शरच्चन्द्र वस्तीजुलूसहरूका पछाडि
चित्रगुप्त मुस्कुराए, ‘सबैथोक अर्काको पाउमा चढाइसकेपछि सिंहासनको आस चाहिं केको आधारमा गर्नु नि ?’ ‘ज्योतिषीले पाउँछस् भन्या छन् । कसरी अविश्वास गर्नु ?’ टोलीले अट्टहास गर्यो, र....

शरच्चन्द्र वस्ती :
अदालतमा मुद्दा चलिरहेको थियो र अदालत बाहिर जुलूस निस्किरहेको थियो ।नेताहरू अनौठा थिए । राजनीतिको मुद्दा अदालतमा सल्ट्याउन खोज्थे, अदालतको मुद्दा सडकमा छिनोफानो गर्न खोज्थे ।
आफ्नो मुद्दा आफैं सल्ट्याउने सामर्थ्य थिएन । त्यसैले अदालत जान्थे । अदालतमा विश्वास थिएन । त्यसैले सडक तताउँथे । सडकमा पनि विश्वास थिएन । त्यसैले राति राति प्रभुहरू गुहार्थे । आफ्नो छायाबाट आफैं डराउँथे । त्यसैले दिउसो नारा लगाउँथे— हामी स्वतन्त्र छौं ।
‘चोरको खुट्टो काट्’ भन्दा खुट्टो उचालेपछि चोर चिनिएको कथा तिनलाई कण्ठस्थ थियो । त्यसबाट तिनले प्राप्त गरेको शिक्षा थियो— कसैले केही भन्नुभन्दा पहिले नै खुट्टा उचालिराख्नुपर्छ, त्यति गरेपछि चोर भनेर कसैले चिन्दैन । त्यसैले वेलाबखत भनिरहन्थे— जनता सर्वोपरि छ । हामीलाई जनतामा विश्वास छ । अदालत स्वतन्त्र छ । हामी अदालतको सम्मान गर्छौं ।
यू–ट्यूबे पत्रकार गोपुलठ्याकले, जसको छोटकरी नाम गोपु थियो, अदालतमा मुद्दा हालेर सडकमा पुगेका दुई नेतालाई एकसाथ सोध्यो, ‘तपाईंहरूको विश्वास केमा ? अदालतमा कि सडकमा ?’
एउटाले भन्यो, ‘अदालतमा ।’
‘त्यसो भए अदालतलाई काम गर्न दिनोस् न । सडक किन तताउनुपर्यो ?’
अर्काले भन्यो, ‘सडकमा ।’
‘त्यसो भए सडकमै बस्नोस् न । अदालत किन जानुपर्यो ?’
दुवैले मुखामुख गरे । गोपुले भन्यो, ‘सँगै सडकमा आइपुग्नुभा छ । एउटै जवाफ दिनोस् न ।’
एक छिन सल्लाह गरेर उनीहरूले गोपुको कानमा साउती गरे । एउटाले दाहिनेमा, अर्काले देब्रेमा । दुवैको भनाइ एउटै थियो : तपाईंलाई के ढाँट्नु ? विश्वास त सिंहासनमा मात्र छ । जसरी भए पनि सिंहासन मैले पाउनुपर्यो । न्याय भनेको यही हो ।
जति सानो स्वरमा साउती गरे पनि एकले अर्काको कुरा सुनेछन् । ‘मलाई धोखा दिने ?’ भनेर पाखुरा सुर्कन थालिहाले । गोपु ‘यो तमाशा त दुई–तीन महीना पछिलाई बाँकी राख्नोस् न कमरेड’ भन्दै अर्कातिर लाग्यो । अर्को सडकमा अर्को पक्षका नेताहरू नारा लगाइरहेका थिए, अझ अर्कोमा अर्को पार्टीका । सडकको एउटा पेटीमा कमरेडहरू धर्मलाई अफीम भन्दै सराप्दै थिए, अर्को पेटीमा तिनका कार्यकर्ता रामनामी ओढेर हवन गरिरहेका थिए— आफ्ना नेताको राज्यारोहणका लागि ।
तमाम तमाशा हेर्दै गोपुको त्यो दिन रमाइलोसँग बित्यो ।
उता, न्यायाधीश भने तनावमा थिए । मुद्दा कसरी निरूपण गर्ने, उनलाई सुझिरहेको थिएन । उनले पढेको विद्या काम नलाग्ने भइसकेको थियो । बेलुका चाँडै सुत्न गए, तर रातभरि निद्रा परेन । बिहान पनि तनावमै बित्यो । चार गाँस पेटमा हालेर अदालत जाँदा उनी गाडीमा झुपुझुपु निदाइरहेका थिए ।
छोटो बाटो भनेर वाग्मती किनारबाट आइरहेको गाडी, अचानक दुई जना सामुन्ने आएपछि झ्याप्पै रोकियो । दुवै जना ढोका खोलेर गाडीमा चढे । एउटा बूढो थियो, छातीसम्म सेतो दारी झुन्डिएको । अर्को दारी–जुँघा सिनित्त पारेको तन्नेरी थियो, हातमा ल्यापटप झुन्ड्याएको ।
‘के हो तपाईंहरू ? किन जबर्जस्ती मेरो गाडीमा ?’ अगाडिको सीटमा बसेको अंगरक्षक ‘एक्शन’ मा उत्रनुअघि नै न्यायाधीशले सोधे । बूढाको सौम्य अनुहारले उनलाई कड्किन दिएन ।
‘नडराउनोस् बाबु, हामी तपाईंलाई नै सहयोग गर्न आएका,’ बूढाको स्वर स्नेहसिक्त थियो, ‘म चित्रगुप्त, यिनी मेरा सहयोगी चित्रसेन ।’
‘को चित्रगुप्त ?’
‘उही यमलोकको चित्रगुप्त, मानिसको पाप–पुण्यको हिसाब राख्ने ।’
न्यायाधीश जिल्ल परे । र भने, ‘चित्रगुप्तसँग पनि ल्यापटप ?’
‘खाताको ढड्डा भन्दा यो कहाँ हो कहाँ सजिलो नि । खोजेको कुरा पनि झट्टै भेटिने,’ बूढा मुस्कुराए, ‘ल हिंड्नोस्, नेताहरूकहाँ जाऊँ । सबै त सिंहासनकै लागि लडिरहेका हुन् क्यारे । तिनका कुरा बुझेपछि तपाईंलाई दूधको दूध, पानीको पानी गर्न सजिलो हुन्छ ।’
‘जान त जाने, तर पार्टीको एक नम्बरकहाँ मात्र जाने । अनि जसकहाँ जाने हो, उसको एउटा पुरानो कार्यकर्तालाई पनि सुटुक्क आफूसँगै लिएर जाने,’ चित्रसेनले प्रस्ताव राख्यो ।
‘ठीक छ । तिमी पनि कम चलाख छैनौ,’ चित्रगुप्त कुरा बुझेर मुस्कुराए ।
सबैभन्दा पहिले उनीहरू कमरेड पाँच हजारकहाँ पुगे । उनी जुँघामा कालो लगाउँदै रहेछन् । चित्रगुप्तले सोझै प्रश्न गरे, ‘तपाईंलाई किन चाहिएको हो सिंहासन ?’
‘लोकतन्त्र ल्याउन भनेर मैले त्यत्रो महान जनयुद्ध गरें । यसको सिंहासनमा त म छउन्जेल मेरै हक लाग्छ नि ।’
‘झूट नबोल्नोस् कमरेड,’ चित्रगुप्तसँगै भित्र छिरेको पुरानो कार्यकर्ता, जसको एउटा खुट्टो थिएन, जंगियो, ‘तपाईंले संसदीय व्यवस्था खारेज गर्न भनेर हामीलाई लडाइँमा होम्नुभएको होइन ? अब त्यही संसदीय व्यवस्थाको सिंहासन खोज्ने ?’
चित्रसेनले ल्यापटपमा हेर्यो र भन्यो, ‘यिनी सत्य बोल्दैछन् ।’
चित्रगुप्त मुस्कुराए, ‘आफूले ल्याउन खोजेको व्यवस्थामा पो सिंहासन खोज्ने । भत्काउन खोजेको व्यवस्थामा सिंहासन खोज्न त सुहाउँदैन नि कमरेड पाँच हजार !’
कमरेड अवाक् भए । उनलाई त्यही अवस्थामा छाडेर टोली कमरेड विद्यावारिधिकहाँ पुग्यो । उनी कुकुरलाई नुहाइदिंदै थिए । चित्रगुप्तले सोधनी गरे, ‘तपाईं पनि सिंहासनकै ताकमा हुनुहुन्छ क्यारे । होइन ?’
‘म विद्यावारिधि । म जति पढेको र विद्वान को छ त अरू ?’
‘पढाइको गुड्डी नहाँक्नोस् कमरेड,’ कार्यकर्ताले दपेट्यो, ‘जिन्दगीभरि जे पढ्नुभो र कार्यकर्तालाई पढाउनुभो, त्यो त काम नलाग्ने रहेछ भनेर घोषणै गरिसक्नुभो । अहिले लोकतन्त्रको शिशु कक्षाको विद्यार्थी हुनुहुन्छ । तैपनि फुर्ती दिने ?’
चित्रसेनले ल्यापटपमा चियायो र भन्यो, ‘यिनी सत्य बोल्दैछन् ।’
चित्रगुप्त मुस्कुराए, ‘किन जुलूसको दुःख गर्नुहुन्छ ? पहिले लोकतन्त्र त राम्ररी बुझ्नोस् । सिंहासनको कुरा त्यसपछि सोच्नुहोला ।’
त्यसपछि उनीहरू कमरेड प्रजातान्त्रिककहाँ पुगे । उनी घाम ताप्तै रहेछन् । चित्रगुप्तले भूमिका नबाँधी प्रश्न गरे, ‘तपाईंलाई किन चाहिएको हो सिंहासन ?’
‘म प्रजातन्त्रका लागि लडेको । जेल, नेल, यातना सब भोगेको…’
‘कुनै वेला लड्नुभो होला दाइ, अब त्यो गफ नदिनोस्,’ टोलीसँगै भित्र छिरेको उनको कार्यकर्ता च्याँठ्ठियो, ‘जोसँग लड्नुपर्ने हो, उसैको टाङमुनि छिरेको १६ वर्ष भइसक्यो । आफ्नो नीति, सिद्धान्त, कार्यक्रम केही बाँकी छैन । दुनियाँले भाइ कमरेड भन्न थालिसके । कुन मुखले प्रजातन्त्रको कुरा गर्नुहुन्छ ?’
चित्रसेनका आँखा ल्यापटपमै थिए । भन्यो, ‘यिनी सत्य बोल्दैछन् ।’
चित्रगुप्त मुस्कुराए, ‘सबैथोक अर्काको पाउमा चढाइसकेपछि सिंहासनको आस चाहिं केको आधारमा गर्नु नि ?’
‘ज्योतिषीले पाउँछस् भन्या छन् । कसरी अविश्वास गर्नु ?’
टोलीले अट्टहास गर्यो, र कमरेड बाहुबलीको सरकारी आवासतिर लम्कियो ।
नाम बाहुबली भए पनि जिभ्रो नफट्कारिएकाहरूले सही उच्चारण गर्न नजानेर उनलाई ‘बाउओली’ भन्थे । ढोका बाहिर उभिएका कार्यकर्ताहरू चाहिं उनलाई ‘टावरिङ पर्सनालिटी’ भनिरहेका थिए ।
०००
पुस १८, २०७७ काे कान्तिपुरबाट प्रनरावृत
Subscribe
Login
0 Comments
Oldest






































