दामाेदर न्याैपानेउखान, इख र अङ्कलको टिभी
मौका पाउनासाथ बाकस खोल्छौँ, धुलो टक्टक्याउँछौँ र भन्छौँ, “यो कुरा म कहिल्यै बिर्सिन्नँ !” मानौँ रिस होइन, पुर्ख्यौली सम्पत्ति हो ।
दामोदर न्यौपाने :
नेपाल लगायत भारतिय मूलका मानिसहरूमा अरू जुनसुकै कुराको कमी भए पनि एउटा कुराको भने कहिल्यै कमी हुँदैन, त्यो हो उखान र इख । हामी सानैदेखि एउटा सुविचार सुन्दै हुर्कियौँ, “मान्छेमा इख र सर्पमा बिख हुनुपर्छ ।” इखलेने मानिसलाइ सफल बनाउँछ ।
सर्पले आफ्नो बिख कहाँ र कसरी प्रयोग गर्छ, त्यो त सर्पै जानोस् । तर मानिसले आफ्नो इख कहाँ, कहिले र कसरी साँध्छ भन्ने कुरा आजकल सामाजिक सञ्जालका रील, प्रवचन र प्रेरणादायी भिडियोहरूमा प्रशस्तै देखिन्छ । कतिपय भिडियो हेर्दा त लाग्छ, मानिसले आत्मज्ञान प्राप्त गर्नुभन्दा पहिले आफ्ना पुराना रिस र इखको बहिखाता राम्ररी मिलाएर दस्तावेजीकरण गरेर राखेको हुँदो रहेछ ।
भर्खरै एउटा बडो मार्मिक, अलि-अलि कारूणिक र धेरैजसो बदलाले भरिएको कथा मेरो मोबाइलमा प्राप्त भयो । कथा हुनुपर्छ त त्यस्तो ! बाल्यकालमा आर्थिक अवस्था कमजोर थियो । पाँच जनाको परिवार, एउटा सानो कोठा, बत्ती छैन, टिभी छैन । मनोरञ्जनको त कुरै छाडौँ, छिमेकीको घरबाट आउने टिभीको मधुर आवाज नै त्यसबेला घरको मनोरञ्जनको साधन थियो ।
यत्तिकैमा छिमेकी अङ्कलको घरमा एउटा स्यामस्वेत टिभी भित्रिएछ । त्यो समयको ब्ल्याक एन्ड ह्वाइट टिभी भनेको आजको ठूलो स्क्रिनको टिभीभन्दा कम प्रतिष्ठाको वस्तु थिएन । घरमा टिभी आउनु भनेको घरमा एउटा नयाँ सदस्य थपिनुजस्तै थियो ।
बालक पनि टिभी हेर्न अङ्कलको घर जान थाले । दुई महिनासम्म त अङ्कलले पनि स्नेही व्यवहार गरेछन् । छिमेकीको बच्चा हो, हेर्छ जान्छ भनेर उदारता देखाएछन् । तर एकदिन कताबाट हो कुन्नि, अङ्कलमा ‘अङ्कली बुद्धि’ पलाएछ ।
बालक घरभित्र छिर्ने बित्तिकै टिभी बन्द !
बालक बाहिर निस्किएपछि फेरि चालु !
आहा ! कस्तो बिजोग ! कस्तो मानसिक चोट ! आजको भाषामा भन्ने हो भने, बाल्यकालमै ‘इमोशनल ड्यामेज’ !
तर अङ्कललाई के थाहा, उनले त्यतिबेला टिभीको स्विच मात्र बन्द गरेका थिएनन्, एउटा बालकभित्रको इखको स्विच पनि अन गरिदिएका थिए ।
त्यसपछि सुरु हुन्छ महा-सङ्कल्प ।
घर पछाडिको नालीको किनारमा बसेर आँसु पुछ्दै बालकले भीष्मप्रतिज्ञा गरेछन्, “जबसम्म बाबाले घरमा टिभी ल्याउनुहुन्न, तबसम्म यो संसारको कुनै पनि टिभी हेर्दिनँ ।”
कस्तो दृढता !
कुरा टिभीको रिसबाट सुरु भएको थियो, तर त्यो झाँङ्गीएर देश बदल्ने कि जीवन बदल्ने भन्नेसम्म आइपुगेछ । त्यसपछि टिभी देखेछि आँखा बन्द । कुनै बसमा टिभी छ भने त्यो बसै नचढ्ने । ब्राह्मण परिवारको बालक भएकाले, सत्यनारायणको पूजा लगायतका धार्मिक अनुष्ठानमा यजमानी गर्न जाँदा टिभी भएको कोठामा छिर्दै नछिर्ने । कसैको घरमा टिभी बजिरहेको छ भने आफूलाई संसारकै ठूलो वैरागी सम्झिने ।
आज हामीले यसलाई ‘गोल सेटिङ’ भन्छौँ । त्यसबेला बालकले चाहिँ गोल सेटिङ होइन, गोलै टिभी नहेर्ने बनाएका रहेछन्, जुन उनको प्रवचनमा सुन्न पाइयो ।
अन्ततः एक-एक पैसा जोडेर एक वर्षपछि तीन हजार आठ सय रुपैयाँमा सेकेन्ड ह्यान्ड टिभी घरमा आइपुग्यो । टिभी भित्रिएको खुसीमा लड्डु बाँडियो । घरमा खुसी छायो । संयोग वस ति अङ्कलको घरको टिभी फुटेछ, र त्यो खुसीको लड्डु चाख्न पाएछन् । परिवारले सोच्यो, अब बालकको सङ्कल्प पूरा भयो, इखको अध्याय पनि सकियो ।
तर कहाँ !
इखले यति सजिलै अवकाश लिने भए त संसारमा यति धेरै प्रेरणादायी कथा कसरी बन्थे ? अब सङ्कल्पको दोस्रो अध्याय सुरु भयो, “सानो टिभी किन्दैमा मात्र कहाँ हुन्छ ? अब म आफैँ यो टिभीमा देखिनुपर्छ । अनि तिनै अङ्कलले मलाई टिभीमा हेर्नुपर्छ !”
यहीँनेर एउटा बाल्यकालीन चोटले करियरको दिशा पाएजस्तो देखिन्छ । टिभी हेर्न नपाएको पीडा अन्ततः टिभीमै देखिने महत्त्वाकाङ्क्षामा परिणत भयो ।
हामीलाई प्रायः भनिन्छ, जीवनमा लक्ष्य ठूलो राख्नुपर्छ । तर लक्ष्य किन राखियो भनेर कसैले सोध्दैन । कतिपय मानिसको लक्ष्य देश बनाउने हुन्छ, कतिपयको समाज बदल्ने । कसैको लक्ष्य संसार जित्ने हुन्छ, अनि कसैको लक्ष्य एउटै अङ्कललाई टिभीमा आफू देखाइदिने !
आज ती नायक ठूला पिठाधीश भएका छन् । करोडौँ भक्त छन् । प्रवचन सुन्न हजारौँ मानिस जम्मा हुन्छन् । जीवन, वैराग्य, क्षमा, मोह, अहङ्कार र आत्मज्ञानका गम्भीर प्रवचन हुन्छन् । तर ती गम्भीर प्रवचनको बीचमा बिचरा छिमेकी अङ्कल पनि कहिलेकाहीँ प्रकट हुन्छन् ।
अङ्कलले हिजोआज टिभीमा उनलाई हेर्छन् कि हेर्दैनन्, त्यो त अङ्कलै जानून् । सम्भवतः अङ्कलले रिमोट हातमा लिँदा अहिले पहिलेभन्दा धेरै सावधानी अपनाउँछन् कि ! कतै फेरि कुनै बालक भित्र पसेको त छैन भन्ने पनि हेर्छन् कि !
यता अङ्कलका नाति-नातिनाले भने आफ्ना बाजेको पुरानो ‘टिभी अपराध’को कथा प्रवचनमा सुन्दै लड्डु पचाइरहेका होलान् । बाजेले त्यतिबेला एउटा टिभी बन्द गरेका थिए, नाति-नातिनाले अहिले त्यसैको ब्याज तिरिरहेका छन् ।
यहाँनिर एउटा प्रश्न उठ्छ । मानिस जतिसुकै ठूलो ज्ञानी, ध्यानी वा पिठाधीश बने पनि बाल्यकालमा कसैले टिभी बन्द गरिदिएको रिस मनमा बोकेर जीवनभर त्यसैको कथा सुनाइरहने हो भने त्यो अध्यात्म हो कि पुरानो हिसाबकिताबको सार्वजनिक लेखापरीक्षण ?
हुन त हामी अध्यात्ममा क्षमा गर्न सिक्छौँ, मोह त्याग्न सिक्छौँ, अहङ्कार त्याग्न सिक्छौँ । तर पुरानो रिसचाहिँ किन हो कुन्नि, निकै माया गरेर राख्छौँ ।
पुरानो मोबाइल बिग्रियो भने फाल्छौँ, पुराना कपडा फाल्छौँ, घरमा ठाउँ नपुगे पुराना सामान बेचिदिन्छौँ । तर पुरानो रिस भने फाल्न मनै लाग्दैन । जति सम्झियो त्यति माया लागेर प्रकट हुने पुरानो रिसलाई बाकसमा वर्षौँसम्म सुरक्षित राख्छौँ । मौका पाउनासाथ बाकस खोल्छौँ, धुलो टक्टक्याउँछौँ र भन्छौँ, “यो कुरा म कहिल्यै बिर्सिन्नँ !” मानौँ रिस होइन, पुर्ख्यौली सम्पत्ति हो ।
मेरो आफ्नै कथा भने अलि फरक छ ।
समाजले भन्छ, “इख नभएको मान्छे कामै छैन ।” कसैले हेप्यो भने इख राख, कोही तिमीभन्दा अगाडि बढ्यो भने अझ ठूलो इख राख, छिमेकीले नयाँ घर बनायो भने इख राख, उसले नयाँ गाडी किन्यो भने इख राख, विदेश गयो भने झन् राम्रोसँग इख राख । अनि फेसबुकमा उसले आफू खुसी भएको फोटो राख्यो भने त इख राख्ने राष्ट्रिय कर्तव्य नै पूरा गर्नुपर्योइ !
तर म भने अलि अर्कै ग्रहबाट खसेको प्राणी परेछु कि क्या हो । कसैले सानोमा दुःख दियो, हेप्यो वा ढोका बन्द गरिदियो भने दुई दिन मन दुख्छ । तेस्रो दिन त्यो मान्छे सम्झिँदा पनि लाग्छ, “छाडिदेऊ, उसले पनि के गरोस् त !”
पछि तिनै दुःख दिने मान्छे बाटोमा भेटिए भने उल्टै अघि सरेर सोधिन्छ, “अङ्कल, सञ्चै हुनुहुन्छ ? चिया खानुभयो ?”
यस्तो व्यवहार देखेपछि कहिलेकाहीँ आफैँलाई शङ्का लाग्छ, मभित्र इख किन पलाउँदैन ? के मैले यो संसारमा जिउनै जानिनँ ? कि मेरो इख पनि कतै बाटोमै हरायो ?
तर फेरि सोच्दा लाग्छ, इख नहुनु पनि सबै ठाउँमा कमजोरी रहेनछ । कसैले हामीलाई चोट दियो भने त्यसको सम्झना बोकेर वर्षौँ हिँडिरहनु भनेको उसले दिएको दुःखको किस्ता आफैँ तिरिरहनु जस्तै हो । उसले घटना एकदिन गर्योय, हामीले त्यसलाई सम्झेर दस वर्षसम्म दोहोर्याःयौँ भने घाटा कसको भयो ?
उसले टिभी बन्द गर्योर, हामीले आफ्नो मनको टिभीमा त्यही दृश्य दस वर्षसम्म चलाइरह्यौँ, अन्तर यति मात्रै हो । अङ्कलले रिमोट चलाए, हामीले सम्झनाको रिमोट चलायौँ ।
त्यसैले कहिलेकाहीँ पुरानो कुरा बिर्सनु पनि एउटा प्रकारको बुद्धिमानी रहेछ । सबै कुरा सम्झिरहनुपर्छ भन्ने छैन । कतिपय कुरा बिर्सनकै लागि भएका हुन्छन् ।
अङ्कलले टिभी बन्द गरेको घटना एउटा बालकका लागि ठूलो चोट थियो होला । तर जीवन त्यही एउटा टिभीको स्विचमा अड्किएर बस्ने कुरा पनि त होइन ।
अन्ततः बालक ठूलो भयो, टिभी आयो, टिभीमा देखिने सपना पनि पूरा भयो । अङ्कलले हेरे कि हेरेनन्, त्यो छुट्टै कुरा भयो । तर यदि जीवनको यति लामो यात्रापछि पनि मनले त्यही पुरानो अङ्कललाई खोजिरह्यो भने एउटा कुरा चाहिँ पक्का हो, टिभीको स्विच त अङ्कलले बन्द गरेका थिए, तर मनको स्विचचाहिँ आफैँले बन्द गर्न सकेनौँ ।
त्यसैले इख साँधेर टिभीको पर्दामा छाउनु नराम्रो कुरा होइन होला, तर इख पचाएर कसैलाई फेरि मुस्कुराएर भेट्न सक्नुचाहिँ झन् राम्रो होला ।
अङ्कलहरूले टिभी बन्द गरून् या नगरून्, हाम्रो चिया र मुस्कान भने खुलै रहनेछ । अनि कहिल्यै अङ्कलसँग भेट भयो भने पुरानो हिसाबकिताब खोल्नुको सट्टा यति मात्र भनौँला, “अङ्कल, त्यो बेला टिभी बन्द नगरेको भए म आज यति ठूलो मान्छे बन्थेँ कि बन्दैन थिएँ होला ?”
अङ्कलले के जवाफ देलान्, त्यो सुन्ने इच्छा चाहिँ मलाई पनि छ ।
मेरो व्यक्तिगत तर्फबाट अङ्कललाई पनि नमन, इखालु नायकलाई पनि नमन । टिभीको रिमोट जसको हातमा भए पनि मनको रिमोट आफ्नै हातमा रहोस् ।
०००
जनकपुरधाम, धनुषा
Subscribe
Login
0 Comments
Oldest





































