रामकृष्ण ढकालकारण
ओहो ! भनेपछि त्यस्तो पो कारण रहेछ ! ल मैले बल्ल बुझें । अनि मेरो चित्त पनि बुझ्यो । पहिले आफ्नै धरातल राम्ररी नसम्झी अरूका आँखामा धूलो छर्नु त राम्रो होइन नि ।

रामकृष्ण ढकाल :
कविज्यू एउटा सानो झोला बोकेर आई बाटोमा पर्ने निबन्धकारको घरमा पसेर घण्टी बजाउँछन् । निबन्धकार पनि घरमै रहेछन् । उनले आएर ढोका खोली कविज्यूलाई नमन गर्दै भित्र लगि बैठक कोठामा बसाउँछन् । दुवैजना समसामयिक साहित्यिक गतिविधिको विविध पक्षमा कुरा गर्न शुरू गर्छन् । कुराकानीकै बीचमा –
निबन्धकार :- साँची थाहा पाउनुभो कविज्यू हाम्रो देशका हास्यकलाकारहरूको समूहले अब हास्य धाराबाहिक शृङ्खलाहरू अबदेखि नबनाउने रे ।
कवि :- हैन निबन्धकारजी किन के कारण परेछ त्यस्तो ?
निबन्धकार : अस्ति भर्खरमात्र शहरको एउटा प्रज्ञाप्रतिष्ठानले के सूचना निकालेछ भने यो साल हाम्रो शहरभित्र रहि बसि साहित्य सिर्जना गरिरहनुभएका व्यक्तित्वहरूले आफूले बिगतको वर्षभरिमा प्रकाशन गरेका कृतिहरू अबको तीन महिनाभित्र हाम्रो प्रज्ञाप्रतिष्ठानमा ल्याएर बुझाउनु होला । ती कृतिहरू मध्येबाट छानेर उत्कृष्ट ठहरिएको कुनै कृतिलाई एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरिनेछ भन्ने सूचना निकालेछ नि त !
कवि:- त्यतिले गर्दा हास्यकलाकारहरूले धाराबाहिक शृङ्खला बनाउनै रोक्नुपर्छ त ?
निबन्धकार :- सुन्नुस् कविज्यू ! पहिलो कुरो त त्यो प्रज्ञाप्रतिष्ठानमा बहालवाला साहित्यकारहरू आफैं खुल्ला र पारदर्शी प्रतिष्पर्धा बिना झोले भएको भरमा राजनीतिक आफन्तवादको कुख्यात शैलीमा नियुक्त भएका हुन् । अर्को कुरो ती साहित्यकारहरूले जीवनका अन्य कालखण्डमा पनि समाजबाट स्याबासी पाउने कुनै गतिलो राम्रो कर्म गरेका उदाहरण छैन । त्यसपछि साहित्यिक हुँ भन्ने अनि अघोषित चाकरी चाप्लुसी जिहजुरी लोलोपोतो आदिमा ती निर्लिप्प छन भन्ने गाइँगुइँ शहरभरी छँदैछ । अझ समाजले थुकेका नशा र अम्मल ती साहित्यिकका अत्यन्त घनिष्ठ साथी । राजनीतिक वा पारिवारिक आफन्तवाद बाहेक स्वच्छता निष्पक्षता पारदर्शिता आदि विषय तिनले सपनामा पनि सुन्न चाहँदैनन । अर्को कुरो ती तिनै घागडान साहित्यकार हुन् जो समयले नालीतिर पन्छाउँदै गरेका देशका पुराना ठूला भनिएका तर भ्रष्टाचार जस्ता कुकर्ममा अत्यधिक गाडिएका दलहरूका अनन्य भक्त छन् । अब तिनैको संस्थाले उत्कृष्ट कृति छान्ने सूचना निस्किएपछि तिनीहरूलेभन्दा बढी जगत हँसाउने यो देशमा अरू को हुन्छ र हास्यकलाकारहरूको धाराबाहिक चल्नु ?! अनि नचल्ने भएपछि ती कलाकारले पो बेकारमा किन खर्च र दुख गरिरहनु ?!
कवि :- ओहो ! भनेपछि त्यस्तो पो कारण रहेछ ! ल मैले बल्ल बुझें । अनि मेरो चित्त पनि बुझ्यो । पहिले आफ्नै धरातल राम्ररी नसम्झी अरूका आँखामा धूलो छर्नु त राम्रो होइन नि ! प्रज्ञाप्रतिष्ठानमा घुस्यौं भन्दैमा कसैले केही पनि बुझ्दैन भन्दैन हामीले जे गरे पनि हुन्छ जसो गरे पनि हुन्छ भन्ने सोच राख्नु विद्वानहरूका लागि कत्ति पनि सुहाउँदो होइन । ल हजुर म त त्यहाँ पर उपन्यासकारजीलाई भेट्न हिँडेको बाटो परेर मात्रै तपाईंकोमा यस्सो पसेको । अहिलेलाई म हिँडेँ । नमस्कार ।
०००
२०८२ चैत ११
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































