साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डोजर पुराण

कोही नेपाली जो डोजर विकासबाट आर्जित भएका छन् । कसैले तिनै चिरञ्जीवी नेताको आयु अझै बढाएका छन् ।

Nepal Telecom ad

सुरुभि भट्टराई :

हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको व्यवस्थापक बाङ्गा अक्षरले आयोजना गरेको विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगता २०८२ का उत्कृष्ट पन्ध्र निबन्धहरू फित्कौलीले  प्रकाशन गरिरहेकाे छ। यसले विद्यालय र कलेज तहका विद्यार्थीलाई हास्यव्यंग्य निबन्ध लेखनमा प्रेरणा जगाउने अपेक्षा गरिएको छ ।

युगौँदेखि हामी अठार पुराणका नाम सुन्दै आएका छौँ । अठार पुराण भएको कुरा त सबैलाई थाहा छँदै छ । तर यो साफ झुट हो । अठार होइन, हामीसँग उन्नाइस पुराण रहेका छन् । हामी ती अठार पुराणमध्येका सर्वोच्च पुराणलाई महापुराणको दर्जा दिन्छौँ । तर, यो उन्नाइस पुराणको नाम हो ‘श्रीमद् डोजर अति महापुराण’ ।

यो ग्रन्थ सबैभन्दा जेठो र सबैभन्दा शक्तिशाली पुराण हो । डोजर अति महापुराणका श्लोक यति गहकिला छन् तिनको अर्थ लगाउँदा समाजको वास्तविकता बुझिन्छ रे । अझ भन्नै पर्दा त जसले समाजको वास्तविकता बुझेको हुन्छ उसले समाजका मानिस बुझेको हुन्छ । जसले समाजका मानिस बुझेको हुुन्छ, उसले समाज चलाएको हुन्छ । भनेपछि त यस्तो देखियो कि जसले डोजर अति महापुराणको श्लोकको अध्ययन गरेको छ, उसले समाज चलाएको छ । यस प्रसङ्गलाई पनि प्रस्ट पार्ने छौँ । ध्यान दिनुहोला यो पुराणको सारांश मात्र हो । यद्यपि यो सारांशै बुझ्नलाई निम्न उल्लेखित विधिको प्रयोग गर्नुहोस् । ढाड सिधा गर्नुहोस् । हातमा पैसा लिनुहोस्। उपरखुट्टी लगाउनुहोस् । हातको पैसा गन्नुहोस् । हातमा पैसा जति छ त्यति नै पटक यी तलका मन्त्रको उच्चारण गर्नुहोस् ।
ॐ जय श्री रुपियाँ मुठायै नमः
ॐ जय श्री अति महापुराणायै नमः
ॐ जय श्री महाडोजरायै नमः
ॐ जय श्री पुराणभक्तायै नमः
ॐ श्री ज्ञानम् प्राप्तायै नमः
यो विधि गरेपछि मात्र अब आउने वाक्यको अर्थ लगाउन सकिन्छ तर यदि यस विधि नगरी पनि अर्थ लाग्यो भने त्यसको छुट्टै प्रसङ्ग हुन्छ । त्यसमा पनि हामी स्थानीय बुद्धिमान्, सज्जनमान्, ठगमान् लगायत डोजरे भुँडीमान्‌लाई साक्षी राखेर जाने छौँ । डोजर अति महापुराणको अध्ययनबाटै धेरै मानिस जीवनमा अकाल्पनिक उचाइमा पुगेका छन् । ती मानिस केवल छ शब्दमा आस्था राख्छन् । यी छ शब्दमा नै यस अजबको ग्रन्थ अडिएको छ । सारा पुराणको दिव्य ज्ञान यिनै छ शब्दमा समेटिएको छ । यी छ शब्दलाई म डोजरवादको सिद्धान्त भन्छु । डोजरवादको सिद्धान्तले भन्छ ‘जहाँ डोजर हुन्छ, त्यहाँ विकास हुन्छ ।’

यो ब्रह्माण्डव्यापी सत्य हो । आर्य सत्यमध्येको पनि सत्य हो । यी छ शब्दकै वरिपरि डोजर अति महापुराण बेरिएको छ । हामी नेपाली हुनुमा गर्व गर्छौँ । हामी नेपाली आफ्नै मौलिकता, विविधता र इतिहासबारे धाक लगाउन सिपालु छौँ तर नेपालको बारेमा अझ महान्‌् अर्को कुरा छ । डोजरवादको सिद्धान्त ब्रह्माण्डभरि सत्य रहे पनि हाम्रो नेपाली धरतीमा भने अरू ठाउँभन्दा अझ बढी सत्य रहन्छ । के गर्नु, यसको बारेमा त कसैले धाक लगाएको देखिँदैन । नेपालकै धर्तीमै डोजरवादको सिद्धान्त किन विशेष रहन पुग्यो, सोध्नुहोला । त्यसको उत्तर पनि छ । तपाईंलाई अवश्य याद होला कि सुरुको मन्त्रमा हामीले पुराणका भक्तहरूलाई पनि स्मरण गरेका थियौँ । तिनै भक्तहरूले यस भूमिलाई पवित्र पारेका हुन् । अब को हुन् ती भक्त भन्ने प्रश्न उठ्ला ? ती भक्तसँग डोजर अति महापुराणको श्लोकहरूको राम्रो ज्ञान छ । ती भक्तहरूलाई सम्बोधन गर्ने शब्द पनि छ ।

यस्ता भक्तजनलाई हामीले समाजमा मान दिएर राखेका छौँ । धेरै मानिसले यसमाथि प्रश्न उठाउने हिम्मत गरेका पनि छन् । तर, यिनीहरूलाई डोजर अति महापुराणबारे ज्ञान थिएन । यस्तो शक्तिको कल्पना गर्न सकेनन् । डोजर अति महापुराणका श्लोक पढेका मानिस यस्ता छन् कि उनीहरूले कानुनको पालना गर्नुपर्दैन । कानुनले उनीहरूको पालना गर्छ । उनीहरूले राज्यलाई राजस्व तिर्दैनन् । राज्य उनीहरूलाई राजस्व तिर्छ । यी मानिसलाई तपाईँ पनि चिन्नुहुन्छ । म पनि चिन्छु । यिनीहरू नयाँ अनुहार होइनन् । यी यस्ता खतरनाक वर्गलाई म मेरो भाषामा ठेकेदार भनेर चिन्छु । तपाईँले पनि आफ्नो भाषामा त्यस्तै केही शब्दले चिन्नुहोला ।

हाम्रो समाजले मलाई यति चाहिँ सिकाएको छ । केवल ज्ञान मात्र भएर कोही शक्तिशाली हुँदैन । यिनीहरू पनि केवल ज्ञान मात्रले सफल भएका होइनन् । यसको पछाडि अर्को कथा छ युद्धको । दुईजना दाजुभाइ थिए पर्वत र वन । यी दुवैजना धनी राजा थिए । एकदिन ठेकेदारले डोजर पुराणमा रहेको एउटा गोप्य विधिको प्रयोग गरे । यो विधिको नाम थियो डोजर आयात । यो विधि सिद्ध भएर नै डोजर विधि प्रकट भएको थियो । वनजङ्गलका गतिला रुख, ढुङ्गा, बालुवाका साथै खोलाखोलामा डोजरले ताण्डव देखाएपछि राष्ट्रका टाठाबाठा सबैको भुँडी ठुलो हुने नै भयो ।

वातावरणको रक्षाको लागि सरकारले काम पनि पायो । विकासको लहर फैलियो । यसै क्रममा पर्वत र वनका राज्यका जनताले आन्दोलन सुरु गरे विकासको माग गर्दै । आन्दोलनले चरम रूप देखाउन थालेपछि पर्वत महाराज आफ्नो भाइ कहाँ सरसल्लाह गर्न गए । दुवै जनालाई थाहा थियो, यी मानिसहरूलाई चाहिएको विकास दिलाउन साह्रै कष्टकर हुन्थ्यो । यी दुवैलाई आफ्नै हाट र मासुलाई ताछेर दिने बाहेक कुनै उपाय थिएन । निकै कष्ट गरी दुईजनाले आन्दोलन दबाए । यही समयमा त्रसित मानिस डराएर बसे भने ठेकेदारहरूले वीर सिपाही जस्तै डोजर लिएर युद्धको घोषणा गरे ।

युद्ध निकै चर्को रह्यो । डोजरले पर्वतका छाती, ढाड आदिमा चोट पार्दै गयो । भगवान्‌ले पर्वतलाई विशेष वरदान दिएका थिए । आफू घाइते भएको अवस्थामा पर्वतले अस्त्र प्रयोग गर्न सक्थ्यो । यो अस्त्रको नाम थियो पहिरो । डोजरले पर्वतको कुनै पुकारा नसुनेपछि अवस्था गम्भीर बन्यो । पर्वतले आफू मरणासन्न अवस्थामा पुगेपछि पहिरो अस्त्र प्रयोग अनगिन्ती रूपमा गर्यो । कयाँै डोजर पहिरो अस्त्रका सहिद पनि बने ।

उता उनको भाइको अवस्था भने झन् नाजुक थियो । वन महाराजको अस्तित्व बिस्तारै मेटिँदै थियो । जुन मानिसको लागि युद्ध भइरहेको थियो । जुन विकास हासिल गर्न कयौं डोजरले आफ्नो ज्यान गुमाइरहेका थिए । ती सबै व्यर्थमा भइरहेको जस्तो अनुभूत हुन्थ्यो । मानिसले त आन्दोलन विकासका माग राखेर गरेका थिए । युद्धका लागि गरेका थिएनन् । बिस्तारै जन आक्रोश तिनै ठेकेदार माथि चढिरहेको जस्तो थियो । यो कुरा दुई दाजुभाइले बुझे । वनले आफ्नो शक्ति गुमेको बोध गर्यो । अन्तिम प्रहारको रूपमा उसले आफ्नो रुख सेनालाई पहिरो अस्त्रसँग मिसिन पठाए । पहिलो अस्त्र झनै डरलाग्दो भयो । समय अझै बढ्दै गयो । ठेकेदारहरू आत्तिए । उनीहरूसँग मानिसको विश्वास थिएन । युद्धका लागि समर्थन थिएन । उनीहरूलाई समाधान चाहिएको थियो । भाग्यवश समाधान पाए तिनै मानिसहरू बिचबाट ।

ठेकेदार वर्गका प्रतिनिधि, डोजर गणका जनरल र ती मानिसहरू आपत्कालीन बैठक बसे । यो बैठकको घोषणाले संसार हल्लायो । डोजर अति महापुराणमा यसको छुट्टै खण्ड छ । त्यस्तो महान् बैठक थियो । यो बैठकको उद्देश्य सरल थियो । ठेकेदार र डोजरका सरोकारका विषय सम्बोधन गर्ने क्रमलाई कसरी युद्धमा मिसाएर विकासको रूपमा देखाउने । सुन्दा घुमाउरो सुनिन्छ । तर, भयो ठ्याक्कै यस्तै । डोजर जनरलले आफ्नो गुनासो पोख्यो । पहिरोको प्रभावले डोजरहरू चल्ने युद्ध मैदान निकै नै छियाछिया भएका थिए । यसकारण धेरै डोजरको हातखुट्टा भाँचिने, मर्किने घटना भएका थिए रे । उसलाई यस मर्काको समाधान चाहिएको थियो । ठेकेदार वर्गलाई भने युद्धलाई विकासको रूपमा कसरी देखाउने मात्र चिन्ता थियो । तिनीहरू भाग्यमानी थिए । बैठकको तेस्रो पक्षले समाधान निकाल्यो ।

समाधान यस्तो थियो । बर्खा समयमा बाटो चिप्लो हुने हुँदा त्यतिखेर डोजर चलाइने निर्णय भयो । मध्य बर्खामा त्यस्तो बाटोमा कालोपत्र लगाइनुपर्ने भयो । त्यसपछि हरेक हिउँदको अन्त्यमा त्यो कालोपत्र भत्काइनुपर्ने पनि घोषणा भयो । अब यी मानिसहरूको प्रतिभा अद्भुत चमत्कारमा परिणत भयो । यही बैठकबाट नै डोजरवादको सिद्धान्तको उत्पत्ति भएको हो । यी छ शब्दलाई यो प्रसङ्गसँग नजोड्दा सबैथोक मिल्छ । जब कालोपत्र भत्काइन्छ तब डोजर चल्छन् । डोजरवादको सिद्धान्तअनुसार जहाँ डोजर चल्छ, त्यहाँ विकास हुन्छ । बर्खामा जोजल चल्दा टाठा मानिसहरूको विकास भइरहेको बुझिन्छ । बर्खाको अन्त्यमा जब कालोपत्र ओछ्याए जस्तो गरिन्थ्यो तब विकासको परिणाम देखिएको बुझिन्थ्यो । हरेक वर्ष यही चक्र चलिरहन्थ्यो । विकासको यस अवधारणालाई डोजरे विकास भनिन्छ र यो मात्र नेपालमा पाइन्छ । कस्तो भाग्यमानी छाँै हामी यस्तो महान् देशमा जन्म लिने ।

यस घोषणालाई युद्धको प्रसङ्गसँग जोडौँ । जब बर्खाको सुरुमा पहिरो अस्त्रको प्रयोगबाट कालोपत्र ध्वस्त हुन्थ्यो तब त्यसको दोष पर्वतलाई लगाउन पाइन्थ्यो विकास नष्ट गरेकोमा । यसकारण मानिसले अनजानमा पर्वतविरुद्धको युद्धमा जोडदार समर्थन दिन थाले । अब युद्धको प्रतिपक्षमा त वन पनि थियो । त्यतिखेर त्यही बैठकले वनमा पाइने काठ, जनावर, जडीबुटी इत्यादिको व्यापार गर्दा हुने फाइदाबारे एउटा चेतना मूलक पम्प्लेट पनि जारी गरे । पम्प्लेटको शीर्षक थियो ‘हरियो वन नेपालको धन ।’ यति गरेपछि अब पहाड र वनको साम्राज्य ढल्यो । त्यस दिनदेखि प्रकृतिको शासन सकियो । जहाँ शासक आए जनताले चुनेका । ती महापुरुषलाई भगवान् जस्तै पुज्थे जनताहरू । उनीहरूको शक्ति असीम छ । आफ्नै शासक भनेर उनीहरूलाई जनताले यो शक्ति दिए । जनताबाट पाएको शक्तिको केही भाग उनीहरूले ठेकेदारलाई पनि दिए । यी शासक दीर्घजीवी पनि रहेछन् । पुराणको बैठक खण्डमा जसजसको वर्णन गरिएको छ, तिनै मानिसहरू अझैसम्म हामी माझै छन् । यस्ता चतुर मानिस जो युद्धलाई विकास भनेर बेच्न सक्छन्, जो कालोलाई नै सेतो बनाइदिन सक्छन् । ती मानिसलाई म नेता भन्छु । तपाईँ पनि त्यस्तै केही भन्नुहोला ।

शक्तिको खेलमा यिनीहरू माहिर रहेछन् । उनीहरूले देख्नुसम्मको देखिसकेका, भोग्नुसम्मको भोगिसकेका र गर्नुसम्मको गरिसकेका छन् । नेता शक्तिको पनि एउटा विशेष गुण रहेछ । जो कोही मानिस यो शक्ति प्रयोग गर्न पाउँदैनन् वा वञ्चित हुन्छन् । ऊ त्यसको घृणा गर्छ । तर, जब त्यही मान्छे शक्तिको पहुँचमा पुग्छ तब ऊ बितेका कुरा देख्दैन । डोजर अति महापुराणमा रहेको अर्को वास्तविकता यो पनि हो ।

अब नेता युगको उदय त भयो । यिनीहरू आफ्नो शक्ति जमाउने अभियानमा लागे । उनीहरूको मुख्य औजार डोजर थियो । त्यो आज्ञाकारी, अल्पहारी डोजर त्यो नै रिसाहा र मिचाहा डोजर । उही विकासको प्रतीक, उही विकास भाड्ने भँडुवा । डोजरको वास्तविक चरित्र त डोजर अति महापुराणको करोडौँ शलोकमा पनि समेट्न सकेको छैन भने म त के सक्थेँ । नेताको शक्ति जमाउन र भुँडी बढाउन डोजरले खुब मद्दत गर्यो । डोजर गणको नयाँ युद्ध मैदान सहर बन्यो । नयाँ न्यायधीश उसलाई बनाइयो । नेताका विरोधीको घर जग्गा तोड्नु उसको दैनिकको काम थियो । अब यस्ता महान् जनताले मानेर राखेका पर्वतलाई युद्धमा हराउन सक्ने, रातारात वनलाई बेच्न सक्ने नेताको विरोधमा जाने हिम्मत कसरी आयो होला ?

यी मानिस पनि साह्रै पाखण्डी रहेछन् । पहिले एउटालाई चुनेपछि उसलाई टिक्न त दिनुपर्छ नि । उनीहरूलाई पर्वत र वनको शासन मन परेन । उनीहरूले ठेकेदार मार्फत युद्धको घोषणा गरे । युद्धबाट विकास नदेखिएपछि तिनै ठेकेदार विरुद्ध उठौँला झैँ गरे । नेतालाई समाधानको रूपमा ल्याए तर नेतालाई पनि डोजरको प्रयोग गर्न बाध्य बनाए । अहिलेको पुस्ता धन्य छन् । धन्य छन् किनभने उही पौराणिक युगदेखि शासन गर्दै आएका चिरञ्जीवी नेता र उही युद्धबाट विजयी भएर आएको डोजर सेनालाई देख्न पाएका छन् । एउटा कुरा भने उनीहरूले आफ्ना पुर्खाबाट सिकेका रहेछन् । उनीहरूका बाउ बाजेले त नेताका महान् घोषणा र भीषण लडाइँ प्रत्यक्ष देखेका थिए । अन्यायका लागि दरिलो भएर खडा हुन्थे ।

डोजर अति महापुराणको सुरुमा नेपाली मानिस परीक्षण विधि भन्ने विधि रहेको छ । त्यस विधि जसले गर्छन् ती मानिस महान् हुन्छन् नेता, ठेकेदार, डोजर र युद्ध विकासबाट माथि उठिसकेका हुन्छन् । जस जसले त्यस विधि गर्दैनन् ती मानिस उपरोक्त अनुच्छेदमा वर्णन गरिएका नेपाली मानिस हुन्छन् । जो चौबिसै घण्टा किचकिच गर्छन् तर समाधानतिर जाँदैनन् । यदि तपाईँ कुन वर्गमा पर्नुहुन्छ भन्ने कुरा थाहा पाउन मन छ भने यही निबन्धको तेस्रो अनुच्छेदबाट फेरि पढ्न थाल्नुहोस् । यति कुराको बोध हुनु नै किचकिचेपनको एउटा समाधान हो । यदि त्यसो पनि गर्न चाहनुहुन्न भने बधाई छ । तपाईँ नेपालीको बिउ हुनुहुँदो रहेछ । कोही नेपाली जो डोजर विकासबाट आर्जित भएका छन् । कसैले तिनै चिरञ्जीवी नेताको आयु अझै बढाएका छन् ।

मैले सुरुमै भनेको थिएँ जसले डोजर अति महापुराणको सार बुझेको छ त्यसले हाम्रो समाज हल्लाउँछ । डोजरमा अति महापुराणको सार त मैले तपाईंको हातैमा बुझाएको छु । मेरो आशीर्वाद तपाईंसँग छ । अब मैले यसलाई धेरै लम्ब्याउन चाहिनँ । नेता र ठेकेदार साह्रै बाठा हुन्छन् । उनीहरूको गोप्य ज्ञान सार्वजनिक भएको थाहा पाए भने डोजर सेना मेरै ढोका ढकढकाउन आइपुग्न सक्छन् । तर म अन्तिममा एउटा ज्ञान भने दिन्छु । यो त डोजर अति महापुराणको अति छोटो सारांश मात्र भयो । यदि यसको पूरा ग्रन्थ चाहिएको छ भने हरेक मानिसलाई ‘बुद्धि’ भन्ने पुस्तकालयमा निःशुल्क प्रवेश छ । मैले पनि त्यही पुस्तकालयको सिर्जना कक्षामा यो महापुराण लेखेको हुँ । तपाईँ पनि फुर्सदमा बुद्धि नामक पुस्तकालय जाँदा हुन्छ । जय डोजर पुराण । तपाईँहरू अमर रहनुहोस् अथवा नरहनुहोस् तर डोजर अति महापुराण अमर रहोस् ।

०००
कक्षा : १०, मातृभूमि स्कुल सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
रकिब !

रकिब !

धनराज गिरी
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x