साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम

कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रूपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरिएको थियो ।

Nepal Telecom ad

कास्की । गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रूपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरिएको थियो । साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएका साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय सङ्घ संस्था तथा गजल क्षेत्रले भोग्दै आएका विभिन्न उतारचढावका विषयमा प्रकाश पार्नुभयो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री गोविन्दबहादुर नेपालीले गण्डकीमा गजलको अवस्था समेटेर गोष्ठीपत्र तयार पार्न गरिएको मेहनतको प्रशंसा गर्नुभयो । सहभागीबाट प्राप्त सुझावलाई समेटेर गोष्ठीपत्रलाई पूर्णता दिन आग्रह गर्दै उहाँले यो सामग्री आगामी दिनमा गण्डकी प्रदेशको गजल विधासम्बन्धी महत्वपूर्ण दस्ताबेज बन्न सक्ने बताउनुभयो ।

पछिल्लो समय प्रविधिको तीव्र विकासले साहित्य क्षेत्रमा समेत प्रभाव पारिरहेको उल्लेख गर्दै नेपालीले कृत्रिम बौद्धिकता (एआई) ले मानव अस्तित्वमै चुनौती थपिरहेको धारणा राख्नुभयो । यस्तो अवस्थामा साहित्यको औचित्य र महत्व स्थापित गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । नयाँ पुस्तामा साहित्यिक इतिहास र सिर्जनाको हस्तान्तरण हुन नसके त्यो इतिहास नै हराउने अवस्था आउन सक्ने भन्दै यसतर्फ ध्यान दिन पूर्वमन्त्री नेपालीले आग्रह गर्नुभयो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले प्राज्ञिक र परिणाममुखी कार्यक्रम गर्ने योजना अनुसार गोष्ठी आयोजना गरिएको बताउनुभयो । उहाँले यस कार्यक्रमको आयोजनाले प्रतिष्ठानको साहित्यिक अभियानलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय स्रष्टाले कृति तयार पार्दा विभिन्न झन्झट र समस्या भोग्नु परेको उल्लेख गर्दै कुलपति न्यौपानेले स्रष्टालाई सहज वातावरण निर्माण गर्न प्रतिष्ठानले पहल गरिरहेको जानकारी दिनुभयो । लेखकले तयार पारेका कृतिको विमोचन प्रतिष्ठानले गरिदिने सोच बनाएको भन्दै उहाँले त्यसका लागि कृति विमोचन हुनुभन्दा कम्तीमा १० दिनअघि प्रतिष्ठानमा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

अध्ययनका क्रममा त्रुटि नभेटिएमा मात्र विमोचन गरेर सहयोग गरिने उहाँको भनाइ थियो । कुलपति न्यौपानेले प्रतिष्ठानमा विभिन्न विषयमा गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारीसमेत दिनुभयो ।

सो कार्यक्रममा साहित्यकार शिव त्रिपाठी, दिलीप दोषी र रूपिन्द्र प्रभावी तथा प्राज्ञहरू कमल पौडेल ‘अथक’, इन्द्रमान खत्री, शान्ता बाँस्तोला र अनुराग अधिकारीसहित पूर्वमन्त्री नेपालीले गजल वाचन गर्नुभएको थियो । प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x