फित्काैली डटकमसुकुम्बासी सुर्ता
उज्यालो दिनको खोजी, गर्दै कैयौँ जुनी बिते । यो देशका सुकुम्बासी, सुर्ता बोकी सयौँ बिते । आयो- गयो भलै होला, सुर्ता कहाँ बसोस् स्थिर । सुकुम्बासी दिगो बस्ती, बसाएर हटोस् पिर ।

प्रेम घिमिरे “अग्निकवच” :
आउँदोछ सधैँ सुर्ता, जान्छ त्यसैगरी सदा ।
घरवास बिना घुम्दो, सुकुम्बासी पर्यो बरा ।१।
मनभित्र मझेरी छ, त्यहीँ डेरा फराकिलो ।
जमाएर बसेको छ, अशान्तिको दुखी पिलो ।२।
खोला किनारमा पुग्दा, झुप्रो त्यहीँ ठड्याउँछ ।
बाढी आयो भने देखि, आफैँलाई बगाउँछ ।३।
खाँदा डोजरको धक्का, अशान्तिमै रमाउँछ ।
पीडाको आँसु बोकेर, झुप्रो नयाँ बनाउँछ ।४।
आशाको बीउ उम्रिन्छ, माटोमा पुरिए पनि ।
सुर्ताको जीवनी चल्छ, आँधी आई उँडे पनि ।५।
फर्किरह्यो किनारामा, बाढी आई बगाउँदा ।
हाँसिरह्यो अँध्यारोमा, सपनाले सजाउँदा ।६।
भोक-प्यास भए साथी , जाडो- गर्मीसँगै तन ।
भरोसाको दियो साक्षी, बलिरह्यो मनैमन ।७।
उज्यालो दिनको खोजी, गर्दै कैयौँ जुनी बिते ।
यो देशका सुकुम्बासी, सुर्ता बोकी सयौँ बिते ।८।
आयो- गयो भलै होला, सुर्ता कहाँ बसोस् स्थिर ।
सुकुम्बासी दिगो बस्ती, बसाएर हटोस् पिर ।९।
०००
Subscribe
Login
0 Comments
Oldest












































