकाे व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै सम्मानित व्यक्तित्व काशीनाथ ज्ञवाली मिश्रितले कविता र काव्यका साथै हास्यव्यङ्ग्य निबन्धका माध्यमबाट नेपाली भाषा र साहित्यकाे जगतमा पुर्याएकाे याेगदानकै कारण उक्त पुरस्कारका लागि छनाेट गर्नुपरेकाे बताएका थिए ।
आफूलाई किरण पुस्तकालय गुल्मीले नगद रू दस हजार, प्रमाण पत्र र दाेसल्लाबाट सम्मानित गरेकाेमा खुसी लागे पनि विद्यालय तहमा लगभग सँगै अध्ययन गरेकी बहिनी जानकी ज्ञवाली गाैतमकै नाममा स्थापित पुरस्कार ग्रहण गर्नुपर्दा नरमाइलो महसुस भएकाे भन्दै स्वरचित बाढीकाे कहर र ढाडे बिरालाे शीर्षकका दुईवटा कविता वाचन गरेर सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भुसालले देशले विभिन्न कालखण्डमा विषम परिस्थितिकाे सामना गर्न परिरहेकाे र हाल रसुवा लगायतका क्षेत्रमा आएकाे विनाशकारी बाढीका कारण धनजनकाे अपूरणीय क्षति भएकाे र सारा नेपाली एकजुट भएर मानवीय सेवामा जुट्नु नै आजकाे आवश्यकता रहेकाे बताए ।
कार्यक्रमकाे अन्त्यमा अध्यक्ष शशि पन्थीले माेतीराम भट्ट जस्तै ३९ वर्षकाे अल्पायुमा दिवंगत जानकी ज्ञवाली गाैतमलाई स्मरण गर्दै जानकी साहित्य पुरस्कारका संस्थापक शंकर गाैतमले आफ्नी धर्म पत्नीको स्मृति र सम्मानमा जानकी स्मृति प्रतिष्ठानकाे माध्यमबाट गुल्मी जिल्लामा जन्मेर नेपाली भाषा साहित्यकाे विकासमा लागेका व्यक्तित्वलाई सम्मानित गर्ने अवसर किरण पुस्तकालयलाई प्रदान गरेकाेमा विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
०००
गुल्मीबाट रामप्रसाद पन्थीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































